काठमाडौं– गायक रामकृष्ण ढकालको आवाजमा रहेको ‘म हराएँ मनमनैमा’ बोलको नयाँ गीत सार्वजनिक भएको छ।
बिहीबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको रोमान्टिक थिमको गीतमा सन्तोष भट्टराईको शब्द रचना र हरि लम्सालको संगीत रहेको छ। सुरज श्रेष्ठले गीतको एरेञ्ज गरेका हुन्।
पर्यटकीय क्षेत्र मुस्ताङमा छायांकन भएको गीतको भिडियोमा गरिमा शर्मा र दिपेश ढकाल रोमान्टिक अवतारमा प्रस्तुत छन्। भिडियोमा उनीहरुको केमेस्ट्री सुहाएको देखिन्छ। दिपेशले अभिनय गरेको यो पहिलो म्युजिक भिडियो हो। रामकृष्ण ढकालको गीतमा गरिमा शर्मासँग स्क्रिन सेयर गर्न पाउँदा मोडल ढकालले खुशी व्यक्त गरे। गायक ढकालले नयाँ नयाँ प्रतिभावान् कलाकारहरु माझ आफ्नो गीतमा काम गर्नु आफैंमा सुखद् रहेको बताए। भिडियोका निर्देशक सुब्रत आचार्य हुन्।
मोडल गरिमा शर्माले आफ्नो बाल्यकालदेखिको मनपर्ने गायकको गीतमा अभिनय गर्न पाउनु आफ्नो सौभाग्य रहेको बताइन्। गीतको अडियोले आफूलाई काम गर्न लोभ्याएको उनको भनाइ छ। गायक ढकालले भने आफूले आफ्ना गीतहरु दोहोर्याएर कमै सुन्ने गरेको भए पनि ‘म हराएँ मनमनैमा’ गीत धेरै पटक सुनिसकेको बताए। गीतको शब्द र संगीतले मन छोएको बताउँदै उनले भिडियो पनि सुन्दर बनेको प्रतिक्रिया दिए।
भिडियोमा साइब्रत आचार्यको स्टोरी बोर्ड, विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन रहेको छ । गीतको क्रियटिभ हेड जया शर्मा हुन्। यो गीतसँगै निर्देशक आचार्यले मुस्ताङमा गायक ढकालको आवाजमा रहेको अन्य दुई गीत ‘काली’ र ‘सयौं कारण’को पनि छायांकन गरेका छन् । यी दुई दिन केही दिनमा सार्वजनिक हुने बताइएको छ।