काठमाडौं- नेपथ्यको दुबई कन्सर्ट सम्पन्न भएको छ। युनाइटेड अरब इमिरेट्सअन्तर्गत विश्वकै एक प्रमुख व्यापारिक केन्द्र हो दुबई। यो सहरभित्र विभिन्न खाले खेलकुद स्टेडियमहरु समेटेको विशाल परिसर ‘अल नासेर लिजरल्याण्ड’मा आइतबार नेपथ्य तेश्रोपटक प्रस्तुत भएको हो।
अघिल्ला कन्सर्टहरुभन्दा थोरै बेग्लै यसपाला नेपथ्यले पहिलो गीत नै दर्शकलाई उफार्ने गरी 'हो रामा रामा' बाट सुरु गरेको थियो। प्रारम्भबाटै तीब्रता बोकेको सांगीतिक माहोलले गर्दा अरुबेला ‘आइस हकी’ खेलिने ‘कार्पेटले ढाकिएको बरफ मैदान’ सुरुदेखि तातिन पुग्यो।
अमेरिकाको ‘न्यूयोर्क युनिभर्सिटी’ले एक दशकअघि स्थापना गरेको अबुधाबीस्थित विश्वविद्यालयमा पढ्दै आएका विद्यार्थीहरुको समूह दुई घन्टा लामो राजमार्ग यात्रा गरेर नेपथ्य अनुभवका लागि दुबई आइपुगेका पनि भेटिए। ‘हामी १७ जना साथीहरु समूह बनाएरै आएका छौँ,’ अल नासेरको परिसरभित्र भेटिएका संयम लामिछाने भने, ‘इन्टरनेटबाट नेपथ्य आउने खबर पाउनासाथ संगीतमा रुची राख्ने साथीहरु यो यात्राको तयारीमा जुट्न सुरु गरेका थियौँ।’