के हुन्छ होला है बिहेको राति
अँध्यारो कोठामा अञ्जान साथी
सम्झेर गइसक्यो सातो बरिलै
‘पापाकी परी’ बोलेको गीतको एक अन्तरा हो यो। मोडल करिष्मा ढकाल कोरसका साथ पेटिकोट लगाएर पानी पँधेरोमा नुहाउँदै, गाउँदै, नाच्दै गरेको भिडियोमा देख्न सकिन्छ। शिव हमालको शब्द र पेटिकोट लगाएर नाचेको दृष्यप्रति कतिपयले सामाजिक सञ्जालमा आपत्ति जनाएका छन्।
के विकृति–विसंगति मुक्त लोकदोहोरी बनाउन पुराना स्रष्टा नै गम्भीर छैनन्। यदि हुन्थे भने गायक–संगीतकार शिव हमालको गीत पक्कै विवादमा आउँदैनथ्यो। या स्रष्टा हमालले आत्मालोचना पनि गर्नु पर्दैनथ्यो। यस्तै मत छ धेरैको।
सुशीला पाठकको स्वर रहेको गीतका संगीतकार आशिष अविरल हुन्। उनैको नामको युट्युब च्यानलबाट साउन १७ गते सार्वजनिक भएको गीत हेरेर इशानी गुरुङ लेख्छिन्, ‘हाम्रो नेपाली मौलिक लोक संगीत क्षेत्रका धरोहर अनि दिग्गज सर्जक भनेर चिनिने दाजु शिव हमाल र दाजु आशिष अविरलबाट पनि यस्तो खालको गीत सिर्जित हुनुले नेपाली लोक संगीतको मौलिकता कुन दिशातिर जाँदैछ भन्ने प्रस्ट देखियो। हो, सर्जकको सिर्जना फरक फरक किसिमको हुन्छ तर हुन्छ भन्दैमा लोक गीतलाई डग्मगाउने, धक्का दिने खालको शब्द, गीत सिर्जना गरेर लोक गीत सुन्नै, हेर्नै दिक्क लाग्ने नगरिदिनु भए आभारी हुने थियौं।’
अपाच्य र अझ गीत रिलिज गरे कारवाही गर्ने चेतावनी दिएको संस्थाका संयोजकले नै यस्तो गीत निकाल्दा कारबाही हुन्छ कि हुँदैन भनेर सञ्जालमा प्रश्न उठिरहेको छ। हमालले सामाजिक सञ्जालमा सेयर गरेको गीतको भिडियोमा सुमन पंगेनी लेख्छन्, ‘दुर्गेश थापाको गितलाई अश्लील भन्ने अनि उनलाई कारबाही गर्नुपर्छ भनेर नेतृत्व नै गर्ने तपाईंले यस्तो उच्छृंखल गित निकाल्न कुन नैतिकताले दियो? तीज गीत हो कि रत्यौलीको गीत हो? विकृति–विसंगति मुक्त लोकदोहोरी भन्ने तर त्यहि विकृति फैलाउने गीत प्रतिष्ठानकै उपमहासचिवले गर्न मिल्छ? लाज मान्ने गरौं न है। अरूलाई कारबाही आफूलाई चाहिँ छुट?’
प्रतिष्ठनाका अध्यक्ष रमेश विजिका अनुसार शिवको गीतका शब्दको पुनः सम्पादन र भिडियोका केही दृष्य हटाउन लगाइने छ। विजीले भने, ‘शिवजीले आत्मालोचना गर्नुभएको छ र करेक्सन गर्ने सहमति जनाइसक्नु भएको छ।’
शिव हमाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको केन्द्रीय उपमहासचिव हुन्। प्रतिष्ठानको उपमहासचिव भएको नाताले संस्थागत रूपमा गायक दुर्गेश थापाको गीतलाई अश्लिल भनेर कारबाहीको माग उनले पनि गरे। छाडा तथा द्विअर्थी लाग्ने लोकदोहोरी गाएको भन्दै १३ जना लोक दोहोरी गायक–गायिकालाई प्रतिष्ठानको कार्यालयमा ल्याएर स्पष्टिकरण पनि मागेकै हुन्।
स्रष्टा हमाल त प्रतिष्ठानले विकृति नियन्त्रण समिति निर्माणको संयोजक नै हुन्। अरूको गाएको गीतले लोकगीतमा विकृति आयो भन्ने स्रष्टाले आफ्ना शब्दमा पनि संवेदनशिल हुनुपर्ने थियो। अझ २०७९ आसरा ५ गते राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले विज्ञप्ति निकाली सबै श्रष्टाहरुलाई छाडा तथा द्विअर्थी लाग्ने शब्द र जथाभावी भिडियो नबनाउन अनुरोध नै गरेको थियो।
‘सम्पूर्ण श्रष्टा, सर्जक, गायक–गायिका, उत्पादक रेकर्डिङ स्टुडियो श्रव्यदृष्य निर्माणकर्ता एवं वितरकहरुमा सामाजिक सद्भाव खलल पुर्याउने एवम् अभद्र र नियतवश द्विअर्थी अपाच्य शब्द सामग्री प्रयोग गरी संस्कृति विगार्ने खालका गीतसंगीत प्रस्तुत नगर्न नगराउन हुन विनम्रतापूर्वक हार्दिक अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।
प्रतिष्ठानको आग्रहलाई बेवास्ता गरेर गीत निकाले कारबाही गर्ने चेतावनी समेत दिएको थाहा हुँदा–हुँदै पनि हमालले आफ्ना गीतमा द्विअर्थी लाग्ने शब्द कोरे। जसका कारण सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।
गायिका सुशीला पाठकले भने अडियोलाई भिडियोले न्याय दिन खोजिएको भन्दै सामाजिक सञ्जाल मार्फत गीतको बचाउ गरेकी छिन्, ‘गीत र शब्दले कुनै पनि विकृति र नकरात्मक कुरालाई प्रोत्साहन गरेको छैन। हाम्रै समाजमा भइपरिआएका र बोलिने रत्यौली र ठट्यौली शब्दहरूलाई संगीतमा उतारिएको कुरालाई यत्रो विवादित बनाउनु तर्क संगत लाग्दैन मलाई।’ मोडल करिष्मा ढकाल भने यो विषयमा खासै खुलेर बोलेकी छैनन्।
यस्तो छ गीत