काठमाडौं– ‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई’, उनको प्रिती पहिले हो कि मेरो प्रिती पहिले’, आओ यादहरु हो आओ’, आधा उमेर निन्द्रामै बित्यो’, ‘सुन भन न’ जस्ता हिट गीतका गायक जगदीश समालको स्वरमा रहेको नयाँ गीत ‘लैजाउँला कान्छी’को भिडियो रिलिज भएको छ।
प्रेमका रमाइला प्रसंग तथा प्रेमीकालाई दिइएका आश्वासन गीतले बोल्छ। गीतको भिडियोमा अभिनेता आर्यन सिग्देलले नायिका नम्रता सापकोटासँग जोडी बाँधेका छन्। भिडियोका निर्देशक विधान कार्की हुन्।
सार्वजनिक गीत ‘डान्सिङ प्याटर्न’मा रहेको छ। यो प्याटर्न गायक समालले बिरलै गाउने गीतको शैलीमा पर्छ। समाल सुगम संगीत तथा गजल गायनमा बढी लोकप्रिय भए पनि यस प्रकारको गीतमा समेत उनको गायनकला उत्तिकै दमदार देखिएको छ। संयुक्त राज्य अमेरिकामा सक्रिय नक्षत्र प्रोडक्शनको प्रस्तुति तथा लगानीमा तयार यस गीतका संगीतकार पूर्ण लामिछाने हुन् भने हरि सुजीको शब्द रहेको छ।
अमेरिकाका शिक्षकहरूको प्रशंसा दिवसको अवसर पारी यो गीत र यसको भिडियो रिलिज गरिएको हो। दीपक एम सिंहको कोरियोग्राफी रहेको भिडियोका छायाकार हरि हुमागाईं हुन् भने विकास दाहालको सम्पादन तथा मनिषा पोखरेलको कला निर्देशन रहेको छ।
नक्षत्र प्रोडक्शनको अफिसियल युट्युब च्यानलबाट रिलिज भिडियोमा सुदिप सापकोटाको अतिथि भूमिकामा अभिनय रहेको छ। गीतका एरेन्जर आशिष अविरल हुन्।