सोमबार, मंसिर १९, २०७९

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

शर्मिला ठकुरी  |  काठमाडौं, बुधबार, असोज १२, २०७९

शर्मिला ठकुरी

शर्मिला ठकुरी

बुधबार, असोज १२, २०७९, काठमाडौं

नेपाल समय

सिभिल बैंकले गत आर्थिक वर्षमा १६३ प्रतिशतले नाफा बढाएको छ। निक्षेप र कर्जाको पोर्टफोलियो पनि दोब्बरले बढाउन सफल बैंकले हिमालयन बैंकसँग मर्जमा जाने निर्णय गरिसकेको छ। पुसभरमा एकीकृत कारोबार थाल्ने गरी काम भइरहेको बताइएको मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी २२ अर्ब पुग्नेछ। सिभिलको एक सय कित्ता हुने सेयरधनीले मर्जर प्रक्रियापछि बन्ने बैंकमा ८१ कित्ता सेयर पाउने गरी सम्झौता भइसकेको छ। 

तरलता अभावमा पनि सिभिको अपेक्षाकृत प्रगति, हिमालयन बैंकसँगको मर्जर प्रक्रिया, मर्जरपछि पर्ने प्रभाव, बैंकिङ क्षेत्रका समस्यालगायतका विषयमा बैंकका सीईओ सुनील पोखरेलसँग नेपाल समयकर्मी शर्मिला ठकुरीले गरेको कुराकानीको सारांश:

सिभिल बैक हिमालयन बैंकसँग मर्जरको चरणमा छ। पहिले सेयर स्वाप रेसियो १००:३५ पनि दिन नचाहेको हिमालयन बैंक कसरी ८१ दिन तयार भयो? 
पहिलो कुरा १००:३५ मात्र दिने भन्ने कुराको कुनै पनि प्रमाण छैन। यी सबै बजारका हल्ला मात्र हुन्। बजारमा खसीबोकाको मोलमोलाई गरेझैँ मात्र हो। बजारले आफैँ अनुमान गर्‍यो। 

दुई वर्ष अगाडि सिभिलले हिमालयन बैंकसँग मर्जमा जान चाहेको भनेर 'लेटर अफ इन्टेन्ट' (इच्छापत्र) पठाएको थियो। त्यतिबेला सेयर स्वाप रेसियोमा मात्र हैन कुनै  पनि विषयमा छलफल भएन। 

बैंकहरू पारदर्शी हुन्छन्। यसका सबै विवरण समयसमयमा सार्वजनिक भइरहन्छन्। पारदर्शिताकै कारण मर्जरपछि बन्ने बैंकमा सिभिलका सेयरधनीले १०० कित्ता बराबर ८१ पाउने भएका हुन्। बैंकहरुको मूल्यांकन गर्ने पनि विधि हुन्छ। मूल्यांकन भइसकेपछि कुन संस्थाको कति स्वाप रेसियो हुनुपर्छ भनेर सजिलै निकाल्न सकिन्छ। बैंकको मूल्यांकन गर्ने निर्देशिका, कार्यविधि र सूचक हुन्छन्। त्यही विधिप्रक्रिया अपनाएर सम्पत्ति तथा दायित्व मूल्यांकन (ड्यु डेलिजेन्स अडिट- डीडीए) हुने हो। यी सबै विषयको हिसाबकिताब गणना गरेर नै उक्त स्वाप रेसियो कायम गरिएको हो। 

नेपाल समय

नेपाल राष्ट्र बैंकको नियमअनुसार कुनै पनि 'क' वर्गको वित्तीय संस्थाले अर्को 'क' वर्गकै वित्तीय संस्था प्राप्ती गर्दा १० प्रतिशत भ्यालु थपघट गर्न सकिन्छ। त्यो सबै भएपछि हामीले हाम्रो सेयर स्वाप यो हो भनेका हौँ। तैपनि डीडीएपछि आउने भ्यालु नै वास्तविक भ्यालु हो। डीडीएमा आएको भ्यालुमा कम्तीमा १० प्रतिशत प्रिमियम भ्यालु पाउनुपर्छ भन्ने सिभिल बैंकको भनाइ थियो। त्यही अनुसार काम अघि बढेको छ।

पछिल्ला दुई वर्षमा सिभिल बैंकले आफूलाई परिवर्तन गरेको छ। नाफामा राम्रो वृद्धि गर्न सफल भएका छौँ। सम्पत्ति पनि बढाइएको छ। कर्जा र निक्षेप दुवै बढेको छ। यसले कम्पनीको भ्यालु बढाएको छ। पहिले सानो थियो, अहिले पनि सानै छ भन्ने सोच राख्नहुँदैन। 

मर्जका लागि सिभिलले हिमालयन बैंक नै किन चुन्यो? 
मर्जको लागि जुनसुकै संस्था पनि उपयुक्त हुन्छन् भन्ने हुँदैन। मर्ज त्यस्तै बैंकसँग गर्नुपर्छ जहाँबाट छोटो समयमा नै सिनर्जी आओस्। तब मात्र प्रतिफल राम्रो आउँछ। हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।
शाखा हिमालयन बैंकको तुलनामा हाम्रोमा बढी छ। हामीले आन्तरिक प्रविधिमा धेरै राम्रो गरिरहेका छौँ। सञ्चालन खर्च हाम्रो कम छ। यो सबैलाई एकैठाउँमा राखेर एउटै भिजनमा जाने हो भने सबैभन्दा थोरै समयमा सिनर्जी ल्याउन सकिन्छ। अरु बैंकसँग मर्जमा जाँदा कम्तीमा दुई वर्ष लाग्न सक्छ नयाँ सिनर्जीका लागि। तर हिमालयन र सिभिल मर्जमा जाँदा ६ महिनामै सिनर्जी ल्याउन सकिन्छ। त्यो सिनर्जी आउँछ भन्ने कुरामा हामी 'कन्भिन्स्ड' छौँ। सिनर्जी आउने बैंकसँग मर्ज हुनुपर्छ। नत्र मर्जका लागि मात्र मर्ज गरेर काम छैन। 

पहिले त सिभिलले पठाएको प्रस्ताव हिमालयनले अस्वीकार गरेको थियो नि! हैन? 
पछिल्लो समय हिमालयन बैंकलाई पनि मर्जमा जानुपर्ने बाध्यता भयो। उसलाई राष्ट्र बैंकले कारबाही गर्ने भएपछि पहिले मर्जका लागि कहाँकहाँबाट प्रस्ताव पठाएको थियो भनेर खोज्यो। हामीले पहिल्यै प्रस्ताव पठाएकाले उसले सिभिलसँग कुरा गर्‍यो। हिमालयन र सिभिल बैंक मर्ज भएमा छिट्टै सिनर्जी आउँछ भन्ने कुरामा उनीहरू पनि सहमत भए। 

नेपाल समय

मर्जरको सिद्धान्त के हो भने सेयर स्वापमा कसले कति पायो भन्दा पनि कस्तो खालको सिनर्जी आउँछ? त्यसले पार्ने  प्रभाव कस्तो हुन्छ? लगानीकर्ताहरुलाई कसरी राम्रो प्रतिफल दिन सकिन्छ भन्नेमा हुनुपर्छ। मर्ज भएपछि पहुँच पनि विस्तार हुन्छ। मर्जको लागि यी दुई बैंक सबैभन्दा उत्तम हुन् भन्ने मलाई लाग्छ। 

मर्जका लागि कर्मचारी सञ्चय कोषको भूमिका कस्तो रह्यो? 
सिभिल बैंकको सबैभन्दा धेरै सेयर कर्मचारी सञ्चय कोषको हो। तर कोषको भूमिका मर्जका लागि खासै छैन। कम्पनीले स्वायत्त भएर मर्जको प्रक्रिया अगाडि बढाएको हो। सञ्चय कोष दुवैतिरको सेयर होल्डर भएकोले केही सहज भने भएको हो। 

सिभिल बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा १६३ प्रतिशतले नाफा बढाएको देखिन्छ। कसरी सम्भव भयो?
हामीले अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा कर्जाको पोर्टफोलियो बढाएर ९० अर्ब रुपैयाँ पुर्‍याएका छौँ। गत आर्थिक वर्षमा कर्जाबाट कमाइ भयो। यसको प्रभाव नाफामा देखियो। पहिले हामीसँग ५८ अर्ब रुपैयाँको हाराहारीमा मात्र कर्जा थियो तर कर्जा विस्तार गर्ने बित्तिकै त्यसको ब्याज आउन थालेपछि स्वत: नाफा वृद्धि भएको हो। कर्जा प्रवाह गर्दा असल कर्जामा पनि हामीले १.३ प्रतिशत प्रोभिजन गरेका हुन्छौँ। जसले नाफामा कमी देखाउँछ। तर कर्जाको प्रतिफल आउन थालेपछि प्रोभिजन पनि फिर्ता भएर नाफामा परिणत हुँदा नाफा बढेको हो। 

आर्थिक वर्ष २०७७/७८ मा कोरोनाका कारण लामो समय थुप्रै व्यवसाय ठप्प भए। त्यस्तो समयमा पनि कसरी कर्जा प्रवाहलाई बढाउन सक्नुभयो? 
कोरोना महामारीका बेला व्यापार/व्यवासाय ‘स्लो डाउन’भएको हो, पूर्णरुपमा ठप्प भएको होइन। तर हामीहरुले पुनर्जागरण चाँडै नै हुन्छ भन्ने अनुमान गरेका थियौँ। हाम्रो अनुमान सत्य  सावित भयो पनि। त्यसैकारण नाफामा हामीले आक्रामक प्रगति गरेका हौँ। 'कोरोना लामो समय रहँदैन, केही समयपछि घट्दै जान्छ र कर्जाको माग भविष्यमा बढ्छ भन्ने लागेर त्यो बेलामा जोखिम मोलेका थियौँ। त्यो देखेर कतिपयले निक्षेप थुपारेर राखे। तर हामीले जोखिम होइन, अवसर देख्यौँ र लगानी गर्‍यौँ, जसको प्रतिफल गत वर्ष देखियो। 

अघिल्लो आर्थिक वर्षको तुलनामा रिटर्न अन अर्निङ (आरओई) पनि १०३ प्रतिशतले बढेको देखिएको छ, यो कसरी सम्भव भयो? 
अघि भनेकै कुरामा लागू हुन्छ आरओईमा पनि। आय नै बढेर गइसकेपछि त्यही कुरा नै आयमा आएर बस्ने हो नि त। पहिले हामीले पुँजी पर्याप्तता राष्ट्र बैंकले तोकेको ११ प्रतिशत हो, तर जहिल्यै पनि १७/१८ प्रतिशतमा बसिरह्यौँ। तर पछिल्लो दुई वर्ष हामीले हाम्रो पुँजीको उचित प्रयोग गर्‍यौँ। जसले गर्दा हामीले पुँजी पर्याप्तता ११.५ प्रतिशतमा बसेर काम गरेका छौँ। पुँजीको सही उपयोग भएपछि पुँजीले गर्ने आय बढ्यो र त्यसको असर सबैतिर सकारात्मक देखियो। पुँजीको पर्याप्त प्रयोग हुनुपर्छ। धेरै पुँजी थुपार्नु पनि राम्रो होइन। केही सहज अवस्थामा राख्नुपर्छ। तर बैंकजस्तो व्यवसायमा प्रतिफलको हिसाबले पनि पुँजी राखेर काम छैन। त्यसैकारण पछि हामीले डिबेन्चर जारी गरेका हौँ। त्यसले नयाँ बिजनेस गर्नका लागि पनि सहज बनायो। 

लाभांश कम दिने बैंक भनेर सिभिललाई लिइन्छ। यसपालि बैंकले कतिसम्म दिन सक्छ? 
अहिलेसम्मको अवस्था हेर्दा हामीले दोहोरो अंकमा नै लाभांश दिन सकिन्छ भन्ने लागिरहेको छ। तर अहिलेसम्म ब्यालेन्स सिट फाइनल भइसकेको छैन। हामीले प्रकाशित गरेको तथ्यांकले भने दोहोरो अंकको लाभांश दिन सक्छौँ भन्ने देखाइसकेको छ। तर राष्ट्र बैंकले ब्यालेन्स सिट स्वीकृत गरिदिएको छैन। 

अन्य बैंकको तुलनामा सिभिलको बेस रेट (आधार दर) किन बढी भएको हो? किन तपाईंहरुको ब्याजदर अरुको भन्दा बढी हुन्छ? 
हामीजस्तो युवा बैंक (पछिल्लो पुस्ताको बैंक) मुद्दति निक्षेपमा बढी ध्यान दिइरहेका हुन्छन्। पुराना बैंकहरुको बचतको पोर्टफोलियो धेरै हुन्छ। बचत भनेको विस्तारै बढ्ने निक्षेप हो, तर मुद्दती निक्षेप बिजनेस बढाउनका लागि निक्कै सहज हुने कुरा हो। त्यसेले बिजनेस बढाउनुपर्ने तथा लामो समयसम्म लगानी गर्नुपर्ने हुँदा पछिल्लो पुस्ताका बैंकले मुद्दती निक्षेपलाई नै बढी ध्यान दिएका हुन्छन्। भोलिको दिनमा हाम्रो खाता खोल्नेको संख्या बढेसँगै बजारकै हाराहारीमा बेस रेट हुन्छ तर समय भने लाग्छ। 

नेपाल समय

हाम्रो कस्ट अफ फन्ड पनि बढी छ। यसले गर्दा बेस रेट बढी भएको हो। कर्जा लिने ग्राहकलाई भने हामीले जोखिम प्रिमियम कम लिने गरेका छौँ। त्यसैले उनीहरुलाई हामीसँग र पुरानो बैंकसँग कर्जा लिँदा पनि खासै फरक पर्दैन। हामीले जोखिम प्रिमियम कम लिएर ग्राहकरुलाई कर्जा दिँदा नाफामा सम्झौता गरिरहेका छौँ। ग्राहकले तिर्न पर्ने त जोखिम प्रिमियम प्लस बेस रेट हो नि त। त्यसैले अरुले बेस रेटमा जोखिम प्रिमियम धेरै लिन्छन् भने हामीले कम लिने गरेका छौँ। 

अलिकति प्रसंग बदलौँ, तपाईं विदेशमा पनि काम गरेर आउनु भएको हो। बैंकिङ विश्लेषकले नेपालका बैंकहरूको खराब कर्जा (एनपीएल) दर एसियाकै सबैभन्दा कम भएकाले शंका गर्ने स्थान रहेको बताउँदै आएका छन्। सिभिल बैंकको पनि खराब कर्जादर एक प्रतिशतको हाराहारीमा देखिन्छ। खराब कर्जाको वास्तविक तथ्यांकमा गडबढी भएकै हो? किन त्यस्तो शंका उब्ज्यो? 
नेपालका अधिकांश बैंकहरुले धितो राखेर मात्र कर्जा दिने गरेका छन्। यदि व्यापार व्यवसायमा समस्या आयो भने सोही धितो लिलामी गरेर कर्जा असुल्छन्। जसका कारण उनीहरुको खराब कर्जा कम हुन्छ। 

केही आयोजनामा गरेको लगानीमा भने व्यापार/व्यवसायमा समस्या हुने बित्तिकै खराब कर्जा बढ्छ। जस्तै नेपाल बैंक पहिले नेटवर्थ नेगेटिभ भएको बैंक हो। तर अहिले निक्कै राम्रो भएको छ। किनकि उसले दिएको ऋणको धितोले उसलाई जोगाएको हो। यदि धितो नहुने थियो भने नेपाल बैंक डुब्थ्यो। धितो राखेर ऋण लिएको व्यक्ति/संस्थाले धितो उकास्नको लागि जसरी भएपछि ऋण तिर्छ। 

तर विदेशमा चाहिँ धितो राखिएको हुँदैन। उनीहरुले बिजनेसको आधारमा कर्जा दिएका हुन्छन्। बिजनेश तल झर्ने बित्तिकै बैंकहरुको एनपीएल बढ्छ। कतिपय ठाउँमा टाट पल्टने अवस्था पनि हुन्छ। 

नेपालमा धितोमा आधारित भएर कर्जा प्रवाह हुने गरेको छ। विदेशमा विजनेसको आकारको आधारित हुन भएकाले बिजनेस डुब्नेबित्तिकै बैंक र व्यवसायी दुवै डुब्छन् तर नेपालमा भने व्यवसायी डुबे पनि बैंकसँग धितो हुने भएकाले डुब्ने जोखिम कम हुन्छ। धितो राखेर ऋण दिने गरेका कारण नेपालका बैंकहरूमा एनपीएल कम भएको हो। 

हाम्रो देशमा रियल इस्टेटको मूल्य बढ्दो ट्रेन्डमा छ। बिजनेस तल गएर रियल इस्टेटको भाउ पनि तल गयो भने बल्ल एनपीएल पनि बढ्छ। नेपालमा ह्याङकी-प्याङ्की देखिएको छैन। बैंक सेफ पोजिसनमा बसेर नै व्यवसाय गरेको भएर एनपीएल कम भएको हो। 

धितो लिएर मात्र बैंकले व्यवसाय गर्ने तर आयोजनाका लागि रकम नजुट्ने समस्या आएको पनि भनिन्छ। अनि आयोजनामा लगानी नगर्दा बैंकको बिजनेस विस्तारमा पनि समस्या आएको भनिन्छ नि? 
त्यसो होइन। यदि त्यसो हो भने त यत्तिका जलविद्युत आयोजनामा कसरी लगानी भयो त? खोलानाला लिएर बैंकले के गर्छ र? प्रोजेक्ट राम्रो भएमा बैंकले प्रोजेक्टमा पनि लगानी गर्छ। तर ऋणीलाई सो प्रोजेक्टबाट प्रतिफल दिन सकिन्छ भन्ने विश्वास दिलाउन निर्माण कम्पनीले सक्नुपर्‍यो। धितो नहुँदैनमा बैंकले लगानी गर्दैन भन्ने चाहिँ हुँदैन। कुन स्केलको कुरा गरिएको हो भने त्यसमा भर पर्छ। 

नेपाल समय

आयोजनामा लगानी गर्दा बैंकले उसको पृष्ठभूमिदेखि प्रतिफल दिन सक्ने क्षमतासम्म जाँच गर्छ। पछिल्लो समयमा आयोजनामा पनि बैंकहरुले लगानी गरिरहेका छन्। नभए अहिले लगानीयोग्य पुँजीको अभाव किन हुन्थ्यो त? 

कुनै पनि ऋणी असली नै भएपनि उद्देश्य अनुरुप लगानी नगरेमा खराब ऋणीमा राख्ने र प्रोभिजन गर्नुपर्ने व्यवस्थालाई कडाइका साथ नेपाल राष्ट्र बैंकले हेरिरहेको छ। यसले बैंकहरुको एनपीएल बढ्छ भनिन्छ नि? 
यो पहिलेदेखिकै व्यवस्था हो। कर्जा दुरुपयोग भएको खण्डमा खराब कर्जामा नै राख्नुपर्छ र प्रोभिजन गर्नुपर्ने व्यवस्था पुरानै हो। अझै कडाई गर्ने अवस्थामा कर्जाको दुरुपयोग नहोस् भनेर बैंकले प्रतिबद्धता गराउनुपर्छ। बैंकले लगानी गरेको रकम बैंकमा नै जाओस् भन्ने धारणा बैंकको पनि हो। र राष्ट्र बैंकको पनि हो। ग्राहकले अब भने कर्जाको दुरुपयोग गर्न सक्दैन किनकि चालु पुँजी कर्जाको मार्गनिर्देशन आइसकेको छ। मुख्य कुरा भनेको बैंक र ग्राहक दुवै इमान्दार हुनुपर्छ। 

पछिल्लो समयमा बैंकहरुले 'इभरग्रिनिङ' गरेका छन् भनेर चर्चा सुरु भएको छ, के यो साँचो हो? तपाईको अनुभवले के भन्छ? 
मलाई लाग्दैन, बैंकले इभरग्रिनिङ (कर्जा चुक्ता अवधि थप) गर्छन् भनेर। इभरग्रिनिङको परिभाषा अलिक फरक ढंगले भयो कि जस्तो लाग्छ। बैंकहरुले किन इभरग्रिनिङ गर्दैनन् भने त्यसले बैंकलाई राम्रो गर्दैन। 'बलुनिङ' मात्र गर्ने काम गर्छ कुनै न कुनै प्वाइन्टमा पुगेर त्यो त ब्लास्ट भइहाल्छ। त्यो जोखिम कसले लिन सक्छ र? त्यो जोखिम लिन सक्ने बैंक छन् जस्तो मलाई लाग्दैन। 

त्यस्तो गर्ने भएको भए कुनै न कुनै बैंक त ब्लास्ट पनि भइसक्नुपर्ने हो नि। निजी क्षेत्रका बैंक नेपालमा आएको पनि तीस वर्ष कटिसकेको छ। अहिलेसम्म कुनैपनि बैंक ब्लास्ट भएको छैन। अहिलेसम्म कुनै पनि तथ्य/तथ्यांकले देखाएको छैन। उही आरोप लगाएको मात्र देखिन्छ। बैंकलाई नियमन गर्ने राष्ट्र बैंक छ। चालुपुँजी मार्गदर्शनले पनि इभरग्रिनिङ हुने सम्भावना नै हुँदैन। त्यसैले यसलाई कार्यान्वयन गर्नु जरुरी छ। 

बैंकहरु पारदर्शी हुन्छन् र नियमन पनि भइरहेको हुन्छ भनेर दाबी गरिरहेपनि निक्षेप तानातानमा अस्वस्थ प्रतिस्पर्धाले त त्यस्तो कुरा पुष्टि भएन नि? 
मेरो दृष्टिकोण भनेको खुल्ला बजारमा प्रतिस्पर्धा हुनुपर्छ। ब्याजदर बढ्यो भने बिजनेस गर्ने कि नगर्ने भन्ने विचार पनि आउँछ। खुल्ला बजार भएपछि ब्याजदर बढ्न पनि सक्छ। घट्न पनि सक्छ। बिजनेस भायबल छ/छैन भन्ने कुराको मूल्यांकन बिजनेस गर्ने व्यक्तिले जान्नैपर्छ। 

खुला बजार नभएर नियामकले हस्तक्षेप गरिदिने हो भने बैंक र ग्राहकले पनि बदमासीका लागि ‘लुपहोल’ र 'ग्रे एरिया' खोज्ने गर्छन्। त्यस्तो अवस्था आए न बैंकर्स संघ, न नेपाल राष्ट्र बैंक वा न बैंकर्सले नै व्यवस्थापन गर्न सक्छन्। बदमासी गर्न चाहने बैंकलाई कसैले रोक्न सक्दैन। 

सिलिङको लागि अडिग भएर बस्यो भने उसको निक्षेप घटेर जान्छ, जसले ग्रे एरियामा खेल्छ उसको निक्षेप बढेर जान्छ। जुन चिजको माग बढी हुन्छ त्यसमा संवेदनशीलता पनि बढी हुन्छ। अहिले ग्राहक ब्याजदर सेन्सेटिभ भएर गएका छन्। किनकि बजार नै त्यसैगरी अगाडि बढेको छ। यस्तो बेलामा बैंकहरुलाई ग्रे एरियामा खेलेर निक्षेप तान्छन्। 

बजारमा ब्याजदर केन्द्रित ग्राहक नभएको भए बैंकले ब्याजदरमा भद्र सहमति गरेर अगाडि बढ्न सकिन्थ्यो। खुल्ला बजार जहिले पनि राम्रो हुन्छ। त्यसले बजारको रेटलाई एक लेबलमा राख्छ। यदि एक लेबलमा बसेपछि सो रेटमा व्यापार गर्ने कि नगर्ने भन्ने हुन्छ। कसैलाई कर्जा निक्षेप अनुपात कायम गर्नको लागि केही रकम चाहिएला। तर यदि धेरै ब्याज दिएर निक्षेप उठाउँदा कस्ट अफ फन्ड बढ्छ। त्यसले कर्जाको पनि ब्याजदर बढ्छ तर अरुको भन्दा आफूले धेरै ब्याज लिँदा राम्रा ग्राहकले सस्तो ब्याजमा कर्जा पाउने ठाउँमा जान्छ। जसले बैंकको व्यवसाय पनि त हुँदैन नि! 

नेपाल समय

नेपालमा अर्थतन्त्रको आधारभूत सिद्धान्तले नै काम नगरे अर्कै कुरा हो। नत्र एक महिना वा दुई महिनामा स्वत: बजारमा एक तहमा आउँछ। बैंकहरुले पनि बुझेका छन् महँगोमा निक्षेप लिएर बजारमा व्यवसाय त गर्न सकिँदैन नि। त्यसैले अहिलेको अवस्थामा कर्जा घटाउँदै गएको छ नि। निक्षेपको ब्याजदर बढाउने बित्तिकै निक्षेप बढ्छ भन्ने हुँदैन। तर ब्याजदर बढ्दा कर्जाको माग भने घटाउँछ। कर्जाको माग घटेपछि निक्षेप बढेको देखिने मात्र हो। निक्षेपको ब्याजदर बढ्दा मानिसले खर्च कम गर्छन् तर ब्याज कम हुँदा खर्च बढी हुन्छ। अर्कोतर्फ कर्जाको माग घट्ने बित्तिकै भएको निक्षेप के गर्ने त बैंकहरुको लागत मात्र बढ्छ त्यसैले आफै घटाउन थाल्छन्।

त्यसो भए अहिले व्यवसायीले ब्याजदर बढी भयो भनेर जुन प्रकारले गुनासो गरिरहेका छन्, त्यो केही समयको लागि मात्र हो?
बजार चल्ने भनेकै माग र आपूर्तिमा हो। यस्तो बेलामा बिजनेस एक्सपान्स गर्ने सयम होइन। विश्व बैंकको रिपोर्ट अनुसार अर्को वर्ष विश्व आर्थिक मन्दीमा जान्छ भनिएको छ। त्यसैले यो समय व्यापार व्यवसाय बढाउनेतिर भन्दा पनि कम गर्नेतिर लाग्नुपर्छ। हुन त व्यवसायीको अर्कै मान्यता होला। तर अहिले सिस्टममा नै समस्याहरु देखिन थालेपछि उनीहरुको पनि डिफल्ड रेट बढ्दै जान्छ। अहिले एग्रेसिभ भएर जाने समय छैन। त्यसको लागि बैंकसँग पर्याप्त पुँजी हुनुपर्छ। तर त्यसको लागि स्रोत छैन। 

निक्षेपको ब्याजदर बढ्दा कष्ट अफ फन्ड पनि बढ्छ तर कर्जा प्रवाह खुम्चदा आगामी वर्ष नाफा घट्ला नि? 
हो, आगामी वर्ष नाफा घट्छ त्यसको लागि बैंकहरु तयार हुनुको विकल्प छैन। निक्षेपको ब्याजदर बढ्दा लागत बढिहाल्छ। त्यसले नाफामा नै हिट गर्ने हो। 

कर्जाको माग कस्तो देखिइरहेको छ?
कर्जाको माग छ। पहिलेको जस्तो छैन। अघिल्ला वर्ष चाडवाडको समयमा कर्जाको माग हुन्थ्यो। यसपालि त्यस्तो प्रकारको माग छैन। यसको मुख्य कारण ब्याजदर नै हो। कतिपयले आफ्नो बिजनेसलाई स्लो डाउन गरे, कतिपयले सेफ साइड खोजे भने कतिपयले नयाँ प्रोजेक्ट रोके। 

अब अर्को प्रसंगतर्फ लागौँ। बैंकका पूर्वअध्यक्ष इच्छाराज तामाङ पक्राउ परेपछि बैंकलाई कत्तिको असहज भयो? 
बोर्डको कुनै पनि व्यक्तिको व्यक्तिगत व्यापार व्यवसाय तलमाथि हुने बित्तिकै बैंकलाई कुनै प्रकारको असर गर्दैन। त्यो सत्य हो। विश्वभरि नै त्यही हो। सञ्चालकको १० वटा बिजनेस हुन्छ। कुनैमा ऊ माथि जान सक्छ कुनैमा डुब्न सक्छ तर सञ्चालकको व्यापार डुब्दैमा बैंक पनि नै डुब्छ नै भन्ने हुँदैन। बैंकको आफ्नै सिस्टम हुन्छ, राष्ट्र बैंकले रेगुलेट गरेको हुन्छ। बोर्डको आफ्नै र व्यवास्थपनको आफ्नै अधिकार हुन्छ। उहाँ पक्राउका कारण बैंकलाई केही पनि असर परेन। सञ्चालकको विषयलाई ग्राहकहरुले पनि वेवास्ता गरिसकेका छन्। बैंक सञ्चालकले मात्र चलाउने संस्था पनि होइन। 

बैंक सञ्चालकले चलाउने होइन भनिरहँदा लगानीको प्रतिफलका लागि त बैंकहरुलाई प्रेसर त सञ्चालकले नै दिने हो नी! जसका कारण बजारमा अस्वस्थ प्रतिस्पर्धा पनि देखिएको छ। 
सञ्चालकको दवाव प्रतिफलमा हुन्छ भन्ने कुरा म मान्दिनँ। सिइओहरु आफैले सो दवाव लिने हो। कम्तीमा उचित प्रतिफल लगानीकर्तालाई दिन सक्नुपर्ने दबाब सीईओमा हुन्छ। क्यामेल रेटिङमा ई भन्ने रेटिङ छ। त्यसको वेटेज पनि २० प्रतिशत राखेको छ। किनकी बैंकले उचित प्रतिफल दिनुपर्छ भनिएको हुन्छ। नभए किन लगानी गर्ने भनेर उनीहरुको प्राथमिकता फेरिँदै जान्छ। कुनै पनि बैंकको सञ्चालकले बजेट र टार्गेट बनाएर दिने होइन। बैंकको सीईओ आफैले दिने हो। बजार तल गइरहेको बेलामा त धेरै प्रतिफलको आश त लगानीकर्ताले गर्दैनन्। बजार अनुसारको नाफा दिन सक्छु भनेर सीईओले नै प्रस्ताव लाने हो। त्यसैले त सबै बैंकको आआफ्नै प्रतिफलको लक्ष्य हुन्छ। नत्र सबै सञ्चालक मिलेर एउटै प्रतिफल लिने भन्न सकिन्थ्यो।

सिभिल बैंकमा आएपछि गरेका काम हेर्दा तपाईले आफूलाई कसरी मूल्यांकन गर्नुहुन्छ? 
अहिलेसम्मको कामलाई फर्केर हेर्दा म सन्तुष्ट नै छु। मर्जर भएपनि/नभए पनि बैंक अब राम्रो पिकअप लिन सक्छ। हामी अरु भन्दा फरक पनि छौँ। जस्तै ग्राहकमा विविधीकरण छ। त्यस्तै आन्तरिक डिजिटाइजेसनमा अन्य बैंकहरु भन्दा उत्कृष्ट नै छौँ। हामीले कर्मचारी घटाएपनि विस्तार भइरहेको छ। तीन गुणा पोर्टफोलियो बनाउनु, स्टाफ घटाउनु, काम बढी गर्नु, साढे सात लाख खाता खुल्नु आदि महत्वपूर्ण काम हुन्। अब ती सबैको नतिजा आउन दुई तीन वर्ष लाग्छ। मैले भनेर मात्र हुँदैन बजारले हामीलाई हेरिरहेको छ। थोरै समयमा नै यत्ति उपलब्धि हुनु राम्रो हो।

प्रकाशित: September 28, 2022 | 10:42:29 काठमाडौं, बुधबार, असोज १२, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

काठमाडौं महानगरको प्रस्टीकरण : तीन निकायको सहकार्यमा अनधिकृत सुकुम्बासी बस्ती हटाउँछौं

राष्ट्रिय भूमि आयोगले काठमाडौं नगरभित्रका सुकुम्बासीको समस्या समाधान गर्न ढिलाइ गरेपछि आफैं अगाडि सर्नुपरेको प्रस्टीकरण काठमाडौं महानगरले दिएको छ।

समानुपातिकतर्फ १ करोड मतगणना हुँदा कुन दललाई कति?

निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेसम्म एक करोड आठ लाख दुई हजार ९०७ मतगणना भएको छ।

देशव्यापी सांगीतिक यात्रामा निस्किँदै नेपथ्य

देशको पूर्वी कुनादेखि पश्चिम कुनासम्म आफ्ना लोक–रक धुन सुनाउने योजनाका साथ नेपथ्य यसै साता काठमाडौंबाट बाहिरिने भएको हो।

असुरक्षित सडकको सिकार भएका महावीर

वैज्ञानिक समाजवादी पार्टीमा जोडिएपछि सेलिब्रेटी छविप्रतिको मोह घट्दै गएको थियो। समानता र विभेदको अन्त्य उनका अर्जुन दृष्टि थिए। उनको उद्देश्य र काम जात व्यवस्था अन्त्य गर्नेमा केन्द्रित थियो।

के हो रामकुमारीको सन्देश?

खुलेको मुस्कानसहित उक्त तस्बिर सार्वजनिक भएपछि बाम एकताको आकलन धेरैले गरे। हुन पनि चुनावी मतपरिणाम आउँदै गर्दा बाम एकता गरेर नयाँ सरकार बनाउनुपर्ने धारणा एमाले र नेकपा एसका धेरै नेताको देखिन्छ।

धनुषा ४ मा कांग्रेसका यादवले ६८६ मतले लिए अग्रता

मतगणना जारी रहँदा नेपाली कांग्रेसका महेन्द्र यादवले आफ्नो अग्रता बढाउँदै लगेका छन्। मतगणनाको सुरुदेखि नै नेकपा (एमाले) रघुवीर महासेठले अग्रता लिएका थिए।

सरकार गठनको पहिलो प्रयास गठबन्धनले गर्ने, प्रधानमन्त्रीको दौडमा को–को?

सत्ता गठबन्धनकै सरकार बने प्रधानमन्त्री को? कांग्रेसभित्र कम्तीमा ५ आकांक्षी देखिँदा माओवादी अध्यक्ष प्रचण्ड पनि यसैको दौडधूपमा छन्।

धनुषा ४ मा रघुवीर महासेठलाई पछि पार्दै कांग्रेस उम्मेदवारको अग्रता

धनुषा ४ मा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले अग्रता लिएका छन्। आइतबार साँझबाट पछि परेका उनले पछिल्लो अपडेटअनुसार अग्रता कायम गरेका हुन्।

कर्जा-निक्षेप अनुपातमा राष्ट्र बैंक लचक

तोकिएको कर्जा–निक्षेप अनुपात नपुगे बैंक तथा वित्तीय संस्थालाई लाग्ने जरीवानालाई तरलता जोखिममा समेत आधारित हुने गरी पुनरवलोकन गर्न सकिने व्यवस्था गरी लचकता अपनााएको हो।

थप समाचार

नेपाल समय
संवाद

सरकार बनाउन जनमत पार्टी निर्णायक हुन्छ: सीके राउत [अन्तर्वार्ता]

जनमत पार्टीका अध्यक्ष राउत पहिलोपटक सदन प्रवेश गर्न लागेका हुन्। सप्तरी जिल्लाको महदेवा गाउँमा जन्मएका राउत पेशाले इञ्जिनीयर हुन्।
नेपाल समय
संवाद

सरकार कांग्रेसकै नेतृत्वमा बन्छ, जनताको चाहनालाई केन्द्रमा राख्ने छौं : प्रकाशशरण महत [अन्तरवार्ता]

नयाँ पीढीको अपेक्षामा खरो उत्रिनुपर्ने देखियो। पार्टी, व्यक्तिको लाभहानीभन्दा माथि उठेर देश र जनताको लाभ हानीमा ध्यान केन्द्रित गर्नुपर्छ। उच्च कर्तव्यनिष्ठताका साथ रातदिन आफ्नो जिम्मेवारीप्रति पूर्ण जिम्मेवार भएर काम गर्नुपर्छ। त्यसपछि यो निराशाको माहौल हटेर हामीप्रति विश्वासको वातावरण बन्ने छ।
नेपाल समय
संवाद

मतदानको निष्पक्षतामा असर पार्ने जो कोहीलाई पनि कारबाही हुन्छ : दिनेशकुमार थपलिया [अन्तर्वार्ता]

मतदान शुरू हुने दिनभन्दा ४८ घण्टा अघिदेखि अर्थात आज राति १२ बजेदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री वितरण तथा सेवन गर्ने/गराउने कार्यलाई पूर्ण रूपले निधेष गर्ने व्यवस्था मिलाउन जिल्ला आचारसंहिता अनुगमन समिति र स्थानीय प्रशासनलाई सक्रिय बनाइएको छ।
नेपाल समय
संवाद

मकवानपुरबासीको मन र मत पाउन प्रत्यक्ष चुनावमा होमिएकी हुँः महालक्ष्मी उपाध्याय [अन्तर्वार्ता]

मैले सांसदमात्रै बन्न उम्मेदवारी दिएकी होइन। सांसद बन्नकै लागि भए समानुपातिकको पहिलो नम्बरमा बस्थें। नेताहरूले समानुपातिकको सूचीमा बस्न आग्रह गरे पनि प्रत्यक्षतर्फ नै उम्मेदवार बन्ने अठोट लिएर मकवानपुरबासीको मन र मत पाउन चुनावी मैदानमा होमिएकी हुँ।
नेपाल समय
संवाद

शेरबहादुरजीले विश्राम लिनुपर्छ, प्रधानमन्त्री म बन्छु : शशांक कोइराला

मान्छेले राजनीति किन गर्छ? राजनीति गरिसकेपछि सबैभन्दा माथिल्लो तलामा जाने चाहना हुन्छ। त्यो चाहना मेरो पनि छ। म प्रधानमन्त्रीको बलियो उम्मेदवार पनि हो। पार्टीभित्र कुरा भइसकेको छैन तर म प्रधानमन्त्री बन्न बलियो दाबी गर्ने व्यक्ति हुँ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना