सोमबार, असोज १०, २०७९

लगानीकर्ताको हितलाई केन्द्रमा राखेर नयाँ एक्सचेन्ज ल्याउन लागिएको हो : सेबोन अध्यक्ष हमाल [अन्तर्वार्ता]

शर्मिला ठकुरी  |  काठमाडौं, आइतबार, असोज २, २०७९

शर्मिला ठकुरी

शर्मिला ठकुरी

आइतबार, असोज २, २०७९, काठमाडौं

नेपाल समय

नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्जको प्रतिस्पर्धी बन्ने गरी नयाँ स्टक एक्सचेन्ज ल्याउने तयारीमा छ। बोर्डले भदौ २१ गते 'धितोपत्र बजार सञ्चालन (दोस्रो संशोधन) नियमावली, २०६४' लाई संशोधन गरेर 'धितोपत्र बजार सञ्चालन (दोस्रो संशोधन) नियमावली, २०७९' जारी गरिसकेको छ। नयाँ स्टक एक्चेन्जको लागि बोर्डले ३ अर्ब रुपैयाँ चुक्तापुँजी तोकेको छ। कुनै एक संस्थाले अधिकतम १५ प्रतिशत लगानी गर्न पाउने व्यवस्था गरिएको नयाँ स्टकमा सर्वसाधारण लगानीकर्ताको ३० प्रतिशत सेयर हुने प्रावधान छ। 

सानो देश र थोरै जनसंख्या भएको नेपालको पुँजीबजार पनि सानो नै हुने भएकाले एउटा मात्र स्टक एक्सचेन्ज पर्याप्त हुने भन्दै बहस पनि चलिरहेको छ। व्यापारिक घरानाको दबाबमा नयाँ स्टक एक्सचेन्ज खोल्न लागिएको भन्दै बोर्डका अध्यक्ष रमेश हमालको आलोचना भइरहेको छ। तर उनी भने खुल्ला अर्थतन्त्रमा प्रतिस्पर्धी चाहिने र प्रतिस्पर्धाका कारण ग्राहकले पाउने सेवा, सुविधा राम्रो हुने जिकिर गर्छन्। 

नेप्सेलाई पटकपटक सुध्रनका लागि बोर्डले समय दिएपनि सुध्रन नसकेकोले नेप्सेलाई नै अत्याधुनिक र प्रतिस्पर्धी बनाउनका लागि पनि कम्तीमा एउटा थप स्टक एक्सचेन्जको आवश्यकता रहेको उनको जिकिर छ। नयाँ स्टक एक्चेन्ज थप गर्ने विषय, यसका उपादेयता र बजारमा पर्ने प्रभाव, ब्रोकर लाइसेन्स, ब्रोकर शुल्क, इक्विटी भेन्चरको अनुमतिलगायतका विषयमा नेपाल समयकी शर्मिला ठकुरीले बोर्डका अध्यक्ष रमेशकुमार हमालसँग गरेको कुराकानीको सम्पादित अंश:

विवादका बीच पनि नयाँ स्टक एक्सचेन्ज ल्याउन खोज्दै हुनुहुन्छ, खासमा किन आवश्यक पर्‍यो? 
पछिल्लो समय भइरहेका टीकाटिप्पणीलाई विवादभन्दा पनि चासो राख्नुभएको भनेर मैले बुझेको छु। निरन्तर एउटै दिशामा हिँडिरहेको बेला अचानक दिशा परिवर्तन हुन खोज्दा चासो र चिन्ता हुनु स्वाभाविकै हो। त्यसलाई विवाद भन्नु उचित नहोला। 

नयाँ स्टक एक्सचेन्ज आउन लाग्दा यसका मापदण्ड स्पष्ट छन् कि छैनन्? स्वच्छ रुपमा लागू हुन्छ कि हुँदैन? समान अवसर दिइन्छ कि दिइँदैन? भन्ने बारेमा प्रश्न उठेर घचघच्याइरहनु राम्रो कुरा हो। यस्ता चासोलाई हृदयदेखि नै स्वागत गर्दछु। एक जनाले मात्रै सोचेको कुरा पूर्ण रुपमा सही हुन्छ भन्ने हुँदैन। त्यसैले आलोचनात्मक टिप्पणी आउनु राम्रो हो। 

 प्रतिस्पर्धी नभएका कारण नेप्सेको क्षमता विकास भएन। यसरी हेर्ने हो भने हामीले अहिलेको नेप्सेलाई सुधार गर्नका लागि नयाँ स्टक एक्सचेन्ज ल्याउन लागेको हो भनेर बुझ्दा हुन्छ। 

जहाँसम्म नयाँ स्टक एक्सचेन्जको कुरा छ। हामीले यसबारे विश्वभरमा स्टक एक्सचेन्जको अवस्था, नेप्सेको अहिलेको अवस्था, यसको सेवाप प्रणाली, क्षमता आदिका विषयमा गम्भीर अध्ययन गरेर नै नयाँ ल्याउन लागेका हौँ। 

बजारमा एउटा मात्र स्टक एक्सचेन्ज हुँदा एकाधिकार भयो, जसका कारण पुँजीबजारका लगानीकर्ताले चाहेअनुसार विश्वस्तरको सेवासुविधा पाउन सकेनन्। पुँजीबजारप्रतिको विश्वास पनि भएन भने नेप्से आधुनिक प्रविधियुक्त हुन सकेन। विदेशमा रहेका नेपाली नागरिक तथा विदेशी लगानीकर्ता नेपालको बजारमा आउन सकेनन्। प्रतिष्पर्धा भइदिएको भए अत्याधुनिक प्रविधियुक्त नेपालमा पनि विदेशी लगानी आउने थियो र आजको अवस्थामा बस्न पर्दैनथ्यो। 

बजारमा प्रतिष्पर्धा जरुरी छ। उदाहरणका लागि नेपाल टेलिकमलाई नै हेरौँ। टेलिकमले कसरी छलाङ मारिरहेको छ? सरकारी वाणिज्य बैंक पनि हेरौँ त, सरकारी भएर पनि निजी क्षेत्रका वाणिज्य बैंकसरह नै वाणिज्य बैंकले पनि अहिले सेवा प्रदान गरिरहेको छ। यसको कारण प्रतिस्पर्धा नै हो। 

अर्को स्टक एक्सचेन्जले हाल भइरहेको नेप्सेमा प्रतिस्पर्धात्मक क्षमता विकास गराउँछ। प्रतिस्पर्धी नभएका कारण नेप्सेको क्षमता विकास भएन। यसरी हेर्ने हो भने हामीले अहिलेको नेप्सेलाई सुधार गर्नका लागि नयाँ स्टक एक्सचेन्ज ल्याउन लागेको हो भनेर बुझ्दा हुन्छ। 

नेप्सेले नै निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न सकेन भने त उसको कुरा हो। तर प्रतिस्पर्धा भने आवश्यक छ। नेप्सेकै क्षमता विकासका लागि नयाँ स्टक एक्सचेन्ज आवश्यक छ। लगानीकर्ता विना नेपालको पुँजीबजारको कल्पना नै गर्न सकिँदैन। त्यसैले लगानीकर्ताको हकहितलाई सुरक्षित गर्नु हाम्रो कर्तव्य हो। त्यसैले उनीहरुको हितलाई केन्द्रबिन्दुमा राखेर नयाँ स्टक एक्सचेन्ज ल्याउन खोजिएको हो। 

नेपाल समय

पुँजीबजारप्रति लगानीकर्ताको भरोसा जति बढ्यो त्यति नै पुँजीबजार फराकिलो, बलियो र अर्थतन्त्रलाई नै मजबुत बनाउन सकिन्छ। बजार र प्रणालीप्रति पहिला लगानीकर्तालाई भरोसा दिलाउन सक्नुपर्‍यो। त्यसैले म आएपछि ल्याइएका हरनीति बजारप्रति विश्वास बढाउने गरी नै ल्याइएको छ। भरोसा बढेपछि लगानीकर्ताले स्वाभाविक रुपमा पुँजी लगानी गर्दछन्। लगानीकर्ताले फाइदा पाउनेबित्तिकै योसँग सम्बन्धित सबैले फाइदा पाउनेछन्। हामीले चाहेको त्यही हो। 

नयाँ निर्णय गर्दा अवरोध धेरै आउने गरेका छन् र आउनु पनि पर्छ। तब मात्र मानिस सर्तक भएर सही काम गर्दछ। मेरो कदमप्रति म प्रष्ट छु तर अरु नहुन सक्छन्। त्यसैका कारण विवाद आएको हो। तर एउटै कुरा के हो भने निष्पक्ष सोच र बजारप्रतिको उत्तरदायित्व निभाउने गरी कदम चाल्नुपर्छ र मैले चालेको छु। 

नयाँ स्टक एक्सचेन्ज नेप्से सिद्ध्याउनका लागि ल्याउन लागिएको हो भनेर बाहिर कुरा आइरहेका छन्, त्यो सबै झुट हो। पहिले यहाँ सेटिङ गर्ने, अनि मात्र आफूले चाहेको ग्रुपलाई चलाउन दिने भन्ने चलन रहेछ तर त्यो नहुने भएपछि यस्ता कुराहरु बाहिर आएको हो। म हल्लाको पछि लागेर आफ्नो निर्णयलाई पुनर्विचार गर्ने मानिस होइन। 

अध्ययन बिना नै नयाँ स्टक एक्सचेन्जको धारणा आयो भनिन्छ नि?
नयाँ स्टक एक्सचेन्जको अवधारणा नयाँ होइन। यसको अध्ययन २०६६ सालमा तत्कालीन अध्यक्ष सुरवीर पौडेलले नै गरिसक्नु भएको थियो। २०७४ मा आएर डा रेवत बहादुर कार्कीको नेतृत्वमा भएको अध्ययनले पनि नयाँ स्टक एक्सचेन्ज चाहिने निष्कर्ष निकालेको रहेछ। 

नेप्सेको एकाधिकारले मात्र बजार आधुनिक गतिमा हिड्न सम्भव छैन। प्रतिस्पर्धी चाहिन्छ भन्ने कुरा विभिन्न समयमा भएको अध्ययनले देखाइसकेको छ। 

तत्कालीन समयमा नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले नयाँ स्टक एक्सचेन्ज ल्याउनका लागि निजी क्षेत्रलाई अनुमति दिने निर्णय नै गरेर ४ वटा आवेदनसमेत लिइसकेको रहेछ। तर अर्थ मन्त्रालयले सो निर्णयमा सहमति नजनाएपछि मात्र उहाँहरू पछि हट्नु भएको हो। मैले यसैलाई दोहोर्‍याएको मात्र हो। सो अध्ययनलाई निरन्तरता दिँदै नयाँ स्टक एक्सचेन्ज खोल्न लागेको हो। मैले नै पहिलो पटक अध्ययन विना नै ल्याउन खोजेको होइन। 

अर्को कुरा हामी खुल्ला अर्थतन्त्रमा विश्वास गर्ने देश भएको नाताले बजारमा जति धेरै प्रतिस्पर्धी हुन्छन् उति धेरै उपभोक्ताले सेवासुविधा पाउँछन् भन्ने हो। नेप्सेको एकाधिकारले मात्र बजार आधुनिक गतिमा हिड्न सम्भव छैन। प्रतिस्पर्धी चाहिन्छ भन्ने कुरा विभिन्न समयमा भएको अध्ययनले देखाइसकेको छ। 

स्टक एक्चेन्ज भनेको एकदमै डाइनामिक क्षेत्र हो। प्रविधि परिवर्तन भइरहन्छ। सोही गतिमा एक्सचेन्जले पनि हिँड्न सक्नुपर्छ। अत्याधुनिक प्रविधि, संस्थागत सुशासन, जोखिम व्यवस्थापन प्रणाली, जोखिम न्यूनीकरण प्रणाली भएको नयाँ स्टक एक्सचेन्ज नेपालमा हुनुपर्छ। र सो माथि नियमनकारी निकाय हुन्छ। नियमनकारी निकायको विकल्प हुँदैन। त्यसैले बोर्डको स्वायत्तताका लागि हामीले पनि पहल गरिरहेका छौँ। जहाँ विकल्प हुन्छ त्यहाँ खोज्नैपर्छ। उदार अर्थतन्त्र भएको देशमा हरेक चिजमा प्रतिस्पर्धी चाहिन्छ भन्ने मेरो आधारभूत मान्यता हो। 

नेपाल समय

धेरै मानिसले निश्चित व्यापारिक घरानालाई पोस्नका लागि नयाँ स्टक एक्सचेन्ज ल्याउन लागेको भनेर सोच्छन्, कतिपयले त सोही अनुसार रिपोर्टिड पनि गरे। तर उहाँहरुले बोर्डमा आएर हेर्न सक्नुहुन्छ विगतको इतिहास। नयाँ स्टक एक्सचेन्जका लागि मैले पहिलो कदम चालेको होइन। 

नेपालमा भने आफ्नो अभीष्ट पूरा गर्नका लागि आफू अनुकुल कुरा बंग्याउने चलन छ। आफू सोही ठाउँमा हुँदा चाहेको गर्ने अनि अरु गएर नयाँ काम गर्न थाल्यो भने रोक्ने प्रवृत्ति छ। अर्थात् आफ्ना लागि प्यारामिटर अलग र अरुको लागि अलग! कुनै पनि नीति सबैको लागि सर्वमान्य हुनु जरुरी छ, तब मात्र सिस्टम बस्छ। 

धितोपत्र बोर्डले ब्रोकर लाइसेन्स वितरणको तयारी पनि गरिरहेको छ। हालकै ब्रोकर पर्याप्त छैनन् र? 
लोकतान्त्रिक प्रणाली देशमा अधिकार र कर्तव्य बराबर हुन्छ। यो बुझे मात्र देश अगाडि जान्छ। समग्र बजारको सुधारका लागि आफ्नो विज्ञतालाई प्रयोग गरौँ भनेर लागेको हो। म मेरिटबेस (कामको आधारमा गरिने मूल्यांकन) प्रणालीबाट आएको मानिस भएकोले सोही प्रणाली नेपालमा पनि लागू गर्न खोजिएको हो। 

विश्वभर नै बजारको मुटु र फोक्सो भनेको पहिलो स्टक एक्सचेन्ज र अर्को ब्रोकर प्रणाली हो। त्यसैले ब्रोकर प्रणालीमा एकदमै स्वच्छ, प्रतिस्पर्धामूलक, मापदण्ड र आचारसंहिता पालना गर्ने, संस्थागत सुशासन कायम भएको र अत्याधुनिक प्रविधियुक्त हुन आवश्यक छ। तब मात्र लगानीकर्ताले उनीहरुले चाहेजस्तो बजार पाउँछन् भने दोस्रो बजारप्रति विश्वास पनि हुन्छ। 

यसमा प्रधानमन्त्री र अर्थमन्त्रीको पूर्ण सहयोग छ। उहाँहरु पनि खुल्ला आर्थिक प्रणालीप्रति पूर्ण विश्वस्त हुनुहुन्छ। नयाँ ब्रोकर कम्पनी स्वच्छ प्रतिस्पर्धाको लागि हो। यो आवश्यक छ। 

हरेक देशको पुँजीबजार प्रविधि र विश्वासमा अडिएको हुन्छ। हामीकहाँ दुवै कुराको कमी छ। त्यसैले मैले अध्यक्ष भएदेखि नै प्रमुख कामको रुपमा प्रविधि विकासलाई लिएको छु। अर्को लगानीकर्ताको विश्वास जित्नुपर्ने छ। सोही सुधारका लागि म लागिरहेको छु। त्यसपछि रियल सेक्टरका कम्पनीलाई पनि धितोपत्र बजारमा ल्याउनुपर्ने छ। उनीहरूलाई पुँजीबजारमा ल्याउन प्रविधि र विश्वासको वातावरण बनाउन जरुरी छ। त्यसका लागि म लागेको हुँ। जनतालाई कमजोर मात्र हैन, बलिया कम्पनीहरुमा पनि स्वामित्व दिनुपर्छ भन्ने मूल्य र मान्यता राखेको छु। सोहीअनुसार काम भइरहेको छ। यसमा प्रधानमन्त्री र अर्थमन्त्रीको पूर्ण सहयोग छ। उहाँहरु पनि खुल्ला आर्थिक प्रणालीप्रति पूर्ण विश्वस्त हुनुहुन्छ। नयाँ ब्रोकर कम्पनी स्वच्छ प्रतिस्पर्धाको लागि हो। यो आवश्यक छ। 

केही सीमित घरानाको हातमा नयाँ स्टक एक्सचेन्ज दिने भित्री योजनाका कारण नयाँ स्टक एक्सचेन्ज आउन लागेको भन्ने आरोप छ नि? 
आरोप लगाउने साथीहरुलाई म धन्यवाद नै भन्छु। म जस्तो अन्तराष्ट्रिय विद्वता हासिल गरेको मान्छेलाई सो आरोप लगाउछन् भने म के भन्न सक्छु र? मैले अहिलेसम्म कुनै पनि व्यापारी/व्यवसायीसँग सहकार्य गरेको छैन। मेरो पनि आफ्नो व्यवसाय छ नेपालमा। तर मैले नेपाली साझेदार पनि राखेको छैन। किनकि उनीहरुको संस्थागत सुसासनको तह मेरो कम्पनीसँग म्याच गर्दैन।

अहिले मैले नैतिक मूल्य भएका विदेशी, संस्थागत सुशासनमा पोख्त साझेदार राखेर आफ्नो कम्पनी चलाइरहेको छु। मैले निजी व्यवसायमा समेत नेपाली साझेदार राखेको छैन। नेपाली व्यापारी र व्यवसायीलाई नै लक्षित गरेर नयाँ स्टक एक्सचेन्ज खोल्न लागेको भन्नु पूर्णतः गलत हो। नेपालमा टोपी लगाउने चलन छ। हरेक कुरामा आफू बच्ने अनि अरुलाई भने नगरेको आरोप पनि लगाउने चलन छ। म उनीहरुलाई कामले जवाफ दिनेछु। 

२०६६ सालमा नेपाल धितोपत्र बोर्डले गरेको एक अध्ययनमा नयाँ स्टक एक्चेन्ज ल्याउनुभन्दा पहिले भएकै नेप्सेलाई निजीकरण गर्न सकिने विकल्प पनि दिइएको रहेछ। नेप्सेलाई नै निजीकरण नगरी किन नयाँ ल्याउनतिर लाग्नुभयो? यसले त शंका उब्जायो नि? 
मैले भन्दा पनि पहिले डा रेवत बहादुर कार्की, त्यसपछिका नेतृत्वले नेप्सेलाई निजीकरणका लागि निक्कै कोसिस गर्नुभएको हो। तर त्यो काम सफल भएन। म आएपछि पनि मैले ‘एसएमई पलेटफर्म’ ल्याउन खोजेको थिएँ। मैले सोचेको थिएँ, तीन महिनामा नै ल्याउछु। तर ६ महिना भइसक्यो र पनि सकेको छैन। त्यसको लागि मलाई नेप्सेको पूरा सहयोग चाहिन्छ। यसबाट नै थाहा हुन्छ नेप्सेको कार्यप्रणाली। नेप्से जुन गतिमा हिँड्छ, त्यो गतिमा त नेप्सेको सुधार वा निजीकरण सम्भव नै छैन। जसले आलोचना गर्नुभएको छ, त्यो कुरा उहाँहरुलाई पनि जानकारी छ।

नेपाल समय

नेप्से सरकारी संस्था हो, सुधार्न सकिने वा निजीकरण गर्न सकिने भएको भए यसअघिका नेतृत्वले त्यत्रो रिपार्ट मात्र दिएर किन बसे? किन लगिएन? नेप्से सुध्रिएला भनेर बसेर लगानीकर्ताको जिन्दगीमा खेलबाड गर्ने? त्यो कहाँको न्याय हो? नेप्सेको सुधार कर्पोरेट एक्सचेन्ज (नयाँ स्टक एक्सचेन्ज) आएपछि मात्र हुन्छ। अर्थ मन्त्रालयको स्वामित्वको संस्था भएकोले उसैलाई डुबाउने नीति आएमा त ऊ किन राजी हुन्थ्यो र? नेप्सेलाई नै प्रतिस्पर्धी बनाउनका लागि मात्र अर्थ मन्त्रालय राजी भएको हो। म आलोचना गर्नेहरुलाई के भन्न चाहन्छु भने मभन्दा बढी अध्ययन गर्नुस्। अनि मसँग आएर छलफल गर्नुस्। अध्ययन चाहिँ कम अनि टिकाटिप्पणी बढी गर्नु उचित हुन्न। 

अर्को कुरा नयाँ स्टक एक्सचेन्ज ल्याउँदा हामीले सर्वसाधारणको हितलाई पनि ख्याल राखेका छौँ। हामीले अर्को स्टक एक्सचेन्जमा ३० प्रतिशत लगानी साधारण सेयर हुनु जरुरी छ भनेर प्रावधान राखेका छौँ। जसका कारण संस्थाको संस्थागत सुशासनदेखि सबै कुराहरु स्वच्छ र पारदर्शी हुन्छ र हुनुपर्छ। भइरहेको नेप्सेले सुविधा थप्दै लैजानुपर्नेमा अहिलेसम्म नयाँ प्रोडक्टसमेत लन्च गर्न सकेको छैन। यस्तो संस्थामा सुधारको अपेक्षा कहिलेसम्म गर्ने? हामीले लगानीकर्ताको भविष्य सुरक्षित होस् भन्ने हेतुले काम अगाडि बढाइरहेका छौँ। ९५ प्रतिशतभन्दा बढी लगानीकर्ताको सपना निक्कै सानो छ। अहिले हामीले क्यापिटल मार्केटको इकोसिस्टमको फाउन्डेसन बनाउन लागेको हो। त्यसमा सरकार र बोर्डको पूर्ण सहयोग छ। मैले एक्लै कुनै पनि निर्णय गरेको छैन। हरेक निर्णय बोर्डले नै गरेको छ। 

नयाँ स्टकको मापदण्ड बनेको छ। निवेदन आउनुपर्ने ढाँचासमेत सबै हामीले नियमावली र निर्देशन आउने बित्तिकै वेबसाइटमा हालिसकेका छौँ। हामीले विश्वस्तरीय प्रणाली नेपालमा भित्र्याउन खोजिरहेका छौँ। तर पनि विरोध छ। किनकि हामी विकास चाहदैनौँ। मेरो वरिपरि मैले चाहेको मात्र विकास हो। मेरो लागि मात्र विकास होस् भन्ने चाहन्छौँ तर त्यसमा भने मेरो साथ रहँदैन। 

नयाँ स्टक एक्चेन्ज खुल्यो भने विश्वभरका लगानीकर्ताले सो स्टक एक्सचेन्जमा कारोबार गर्न सक्छन्? यसको आधार के छ?
विदेशी प्राविधिक कम्पनीले अब खुल्ने नयाँ स्टक एक्सचेन्जमा लगानी गर्न सक्छन्। सो व्यवस्था नयाँ निर्देशिकामा राखिएको छ। तर नेपालको लगानीको वातावरण हेरेर उनीहरुले निर्णय गर्ने कुरा हो, लगानी गर्न आउने कि नआउने भन्ने। तर हामीले भने उनीहरुलाई नीतिगत ढोका खोलिदिएका छौँ। नेपालमा बहुराष्ट्रिय कम्पनी लगानी गर्न आएभने नेपालको सिस्टम अन्तराष्ट्रिय स्तरको हुन्छ भन्ने हो।

हामीले विगत ३० वर्षमा अनुगमनको पाटोलाई ध्यान नदिएकै हो। मलाई झुट्टो बोल्न आउँदैन। म आफ्नो गल्तीलाई पनि स्वीकार्छु। र बोर्डमा भएको कमीकमजोरीलाई पनि ढाकछोप गर्नु जरुरी नै छैन।

विदेशी लगानी भित्रिएमा हामीले प्रविधिसँगै 'चेक एन्ड ब्यालेन्स' प्रणाली पनि भित्र्याउँछौँ। हामीले गर्न खोजेको भनेको ‘न्यून लगानीमा अधिकतम प्रतिफल’ नै हो। अहिले पनि मलाई पूर्ण विश्वास छ, नयाँ स्टक एक्सचेन्ज खोलेर थप ब्रोकर लाइसेन्स दिने बित्तिकै प्रतिस्पर्धा तीव्र हुन्छ। जसले राम्रो सेवा दियो लगानीकर्ता त्यतै जाने हो। त्यसैले मलाई लगानीकर्ताको पूर्ण साथ रहेको छ। बोर्डले पुँजीबजार सुधारका लागि  काम गरिरहेको छ भन्ने कुरा सबैले बुझेका छन्। 

इन्साइडर ट्रेडिङ (भित्री कारोबार)ले साना लगानीकर्ता मर्कामा परेका विषयमा बहस भइरहन्छ। त्यतातिर अध्ययन अगाडि बढाउनभन्दा पनि धितोपत्र बोर्ड लाइसेन्स बाड्नमा नै व्यस्त छ नि?
हामीले अध्ययन अनुसन्धानमा काम गर्न नसकेको आरोप सही हो। हामीले विगत ३० वर्षमा अनुगमनको पाटोलाई ध्यान नदिएकै हो। मलाई झुट्टो बोल्न आउँदैन। म आफ्नो गल्तीलाई पनि स्वीकार्छु। र बोर्डमा भएको कमीकमजोरीलाई पनि ढाकछोप गर्नु जरुरी नै छैन। जो अगाडि बढ्न चाहन्छ, उसले आफ्नो समस्या पनि राम्रोसँग पस्किन्छ। 'इन्टेन्सन' नराम्रो होइन, तर प्रणाली बलियो बनाउन अगाडिको नेतृत्व असफल भयो। 

बोर्ड अहिले पनि म्यानुअल सिस्टममा छ, जबकि सारा दुनियाँ अनलाइन सिस्टममा गइसकेको छ। त्यसैले हामीले नेप्सेमा जस्तै ‘रियल टाइम ट्रान्जेक्सन’ हेर्नका लागि बोर्डमा पनि सोही अनुसारको व्यवस्था गर्ने र शंका लाग्ने बित्तिकै उनीहरुको अनुसन्धान सुरु गर्न सक्ने व्यवस्था गर्न लागेका छौँ। 

नयाँ स्टक एक्सचेन्ज आयो भने इन्साइडर ट्रेडिङ बन्द हुन्छ। किनकि अत्याधुनिक प्रविधि भित्रयाएर सोहीअनुसारको काम गर्ने हो भने कुन कम्पनीको सेयर बढिरहेको छ? कसको घटेको छ? कसले किनिरहेको छ? त्यसको सञ्चालक को हो? सबै कुरा सहज रुपमा जानकारी हुन्छ। जसले गर्दा तत्काल अनुसन्धान सुरु गर्न सकिन्छ। अहिले त नेप्सेमा सिस्टम नै छैन। नेप्सेले पुँजीबजारको लागि यत्रो प्यलेटफर्म बनायो तर आफ्नै टेक्नोलोजी विश्वस्तरमा पुर्‍याउन सकेको छैन। निजी कम्पनीलाई कन्ट्र्याक्टमा दिएर काम गरिरहेको छ।

भोलि नयाँ एटक एक्सचेन्ज कम्पनी आएपछि विश्वभरका लगानीकर्ता नेपालमा आउने बलियो आधार बन्न सक्छ। जसले मेरो कम्पनीले दिन सक्ने लाभांश वा कम्पनीको विश्वसनीयताको आधारमा लगानी गर्न सक्छन्। यदि सबै कम्पनीले नयाँ स्टक एक्सचेन्जमा कारोबार गर्न थाले भने सबैले आफूले आफूलाई सुधार्न जरुरी हुन्छ। ‘इन्साइडर ट्रेडिङदेखि बम्प एन्ड डम्प’का विषय पनि विस्तारै निराकरणका लागि नयाँ नेप्सेको स्थापना बलियो आधार बन्न सक्छ। अर्को भनेको नेपाल धितोपत्र बोर्डको अनुगमन गर्ने क्षमता बढाउने हो। बोर्डमा पनि 'हाई आइटी रुम' हुनुपर्‍यो। त्यसका लागि ‘एनालाइटिक आर्टिफिसियल इन्टेलिजेन्स’को माध्यमबाट (जुन अरु देशमा लागू भइरहेको छ) ठगी गर्नेहरू पक्राउ गर्न सक्छन्। 

नेपाल समय

अहिलेको जस्तो कुनै ठाउँमा इन्साइडर ट्रेडिङ हुन लागेको कुरा हुलाकी पाराले लेखेर पठाउने दुई महिना आइपुग्न लाग्ने र उत्तर लेखेर पुर्‍याउदा दुई महिना लाग्ने हुँदा त्यो बीचमा इन्साइडर ट्रेडिङ गर्ने भागिसकेका हुन्छन्। नेप्से र बोर्ड सरकारको एक विभाग भएर बस्ने हो भने नेपालको पुँजीबजारको विकास र सन्तुलन सम्भव नै छैन। नेप्सेको विकल्प अर्को स्टक एक्सचेन्ज हो भने नियमनकारी निकायको विकल्प स्वायत्तता हो। यसबाट सरोकारवाला निकाय लगानीकर्ताप्रति उत्तरदायी भएनौँ भन्ने बुझिन्छ। 

हामीले उत्तरदायी पुँजीबजार प्रणाली बनाउन खोजेका हौँ। यसको विकास भएमा मात्र अर्थतन्त्रको विकास हुन सक्छ। पुँजीबजार अर्थतन्त्रको ठूलो पाटो हो। पुँजीबजारको विकास भएमा नगरपालिका, गाउँपालिकाहरुले आफ्नो क्षेत्रको पूर्वाधार विकासका लागि पुँजीबजारबाट पैसा लैजान सक्छन्। त्यसको लागि पहिले ब्याकबोनको रुपमा सिस्टम बनाउनुपर्‍यो। भारी बोकेर दौडनका लागि पहिले मानिस त बलियो हुनुपर्‍यो। बोर्ड र नेप्सेलाई लगानीकर्ताप्रति उत्तरदायी एवम् पारदर्शी प्रणाली बनाउन खोजिरहेका छौँ। 

म आएपछि ८ वटा प्राइभेट इक्वीटी भेन्चर सञ्चालनको अनुमति दिएको छु। अब २ वटालाई दिने प्रक्रियामा छु।

मैले बोर्डको अध्यक्षको अधिकार पनि घटाएको छु। मापदण्ड पुर्‍याएर आएमा मैले स्वीकृति दिनैपर्ने बनाएको छु। यहाँ कोटा सिस्टम लागू गरेको छैन। मैले जुन कुरा सिंगापुरमा देखेको थिएँ, सोही कुरा लागू गर्न लागेको छु। नेपालको पुँजीबजार पनि खुल्ला र ‘मेरिटबेस' प्रणालीमा जानुपर्ने सोचका साथ काम गरिरहेको छु। अब बोर्डमा मौखिक चल्दैन लिखित रुपमा नै सबै काम हुन्छ। जसले पारदर्शिता देखाउँछ। म पारदर्शी र भ्रष्टाचारमा शून्य सहनशीलता राख्छु भन्नुभन्दा व्यवहारमा देखाउनु जरुरी छ। 

विगतको नेतृत्वले रोकेर राखेको प्राइभेट इक्विटी भेन्चरको लाइसेन्स पनि तपाईले नै बाँड्नु भएछ नि?
प्राइभेट इक्वीटी भेन्चर सञ्चालनका लागि यसअघिका सञ्चालकले वर्षौँ लाइसेन्स रोकेर बसेका थिए। जसका कारण युवाहरुको विना धितो लगानी पाउने अधिकार हनन भएको थियो। म आएपछि ८ वटा प्राइभेट इक्वीटी भेन्चर सञ्चालनको अनुमति दिएको छु। अब २ वटालाई दिने प्रक्रियामा छु।

लाइसेन्स पाउनेहरुलाई सोध्नुस्, उनीहरुमध्ये कतिजनाले मलाई भेटे। एकदुई जनाले मलाई अफिसमा आएर भेटे भने अरुलाई मैले निवेदनका आधारमा लाइसेन्स दिए। कसैले भनसुन गर्नुपरेको छैन र पर्दैन पनि। कसैले दिएको निवेदनमा प्रक्रिया नपुगेको खण्डमा हामीले नपुगेका कुरा लेखेर पठाउने गरेका छौँ, सुधारेर ल्याउन भन्ने गरेका छौँ। बोर्डको सम्पूर्ण टिमले पारदर्शी रुपमा काम गरिरहेको छ। म नाक ठाडो बनाएर काम गरिरहेको छु र आफूप्रति विश्वस्त छु। 

सरकारले केही कानुन संशोधन गरी सेयर बजारमा हुने सम्पत्ति शुद्धीकरणको विषयमा प्रहरीले अनुसन्धान गर्ने भनेर परिवर्तन गर्न लागेको छ। यो व्यवस्थाले तपाईंहरुको अधिकार एकातिर कम भयो, अर्कोतर्फ प्रहरीसँग बोर्ड मातहतका संस्था तथा तिनीहरुको कारोबार अनुसन्धान गर्ने अनुभव/क्षमता कम छ। यो कानुनबारे तपाईंहरुसँग कस्तो छलफल भयो? 
हामीलाई धितोपत्र सम्बन्धी ऐन २०६३ मा संशोधन गर्दा कुनै सल्लाह भएको छैन। हामीले पनि पत्रपत्रिकाबाट जानकारी लिएका हौँ। पछि हामीले सोध्दा सम्पत्ति शुद्धीकरणसम्बन्धी नेपालमा हुने ‘म्युचुअल इभ्यालुएसन’का लागि ल्याइएको हो भन्ने सुनियो। अरु देशमा पनि वित्तीय अपराधको मुद्दामा फौजदारी कसुर लाग्ने र प्रहरीले नै अनुसन्धान गर्ने व्यवस्था भएका कारण यसो गरिएको हो भन्ने कुरा आएको हो। अहिले प्रतिनिधिसभामा नै रहेको भन्ने सुनिएको छ। न व्यक्तिगत रुपमा न संस्थागत रुपमा ऐनको विषयामा सल्लाह भएको छैन। यसमा बहस गर्नु जरुरी थियो। तर देशको हितमा हुने सरकारी निर्णय सरकारको अंग भएको नाताले स्वीकार्नुपर्छ। सो विधेयक पास भएर ऐन बनेर आएपछि हामीले त्यसलाई कसरी सपोर्ट गर्न सकिन्छ? त्यसरी सपोर्ट गछौँ।

म बोर्डमा भइरहँदा हरेक काम बोर्डलाई नै दिनुपर्छ भन्ने हुँदैन। यसको क्षमताअनुसारको काम गर्न अधिकार दिनुपर्छ। हाम्रो भिजन प्रष्ट छ, इन्साइडर ट्रेडिङ नहोस्, लगानीकर्ता समस्यामा नपरुन्, सोझासाझा लगानीकर्ता नफसुन् भन्ने हो। सरकारले निर्णय लिएपछि हामीले साथ दिनुपर्छ। हाम्रो समाजमा मेरिटवेस प्रणाली छैन। विश्वको राम्रा अभ्यासहरु नेपालमा पनि आउनुपर्छ भन्नेमा अडिग छु। 

यसअघि धितोपत्र दलाल कमिसन घटाउनका लागि बोर्डले सकेन। यसतर्फ तपाईले केही गर्दै हुनुहुन्छ? 
हामी यसमा काम गर्नका लागि अध्ययन गरिरहेका छौँ। पुँजी बजारमा एकैपटक विभिन्न नीतिनियम लगाउँदा प्रणाालीले धान्न गाह्रो हुन्छ। जस्तै श्रीलंकाले एकैपटक देशभर अर्गानिक हुने नीति ल्यायो त्यसले देशलाई नै समस्यामा पारेको छ। त्यस्तै नेपालको पुँजीबजारमा पनि एकै पटक नीतिहरु लागू गर्न हुँदैन। यसले ठूलो दुर्घटना ल्याउने सम्भावना हुन्छ। त्यसैले ब्रोकर कमिसन (दलाल शुल्क) विस्तारै घटाउँदै लैजाने हो। जस्तै पछिल्लो समयमा हामीले सी-आस्वा शुल्क घटाएर बढीमा ५ रुपैयाँ मात्र कायम गरेका छौँ। अब ब्रोकरले तिर्ने शुल्क पनि घटाउछौँ। लोकप्रिय बन्ने निर्णय मात्र गरेर हुँदैन, त्यसको असरको गम्भीर अध्ययन गर्नुपर्छ। ब्रोकर शुल्क घटाउन सकिने ठाउँ देखिएको छ। त्यसको लागि बोर्डले आफूबाटै सुरुवात गर्न सक्छ। यसलाई क्रमिक रुपमा अगाडि बढाउछौँ। म यहाँ हुन्जेलसम्म केही न केही सुधार देख्नुहन्छ। सुधार बोर्डबाट नै सुरु गरिएको छ।


प्रकाशित: September 18, 2022 | 09:06:59 काठमाडौं, आइतबार, असोज २, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
संवाद

लगानीकर्ताको हितलाई केन्द्रमा राखेर नयाँ एक्सचेन्ज ल्याउन लागिएको हो : सेबोन अध्यक्ष हमाल [अन्तर्वार्ता]

हामीले विश्वभरमा स्टक एक्सचेन्जको अवस्था, नेप्सेको अहिलेको अवस्था, यसको सेवा प्रणाली, क्षमता आदिका विषयमा गम्भीर अध्ययन गरेर नै नयाँ स्टक एक्सचेन्ज ल्याउन लागेका हौं।
नेपाल समय
संवाद

१६५ निर्वाचन क्षेत्रमा २२७ वटा सिट पाउनुपर्ने चार दलको अडान अचम्मलाग्दो छः हिमलाल पुरी [अन्तर्वार्ता]

केपी ओलीले प्रतिगमन गरे भनेर रोइलो गर्ने हामीहरू उनै ओलीलाई भावी प्रधानमन्त्री घोषणा गरेर एमाले चुनावमा गइसक्दासमेत संविधान जोगाउँछौं भनेर गठबन्धन गरेकाहरूका बीच सिट बाँडफाँटकै लागि एकता हुन नसक्नु दुर्भाग्य हुनेछ।
नेपाल समय
संवाद

प्राध्यापक लोकराज बराल भन्छन्ः दोस्रो पुस्ताले शेरबहादुर, केपी ओली र प्रचण्डलाई रिप्लेस गर्नुपर्छ [अन्तर्वार्ता]

अहिलेको राजनीति दोस्रो पुस्ताका नेताहरूले सुधार्न अबको निर्वाचन (पार्टीको आन्तरिक र आमनिर्वाचन) मा एकदमै शक्तिशाली भएर आउनुपर्छ।
नेपाल समय
संवाद

अमेरिकाका लागि राजदूत खत्री भन्छन्- नेपाल सानो देश होइन, अघि बढ्न प्रयासरत छ [अन्तर्वार्ता]

वैदेशिक नीतिको कुरा गर्ने हो भने हाम्रो नीति छर्लङ्ग छ, कतैतिर पनि झुकाव छैन। यस कुरालाई हाम्रो संविधानले पनि प्रष्ट्याएको छ। त्यसैले, विश्वव्यापी शक्तिहरुका बीचमा हुनु भनेको पनि फाइदाजनक नै हुन्छ जस्तो मलाई लाग्छ।
नेपाल समय
संवाद

प्रचण्डले ओलीको धोकाबाट प्राप्त ज्ञान बिर्सिनुहुन्‍न : विश्‍वप्रकाश शर्मा [अन्तर्वार्ता]

प्राइमरी इलेक्सन जस्तो गराएर भोटिङमार्फत पहिलो भएकोलाई उम्मेदवार बनाउने, दोस्रो भएकोलाई प्रचार समितिको संयोजक बनाउने खालको पद्धतिमा किन नजाने?

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना