‘अहिले रोज्दै, पहिले खोज्दै’

/assets/plugins/bower_components/fileman/Uploads/post_images/february/School_1.jpg

तुलसीपुर- जिल्लाका कतिपय सामुदायिक विद्यालयमा विद्यार्थी अभाव रहेको अवस्थामा यहाँको विद्यालयमा विद्यार्थी चाप बढ्दो छ। तुलसीपुर-४ रक्षाचौरस्थित सामुदायिक गुरुजजुर माध्यमिक विद्यालयमा पछिल्लो समय विद्यार्थीको चाप बढ्दै गएको हो। विद्यार्थी अभावले कतिपय विद्यालय एक अर्कोमा गाभ्नुपर्ने अवस्था छ। 
कुनै समय यहाँ विद्यार्थी अभावका कारण विद्यालय भर्ना अभियान सञ्चालन गर्नुपरेको थियो तर अहिले विद्यार्थीको चाप धान्न नसक्ने अवस्थामा पुगेको छ। पछिल्लो समयमा सामुदायिक विद्यालयमा पनि शैक्षिक गुणस्तर वृद्धि तथा कक्षा ८ सम्म अंग्रेजी माध्यमबाट पढाइ हुन थालेपछि विद्यार्थीको चाप बढेको हो। 

विद्यालयले उत्कृष्ट नतिजासमेत ल्याउन थालेको छ। विसं २०११ मा स्थापना भएको सो विद्यालयमा हाल निजी विद्यालयका विद्यार्थीसमेत पढ्न आउने गरेका छन्। 

एक दशकअघि कक्षा १ मा २५ देखि ३० विद्यार्थी पढ्ने सो विद्यालयमा अहिले नर्सरीदेखि १२ कक्षासम्म एक हजार ५१८ विद्यार्थी अध्ययनरत छन्।विद्यालयमा कक्षा ६ देखि ९ सम्म तीन श्रेणीमा विभाजन गरी पढाउनुपर्ने अवस्था छ। त्यस्तै नर्सरीमा २८ तथा कक्षा १ मा ६३ विद्यार्थी अध्ययनरत छन्।

अंग्रेजी माध्यमबाट शिक्षण शुरु गरेपछि अभिभावकको विद्यालयतर्फ आकर्षण बढेको प्रधानाध्यापक विष्णुप्रसाद आचार्यले बताए। वर्षेनी विद्यार्थी बढ्दै गएपछि अहिले प्रवेश परीक्षा लिएर मात्र भर्ना गर्न थालेको उनको भनाइ छ।विद्यालयमा न्यून दृष्टियुक्त विद्यार्थीले समेत अध्यनन गर्ने गरेका छन्।“पहिले विद्यार्थी खोज्नुपर्ने थियो अहिले रोज्नुपर्ने अवस्था छ”, विद्यालयका शिक्षक लेवेन्द्र केसीले भने।

उपमहानगरपालिकाका- ३, ४, ५, ६ र ७ का विद्यार्थी अध्ययनका लागि यहाँ आउने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रणवकुमार खड्का बताउछन्। आव २०७४-७५ मा जिल्लामै उत्कृष्ट सामुदायिक विद्यालयको छनोटमा परी जिल्ला शिक्षा कार्यालयबाट रु १० लाख पुरस्कारसमेत पाएको छ।त्यस्तै गत वर्षदेखि नमूना विद्यालयका लागि छनोट भई रु एक करोड रकमसमेत भौतिक निर्माणका लागि पाएको छ। यस आवदेखि विद्यालयले प्राविधिक शिक्षा बाली विज्ञान तीन वर्षे डिप्लोमा पढाइ सञ्चालन गरेको छ।



प्रतिक्रिया