त्यसपछि बिरामीहरु सुर्खेत आउन थाले...

/assets/plugins/bower_components/fileman/Uploads/post_images/february/New_Building_Karnali_Province_ho.jpg

तस्बिर: बन्दै गरेको प्रदेश अस्पतालको नयाँ भवन

सुर्खेत- करिब एक वर्ष अघि कोहलपुर र नेपालगञ्जका अस्पतालहरु कर्णालीका बिरामीहरुले भरिन्थे। जटिल या सामान्य जस्तो सुकै बिरामीजस्तो भएपनि नेपालगञ्ज जानै पर्थ्यो। कारण आँगनमै भएको क्षेत्रीय अस्पताल सुर्खेतप्रति बिरामीहरुको विश्वास थिएन। विश्वास होस् कसरी? क्षेत्रीय अस्पताल आफैंले बिरामीहरुलाई अञ्चल अस्पताल नेपालगञ्ज र कोहलपुरका लागि रिफर गर्थ्यो।

बाँच्ने आशले अस्पताल पुगेका बिरामीका आफन्तलाई अस्पतालले भन्थ्यो, ‘तपाईंको बिरामीको उपचार यहाँ सम्भव छैन, छिटो बाहिर लैजानोस्।’ अस्पतालले नै यति भनेपछि आफन्तीहरु आत्तिदै बिरामीलाई कोहलपुर र नेपालगञ्ज लैजानुको विकल्प थिएन। कारण अस्पतालसँग न आइसियु सेवा थियो न त प्राप्त विशेषज्ञ डाक्टर नै थिए।

समयमै उपचार नपाउँदा कतिपय बिरामीले त बाटोमै ज्यान गुमाउनु पर्थ्यो। दुईचार पैसा ऋण बोकेर सुर्खेत आएका विरामीलाई नेपालगञ्ज जानुपर्दा एकातिर ऋणको भारी थपिन्थ्यो भने अर्कोतिर समयको बर्बादी । एम्बुलेन्स रिजर्व गरी नेपालगञ्ज लिंदैगर्दा बाटोमै विरामीको ज्यान गए अवस्था झनै भयावह हुन्थ्यो।

क्षेत्रीय अञ्जल अस्पतालमा बिरामी रिफर गरेको देख्दा आफन्तीहरु बरु ऋणको भारी बोकेर नेपालगञ्ज जान तयार हुन्थे तर दोस्रो पटक सुर्खेतमा आउन तयार हुन्थेनन्। ‘अस्पतालमा डाक्टर आउँदैनन्, डाक्टरकै कारण बिरामीको ज्यान गयो’ भन्दै बिरामीको मृत्युपछि नारा जुलुस हुन्थ्यो। महिनैपिच्छे कुनै न कुनै लफाडा नभए अचम्म पर्नुपर्ने स्थिति थियो। 

अस्पतालको यस्तो अवस्था देखेपछि मुगु, हुम्ला र डोल्पाबाट हप्तादिन लागेर सुर्खेत झरेका बिरामीहरु यहाँ कहिल्यै पनि नआउने वाचा गर्दै पर्किन्थे। यता सुर्खेतबासी पनि आँगनकै अस्पताल छोडेर तीन घण्टा टाढा नेपालगञ्ज पुग्थे।

करिब एक वर्ष अघि अस्पतालको वास्तविकता यस्तै थियो। तर आज समय बदलिएको छ। दाताकै सहयोगमा भएपनि अस्पतालले आइसियु सेवा सुरु गरेको छ। विस्तारै दरबन्दी अनुसारका डाक्टरहरु आउने क्रम जारी छ।

‘केही वर्ष अघि हामीसँग न स्रोत साधन थियो न त जनशक्ति नै।’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्का भन्छन्, ‘तर आजभोली अस्पतालको मुहार फेरिएको छ अस्पताल वामे सर्न थालेको छ।’विशेषज्ञ डाक्टरहरु आएपछि अस्पतालले एकातिर सेवा सुविधा थप्दै गएको छ भने अर्कोतिर बिरामीको विश्‍वास जित्दै गएको छ। विश्वास जितेसँगै अस्पतालमा विरामीहरुको बढ्न थालेका छन्।

‘चालु आर्थिक वर्ष मै ७० हजार बढी बिरामीलाई सेवा दिन सफल भएका छौँ।’ डाक्टर खड्का भन्छन्, ‘दैनिक मेजर र माइनर अप्रेसन गर्छौं, विरामीजति रिफर गर्नुपर्ने बाध्यता छैन।’ 

अस्पतालका अनुसार चालु आर्थिक वर्षमा बहिरंग सेवाबाट ६० हजार बढी र आकस्मिकमा करिब १० हजार नागरिकले सेवा लिएका छन्। अस्पतालको तथ्याकं अनुसार मेजर १६ सय बढी अप्रेशन गरिएको छ। जसमध्ये पनि ५५ जना आङ खस्ने र ३६ जनाको फिस्टुलाको अप्रेशन सेवा लिएका छन्। ‘९७ प्रतिशत बिरामी निको भएर फर्किएका छन्।’ खड्का थन्छन्, ‘अस्पतालले विश्वास जितिसकेको छ।’

यसरी तग्रिदै छ प्रदेश अस्पताल

०७४ श्रावण २६ गते अस्पतालले पहिलो पटक आइसीयु सेवा सुरु गर्‍यो। दाताकै सहयोगमा भएपनि अस्पतालको सघन उपचार कक्ष (आइसीयू)को सुरुवातसँगै बिरामीहरुलाई नेपालगञ्ज वा बाहिर पठाउनु पर्ने एउटा बाध्यता अन्त्य भयो। वीरेन्द्रनगर-६ निवासी थीरकुमारी कार्कीले स्वः श्रीमान नन्दबहादुर कार्कीको स्मृतीमा करिब ४५ लाख सहयोगबाट आइसीयु सञ्चालनमा आएको हो।

त्यस्तै ०७४ असोज १ मा अस्तालले कर्णाली प्रदेशमै पहिलो पटक सिटी स्क्यान सेवा सुर गर्‍यो। जसले गर्दा सिटीस्क्यानका लागि नेपालगञ्ज वा नीजि अस्पताल धाउनु पर्ने अर्को बाध्यताको अन्त्य भयो। स्वास्थ्य सेवा विभागले दिएको सिटी स्क्यान मेशीनका लागि अस्पतालले संरचना निर्माणमा झण्डै २० लाख रकम खर्चिएको छ। 

‘टाउको सम्बन्धी बिरामी तथा दुर्घटनाका घाइतेहरुले सिटी स्क्यानकै लागि नीजि अस्पताल वा बाहिर जानु पर्थ्यो।’ अस्पतालका सूचना अधिकारी विनोद बस्नतेले भने, ‘अस्पतालले नै मेसिन भित्र्याएपछि उपचारकै लागि अब बिरामीहरुले बाहिर धाउने पर्ने बाध्यताको अन्त्य भएको छ।’

पछिल्लो समय वामे सर्दै गएको अस्पतालले २०७३ चैत्र १४ गतेबाट आफ्नै फार्मेसी संचालन गरेको छ। फार्मेसीबाट एकातिर बिरामीले सुलभ मूल्यमा औषधी पाएका छन् भने अर्कोतर्फ अस्पतालको आम्दानी समेत वृद्धि भएको छ। स्वास्थ्य मन्त्रालयको २५ लाख सहयोगमा सञ्चालन आएको फार्मेसीले २४ सैं घण्टा सेवा प्रवाह गर्दै आएको छ। यता कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले प्रदेश अस्पताललाई स्तरोन्नति गरी प्रदेशकै मेडिकल कलेजको रुपमा विकास गर्ने बताउँछन्।

१२ वर्षपछि वामे सर्दै अस्पताल

प्रदेश अस्पताल (तत्कालिन क्षेत्रिय अस्पताल)ले १२ वर्षपछि वामे सर्न थालेको छ। २०२८ सालमा पचास शैयाको स्वीकृति लिएर जिल्ला अस्पतालका रुपमा संचालन गरिएको अस्पताललाई २०६२ फागुन ७ गते क्षेत्रीय अस्पतालका रुपमा विस्तार गरिएको थियो। जिल्ला अस्पालकै रुपमा ५० शैया सञ्चालन गर्ने अनुमति पाएको अस्पालले हाल एक सय १५ शैयाको सुविधा दिइरहेको छ।

सुर्खेत उपत्यकामा मलेरिया नियन्त्रण भएपछि मानववस्तीको सुरुवातसँगै २०२८ मा सरकारले जिल्ला अस्पतालमा सेवा सुरु गरेको थियो। सोही अस्पताललाई ०६२ सालमा व्यवस्थित नगर निर्माण गर्ने योजनाअनुसार मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालको रुपमा विस्तार भएको हो। केन्द्र, जिल्ला, क्षेत्रीय हुँदै गत मंसिर १३ गते प्रदेश अस्पतालमा रुपान्तरण भएको छ। 

हाल कर्णाली प्रदेश सरकारको मातहतमा सञ्चालित अस्पतालले ३ सय शैयाको नयाँ भवन निर्माणको काम अन्तिम चरणमा पुर्‍याएको छ। आगामी आर्थिक वर्षदेखि सो भवनबाट सेवा संचालन गरिने अस्पतालमा प्रमुख मेसु डा डम्बर खड्काले जानकारी दिए। अस्पतालले स्त्री तथा प्रसुति विभाग, शल्यचिकित्सा विभाग, मेडिसियन विभाग, हाडजोर्नी विभाग, बालरोग विभाग, नसा तथा मानसिक रोग विभाग, दन्तरोग विभाग, फिजियोथेरापी सेवाहरु संचालन गरिरहेको छ। ८८ जनाको दरबन्दी रहेको अस्पालमा हाल विशेषज्ञ डाक्टर सहित ६६ जना कर्मचारीहरु कार्यरत छन्।


 



प्रतिक्रिया