सोमबार, माघ ३, २०७८

यात्रामा नहिँडी मनै मान्दैन अमृतको

राज सरगम  |  काठमाडौं, शनिबार, कार्तिक १३, २०७८

राज सरगम

राज सरगम

शनिबार, कार्तिक १३, २०७८, काठमाडौं

नेपाल समय
पोखराबाट काठमाडौं पैदल यात्रा गर्ने क्रममा गोर्खाको भुसुन्डी खोला तर्दै अमृत गुरूङ/तस्बिर: सामाजिक सञ्जाल

नेपथ्य सांगीतिक समूहका गायक अमृत गुरुङलाई यात्रा गरिरहने लत छ। मौलिक शब्द, भाका र रैथाने गीत खोज्दै गाउँका कुनाकन्दरादेखि पाटन खर्कहरू पैदलै छिचोलेका छन् उनले। सहरका भित्री गल्लीदेखि लामा र चौडा राजमार्गमा समेत उनका पाइला रमाउँछन्। त्यसैले त लेखक/पत्रकार नारायण वाग्लेले उनको विशेष नाम जुराइदिएका थिए- यायावर।

गायक गुरुङको बसाइ प्रायः मोफसलमै हुन्छ। काठमाडौं आउँदा हिँडेरै अनामनगर-भैंसीपाटी धाउँछन्। पैदल हिँड्न उनलाई कुनै गाह्रो लाग्दैन, लाग्छ त रमाइलो। हिँडाइमा उनको आफ्नै लय छ। समय हुनुपर्‍यो, जुनसुकै ठाउँ किन नहोस्, उनी निस्फिक्री हिँडिदिन्छन्। 

एक पटक गुरुङले नवलपरासीमा लेखक/पत्रकार कुन्द दीक्षितलाई १५ किलोमिटर हिँडाइदिएछन्। उसो त पत्रकार गिरीश गिरीलाई लिएर उनी पैदलै धनकुटा पुगेका थिए, १७ दिन लगाएर। पैदल लामो यात्रा तय गरिदिन्छन् उनी। उनका सहकर्मी अत्यास मान्छन्, आत्तिन्छन्। 

‘मलाई हिँड्न मन पर्छ। हेर्न मन पर्छ। सुन्न मन पर्छ। हिँड्दा-हिँड्दै लत बस्यो। कसैले हिँडौँ भने म जहिल्यै तयार। कहिलेकाहीँ उद्देश्यका साथ हिँड्छु, कतिपय निरुद्देश्य हिँडाइ हुन्छ। निरुद्देश्य यात्रा झन् यादगार बन्छन्। हिँडाइ किन मनपर्छ मलाई नै थाहा छैन।’

हरेक यात्राको आ-आफ्नो कथा हुन्छ। कतै सुखद हुन्छ कतै दु:खद्। यात्रा गरिसकेपछि अलि पछि त्यसलाई सम्झँदा मात्रै पनि मजा आउने नै भयो। अनि किस्साहरु बन्छन्। 

धेरै पत्रकारहरु उनसित सोधिरहन्छन्- यात्राका क्रममा भोगेको कुनै रमाइलो क्षण भन्नुस् न! उनी रमाइलो केलाई मान्ने भनेर टारिदिन्छन् यात्रामा रमाइलोको परिभाषा के हो? यसको उत्तर उनलाई सजिलो लाग्दैन। 


‘दूधकोसीको किनारमा बसेर माझी दाइले ल्याएका असली माछामा घिउ हालेर झोलसहितको तिउन बनाई भात खाँदाको क्षणलाई रमाइलो मान्ने कि नमान्ने? भोको पेट दिनभरि हिँड्दा रमाइलो मान्ने कि नमान्ने? तल दूधकोसी बगिरहेको छ?  किनारैकिनार हिँडिरहँदा पिउने पानी नपाएर तिर्खामा छटपटिनुपरेको क्षणलाई कसरी सम्झिने? यात्रा गर्ने क्रममा सिनेमा हेरेजस्तो हुँदोरहेछ। हरेक यात्रा रमाइलो मान्छु। रमाइलोसँग लिन्छु,’ उनले असहजतालाई पनि रमाइलो मान्ने बताए। 

उनी समाजशास्त्रका विद्यार्थी हुन्। त्यसैले यात्रामा देखिएको समाजसँग बढी नजिक हुन रुचाउँछन्। ‘मलाई मान्छेको हेलमेलले छुन्छ', भन्छन्, ‘त्यो अलि संवेदनशील हुन्छ। प्रकृति देखिन्छ। पहाडको टुप्पामा आगो बालेर गफिन पाए त्यो गज्जब हुन्छ नि। त्यो स्मरणयोग्य हुन्छ है।’

हरेक यात्राको आ-आफ्नो कथा हुन्छ। कतै सुखद हुन्छ कतै दु:खद। पछि त्यसलाई सम्झँदा मात्रै पनि मजा आउने नै भयो। अनि किस्साहरु बन्छन्। 

सरलतामा रमाउने यी गायकले जीवनमा नजानिँदो पाराले यात्राको थालनी गरेको बताउँछन्। बाल्यकालमा कहिले बज्यैलाई पछ्याउँदा, कहिले फूपु लिन जाँदा यात्राको सुरुवात भएको सम्झना छ गुरुङलाई। भन्छन्, ‘म साह्रै भाग्यमानी रहेछु। नेपालका धेरै जिल्ला घुमेँ। जीवनमा यत्तिको यात्रा गर्न पाएँ।’

उमेरले पाँच दशक उक्लिसके तैपनि धेरैले उनको उमेर पत्याउँदैनन्। यसको रहस्य पनि हिँडाइलाई मान्छन्। बुढ्यौली त सबैलाई आउँछ, तर सदाबहार देखिन्छन्। सार्वजनिक यातायातमा चढ्छन्। यात्रामा भेटिएका मानिससँग माहोल मिले बात मारिहाल्छन्। 

यात्रा गरिरहँदा उनी फलानो ठाउँमा बास बसुँला भनेर हिँड्दैनन्। आफूलाई बास माग्दै हिँड्ने यात्री सम्झिन्छन्। जहाँजहाँ पुगे त्यहाँ बास मागेरै बसे। 

यात्रामा चिनेचिनेजस्तो लाग्यो भन्नेहरु पनि भेटे उनले। तपाईं त अमृत गुरुङजस्तै हुनुहुँदो रहेछ भन्नेहरु पनि भेटे। तपाईं त 'डिट्टो' अमृत गुरुङ भन्ने पनि भेटे। बाटोमा तथा चियापसलमा फर्कीफर्की हेर्नेहरु पनि भेटे। तर कसैले तपाईं अमृत गुरुङ नै हो भनेर नसोधिदिएकोमा थकथकी मान्थे उनी। सोधेको भए 'हो' भन्थे उनले। तर सोधिदिँदैनथे। छुट्टिने बेलामा आफैँले म हिँ अमृत गुरुङ नै हुँ भनेर भनिदिन पनि भ्याइहाल्थे। तर कसले पत्याउनै सक्दैनन्। त्यति ठूलो गायक हामी जसरी सामान्य भएर हिँड्लान् त? छुटेका मानिसको मनमा कुरा खेलेको उनैले सम्झिए। तर सत्य अमृत गुरुङ पैदल यात्रामा निस्किँदा सामान्य भएरै हिँड्छन्। चिन्नेहरु पनि एकछिन झुक्किन्छन्।

०००

यात्रा सबै सुखद हुँदैनन्। तर सम्झनलायक भने  हुन्छन्। यात्राले धेरथोर सांस्कृतिक पक्षको पनि ज्ञान गराउँछ। अमृतले एकपटक २७ दिन लामो निरन्तर पैदल यात्रा गरेछन्। त्यो सम्भवतः उनको जीवनको सबैभन्दा लामो यात्रा थियो। जहाँबाट सुरु भयो त्यहीँ पुगेर टुंगियो। सिक्लेस वारिपारिको मादी गाउँ, ताङतिन र दूधपोखरी पुगे यही बीचमा। 


१९९० तिर गुरुङहरुको भित्री बस्ती पुगेका रहेछन् उनी। १० वर्षपछि उही स्थान दोस्रो पटक २७ दिन लगाएर यात्रा गरेछन्। यो यात्रा अलि बढी सांस्कृतिक पनि रहेछ। गुरुङ समुदायले हुर्किएको छोरीचेलीलाई ठूलो भएको भाव बुझाउन हिमाल उकाल्ने, दूधपोखरी घुमाउने संस्कृतिसँग पहिलो पटकको यात्राले नै नजिक बनाएको थियो। २० जनाको टोली थियो। लक्ष्य थियो- गुरुङ समुदायको मौलिकता क्यामारामा कैद गर्ने। उनीहरुले २७ दिनमा अन्नपूर्णको एक फन्को मारेका थिए। 

यात्रा गरिरहँदा उनी फलानो ठाउँमा बास बसुँला भनेर हिँड्दैनन्। आफूलाई बास माग्दै हिँड्ने यात्री सम्झिन्छन्। जहाँजहाँ पुगे त्यहाँ बास मागेरै बसे। 

गुरुङ समुदायका महिला दूधपोखरी नुहाउन जान्छन्। नुहाएर 'नमुन पास' गर्छन्। मनाङ हुँदै मुक्तिनाथ पास गर्छन्। तातोपानी हुँदै घोडेपानी पनि पार गर्छन्। अन्नपूर्णको फेरो मार्छन्। एकदम थोरै मानिसले यो यात्रा तय गर्ने सुनाउँछन् उनी। पहिलोपटक देखेको दूधपोखरीसम्मको यात्रालाई गुरुङले सन् २००० मा पुनः दोहोर्‍याएका थिए। 

ताङतिन गाउँ पुगेर रैथाने गुरुङ भाका र गायकसँग कुरा गरेका थिए उनले। भन्छन्, ‘रोधी टोलीसँग बसेर रोधी गाएका थियौं।’ 

दूधपोखरी यात्राको आफ्नै मौलिक विशेषता छ। मनसुनको समयमा धान र कोदो रोपिसक्छन्। रोपाइँको काम नहुने भएपछि छुट्टीको जस्तो बेलामा सबै गाउँलेको फुर्सद हुने भइहाल्यो। अनि आफ्ना बच्चा लिएर हिमालतिर जान्थे। हिमालमा खोरिया छ। भैंसीगोठ छ। गाईगोठ र भेडीगोठ छ। कुन सिजनमा के काम गरिन्छ। पर्यावरणीय महत्त्व के छ। यो सबै चिज देख्न पाइन्थ्यो।

‘खेतबारी मल्याउने मल त हिमालमा छ। छोरीचेलीलाई घुमाउन क्रममा ती विभिन्न ठाउँका खर्कमा लगेर जान्थे। एककिसिमको शिक्षा हुन्थ्यो। चराचुरुंगी, जनावरबारे पनि धेरै कुरा जान्न सकिन्थ्यो। गुरुङलाई शैक्षिक भ्रमण लाग्छ त्यो यात्रा। ‘समाजशास्त्रको विद्यार्थी भएकाले पनि त्यहाँको समाजले लोभ्याएको थियो,’ उनले आफू आकर्षित हुनुको कारण खुलाए। पैदल भ्रमणलाई तीर्थयात्रा मान्छन् गुरुङ। त्यसैले २० वर्षबीचमा सिक्लेस धेरैपटक पुगे।

दस वर्षको अन्तरालमा पुग्दा उनले सिक्लेस आसपासका गुरुङ बस्तीमा भेटिने मौलिक भाका फेरिएको पाए। दूधपोखरी जाने तीर्थालु घटेका थिए। गुरुङ भेषभूषा फेरिएको थियो। परम्परागत जीवनशैलीमा ठूलो बदलाव पाए उनले। भन्छन्, ‘१९९० सालमा जुन गीत सुनेको थिएँ, ती गीत सन् २००० मा पुग्दा सुन्न पाइनँ।‘ एक दशकमै ती गीत हराएकोमा गुरुङ भाउन्निएका थिए। 

पहिलोपटक उनले देखेको ताङतिन गाउँको चित्र नभत्कियोस् भन्ने सोचले उनी दोस्रो पटकको २७ दिन लामो यात्रामा पनि ताङतिन जान सकेनन्। सोल्टिनीहरुले उनलाई धेरैपटक बोलाए। माया गर्नेहरुको निम्तो आइरह्यो। तर उनी गएनन्। ‘मेरो मनमष्तिस्कमा रहेको त्यो गाउँको सुन्दर चित्र अझसम्म जस्ताको तस्तै छ। त्यो सुन्दर चित्र भत्किन्छ कि भनेर होइन कि, म टाढैबाट हेरेर आनन्द लिइरहेको छु। त्यसलाई मैले जस्ताको त्यस्तै राखेको छु,’ दोहोर्‍याएर ताङतिन नजानुको कारण खुलाए उनले।  


अचेल उनलाई त्यो गाउँको बारेमा धेरैले सुनाउँछन्। गाउँ दिनप्रतिदिन फेरिएको, मटर पुगेको, हाइड्रो पावर पुगेको कुरा सुन्न पाएका छन्। गाउँ खुसी छ।  मौलिकता घट्दै गएकोमा चिन्तित छन् उनी, ‘ह्यारी हिल बन्दै गयो।’ 

दशकपछि दोहोर्‍याएको यात्रामा उनले सामाजिक परिवर्तन मात्रै देखेनन् सांस्कृतिक परिवर्तन पनि टन्नै देखे। भन्छन्, ‘गाउनेहरु लोप भइसकेका थिए। कुनै पनि स्थानको वर्णन गीतको शब्दले नै व्याख्या गर्दन्थ्यो। पर्यावरण पनि गीतमा नै अटाउँथ्यो। अब त्यस्तो कहाँ!’

फूललाई किताबको पानामा राखेको केही दिनपछि हेर्दा अत्तर जस्तो बसाउँथ्यो। निरमशी, पाँचऔंलेहरु धरतीमा त थिए, गीतसंगीतका अंग बन्न छोडेका थिए। सन् १९९० को दशकमा गाउँबाट जात्रा तथा तीर्थयात्रामा निस्किँदा मानिस गरगहनाले सजिएर जान्थे। सन् २००० मा जाँदा ती गहना ‍पहिरिएर हिँड्ने लोप भइसकेका थिए। कारण थियो असुरक्षा।

माओवादी जनयुद्ध सुरु भइसकेको थियो। डरलाग्दो कुराचाहिँ मान्छे लुटिन्थे, कुटिन्थे। कताकता मारिन्थे पनि। गरगहना लगाएर हिँड्ने वातावरण धमलिएको थियो। एकै दशकबीचमा आएको सांस्कृतिक परिवर्तनले उनलाई दसकौँसम्म नरमाइलो बनाइरहन्छ।

दस वर्षमै बदलाव आउनुमा बाटो र प्रविधिको कारण मान्दैनन् गायक गुरुङ। यसलाई द्वन्द्वको असर मान्छन्। द्वन्द्वले नराम्ररी घोच्छ गुरुङलाई। त्यसैले नेपथ्य ब्यान्डले गीत नै बनायो, आपसमा लडी के पायौं?

दशकपछि दोहोर्‍याएको यात्रामा उनले सामाजिक परिवर्तन मात्रै देखेनन् सांस्कृतिक परिवर्तन पनि टन्नै देखे। भन्छन्, ‘गाउनेहरु लोप भइसकेका थिए। कुनै पनि स्थानको वर्णन गीतको शब्दले नै व्याख्या गर्दन्थ्यो। पर्यावरण पनि गीतमा नै अटाउँथ्यो। अब त्यस्तो कहाँ!’

१० वर्षअघिसम्म स्याखु ओडेर हिँड्ने गाउँले सन् २००० मा प्लास्टिक ओढ्न थालेको देखे। भेडीगोठ र भैंसीगोठ खाली देखे। दशकअघिसम्म खर्क खाली थिएनन्। 'हाम्रो गोठमा बस्न आओ' भनेर गोठालाहरु नयाँ–नयाँ परिकार बनाउँथे। वनमा हुने तरुल, च्याउ र वनफलफूल खोजेर राख्थे। चेलीबेटीहरु गएको देखेर पाहुना बोलाउँथे गोठालाहरू। दशक पुगेपछि मुस्किलले दुई गोठ देखे उनले। 

गोठाला कहाँ गए त? भन्छन्, ‘धेरै मानिस अरब गए। गोठमा बस्न गाह्रो छ। गोठाले जीवन, न हिउँ भन्न पाइन्छ, न पहिरो।’

खर्कहरुमा गाईभैँसी, कुकुर, भेडाबाख्रा त फाट्टफुट्ट थिए, मानिस कम थिए। उनीहरु डराइरहेका थिए। ‘हिजोआज दुःख दिन लाग्यो। मलाई डर लाग्ने थिएन भाइ। हिजोआज डराउँछु। मलाई तर्सायो। हतियार लिएको मानिस देखेपछि डरलाग्दो रहेछ, मलाई पनि डर लाग्यो,’ खर्कमा भेटिएको गोठालेले भनेको सम्झछन् गुरुङ। 

माओवादी द्वन्द्वमा गोठालेको भनाइ सुनाउँदा सुनाउदै भावुक भए गुरुङ। एकछिन रोकिए। गोठाले जीवन पनि चैनको थिएन। गोठमा बन्दुकको नाल तेर्स्याएर 'जंगलतिर हिँड्' भन्नेहरु बढेसँगै गोठालेहरु पलायन हुन बाध्य भएका थिए, ‘मान्छे देखेर मान्छे डराउनुपर्ने समयमा यात्रा गरेँ। कुनै दिन जङ्गलमा मान्छे भेटिँदा साथी भेटिएजत्तिकै हुन्थ्यो। गोठालेको हातमा जब लौरीको साटो बन्दुक हुन थाल्यो, गोठहरु मासिँदै गए।’

गोठ मासिएसँगै मौलिक गीतसंगीतको खानी पनि मासिएको लाग्छ उनलाई। त्यो पुस्तासँगै गीत पनि गएको मान्छन्। जुन ठाउँमा रेडियोसमेत सुनिँदैनथ्यो, त्यहाँ रेडियोले गीत त पुर्‍याएको थियो तर त्यसको मिठास थिएन। मौलिकता छँदै थिएन। जनावर, पशुपक्षी र चराचुरु‌ंगी कराएको स्वर थियो। हावाको सिरसिर सुनिन्थ्यो। थकानको सुसेलीमा पनि गीत भेटिन्थ्यो। प्रकृतिको छटामा गीतका भाका गुनगुनाइन्थ्यो। ‘लोकगीत त त्यसरी निस्किने हो। अब मुस्किल छ,’ उनलाई चिन्तित बनाइरहन्छ।  

गोठाले यात्रा आफैँमा सृजनशील पनि हो। जब गोठ मासिँदै गयो, रैथाने गीतको एउटा खानी नै संकटमा पुग्यो। यसो हुनुको कारण गुरुङ द्वन्द्वको बेला ती लोकगीत गाउने पुराना मानिस विस्थापित हुन पुगे। 

वनपाखा र गाउँघरमा गाइने गीत सोखले जन्मिन्थ्यो। दुःखमा फुर्थ्यो। श्रुति परम्पराबाट सिकिरहेको सिकाइ थियो, मुखाकार मौलिक भाका। आत्माबाट प्रेरित भएका हुन्थे, ती भाका। जुन पुस्तैनी हस्तान्तरण हुन्थ्यो। त्यो हरायो।  त्यो कालखण्डमा कोही दबियो। कोही दबाइयो। जसले लिनुपर्ने हो, ऊ अरब भासियो। उनी भन्छन्, 'बूढा मरे, भाका सरे' भनिन्थ्यो। त्यसो भएन। भाका सर्नै पाएन। एक त दिने मानिस थिएनन्। अर्को लिने मानिस झन् भएनन्। दुवै विस्थापित भए। संस्कृति मासियो।’ 

गोठाले यात्रा आफैँमा सृजनशील पनि हो। जब गोठ मासिँदै गयो, रैथाने गीतको एउटा खानी नै संकटमा पुग्यो। यसो हुनुको कारण द्वन्द्वको बेला ती लोकगीत गाउने पुराना मानिस विस्थापित हुन पुगे। 

राम्रोनराम्रो काममा स्वतस्फूर्त आउने गीतसंगीत हरायो। ‘अहिले लोकगीत त छ, तर त्यो रेडियो प्रभावित भयो। मोबाइल प्रभावित भयो। बजारबाट गएको गीतले कति बोक्न सक्छ मौलिकता?’

उनलाई लाग्छ, गाउँमा मानिस आएर बसिदिए हुन्थ्यो। गाउँ सुनसान छ। गाउँ खाली हुँदै गयो। ‘घर, घरजस्तो परिवार भए त लाग्ने हो। कुनै सम्पन्न ठाउँमा जन्मिएका हामीले घर सिंगार्न सकेनौँ,’ गुरुङ बेचैन देखिए। 

०००

फिल्म 'क्याराभान'का नायक थिन्ले लेन्डुप लामालाई भेट्न सन् २०१२ मा डोल्पा पुगे गुरुङ। सन् २००४ मा अमृतले गाएको 'स कर्णाली' गीतमा गुरुङ र थिन्लेले संयुक्त अभिनय गरेका थिए। सुटिङस्थलमा उनीहरुको मित्रता झ्याङ्गिएको थियो। त्यही समय अमृतले कुनै दिन थिन्लेको गाउँ आउँला भनेका थिए, तर थिन्लेले पत्याएका थिएनन्। आठ वर्षपछि गुरुङ थिन्लेको गाउँ पुगेरै छाडे। यो यात्रामा उनले सात दिन लगातार हिँडे। गुरुङ भन्छन्, ‘काठमाडौंबाट सर्लाङसम्म पुग्न सात दिन हिडेँ। त्यहाँबाट पुरै एकदिन हिँडेपछि मात्रै थिन्लेको गाउँ पुगियो।’

थिन्लेको घरको आँगनमा पुगेर बोलाएको उनले सम्झिए, 'थिन्ले!'

'को हो?'

'म।' 

'को म?' 

'म अमृत। काठमाडौंबाट आएको।' 

आफ्नो घरको आँगनमा उनलाई देखेर थिन्लेले सपना जस्तो मानेको कुरा पनि सुनाए अमृतले। 'थिन्लेले लामो सास फेरेर ‘ओहो’ भनेको थियो। पहिला त चिन्नै सकेनन्। पछि कसरी आइपुग्यौ यति टाढा भनेर सोधेका थिए, थिन्लेको घरमा भएको पहिलो भेट सम्झिए गुरुङले।

गुरुङले म्युजिक भिडियो सम्झाइदिएपछि थिन्लेले गुरुङसँग टाउको ठोकेका थिए। त्यसपछि पाहुनालाई हुने सेवासत्कार सुरु भयो। पाहुनालाई के खाने भनेर भोटे भाषामा सोधेसँगै सानो केटो दौडिएर भित्र छिरेको सम्झिन्छन् उनी। ‘त्यो बालकले खानेकुराको बिस्कुनै लगायो। कोककोला, क्याटवरी चकलेट, ह्विस्की, बियर सबै थिए, चीनबाट आएका।’

उनले यी कुनै चिज खाएनन्। बरु 'भोटे चिया' खाने मन गरेछन्। भोटे चियासँगै बढेको कुराकानीका क्रममा काठमाडौंबाट नेपालगन्ज, डोल्पा, जुफाल र दुनै हुँदै थिन्लेको गाउँ पुगेका गुरुङलाई थिन्लेले कष्टकर यात्राको कथै हालेको सम्झिए गुरुङले। भन्छन्, ‘थिन्लेले डोल्पाको दुनैबाट साल्दाङसम्म मोटर बाटो कहिले आउँला ल भन्नुस्?, भनेर सोधे।'

थिन्लेको यो प्रश्नले उनलाई पिरोलेको अझै सम्झना रहेछ। उनले सोचेर जवाफ दिएछन्। उनले आफ्नो विचार यसरी सुनाएछन्– ‘मेरो जस्तो विचार भएको नेता पायो भने २० वर्ष लाग्छ। मेरो भन्दा राम्रो बुद्धि र समाजप्रति संवेदनशील नेता भएमा १० वर्ष लाग्ला।' 

थिन्लेलाई उनको कुरामा विश्वास नलागेर मन मारेको सम्झिए, त्यति समयमा आउँदैन भन्दै मन मारे। 

तर उनले जिद्दी गरेर भनेछन्, आउँछु। 

'आउँदैन।' 

केही छिन आउँछ र आउँदैनको दोहोरी चलेछ। थिन्लेलाई विश्वास पनि कसरी लागोस्। १२ वर्षको उमेरमा हिँडेको बाटो थिन्ले ७५ वर्ष पुग्दा पनि नबनेको कथा जोडेको सम्झिए गुरुङले। २२ दिन हिँडेर पोखरा पुग्ने गर्थे थिन्ले। अब मर्ने बेलामा बाटो आउने आस भए पनि आइहाल्ला भनेर पत्याउन थिन्लेले नसकेको अनुहार गुरुङले झलझली सम्झिन्छन्। ‘नेपालबाट त त्यस्तै हो, चीनबाट भने मोटरबाटो पुगेको थियो। जहाँ दुई दिनमा चीन पुग्न सकिन्थ्यो’, भन्छन्, ‘भोटबासीलाई नेपालभित्रैबाट बाटो नआए पनि चीनबाट आउने बाटोले केही राहत मिलेको थियो।’ 

थिन्लेको यो प्रश्नले उनलाई पिरोलेको अझै सम्झना रहेछ। उनले सोचेर जवाफ दिएछन्। उनले आफ्नो विचार यसरी सुनाएछन्– ‘मेरो जस्तो विचार भएको नेता पायो भने २० वर्ष लाग्छ। मेरो भन्दा राम्रो बुद्धि र समाजप्रति संवेदनशील नेता भएमा १० वर्ष लाग्ला। 

यो यात्रा गरिरहँदा मधेसमा संघीयताको आन्दोलन चलिरहेको थियो। थिन्लेले मधेस आन्दोलनका बारेमा सोधेको सम्झिन्छन् गुरुङ। बुझ्दिनँ भनेर टार्न खोजे पनि सकेनन्। अन्तिममा मधेस आन्दोलनका बारेमा कुरा चलिछाड्यो। उनी थिन्लेले भनेको सम्झिन्छन्, ‘हिमालको बालीले तीन महिना खान पुग्दैन। मधेसमा जे रोपे पनि फल्छ। फेरि किन झगडा गरेका होलान्!’ 

०००

लामो यात्रा गरेका गायक अमृतले मूलधारको भनिने समाजसँग मोफसलको समाज जोडिन नसकेको देखे। समाजमा छुटेको कुरालाई उनी व्याख्या गर्न नसकिने बताउँछन्। समाजमा धनी र गरिबको खाडल अझै लामो र गहिरो बन्दै गएकोमा चिन्तित छन् उनी। ‘साँच्चैको परिवर्तन नेपालमा आएकै छैन। ६२/६३ को आन्दोलनबाट केही परिवर्तन हुन्छ कि भन्ने थियो। तर मैले यात्राका क्रममा त्यो देखिनँ', उनले सुनाए।


गरिबी भनेको धनसम्पत्तिले नहुनु भन्ने होइन भन्ने लाग्छ उनलाई। उनका अनुसार विचारका कारण गरिबी आउँछ। हिजोको संस्कार नै आजका तन्नेरीले सिकिरहेको देख्छन् नि। भन्छन्, ‘समाजमा ‘द्वैध चरित्र’ भएका मानिस बढी भए। अगाडि एउटा कुरा गर्छन्, पछाडि अर्को कुरा गर्छन्। नियम छ लागू हुँदैन। आफूलाई हुँदैन, अर्कालाई हुन्छ फेरि। न्यायलयले गरेको फैसला हेर्नुस् त। मैले गाली गर्न खोजेको होइन।' हामी सम्पन्न ठाउँमा जन्मिएका मानिस भएर विपन्न बनेको उनको ठम्याइ छ। भन्छन्, 'हुम्ला-जुम्लामा सुखी छन्। मिठोमसिनो खाइरहेका छन्। दायाँबायाँ गर्दैनन्। हिजो नै के भएको थियो र आज हुने।’

उनले यात्रामा धेरैवटा बाटो छिचोले। घुम्ती, चोक र गोरेटोमा उभिएर गाउँ हेरे। बूढापाकाका ओठमा झुन्डिएका मौलिक भाका सुन्न खोजे। तर समृद्धिका नाममा ती रैथाने भाका र मौलिक परम्परागत रहनसहन उखेलिँदै गएको देखे। राज्यले समृद्धिको नारा डोजर हो भनेजस्तो गरिदिएकोमा उनी चिन्तित छन्। अमृत भन्छन्, 'बाटो बनाउनु गज्जब चिज हो। बाटोले सुत्केरीलाई छिटै अस्पताल पुर्‍याउन सकिएला। बालबालिका स्कुल सजिलै जान सक्लान्। बटुवा साँझ घर छिटो फर्किन सक्ला।'

तर भौगोलिक डोजरभन्दा नि विचारको डोजरले समाज बिग्रँदै गएको देख्छन् उनी। विचारको डोजेर जथाभाबी चलाउँदा धेरै कुरा विस्थापित हुन पुगेको देख्छन्। त्यस्तै एउटा मौलिक संगीत पनि गाउँघरबाट विस्थापित हुँदै गएको ठान्छन् उनी। 

कवि तीर्थ श्रेष्ठको एउटा भनाइ सम्झिन्छन् गुरुङ– बाटोले बाटो देखाउँछ,त्यसैले बाटो हुन्छ, फरक यत्ति हो कि बाटो कसरी बनाउनुहुन्छ।

बाटो मात्रै फेरिएन। सँगसँगै पर्यावरण पनि फेरियो। उनी काठमाडौंको पर्यावरण बिग्रिएको देख्छन्। सुरुवाततिर आउँदा काठमाडौंका पर्यावरण र अहिलेको पर्यावरणमा ठूलो बदलाव देख्छन्। भन्छन्, ‘घरभित्र एसी लगाएर गफ दिन्छौँ हामी। बाहिर निस्किए सास फेर्ने हावा ठिक छैन।’

२०७२ मा आएको भूकम्पपछि उनले दोलखाको यात्रा गरेका थिए। चरिकोट, सुनखानी, कालिञ्चोकसम्म पैदल यात्रा गर्दा उनले भूकम्पपीडितको बिचल्ली नजिकबाट देखे। भन्छन्, ‘भूकम्प धरतीमा गयो। तर कम्पचाहिँ मानिसको मनमनमा रहिरह्यो।’ 

परकम्प निरन्तर आइरहेका थियो। तर हिलाम्ये गोरेटोलाई लौरोको साहरामा पैदल यात्रामा निस्किएका थिए, जहाँ प्लास्टिकको छानामा ओतिन विवश मानिसको आर्तनाद देखे। ‘जसलाई पर्‍यो उसले भोग्यो’ भन्छन् उनी। 

प्राकृतिक विपत्तिसँग जुधिरहेका ती मानिसलाई उनले सम्झिए, ‘हामी मानिस हामी निकै निरीह हुँदारहेछौँ। केही गर्न नसक्ने रहेछौँ। हामीले जब केही सहयोग गर्न सक्दैनौँ नि त्यसपछि धेरै कुरा बिर्सिन मन लाग्दोरहेछ।’

उनले धेरै ठाउँमा मानिसबीचको असमानता देखेका छन्। आरनमा रात काटेका छन्। भेडीगोठ र खर्कहरुमा उज्यालो बनाएका छन्। ढुसी लागेको कोठामा मस्त निदाएका छन्। भन्छन्, ‘भूकम्पले मान्छेले बनाएका संरचना भत्काएको थियो। मन भत्किएका थिए। गाह्रो थियो। तर आत्मीयता थियो, आपसमा। हामीमा जस्तै दुःख परे पनि हामीसँग हाँसो छ। जस्तै अप्ठ्यारोमा पनि हामीसँग मुसुक्क हाँस्ने गहना छ। यो चिजचाहिँ अन्य मुलुकमा भेटिनँ। नेपालमा चाहिँ छ।’ 

गायक अमृतले नेपालको मात्रै यात्रा गरेका छैनन्। सांगीतिक यात्रा उनले विदेशमा पनि उत्तिकै गरे। नेपाली मौलिक गीतसंगीतमा उनले दिएको योगदान विश्वमा छरिएर बसेका नेपालीसम्म पुगेको छ। उनी यो यात्रालाई मौकाले पाएको बताउँछन्। सन् १९५४ मा न्युजिल्यान्डको यात्रा गर्न सत्यमोहन जोशीले धेरै दिन लगाएको सम्झिन्छन्। अब त्यस्तो समय लाग्दैन। संसारभरि नेपाली फैलिएसँगै कलाकार विदेश जान सक्ने भए। जसरी भारतीय र चिनियाँहरु विश्वमा फैलिएका छन्, त्यसैगरी नेपालीहरु फैलिए। उनी भन्छन्, ‘सन् १९९० को दशकमा लडाइका कारण गए। कोही आजित भएर हिँडे। कोही कमाउन पर्छ भनेर हिँडे। मूलतः रोजगारीको खोजीमा हिँडेका मान्छेहरु अहिले संसारभर फैलिए। हामी कलाकार पनि उहाँहरू भएको कारणले पुग्न पाइयो।’ 

कवि तीर्थ श्रेष्ठको एउटा भनाइ सम्झिन्छन् उनी– बाटोले बाटो देखाउँछ,त्यसैले बाटो हुन्छ, फरक यत्ति हो कि बाटो कसरी बनाउनुहुन्छ।

विदेशमा यात्रा गरिने क्रमको जरोचाहिँ उनी १९९० लाई दिन्छन्। विश्वको धेरै वटा देशमा आफ्नो प्रस्तुति दिएको अमृतले यात्राको थालनी नै विश्वयुद्धमा लडेका लाहुरे प्रथासँग जोड्छन्। सीमित जाति र समुदायबाट फैलिएको यो लाहुर प्रथाले यात्राले लय हालेको ठान्छन्। नेपाली सामाजिक परिवर्तनसँगै नेपाली त्यहाँत्यहाँ पुगे जहाँ कलाकारहरु बोलाइन्छन्। भन्छन्, ‘पछिल्लो समय चाहिँ आफ्नो बच्चाहरू यहाँ (नेपाल) बस्न भन्दा विदेश गइदियोस् भन्ने भयो। चलन नै बस्यो।’ 

विदेशमा बसेका नेपालीले भोगेको सुखदुःख पनि देखेका छन् उनले। भन्छन्, ‘सुख त देखिँदो रहेछ। दुःख देखिँदो रहेनछ। सुख सबैले बाँड्दा पनि रहेछन्। तर दुःख नबाँड्ने रहेछन्। सबै ठाउँमा पुग्दा देखेको भोगेको के हो भने, नेपाल जति सुखी ठाउँ संसारमा कहीं पनि देखिनँ।’

हरेक मान्छेका दुःखका चाङ हुन्छ। नेपालमा त्यस्ता सुखदुःख देखाउन सकिन्छ। देखिन्छ। तर विदेशमा देखिँदैन। देखाउन नसकिने बताउँछन् उनी। महिनाभरि काम गरेर गोजीमा पैसा हुन्छ भन्ने ग्यारेन्टीचाहिँ विदेशमा देखे उनले। तर खुसी देखेनन्।

खुसीविहीन किन हुँदैछ समाज? ‘हाम्रो समाज परनिर्भर भयो। जति परनिर्भर हुन्छ त्यति खुसी कम हुने हो।’ 

मान्छेले घर बनाएर मोटर चढ्यो भन्दैमा विकास मान्दैनन् उनी। यात्राका क्रममा उनले शिक्षामा देखिने विभेद कोट्याउँछन्। भन्छन्, ‘हामी यस्तो देशका रैती हौँ आफ्नो बच्चा बेलायतमा लगेर पढाउने तर जनताको बच्चालाई पढ्ने स्कुल खोल्न जाँन्दैनौँ।’

राणाकालमा मुखको भरमा शासन चलाएकै शैली देख्छन् उनी आजको पनि शासन सत्ता। कवि दुर्गालाल श्रेष्ठको एक लाइन सम्झिन्छन्– ‘झुल्किन्छ है छाया, वस्तु अन्सार।’

समाजशास्त्री चैतन्य मिश्रले हरेक मान्छेले समाज बुझ्नका लागि ‘सार्वजनिक सवारीसाधन’ चढ्नुपर्छ भनेको सम्झिन्छन्। र आफैँलाई पैदल हिड्न प्रोत्साहन गर्छन्।

अचेल अमृत पोखराबाट १३ किलोमिटरभित्र पर्ने मूलपानीमा भेटिन्छन्। जहाँ एउटा भैँसीगोठ र केही खेतीबारी छ। एकान्त छ। हरियाली छ। पर्यावरणले पनि सुन्दर छ। संगीत सिक्छन् र केही बालबालिकालाई संगीत सिकाउँछन्। बचेको समय भैंसीको स्याहारसुसार र खेतबारीको काममा अल्झिन्छन्। 

हुन त यी गायकलाई नपुग्दो केही छैन। तर मन मान्दैन भन्छन्। यो गोठमा बस्नुको कारण रहर र बाध्यता दुवै मान्छन्। अलिकति आफ्नै पैदल हिँड्न बानी अलिकति आमाले सुनाएका एकादेशका कथाजस्ता लाग्ने यथार्थ। आमाले भनेको सम्झिन्छन्- 'यही खेतको पराल बेचेर तँलाई पढाएको थिएँ। यही खेतका भात खाएर तँ हुर्किएको होस्। यसलाई बाँजो नराख्नु बाबु!' आमाको वचनलाई ड्यूटीका रूपमा पूरा गर्दै आएका अमृतले यसलाई पनि यात्रा नै ठानेका छन्।

– सबै तस्बिर अमृत गुरुङको फेसबुकबाट


प्रकाशित: October 30, 2021 | 12:40:00 काठमाडौं, शनिबार, कार्तिक १३, २०७८
राज सरगम

राज सरगम

काठमाडौं, शनिबार, कार्तिक १३, २०७८

थप समाचार

शान भुसालको 'नशा' सार्वजनिक

युवा गायक तथा संगीतकार शान भुसालको 'नशा' बोलको गीत सार्वजनिक भएको छ।

नेपाल आइडल सिजन ४ को भोटिङ सेलपे र श्रृष्टि एपबाट

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालि, नेपाली टेलिभिजन जगतको सर्वाधिक चर्चित सांगीतिक कार्यक्रम नेपाल आइडल सिजन ४ को आधिकारिक भोटिङ पार्टनर नियुक्त भएको छ।

नेपाल सांगीतिक संघमा नयाँ कार्यसमिति

नेपाल सांगीतिक संघको २२ औं साधारणसभाबाट मिलन मोक्तानको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ।

दरबारमार्ग तताउन बलिउड गायिका आसीस कौर नेपालमा

बलिउडकी चर्चित गायिका आसीस कौर नेपाल आएकी छन्।

'आकासे खेती'को पहिलो गीत 'चिटिक्कै परेर आइछेउ'

केही अगाडि फष्टलुक सार्वजनिक गरेको निर्माण युनिटले फिल्मको प्रचार प्रसारमा थप बल पुर्याउन गीत सार्वजनिक गरेको हो।

सानदार जीवनको परिकल्पनाले जन्मिएको राजनको 'चरा'

चराहरु स्वतन्त्र छन्, बिन्दास छन्। हिँडिरहने मानिसको स्वभाव घरमा खुम्चिनुपर्दाको पीडा कति दर्दनाक! चराजस्तै उड्न पाए जीवन कति सानदार हुन्थ्यो होला!’

ट्रेंडिंग

नेपाल समय
राजनीति

गगन र विश्वप्रकाशः संघर्ष कि सहकार्य?

यसअघि प्रश्न गर्ने ठाउँमा रहेका उनीहरु अब उत्तर दिने ठाउँमा आइपुगेका छन्। त्यसकारण अबको चार वर्ष उनीहरुको अग्निपरीक्षा हुनेछ।
नेपाल समय
शिक्षा

आयोगको परीक्षामा उमेर हद हटाउन राहत शिक्षकको माग

नेपाल राहत शिक्षक केन्द्रीय कार्यसमितिले शिक्षक सेवा आयोगले खुलाएको विज्ञापनमा राहत शिक्षकका लागि उमेरहद हटाउन माग गरेका छन्।
नेपाल समय
समाज

भत्क्यो मण्डला : त्यो घर जहाँबाट दयाहाङ 'स्टार' बने

‘कला र सिर्जनामा सिंगो शक्ति खर्चिएका थियौं। कलाकारको सपनामात्रै होइन मण्डलासँग जोडिएको इतिहास पनि भत्केझैं लाग्छ।’
नेपाल समय
संवाद

एमसीसीमा परराष्ट्रलाई बाइपास गरियो, नेताहरूले नै जनतालाई भ्रमित पारे : प्रा.डा. खड्ग केसी [अन्तर्वार्ता]

एमसीसीमा परराष्ट्र मन्त्रालयलाई बाइपास गरिएको छ भनेपछि कति गैरजिम्मेवार रुपमा यसलाई अघि बढाइएको होला त? एमसीसी हस्ताक्षर हुने समयमा परराष्ट्रलाई सोध्‍नु पर्दैन? अर्थ मन्त्रालयमा मात्रै त्यो विज्ञता थियो?
नेपाल समय
श्रृंखला

पेन्सनपट्टासँगै विगत बन्यो सैनिक हिरासतमा मैले पाएको यातनाको कथा [भिडियोसहित]

नेपाल समयले उनका विषयमा ‘गनले अन्याय, गनले न्याय’ शीर्षकमा श्रृंखलाबद्ध रिपोर्टिङ गरेको थियो। लवकुमार गुरुङले जागिर छाडेपछि हाम्रा सहकर्मी अनिल यादवसँग सुनाएको आफ्नो यातनाको कथा जस्ताको तस्तैः

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2022. Design & Development by Cn’C