मंगलबार, असोज ११, २०७९

हार्मोनियम उस्ताद हरेराम, जो नारायण गोपालसँग संगीतसँगै मदिराको लतमा परे

राज सरगम  |  काठमाडौं, शनिबार, माघ २९, २०७८

राज सरगम

राज सरगम

शनिबार, माघ २९, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं– ‘यहाँ हार्मोनियम मर्मत गरिन्छ’ लेखिएको बोर्ड असनको नहङ्कनतल चोकको दायाँपट्टीको पुरानो घरको ढोकामाथि छ। यही बोर्डमुनी साँघुरो काठको ढोका छ, ढोकाबाट प्रवेश गरेसँगै नयाँ–पुराना हार्माेनियमले स्वागत गर्छन्। काठको ठाडो सिँढी उक्लिएर पहिलो तलामाथि जाँदा स–साना खोपाजस्ता लाग्ने कोठा आउँछन्।

पहिलो कोठामा पनि तबला र हार्मोनियम छन्, किलाकाँटी र हार्मोनियमका किबोर्डहरु छरपरष्ट छन्। भित्री कोठाबाट भने बेलाबेला हार्माेनियमको मन्द स्वर सुनिने र रोकिने हुन्छ। यही कोठाबाट ढोका निकालिएको अर्को भित्री कोठामा पश्चिम र पूर्वतिर झ्याल छ। झ्यालको उज्यालोको सहारामा हार्मोनियम बनाइरहेका भेटिए, हरेराम साह।

जीवनको ६ दशक नाघिसकेका हरेरामका कपाल र दाह्रीजुँगा फुलिसकेका छन्। माघको जाडो छल्न उनको काँधमा गलबन्दी थियो। हरेराम असनको दिलहर्क तुलाधरको घरमा ४४ वर्षदेखि हार्मोनियम बनाउँदै आएका छन्।

२०३४ सालतिर बुवा चितवनको टाँडीमा बसेर गाउँघरमा हार्माेनियम बनाउँथे। एकदिन जमिन्दारले काठमाडौं हिँड भने, हरेरामका बुबा आफ्नो सीपलाई फराकिलो बनाउन काठमाडौं आए। बुबाको हात समाएर काठमाडौं आएका हरेरामले पहिलोपटक टेकेको ठाउँ असनको यही चोक थियो, जहाँ अहिलेका जस्ता सटर थिएनन्। भन्छन्, ‘म आउँदा सटर त के फूलबुट्टे ढोकासम्म थिएनन्। फल्याकको ढोका उचालेर लगाउनु पर्थ्यो।’

जीवनको ६ दशक हार्माेनियमका सुर मिलाएरै बिताए उनले। अझै पनि उनका हात हार्माेनियमका तारहरुसँग खेलिरहेका हुन्छन्। हारर्माेनियम नछोएको दिन दिन उनलाई चैन मिल्दैन, हात सकसकाउँछन्। कानले हार्माेनियमको सुर नसुने के छुटे के छुटेजस्तो लाग्छ उनलाई। बेसुरा बनेको हार्मोनियमलाई केही घण्टा सुमसुम्याएपछि आफैंले तारहरुमा औंला चलाउँछन्, र ग्राहककै अगाडि सुनाउँछन्–सारेगमप... ।

जीवनको ६ दशक नाघिसकेका हरेरामका कपाल र दाह्रीजुँगा फुलिसकेका छन्। माघको जाडो छल्न उनको काँधमा गलबन्दी थियो। हरेराम असनको दिलहर्क तुलाधरको घरमा ४४ वर्षदेखि हार्मोनियम बनाउँदै आएका छन्।

२०३४ सालबाट असनको नहङ्कनतल चोकमा जब हार्माेनियमका तारहरु बज्न थाले, हरेरामका बुवा चिनिँदै गए। बुवासँगै हरेराम पनि चिनिन थाले, किनकि हजुरबुवा र बुवाले गर्दै आएको हार्मोनियम बनाउने पेशालाई उनले पनि बाल्यकालदेखि अँगालेका थिए। उनी बिस्तारै सुरको रसमा पस्न थाले। त्यो बेला अहिलेको जस्तो काम पाइँदैनथ्यो, रुची भएकासँग मात्रै हार्माेनियम हुन्थ्यो। गीतसंगीतमा रुची भएकाले हार्मोनियम भारततिरबाट लिएर आउँथे। अनि ट्युन बिग्रियो भने भारत कानपुरतिर जाने गर्थे। उनी भन्छन्, ‘त्यो बेलामा अहिलेको जस्तो कमाइ हुँदैनथ्यो। भजन किर्तन र रेडियो नेपालतिर गाउने बजाउने कलाकारसँग मा हार्मोनियम हुन्थ्यो।’

२०३८ साल हिउँदको एकदिन हार्मोनियम मर्मत गर्न पसलमै आइपुगेका थिए वरिष्ठ वाद्यवादक भगत सिंह (संगीतकार राजु सिंहका बुवा)। लुरे हरेराम बुवाको आज्ञाअनुसार बागबजारस्थित सिंहको घरमा पुगेर हार्मोनियम बनाउन गए। त्यसपछि उनको सांगीतिक यात्रामा जोडिए नेपालमा प्रख्यात गायक संगीतकार।

संयोग के थियो भने– कलकत्ताबाट गोपाल योन्जनले ल्याएको हार्मोनियम कतै ठोक्किएर बेसुरा भएछ । त्यसपछि त्यो हार्मोनियम बनाउन भगत सिंहले हरेरामलाई बोलाए।

हरेरामले जब हार्मोनियम मर्मत गरे, त्यसपछि भगत सिंहका मात्रै नभएर गोपाल योञ्जनको समेत प्रिय बन्न पुगे। तीस र चालिसको दशकमा महेन्द्र पुलिस क्लब कलासंगीतको लागि गतिलो प्लेटफर्म थियो । त्यहाँ एकसेएक कलाकार पुग्थे। सबै आफ्नो प्रतिभामा खारिएर पुगेका थिए। हरेराम पनि आफ्नो काममा निपुर्ण थिए। उनी भन्छन्, ‘त्यहाँ हार्मोनियम बजाउने मानिसको अभाव खड्किरहेका वेला भगत सिंह र गोपाल योञ्जन दाजुले मलाई त्यहाँ पुर्याउनु भएको थियो। महेन्द्र पुलिस क्लबमा ०३९ सालतिर मैले काम गर्न थालेँ।’

२०३९ साल पुस १४ गतेको एक किस्सा सुनाए हरेरामले। महेन्द्र पुलिस क्लबमा प्रत्येक वर्षको पुस १४ गते राजारानीको जन्मोत्सवमा सांगीतिक कार्यक्रम हुन्थ्यो । यस्ता अवसर पारेर कलाकारहरुले प्रत्यक्ष कार्यक्रमहरु गर्न पाउँथे। नेपालका चर्चित गायक संगीतकार जमघट गरेर गीत–संगीतको प्राक्टिस गर्थे। त्यही वेला नेपालका चर्चित वाद्यवादकदेखि गायक–संगीतकारसँग उनको संगत हुन थाल्यो। सानो कद, हँसिलो अनुहार। बोल्दा मधेशतिरको टोन आउँथ्यो। कतिपयले त उनलाई पत्याउँदैनथे, यस्तो बेला उनी निराश पनि हुन्थे। तर जब मञ्चमा पुगेर हार्मोनियम बजाउँथे, सबै चकित पर्थे। ‘संगीतका हस्तीसँग अत्यन्तै लगावका साथ हामी अभ्यास गर्ने गर्थ्यौं,’ उनी थप्छन्, ‘त्यही अभ्यासका कारण मलाई नेपालका चर्चित गायक संगीतकारले माया गर्न थाल्नुभयो।’

हरेरामले जब हार्मोनियम मर्मत गरे, त्यसपछि भगत सिंहका मात्रै नभएर गोपाल योञ्जनको समेत प्रिय बन्न पुगे।

उनलाई सबैभन्दा बढी माया गर्ने संगीतकार गोपाल योञ्जन नै थिए। उनले सबैभन्दा बढी संगत पनि उनैसँग गरे। ‘म गोपाल योञ्जन दाइको प्रिय थिएँ। उहाँ विन्दास मान्छे। दिलदार पनि,’ बोल्दाबोल्दै नोस्टाल्जिक भए हरेराम। पहिलो पुस्ताका संगीतकारमा गोपाल योञ्जनलाई गम्भीर संगीतकारका रूपमा लिन्छन् उनी । योञ्जनसँग संगत गर्दा आफूले थप सिक्न पाएको उनको अनुभव छ। भन्छन्, ‘गोपाल दाइले हार्मोनियम ठिक्क बजाऊ है भन्नुहुन्थ्यो।’ गोपाल योञ्जनसँग संगत गर्न पाएकोमा आफूलाई भाग्यमानी पनि ठान्छन् उनी। भन्छन्, ‘म कुनै विद्वान मान्छे होइन, तर विद्वानसँग संगतचाहिँ गरेँ। त्यसैले धन्य भएको महशुस हुन्छ।’

योञ्जनसँग हरेरामले कार्यक्रमहरुमा मात्रै संगत गरेनन्, योञ्जनको घरदेखि सहरका गल्लीहरुमा पनि सँगसँगै हुन्थे। योञ्जनसँगको संगतपछि हरेराम कैयौं रात घर नै फर्किएनन्। पुतलीसडकका भट्टी पसलदेखि असनका गल्लीमा गोपाल योन्जनसँग उनी कैयौँपटक हिँडे। ‘गोपाल दाइले कहिल्यै पनि आफूभन्दा जुनियरलाई हेपेर बोल्नु भएन, मलाई कहिल्यै तँ भन्नुभएन,’ हरेराम सम्झिन्छन्।

संगीतकार आभास र अमृत गुरुङ अहिले पनि आफ्नो हार्मोनिमय बिग्रिएमा हरेरामलाई नै सम्झिन्छन्। आफ्ना संघर्षका दिनदेखि नै आभासले हरेरामसँग हार्मोनियम मर्मत गराएका छन्। आभास भन्छन्, ‘हरेरामलाई राम्रो ट्युनरका रूपमा चिन्छु। हरेरामले बाजा मात्रै होइन, संगीत पनि बुझेको छ।’

मान्छेको काम प्यारो हुने हो, हरेरामको काम पनि नेपाली संगीतकारका लागि प्रिय थियो। उनको कामको प्रशंसा एकदिन राष्ट्रिय गीतका संगीतकार अम्बर गुरुङसम्म पुग्यो। जीवनमा अम्बर गुरुङलाई गुरु मानेका हरेराम भन्छन्, ‘पहिलोपटक अम्बर गुरुङसँग फत्तेमान काकाले भेटाइदिनु भएको थियो।’

ज्ञानेश्वरको त्यो पुरानो कोठामा पुग्दा संगीतका गुरुप्रति नमन गरेका थिए उनले। अम्बर गुरुङलाई भेटेको दिनपछि उनको जीवनमा बदलाब मात्रै आएन, संगीतमा पनि धेरैथोक सिकेको बताउँछन्। भन्छन्, ‘उहाँले स–साना कुरा सिकाउनुहुन्थ्यो, उहाँको सिकाइ अद्भूत थियो। हार्मोनियम बजाउँदा चाहिने अनुशासन अम्बर गुरुबाटै सिकें।’

उनले एक किस्सा सुनाए। अम्बर गुुरुङको घरमा आउजाउ हुन थालेपछि उनी गुरुङको प्रिय भए। यस्तैमा एकदिन अम्बर गुरुङले घरमा भेट्न बोलाएको खबर पाए। तर उनी एक हप्ता पछि मात्रै भेट्न पुगे। हप्ता दिनपछि अम्बरका अगाडि उभिएका हरेरामलाई हेरेर गुरुङले भनेको उनले सम्झिए– उहाँले मलाई के भन्नुभयो भने तिमी त असली व्यापारी भएछौ। म त लाजले भुतुक्कै भएँ केही बोल्न सकिनँ।‘

संगीतकार आभास र अमृत गुरुङ अहिले पनि आफ्नो हार्मोनिमय बिग्रिएमा हरेरामलाई नै सम्झिन्छन्। आफ्ना संघर्षका दिनदेखि नै आभासले हरेरामसँग हार्मोनियम मर्मत गराएका छन्।

कम बोल्ने धेरै काम गर्ने स्वाभावका लाग्थ्यो उनलाई अम्बर गुरुङ। भन्छन्, ‘उहाँको हार्मोनियम २५ वर्ष बनाएर सेवा गरें र धेरै कुरा सिकेँ पनि। घरमा व्यापारका कुरा चले पनि उनले भेट्ने गायक संगीतकारसँग संगीतका कुरा हुन्थे। गीतका कुरा हुन्थे। काम र संगतले उनलाई गायक बन्ने रहर पलाउँदै आयो। तिमी गाउन सक्छौ हरेराम भनेर उनलाई धेरैले हौसला दिएको सम्झिए, ‘मलाई गाउन हौसला त दिन्थे तर गाइन। मलाई मेरो स्वरमा कत्ति रुची थिएन।’

गीतै नगाए पनि हरेरामले गीतसंगीत क्षेत्रमा लागेका गायक संगीतकारलाई यादगार ट्युनिङ दिएका छन्। संगीतकार राजु सिंह भन्छन्, ‘हरेराम काठमाडौं आउँदा म दश वर्षको थिएँ । बुबा (भगत सिंह) सँग संगत गर्नुहुन्थ्यो । त्यो बेला गतिलो ट्युनरको अभाव थियो । हरेरामको आगमनले नेपाली सांगीतिक फिल्डमा राम्रै स्थान पायो।’

चालिसको दशकको समय थियो, संगीतकार नातीकाजीले एउटा गीतमा हार्मोनियम बजाएको २५ रुपैयाँ दिएको उनी अहिले पनि सम्झन्छन्, ‘त्यसवेला २५ रुपैया पनि धेरै थियो। दश वटा हार्मोनियम मर्मतको पैसा बजाएर आउन थालेपछि उनले बनाउन भन्दा पनि बजाउनतिर आफूलाई केन्द्रित गरे। हरेराम स्वरस्रमाट नारायण गोपालसँग पनि १० वर्ष सँगै हिँडे । यो एक दशकमा उनी गीतसंगीतको लतमा परे। सँगै असनका गल्लीमा पाइने लोकल मदिराको लतमा पनि परे। गोपाल योञ्जन र नारायण गोपालसँग पिउन नडराउने हरेरामले अम्बर गुरुङको अघि भने कहिल्यै पिएनन्। भन्छन्, ‘अम्बर गुरुसँग जहिल्यै लुकेर खाएँ। गोपाल दाइ र नारायण दाइले भने सँगै राखेर पिलाउनुहुन्थ्यो।’

जीवनमा पहिलोपटक नारायाण गोपाललाई राष्ट्रिय नाचघरमा भेटेका थिए उनले। नाचघरमा एक गीतका अभ्यासका लागि नारायण गोपालले ६ महिना लगाएको उनलाई अझै सम्झना छ। नारायण गोपालपछि उनले गणेश रसिक र रमेश ताम्राकारसँग भेट गर्न पाए। भन्छन्, ‘गणेश दाइको हार्मोनियम त अहिले पनि मै बनाउँछु। उनका प्रिय गोपाल योञ्जन र नारायण गोपाल त थिए नै। अर्का कलाकार थिए वरिष्ठ संगीतकार मदन परियार। मदनबाट उनी साह्रै प्रभावित थिए। हरेराम भन्छन्, ‘मदन दाइ आरडी बर्मनको शिष्य हुनुहुन्थ्यो र चालिसको दशकमा उहाँजति हार्मोनियम बजाउने अरु कोही थिएनन् र उहाँ जस्तोसुकै बाजा बजाउन सक्नुहुन्थ्यो।’

जीवनमा हार्मोनिम बनाउने सीपले एकसेएक प्रतिभावान गायक कलाकारलाई भेटेर धन्य भएको बताउने हरेरामले २०४१ सालमा भूपि शेरचनको हार्मोनियम मर्मत गर्ने अवसर पाए राष्ट्रिय प्रज्ञाप्रतिष्ठानमा। भन्छन्, ‘भूपि शेरचन दाजुलाई भेट्दा म पट्ठा थिएँ। त्यो पहिलो भेटपछि उहाँसँग हार्मोनियम बनाउने बेला मात्रै भेट हुन्थ्यो।