काठमाडौं– विवाद उत्पन्न भएपछि चर्चित र्यापर जी–बब र उनका आमाबाबुलाई छलफलका लागि काठमाडौं प्रहरीले बोलाएको छ। वास्तविक नाम सुदीप भण्डारी रहेका जी–बबलाई उनको कलासम्बद्ध संस्था एएनटीफले ‘एकप्रकारले बन्धक बनाइरहेको’ भन्दै उनका आमाबाबुले प्रहरी गुहारेपछि उनीहरुबीच सोमबार छलफल हुने भएको हो।
जी–बबका आमाबाबुले एएनटीफको व्यवहार सन्देहपूर्ण रहेको र आफूहरुलाई आफ्नो छोराको स्वास्थ्य स्थितिको चिन्ता रहेकाले यसबारे प्रहरीमा उजुरी दिनुपरेको बताएका छन्। तर जी–बबको भनाइ भने आमाबाबुको भन्दा फरक छ। आमाबाबुले प्रहरीमा उजुरी दिएपछि र्यापर जी–बबले परिवारका सदस्य, खासगरी आमाले आफ्नो मानहानिसहित स्वतन्त्रतामा हस्तक्षेप गरेको भन्दै प्रहरी प्रशासनमा उजुरीको प्रतिवाद गरेका छन्।
‘उहाँहरुका कुराहरु परस्पर बाझिएका छन्। आमाबाबुले छोरालाई एएनटीएफ नामको संस्थाले आर्थिक लगायतका कुराहरु दबाबमूलक व्यवहार गरेको र उनलाई एकोहोरो बनाएको आरोप लगाइरहनुभएको छ तर जी–बबले त्यो कुरालाई नकारेका छन्’, काठमाडौं प्रहरीका एक अधिकृतले नेपाल समयसँग भने, ‘यतिसम्म कि आफ्नो छोरालाई ओभरडोज ड्रग्स दिने गरेकोसम्मको आरोप अभिभावकको छ, त्यसैले परस्पर आएका उजुरीका आधारमा हामीले उनीहरुबीच छलफल गराउन खोजेको हो।’
जी–बबका बुवाआमाले शुक्रबार पत्रकार सम्मेलन गर्दै छोरालाई आफूहरुले घर फिर्ता ल्याउन र उसको स्वास्थ्यको अवस्था ठिकठाक पार्न प्रयास गरिरहेको बताए। उनीहरुले कलाकार जी–बबले कमाएको पैसा आफूले पाउनुपर्ने र छोराको स्वास्थ्य सुधार्न रिह्याबमा राख्नुपर्ने माग गरेका छन्। आमाबाबुको माग र चासोप्रति भने जी–बबले आफ्नो स्वतन्त्रताप्रतिको हस्तक्षेपका रुपमा लिएका छन्। उनले एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै भनेका छन्, ‘मलाई मेरो ममीले र्याक गरिरहनुभएको छ। उहाँले भनेको कुरा होइन। म एएनटीएफसँग खुशी छु।’ उनले आफ्नी आमालाई आर्थिक लोभको आरोप लगाएका छन्।
पारिवारिक विवादमा फसेपछि जी–बबबारे सामाजिक सञ्जालमा अनेक मत र चासो पनि व्यक्त भएका छन्। खासगरी हुर्कदै गरेको नयाँ पुस्ताले खोजिरहेको पारिवारिक स्वतन्त्रता र उनीहरुको मानसिक र शारीरिक स्वास्थ्यको विषयमा चर्चा भइरहेको छ। भर्खर १९ वर्ष पूरा गरेका जी–बब दुर्ब्यसनमा फसेका कलिला कलाकार भएकाले उनको स्वास्थ्यबारे अभिभावकलाई चासो र चिन्ता हुनु स्वभाविक रहेको जिकिर एकथरीको छ भने अर्कोथरीले उनको स्वतन्त्रतामा अंकुश लगाउँदा उनको सृजनशीलता र कलाकारितामा असर पुग्नसक्ने आशंका गरिरहेका छन्।
समाजशास्त्री निर्मला ढकाल जी–बब विवाद प्रकरणका पछाडि अहिलेको पुस्ताको संवेदनशिलता र दुब्यर्सनको चर्चा गर्छिन्। ढकालले आफ्नो ट्विटमा भनेकी छिन्, ‘जी–बब कच्चा छन्। उनी प्रयोग भएको देखिन्छ। मैले एउटा विद्यार्थीले भनेको सम्झन्छु मैले गाँजा खानलाई ८० बर्षको हजुरआमाको थैली चोरेको छु। कुलत बहुत डरलाग्दो स्थिति हो। अझ भयानक त त्यसबाट उम्कन नसक्नु हो।’ कतिपय अभिभावकलाई बच्चाहरु कुलतमा फसेको थाहा नहुने तर्क गर्दै उनी अगाडि लेख्छिन्, ‘हाम्रा बच्चाहरु कुलतमा फस्ने उमेर भनेको प्राय १३ र १४ वा ६ र ७ पढ्दा नै रहेछ्। शारीरिक परिवर्तनसँगै बढ्ने मानसिक चेत, घरपरिवारको वातावरण र साथीको संगत एकातिर भने अर्कोतिर एक्लोपन पनि यसका लागि जिम्मेवार छ।’
ढकालले भनेजस्तै मनोचिकित्सकहरुले कठिन र यान्त्रिक बन्दै गइरहेको सहरी समाजमा किशोर–किशोरीहरु कुलतको शिकार हुनु चिन्ताको विषय रहेको बताउँछन्। बदलिँदो पारिवारिक संरचना, सम्बन्धहरुको खुलापन र हुर्काइको ममतामयी लय खल्बलिँदा दुर्व्यसन असर समाजमा सघन बन्दै गइरहेको तर्क उनीहरुको छ। ‘मैले पनि जी–बबको विषयमा थाहा पाएँ। यो समस्या सतहमा आएको मात्र एउटा घटना हो तर सहरी समाजमा यो अझै कहालीलाग्दो छ’, मनोविज्ञानका जानकार शिव कुँवर भन्छन्, ‘यस्तो अवस्थामा जी–बबमाथि उनीहरुका अभिभावकको चिन्ता कुनै अनौठो कुरा होइन। बाँकी आर्थिक र व्यक्तिगत स्वतन्त्रताको कुरामा उनी उनका अभिभावक उनीप्रति उदार हुनुपर्छ।’