काठमाडौं- पोखरेली सांगीतिक ब्यान्ड ‘कन्दरा’ र ‘नेपग्याज्म लाइभ इभेन्ट’ (एनएलई)बीच व्यवयसायिक सम्झौता भएको छ। २०७९ असार ७ गते दुई पक्षबीच सम्झौता भएको विज्ञप्तिमार्फत जनाइएको हो।
सम्झौतापछि कन्दराका गीत संगीत निर्माणदेखि कन्सर्ट व्यवस्थापनका सम्पूर्ण जिम्मेवारी नेपग्याज्म लाइभ इभेन्ट ९एनएलई० ले गर्ने ब्यान्डका गायक विवेक श्रेष्ठले बताए।
‘सन् २०१६ देखि हामी ब्यान्डलाई पुनः सक्रिय बनाउन प्रयासरत थियौं। संगीत पूर्णरुपमा व्यवसायिक बनिसकेको अहिलेको समयमा हाम्रा सबै गतिविधि र कामलाई व्यवस्थापन गरिदिने कोही भइदिए हुन्थ्यो भन्ने महसुस गरेका थियौं,’ गायक श्रेष्ठले भने, ‘ नेपग्याज्म लाइभ इभेन्टले हाम्रो आवश्यकता पूरा गर्ने कुरा मिलेपछि हामीबीच सहकार्य भएको हो।’
विवेकका अनुसार एनएलईलाई व्यवस्थापनका सम्पूर्ण जिम्मेवारी सुम्पेपछि आफू र ब्यान्डका अन्य सदस्य खुलेर गीत संगीतमा लाग्न पाउने छन्।
उनले भने, ‘अब हामी ढुक्कले नयाँ समय र नयाँ पुस्तासँग जोडिने गरी सक्रिय हुनेछौं।’
उनका अनुसार यही वर्ष ब्यान्डले नयाँ गीतसँगै आफ्ना तीन चर्चित गीतहरुको रिप्राइज्ड भर्सन सार्वजनिक गर्दैछ। यसबाहेक नयाँ गीतको तयारी पनि सुरु भइसकेको छ। यी सबै कामको व्यवस्थापकी जिम्मेवारी एनएलईले हेर्ने उनले बताए।
कन्दराले पहिलो एल्बमको टाइटल ट्र्याक चञ्चले कान्छी, दोस्रो एल्बमको टाइटल ट्र्याक डाँडापारि र तेस्रो एल्बमको चर्चित गीत विदेशिएर गइन् उनीको रिप्राइज्ड भर्सन निकाल्ने तयारी भइरहेको हो।
यी गीतहरुको म्युजिक भिडिओ निर्माणदेखि सोसल मिडिया प्रोमोसनसम्मका पक्ष एनएलईले हेर्ने छ। यसमा बजार प्रवद्र्धन र व्यवस्थापनदेखि ब्रान्डिङसम्मका काम अटाउने छ।
एनएलई सन् २०१८ देखि स्ट्यान्ड अप कमेडी निर्माणमा अग्रणी संस्था नेपग्याज्मका संस्थापकहरुकै नेतृत्वमा सुरु भएको हो। नेपग्याजम लाइभ इभेन्टका संस्थापकमध्ये एक शरद श्रेष्ठले एनएलईको पहिलो काम नै कन्दराबाट सुरु गर्न पाउनु ठूलो अवसर भएको बताए।