मंगलबार, असोज ११, २०७९

प्रचण्डले ओलीको धोकाबाट प्राप्त ज्ञान बिर्सिनुहुन्‍न : विश्‍वप्रकाश शर्मा [अन्तर्वार्ता]

नेपाल समय  |  काठमाडौं, शुक्रबार, जेठ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २०, २०७९, काठमाडौं

नेपाल समय

स्थानीय तहको निर्वाचन भर्खरै सकिएको छ। प्राप्त मतपरिणामलाई दलहरुले आ-आफ्नै कोणबाट ‘पोस्टमार्टम’ गरिरहेका छन्। सत्ताको नेतृत्वकर्ता र स्थानीय तहको निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस पनि चुनावी समीक्षाकै क्रममा छ। यद्यपि औपचारिक बैठक बोलाएर कांग्रेसले समीक्षा गरिसकेको छैन। तर, नेताहरु चुनावी परिणामबारे मन्थनमा व्यस्त छन्। पाँच दलीय गठबन्धनका  बीचमा भएको चुनावी तालमेलको सफलता-असफलताको विषय पनि कांग्रेसको बहसमा छ।

यही वर्ष हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको परिणामको झल्को पनि स्थानीय तहको निर्वाचनको परिणामले दिने हुँदा चुनावी तालमेलको समीक्षा कांग्रेसको प्राथमिकतामा पर्नु स्वभाविक नै हो। तर, चुनावी परिणामबारे सत्तासाझेदार नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी सन्तुष्ट देखिँदैनन्। सँगै नेकपा माओवादी केन्द्र पनि पछिल्ला दिनमा कांग्रेसप्रति रुखो सुनिन थालेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पदको अफर आएको सार्वजनिक अभिव्यक्ति दिइरहेका छन्। उनीहरुको अभिव्यक्तिले राजनीति तरंगित बनेको छ नै, सँगै कांग्रेसलाई सशंकित पनि बनाइदिएको छ। चुनावी परिणाम, गठबन्धनको भविष्य र नेपाली राजनीतिको भावी दिशाका बारेमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मासँग नेपाल समयका तीर्थराज बस्‍नेत र कौशल काफ्लेले गरको कुराकानीको सम्पादित अंशः 

भर्खरै सम्पन्‍न स्थानीय तहको चुनावको मतपरिणामलाई कसरी मूल्यांकन गर्नुभएको छ? चुनावी तालमेल सफल भयो?

स्थानीय चुनावको परिणामले हामी सबै दललाई आत्मनिरीक्षणको लागि सन्देश दिएको छ।०७४ को निर्वाचनमा नेपाली कांग्रेसले एक्लै लड्दै गर्दा २६६ तह जितेको थियो। त्यो बेला फाट्टफुट्ट तालमेल पनि भएको हो। हामीले अघिल्लोपटक भन्दा संख्यात्मक रुपमा पनि मत बढाएका छौं। यसले स्वभाविक रुपमा पहिलो दल नेपाली कांग्रेस पार्टी बनेको छ। सँगैमा अर्को सत्य के हो भने कतिपय ठाउँको परिणामहरु हेर्दा एक्लै लड्दा पनि जितेको भूगोलहरु तालमेल गर्दा पनि किन गुमायौं भनेर पनि हेर्नुपर्छ। 

कतिपय ठाउँमा स्वतन्त्र उम्मेदवारहरुको उपस्थिति जे रह्यो, त्यसले दिएको सन्देश के हो? भन्ने कुरालाई पनि कांग्रेसले अलि गहिराइसँग हेर्नुपर्छ। हामीले अझै यो भन्दा राम्रो रिजल्ट दिन सक्थ्यौं कि सक्दैनथ्यौं? भनेर हेर्ने हो भने पक्नै पनि सक्थ्यौं। यदि हाम्रो व्यवस्थापकीय कुरा राम्रो भएको भए, टिकट वितरणको पद्धतिमा राम्रो समन्वय भएको भए यो भन्दा राम्रो नतिजा ल्याउन सक्थ्यौं। 

म उम्मेदवार नभए पनि मैले चाहेको उम्मेदवारले टिकट नपाए पनि पार्टीको साथी लड्नुभएको छ, विजयी गराउनुपर्छ भन्‍ने भावनालाई आमरुपमा विकसित गर्ने कुरामा पनि हामी चुक्यौं कि भनेर पनि हेर्नुपर्छ। त्यसैले गर्दा, यो परिणामले नेपाली कांग्रेसलाई एउटा 'आत्मसन्तोष' पहिलो दल बनेकोमा दिएको छ। तर, सँगैमा गम्भीरतापूर्वक यसलाई समीक्षा गर्नुपर्ने ठाउँ पनि दिएको छ। अरु दलको हकमा पनि केही न केही उपलब्धी हरेकलाई दिएको छ। गणितीय रुपमा प्राप्त नभएको उपलब्धीलाई हेर्दा जनताले हामीलाई किन मत दिएनन्? किन हामी खुम्चियौं भनेर आत्मनिरीक्षण गर्ने सुविधा हरेक दललाई अहिलेको मतपरिणामले दिएको छ। 

चुनावबाट पहिलो दल बनेको कांग्रेसले अन्तर्घातका कारण केही गुमाउन पर्‍यो भन्ने टिप्पणी पार्टीकै नेताहरुको छ। खास कुरा के हो? 

हामीले कतिपय ठाउँमा के देखेका छौं भने  खासगरी कांग्रेस र माओवादी मिलेकै छन। अघिल्लो चोटी कांग्रेसको यति मत थियो, माओवादीको यति मत थियो भनेर गणित जोड्दै गर्दा यति भयो भने पुग्छ भन्‍ने भयो। त्यसैले पार्टीभित्रैको अर्को विचार समूहको साथीहरुलाई नसुन्दा पनि हुन्छ होला नि त भन्‍ने मनोविज्ञान कतिपय ठाउँमा देखियो। यसले के गर्‍यो भने माओवादीको गणित त्यहीअनुसार रहेनछ भन्‍ने पुष्टि भयो। एकातिर भने आफूभित्रको गणितलाई पनि सही सन्तुलन गर्न नसक्दाको परिणाम हामीले बेहोर्नुपर्‍यो।

टिकट वितरण गर्दैगर्दा पनि, जस्तो विश्वप्रकाश शर्मा केन्द्रमा हार्‍यो। अब केन्द्रमा लड्दा गाह्रो होला जस्तो छ, त्यसकारण प्रदेशमा लड्दिम न त अथवा प्रदेश जितैकै छु, मेयर पनि लड्दिम न त भन्‍ने विषयले पनि समस्या बनायो। टिकट वितरण गर्दा न्याय गर्नुपर्छ कि लोकप्रिय हेर्नुपर्छ भन्‍ने एउटा प्रश्न जहिले रहिरह्यो। न्याय गर्नुपर्छ भन्दै गर्दा लोकप्रिय छुट्छ। लोकप्रियलाई छान्दा न्याय नहुने पनि हुन सक्छ। कोहीबेला लोकप्रिय छान्‍ने भनिन्छ। तर, लोकप्रियताको मापन गर्ने मापदण्ड के हो भन्‍ने कुरा अस्पष्ट छ। त्यसले के भयो भने, सैद्धान्तिक र व्यवहारिक कुराको व्यवस्थापन हुन सकेन। र त्यसले अन्तरघातलाई मलजल गर्‍यो। त्यसैले कयौं ठाउँमा म उम्मेदवार भइनँ, तर पोहोर त मै उठेको थिएँ नि त भन्‍ने खाले भावना कम भएको पनि देखियो। कतिपय ठाउँमा पोहोर पनि म भइनँ, यसपटक पनि भइनँ अब त कहिले हुन नपाउने भएँ भन्ने खालको भावना पनि देखियो। कतिपय ठाउँमा आफू या आफूले खोजेको मान्छे नभएको कारण सोचअनुसारको क्रियाशीलता पनि देखिएन। 


अर्को फ्याक्टर चाहीँ के भयो भने, पार्टी आफैँले तालमेल गर्दा कतिपय ठाउँमा अर्को दललाई दिऔँ न त भन्‍ने भयो। यसले गर्दा, पार्टीले त त्यहाँसम्म जान भन्यो, हामीले अलि परसम्म जाँदा के बिग्रियो त भन्‍ने मनोविज्ञान पनि देखियो। यो समग्र प्याकेजचाहीँ के हो भने, तपाईंले भनेजस्तो अन्तरविश्वासमा कमी भयो। अनि त्यसले अन्तरघात गर्‍यो।  

टिकट वितरण लगायतका विषय समीक्षा आवश्यक छ भन्दै गर्दा यसमा देखिएका कमजोरी के हुन्? कसरी सुधार्ने? 

टिकट वितरण गर्दैगर्दा हाम्रोमा के समस्या भयो भने केन्द्रीय कार्यसमितिबाट कार्यसम्पादन समिति र संसदीय बोर्ड बन्यो। तर, त्यहाँ टिकट वितरण नै गर्ने अनुभवीहरु चाहीँ को–को हुनुहुन्थ्यो भने, पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र उपसभापति पूर्णबहादुर खड्का हुनुहुन्थ्यो। हामी अरु सबैलाई टिकट वितरणको अनुभव त्यति थिएन। प्रवक्ता भएर पहिला राष्ट्रिय सभाको टिकट वितरणमा बसेको बाहेक मलाई पनि अनुभव थिएन। भनेपछि अनुभव नभएको हामी थियौं एकातर्फ, अर्कोतर्फ सातवटा प्रदेशमा अनुभवी नै अनुभवी साथी हुनुहुन्थ्यो रे। तर, त्यो सातै प्रदेशबाट टिकट वितरण गर्ने अभ्यास त पहिलोपटक भइरहेको थियो।

नगरपालिकामा टिकट पहिला त केन्द्रबाट बाँडिएको थियो, अहिले प्रदेशबाट बाँडियो। विराटनगरमा बसेर फुङ्लिङ नगरपालिकाको टिकट वितरण गर्दै गर्दा भर्खर आएको कार्यसमितिले के मापदण्ड र बुझाइको आधारमा वितरण गर्ने भन्‍ने कुराको अत्याधुनिक परिपाटी बनाइसकेका  थिएनौं। सिफारीस गर्दा तीनजना गर्नु भनिएको थियो। पार्टीका केन्द्रका नेताले विधान पालना गर्नुभएन भनिरहेका तलका समितिले पनि विधानविपरीत सिफारीस गरिदिए। त्यसैले तलको समितिबाट पनि समस्या भयो, सिफारिस लिनेको पनि समस्या भयो। बुझ्‍नेको पनि समस्या भयो। निर्णयकर्ताको पनि समस्या भयो। यो सबै समस्यालाई चाहीँ रुपान्तरण गर्ने उपाय खोज्नुपर्ने भएको छ।

प्राइमरी इलेक्सन जस्तो गराएर भोटिङमार्फत पहिलो भएकोलाई उम्मेदवार बनाउने, दोस्रो भएकोलाई प्रचार समितिको संयोजक बनाउने खालको पद्धतिमा किन नजाने?

अब रुपपान्तरण गर्ने कुराको सन्दर्भमा चाहिँ, पार्टीको क्रियाशील सदस्यले गाउँको सभापति चयन गर्नसक्छ भने उसलाई गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार चुन्‍ने अधिकार किन नदिने? अथवा त्यहीँबाट पार्टीको क्षेत्रीय सभापति चयन गर्नसक्छन् भने पार्टीको प्रदेश वा केन्द्रको सांसदको लागि मतदानको प्रक्रियाबाट नेतृत्वलाई अघि बढाउने विधिमा जान किन नहुने? अथवा, प्राइमरी इलेक्सन जस्तो गराएर भोटिङमार्फत पहिलो भएकोलाई उम्मेदवार बनाउने, दोस्रो भएकोलाई प्रचार समितिको संयोजक बनाउने खालको पद्धतिमा किन नजाने? यो वा त्यो होस्, अलि फरक खालको बहस, जसले् संसदीय प्रणालीलाई बलियो बनाउनको लागि टिकट वितरणको पद्धतिलाई सबै दलले आधुनिक बनाउँदै लैजान आवश्यक छ।

चुनावी परिणामका सन्दर्भमा सत्तासाझेदार दल एकीकृत समाजवादी, जसपा असन्तुष्ट देखिन्छन्। कांग्रेसले असहयोग गर्‍यो भन्‍ने आरोप पनि छ। कांग्रेसले गठबन्धनमा आवद्ध दललाई धोका दिएकै हो वा ती दलको बुझाइमा कमजोरी रह्यो? 

उहाँहरुको त्यो संस्थागत धारणा होइन। कुनै नेताले काहीँ बोल्नुभयो होला। तर, कुनै तहमा कांग्रेसको साथी विजयी हुँदै गर्दा एकीकृत समाजवादीको साथी विजय हुनुभएन होला। त्यसलाई मात्र हेरेर टिप्पणी गर्ने हो भने, हामीले पनि त पोखरा हेर्नुपर्‍यो होला नि? त्यहाँ नेकपा एसको साथी विजय हुँदा नेपाली कांग्रेसको उपमेयर त विजयी बन्‍नुभएन। अब हामीले पनि उहाँहरुलाई आरोपित गर्नतर्फ लाग्यौं भने त्यसले त फेरि जटिलता बढाएर जान्छ। त्यसकारण यसलाई चाहिँ कसरी बुझनपर्छ भने नेकपा एसको साथीहरु कतै विजयी हुनुभएको वा नभएको होला। तर, त्यहाँ कांग्रेसले आफ्नो उम्मेदवारलाई छोडाएर अर्को पार्टीलाई भोट हालौं भन्दै गर्दा बुझाउँन सकिएन होला नि त। अथवा पोखरामा एसका साथीहरुले कांग्रेसलाई मत हाल्न बुझाउन सक्नुभएन होला नि त। कुन-कुन भूगोलको कहाँ-कहाँ के समस्या छ? भनेर विश्लेषण गर्नुपर्छ। विजयी भएको भूगोलको पनि विश्लेषण गर्नुपर्छ, नसकेको भूगोलको पनि विश्लेषण गर्नुपर्छ। 

त्यसकारण मलाई के लाग्छ भने एउटा राजनीतिक दल जो भर्खरै खुलेको छ। माधव नेपालको एउटा लामो राजनीतिक छवि र उहाँले उठाएको मुद्दाका कारण नेकपा एस जन्मिएको हो। यो चुनाव नेकपा एसका लागि परिचय कार्यक्रमजस्तो मात्र हुँदा पनि केही उल्लेख्य भूगोलको नेतृत्व आएको छ नि त। सोचेभन्दा कम भयो होला, तर शून्य त भएको छैन। जस्तो २०५६ को निर्वाचनमा बामदेव जी, सीपी मैनालीजीहरुले अलग्गै दल खडा गरेर हिड्नुभयो। राष्ट्रव्यापी रुपमै जानुभयो। तर, एउटा निर्वाचन क्षेत्र पनि जित्‍नु भएन नि त। त्यत्रो ठूलो हल्लाखल्ला थियो। साहना प्रधानदेखि बामदेव गौतम, सिपी मैनालीसम्म को हुनुहुन्‍न थियो? युवामा पनि योगेश भट्टराई, रविन्द्र अधिकारी सबै हुनुहुन्थ्यो। तर, किन जित्‍नुभएन? अब त्यसैलाई हेर्नुस् न, त्यो बेला खुलेको एउटा दलले पाएको समय र आएको परिणाम। अहिले त छोटो समयमा परिचय कार्यक्रममात्र भएको जस्तो बेला यति जित निकाल्नुभयो। यसलाई त उहाँहरुले उपलब्धीका रुपमा लिनुपर्छ। 

तर, चुनावी परिणाम आएलगत्तै सत्तासाझेदार दलका नेताहरुले चेतावनीको भाषा बोल्न थाल्नुभएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त तीन दिन अघि मात्र 'कांग्रेसले अहंकार देखाए ठेगान नै लगाइदिने' चेतावनी दिनुभयो। सत्तासाझेदार दलका शीर्ष नेताहरुले नै सत्ताको नेतृत्वकर्ता दललाई चेतावनी दिनुको अर्थ के हो? 

कमरेड प्रचण्डले कहाँ के भन्‍नुभयो भनेर जस्ताको त्यस्तै र उस्तै भाषामा कुनै जवाफ दिन मन छैन। म दिन पनि चाहन्‍नँ। किनभने अहिले हामी एउटै सहयात्रामा छौं। तर, परिणाम हेर्ने हो भने उहाँहरुले अघिल्लोपटक विजयी हासिल गरेको भन्दा यसपाली बढोत्तरी भएको छैन र? छ नि त। अनि कुन अहंकारको जगमा कांग्रेसले विजयी गराउनतर्फ लाग्यो त? हामीले हार्दिकता राखेर न हो। 

हामीले पनि कतिपय ठाउँमा विजय हाँसिल गर्दैगर्दा उहाँहरुको साथ सहयोग प्राप्त भएको छैन र? ढुंगाको भर माटो, माटोको भर ढुंगा भनेर भनिएको होइन र यो तालमेललाई? तर, के कुरा बिर्सनुहुन्‍न भने नेपाली कांग्रेस पार्टीले ३२९ स्थानमा जित्दै गर्दा कांग्रेसका नेताहरुले कुनै अहंकारको अभिव्यक्ति राख्नुभएको छैन। निर्वाचनले कोहीबेला अलिकति ठूलो आकार दिनेबित्तिकै त्यो आकारले अहंकारलाई जन्म दिन्छ। त्यसैले हामीले अलिकति बढेको आकारका कारण अहंकार बढाउने काम गर्‍यौं भने त्यो गलत हुन्छ। हामी पाँच वर्षलाई जितेर ५० वर्षको लागि विजयी भएका छौं भन्‍ने मानोविज्ञान राख्‍ने दल नेपाली कांग्रेस होइन। 


कमरेड प्रचण्डहरुले मतगणना हुनुअगाडिसम्म निष्पक्ष देखेको चुनाव मत गन्दागन्दै धाँधली भयो भनेर उठेर हिंड्नुभएको होइन र? कमरेड केपी ओली पनि अहिले लोकप्रिय मतमा हामी अगाडि भन्‍नुहुन्छ। अनि अस्ति भर्खरै धाँधली भयो भनेर उहाँहरुलाई लागेको हैन र? हामी जित्दा पनि संयम्तापूर्वक  हिँड्छौं।  हार्दै गर्दा पनि उत्तिकै संयमित भएर काम गरेका छौं। नेपाली कांग्रेस पार्टी पहिलो कुरो अहंकार राख्दैराख्दैन। त्यसैले मेरो अनुरोध छ, चाहे विजयको क्षणमा होस् वा पराजयको क्षणमा नै किन नहोस् संयमित भएर अभिव्यक्ति राख्नुपर्छ।

एकातिर प्रचण्डको चेतावनीयुक्त अभिव्यक्ति र अर्कोतर्फ प्रचण्ड र माधव नेपाललाई प्रधानमन्त्रीको अफर आएको विषय सार्वजनिक भएसँगै वर्तमान गठबन्धनको भविष्यमाथि प्रश्‍न उठेको र वाम गठबन्धनको प्रयास भइरहेको चर्चा सुनिनँ थालेका छन्। के भन्‍नुहुन्छ?

राजनीतिमा जहिले पनि अनेक विश्लेषण, सम्भावना, आशंका भइनै रहन्छन्। उहाँहरु हिजो पनि कुनै बेला मिल्नुभएकै थियो। त्यसैले अब पनि मिल्नुहुनेछ भन्‍ने मलाई लाग्दैन। किनभने अनुभवले पनि मान्छे दीक्षित हुन्छन्। 

जस्तो, एकपटक के भएको थियो भने संसद् विघटनको भएको बेला बूढानिलकण्ठमा हामी छलफलमा थियौं। त्यसबेला कमरेड प्रचण्डले केपी ओलीजीले यसो गर्नुभयो, उसो गर्नुभयो भन्दै हुनुहुन्थ्यो। त्यहीबेला रामचन्द्र दाइले ‘केपीले यसो गर्छन्, उसो गर्छन् भन्‍ने थाहा हुँदाहुँदैँ मिल्नु चाहीँ किन भएको थियो त?’ भनेर प्रश्न गर्नुभएको थियो। लगत्तै जवाफमा प्रचण्डले भन्नुभएको थियो, ‘मैले ज्ञान पाएँ।’ प्रचण्डजीमा त्यो ज्ञानको प्रकाश अहिले पनि जीवित छ भन्‍ने लाग्छ। 

माधव नेपालको एउटा लामो राजनीतिक छवि र उहाँले उठाएको मुद्दाका कारण नेकपा एस जन्मिएको हो। यो चुनाव नेकपा एसका लागि परिचय कार्यक्रमजस्तो मात्र हुँदा पनि केही उल्लेख्य भूगोलको नेतृत्व आएको छ नि त। सोचेभन्दा कम भयो होला, तर शून्य त भएको छैन।

अर्को कुरा उहाँहरु सबै कम्यूनिस्ट पार्टी त हो। तर, फरक के हो भने प्रचण्ड र माधव कमरेड यो संविधानलाई गलत ट्रयाकमा लिएर जाँदै गर्दा प्रतिगमन भयो भनेर विरोधको झण्डा बोक्न आउनुभयो। एउटाले उचालेको झण्डा प्रतिगमनको विरुद्धको थियो, अर्कोले चालेको कदम प्रतिगमनको पक्षमा हो। एउटाले संविधानलाई दुर्घटना गराउन लाग्यो, अर्को बचाउँन लाग्यो। त्यसैले यसरी दुर्घटना गराउन लाग्ने र जोगाउनतिर लाग्नेबीचमा कसरी तालमेल होला र?  

तर, पाँच बर्ष अघिकै उदाहरण हेर्ने हो भनेपनि गठबन्धनको भविष्य माथि प्रश्न उठाउने प्रशस्त ठाउँहरु छन् नी होइन? उसै पनि प्रचण्डले नेपाली राजनीतिमा अस्थिर नेताको परिचय बनाउनुभएको छ। कांग्रेसलाई पाँच बर्षअघिको त्यो घटनाक्रमले झस्काएको छैन?

अहिले कमरेड प्रचण्ड अनेक हण्डर, ठक्करबाट दीक्षीत भइसक्नुभएको छ। अब मलाई लाग्दैन कि त्यो खालको परिस्थिति आउँछ।

वर्तमान गठबन्धन कायम रह्यो भने चुनावी तालमेलको मोडालिटी के हुन्छ? अहिलेकै जस्तो भद्रगोल स्थिति रहन्छ वा व्यवस्थित? 

पहिलो चाहीँ के हो भने, जहाँ विजयी हासिल गरिएको छ, त्यसलाई अझै बलियो बनाउने भनेर सोच्‍नुपर्ने भएको छ। दोस्रो कुरो, जहाँ मिलेर पनि हारियो त्यसमा थप गहिरो विश्लेष्ण हुन जरुरी छ। मिलेर पनि हारेको भू-भागको गहिरोसँग आत्मनिरीक्षण, आत्मसमीक्षा र आत्मरुपान्तरणको कुरा गर्न सकेनौं भने त भोलि अर्को ठाउँ मिलेर पनि हार्ने खतरा हुन्छ। त्यसैले अहिलेको परिणामलाई पनि गहिरोसँग विश्लेषण गरेर गयौं भने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन यो गठबन्धनले जित्छ। 

अहिलेको निर्वाचनको परिणाले दलहरुलाई केही स्थानमा ठूलै 'सरप्राइज्' दियो। उदाहरणका रुपमा धरानमा हर्क साम्पाङ, धनगढीका गोपाल हमाल र काठमाडौंमा बालेन शाह। यसलाई कांग्रेसले कसरी लिएको छ? 

यसलाई दुई  कोणमा छुट्याएर हेरौं। एउटा काठमाडौं र धरानको अनि अर्को काठमाडौं र वीरगञ्‍जको। यी दुवैतिरको नतिजा आएपछि सबैलाई मैले बधाई पनि दिएँ। हामी कांग्रेसजनले त्यसलाई सहजतापूर्वक र हार्दिकतापूर्वक लियौं। बुलेटबाट आएकालाई त सँगसँगै सहयात्री बनाएर चल्नुपर्छ भने ब्यालेटबाट आएकालाई हार्दिकतापूर्वक ग्रहण गर्ने संस्कृति हामीसँग छ। 

काठमाडौंका मतदाताले दिनुभएको मतले दलहरुलाई रुपान्तरणको सन्देश दिएको छ। अलिकति झ्याल खोलेर बाहिर बग्दै गरेको हावालाई हेर, सडकमा हिडिँरहेको युवकको मनमा के छ त्यो सुन, नयाँ प्रश्नहरु उठिरहेका छन्, त्यसको लागि पुरानो उत्तर होइन नयाँ उत्तर खोज्नतर्फ लाग भनेर काठमाडौंको मतपरिणामले हामीलाई झकझक्याएको छ। 

काठमाडौंमा अर्को गजबको कुरा के भएको छ भने यहाँ कांग्रेस र एमालेसँग मतदाताको रुष्टता देखियो। तर, वैकल्पिक दललाई पनि रोज्‍न चाहेको त देखिएन। वैकल्पिक दलको नारासहित विवेकशील साझाको उम्मेदवार हुनुहुन्थ्यो। तर, त्यसमा त मत खसेको देखिएन। काठमाडौंका मतदाताको अवस्थासँग रुष्टता देखियो। त्यसैले अवस्थालाई बदल, व्यवस्थालाई सुदृढ गर भनेको देखियो। नभए हामीलाई मत नदिँदै गर्दा व्यवस्थै उल्टाउन चाहने राप्रपा पनि थियो। त्यसैले काठमाडौंका मतदाताले आवेगमा मात्र मत दिनुभयो भन्दैगर्दा अधुरो हुन्छ। उहाँहरुले कांग्रेस एमालेलाई चेतावनी दिन त्यो आवेग राख्नुभयो, तर सँगैमा विवेकपूर्ण तरिकाले मत दिनुभयो। काठमाडौं र धरानलाई हेर्दा यो देखियो।

अर्को, काठमाडौं र वीरगन्‍जलाई हेरौं। काठमाडौंको सडकमा कुनैबेला मधेशी समुदायको युवकले अपमानित महसुस गर्नुपर्छ भन्‍ने लाग्थ्यो। हिजो मैथीली, थारु, भोजपुरी बोल्दै गरेको युवक धोती लगाएर हिंडेको मान्छे अपमानित भयो भन्‍ने फिल गर्थ्यो मधेशले। तर, आज त्यो मधेशले के सन्देश पायो भने- होइन है, नेवा भनेर भनिएको राज्यमा आज मधेशको एउटा युवकलाई हामीले महानगर प्रमुख बनायौं भनेर काठमाडौंले सन्देश दिएको छ। सँगैमा मधेशले काठमाडौं वा पहाडे हो, अब तिमी मधेशसँग झस्किनुपर्दैन भनेर सन्देश पनि दियो। मधेश प्रदेशको वीरगन्‍जमामा पहाडे छोरोलाई जिताएका छौं भनेर देखायो।

हर्क, बालेन र गोपाल हमालको मात्रै कुरा रहेन। कांग्रेसले टिकट नदिएर बागी उठेकाहरुले पनि त चुनाव जिते। स्वतन्त्रहरुको उदयको अर्थ के हो? यदि दलहरु सच्चिएनन् भने अझै थुप्रै हर्क र बालेनहरु उदाउलान नी होइन र?  लोकतन्त्र भनेको भित्रबाट रुपान्तरित हुने कुरा हो। दलहरुसँगको रुष्टता राख्दै गर्दा पनि लोकतान्त्रिक प्रक्रियाभित्रैबाट राखियो नि  त। अहिलेको अवस्थाप्रति कसैको वितृष्णा छ भनेर बालेन र हर्कहरु कहीँ हतियार उठाएर त गएनन् नि। यो कस्तो सुन्दर कुरा छ। यही हो नि डेमोक्रेसीको सौन्दर्यता भनेको। यही प्रक्रियाभित्रबाट रुपान्तरण खोजिएको छ। त्यसैले जे सन्देश आएको छ, त्यसलाई ग्रहण गर्नुपर्छ। 


 बागीहरुको सन्दर्भमा चाहीँ यति मात्र भनौँ, यो आन्तरिक छलफलको विषय हो। हामीले उम्मेदवार चयन गर्दैगर्दा पद्धति बदल्नुपर्छ भनेर म भन्दैछु। को उम्मेदवारलाई उठाउँदै गर्दा न्याय भइरहेको छ भनेर सन्देश दिने हो भने त्यो पनि दिन नसक्ने। उठाउँदै गर्दा, लोकप्रिय उठाएको हो भनौं भने त्यो पनि परिणामा नदेखिने। त्यसैले यो सबैले टिकट वितरण पद्धतिकै बारेमा रिथिंक गर्नुपर्ने देखिएको छ। अहिलेसम्म जे गर्दै आयौँ, त्यो एउटा परम्परागत कांग्रेस पार्टीको थियो। अब आधुनिक भनेर भनिएको कांग्रेस पार्टीको लागि के हो ‘थट’ भन्ने कुराको छलफलमा जानुपर्ने देखिएको छ।

राजनीतिक दलहरु विभाजित हुँदा वा नयाँ दल खुल्दा अक्सर चुनाव चिह्नप्रति सजग देखिन्छन्। चुनाव चिह्नलाई ब्रान्डकारुपमा स्थापित गर्दा त्यसले परिणाम दिने बुझाइ दलहरुमा छ। तर, यसपटक लौरो, आँप, जेब्रा, घण्टाघर लगायतका चिह्‍नले पनि जित निकाले। भनेपछि चुनाव चिह्न सबथोक रहेन नि?

चुनाव चिह्न भनेको एउटा प्रतिक न हो। जस्तो, पहिला विचारको जन्म भयो। विचारपछि नेपाली कांग्रेस भन्‍ने नाम बन्यो। नामसँगै अनि झण्डा बन्यो। झण्डाभन्दा अझै दश वर्षपछि मात्रै चुनावचिह्न बन्यो। त्यसकारण चुनावचिह्न जेठो कि कांग्रेसभन्दै गर्दा कांग्रेस जेठो हो। त्यसैले समाजमा चाहीँ चुनाव चिह्न एउटा प्रतिक हो। त्यो प्रतिकमार्फत चाहीँ राजनीतिक सेन्टीमेन्ट जोडिने कुरा हो। तर, सेन्टिमेन्टमात्रैले होइन कि, मुद्दाका कुरा, संरचनाका कुरा, तत्कालीन कुराले नै चुनावमा प्रभाव गर्छ, गुर्नपर्छ। 

रामचन्द्र दाइले ‘केपीले यसो गर्छन्, उसो गर्छन् भन्‍ने थाहा हुँदाहुँदैँ मिल्नु चाहीँ किन भएको थियो त?’ भनेर प्रश्न गर्नुभएको थियो। लगत्तै जवाफमा प्रचण्डले भन्नुभएको थियो, ‘मैले ज्ञान पाएँ।’ प्रचण्डजीमा त्यो ज्ञानको प्रकाश अहिले पनि जीवित छ भन्‍ने लाग्छ। 

अर्को कुरा हामी भोट बैंक पनि भन्‍ने गरेका छौं। यो अलोकतान्त्रिक कुरा हो। हामी हाम्रो भोट बैंक भन्छौँ। बैंकमा लगेर राखेको पैसा 'रिजिड' हुन्छ, मान्छे त चलायमान हुन्छ। कसरी भोट बैंक हुन्छ? नोटको बैंक हुन्छ, भोटको पनि बैंक हुन्छ र? अस्ति पनि ‘कोर एरिया’ पुगेपछि जितिन्छ भन्‍ने थियो नि हैन? यो भनेको के हो त? हामीले के भन्‍न खोजेको त भन्दा भोट बैंक नै थियो नि, तर, जनता भनेको त बैंकमा बस्‍ने नोट जस्तो रिजिड हुँदैनन्, चलायमान हुन्छन्। जब जनता चलायमान हुन्छन् र विवेक प्रयोग गर्न थाल्छन्, त्यो नै लोकतन्त्रको लागि सुन्दर पक्ष हुन्छ। त्यसैले अहिले कतिपय ठाउँबाट दिएको सन्देशले हामीजस्तो दललाई (जो ‘मास’मा विश्वास गर्छ) चलायमान खालको समाज नै राम्रो हुन्छ। 

चुनावअघि तपाईंहरुले पटक-पटक नयाँ थपिएका मतदाता हामीतिर आकर्षित गर्छौं भन्दै आउनुभएको थियो। मतपरिणामलाई हेर्दा कति मतदाता कांग्रेसप्रति आकर्षण भए, के विश्लेषण गर्नुभएको छ? 

अघिल्लो पटकको तुलानाको हिसाबले स्वभाविक रुपमा कम्युनिस्ट पार्टीको शासनको तीन वर्षको वितृष्णाले पनि हामीलाई लाभ गराएको छ। कम्युनिस्ट पार्टीको विभाजनको लाभ पनि प्राप्त भएको होला। सँगैमा कांग्रेसको १४औं महाधिवेशन भएर वडा-वडासम्म फ्रेस लिडरसीप आयो। त्यो नेतृत्वको जनतासँगको संवादले पनि राम्रै गरेको छ। कांग्रेसभित्र पाको नेतृत्व चाहिए पाको नेतृत्व पनि छ। उमेरको हिसाबले युवा चाहिए पदाधिकारीमा युवाहरु भेट्नुहुन्छ भन्‍ने कुराले पनि केही न केही काम गरेकै छ। यसकारण अहिले आएको परिणाममा यी सबै कुरा गासिँएको छ। यी सबै कुराको सारमा परिणाम प्राप्त भएको छ। 

एमसीसी लामो समयदेखि गुज्रिएर आएर पछि पास भयो। त्यसबेला राष्ट्रवाद र घातको बहस व्यापक थियो। तर, एमसीसी पास गराउन सक्रियतापूर्वक लागेको कांग्रेसलाई नराम्रो नतिजा त आएन। यसको मतलब त्यो बहस निरर्थक थियो भन्‍ने हो?

होइन। त्यसो भन्‍नुहुँदैन। कुनै युवा सडकमा अमेरिकी सेनाको बुट मेरो देशमा बजारिँनु हुँदैन भनेर आएको छ भने उसको बुझाईमा कमजोरी भयो होला। तर उसको भावनाको कमजोरी त होइन नि। त्यो भावनालाई सम्मान गर्नुपर्‍यो नि। बानेश्वरको सडकमा मुठी बटारेर एमसीसी मुर्दावाद भन्‍ने युवा दोषी होइन। दोषी त त्यसलाई मलजल गर्ने नेताहरु हुन्। बरु त्यो राष्ट्रवादको भावनालाई देशभक्तिको भावनामा रुपान्तरण गर्ने कुरा महत्वपूर्ण हो। ती युवालाई बरु यसबारे बुझाउन नसक्ने हामी पो दोषी हौं त। उसको भोट होइन, भविष्य हेर्नुपर्छ। अहिले देशभरीको परिणाम आउँदै गर्दा एमसीसीको नेगेटिभ कन्ट्रिब्यूसन ख्वै त? एमसीसीका कारण मेचीनगर हारेको हो र? एमसीसीका कारण काठमाडौं महानगर हारेको हो र? त्यो त होइन। कांग्रेसले लोकप्रिय निर्णय मात्रै सोच्दैन। लोकहितलाई केन्द्रमा राखेर सोच्छ। 

अब संसदीय चुनाव पनि आउन लाग्यो। तपाईंको गृहजिल्ला झापामै कांग्रेसभित्रको एउटा खेमा तपाईंसँग रिसाएको छ भन्‍ने सुनिन्छ। स्थानीय चुनावमा पनि गृहनगर मेचीनगरमा प्रदेशले दिएको टिकट खोसेर केन्द्रबाट आफ्नो मान्छेलाई टिकट दिलाउनुभयो। तर, अर्को खेमाले अन्तर्घात गरेर कांग्रेस पराजित भएको टिप्पणी पनि भइरहेकै छन्। त्यसले तपाईंलाई आफ्नै क्षेत्रमा असहज देखिएकाले अर्कै क्षेत्रबाट पो लड्नुहुन्छ कि भन्‍ने आशंका व्यक्त भइरहेका छन्। के भन्नुहुन्छ?

एउटा मान्छे कुनै तहमा उम्मेदवार बन्छ। पाँच वर्ष नपुग्दै अर्को तहको उम्मेदवार पनि उसैलाई बनाइन्छ भने त्यो राजनीतिको सुसंस्कृत शैली होइन। त्यो भनेको के हो भने, विश्वप्रकाश शर्माले केन्द्रको सांसद हार्‍यो, अब मलाई उपाय छैन बरु प्रदेशमा लडेर मुख्यमन्त्री हुने हो भनेर उता लोभ गर्‍यो भने अर्काको भाग जाने भयो नि त। त्यसकारण मेरो क्षेत्रमा होस् या अन्य पालिकामा पाँच वर्षको बीचमा अर्को भिन्‍न तहमा कसैलाई पनि उम्मेदवार बनाउनुहुन्‍न। कांग्रेसको विधानको स्प्रिट त के हो भने, एउटा तहमा हारेको मान्छे अर्कोमा लड्नै पाउँदैन। 


तपाईंले सोध्नुभएको कुरा पनि त्यहीसँग सम्बन्धित छ। त्यसबेला मेचीनगरमा प्रदेश कार्यसमितीले टिकट वितरण गर्दैगर्दा केन्द्रले परिवर्तन गरेकै हो। त्यही कारणले नै मेचीनगरको परिणाम गुमेको हो भने त्यसको जिम्मेवारी स्वभाविक रुपले विश्वप्रकाशले लिन्छ। तर, फेरि अन्तत: उम्मेदवारहरु ऐजन-ऐजन थिए। विर्तामोड, अर्जुनधारा, शिवसतासीलगायत अरु ठाउँ पनि हामीले हारेका छौं। त्यहाँ त विश्वप्रकाशले उल्टाएको भन्‍ने ठाउँ थएन। त्यसैले समग्रमा झापाभरीको मतपरिणाम हाम्रा लागि प्रतिकूल आएको छ। झापामा फेरि जिल्लामार्फत बाँडिएको टिकटमा रिजल्ट राम्रो देखिएको छ, प्रदेशमार्फतको रिजल्ट राम्रो देखिएन। 

म मेरो जिम्मेवारीका कारण मेची-महाकाली धाउँदै गर्दा आफ्नै क्षेत्रमा समय दिन नभ्याउने हुन्छ। त्यसैले आगामी निर्वाचनमा पनि समय त्यसैगरी दिइएला, अब आफैँ उठ्दा अलि बढी दिइएला। यद्यपि, जित्ने सुनिश्चित भएको चुनाव त कुनै हुँदैन नि। अघिल्लोपटक त मैले जित्‍नुपर्थ्यो नि त। बुद्धशान्ति, मेचीनगरको प्रमुख जितेकै थियो तर पनि जितिएन। त्यसकारण के हो भने, विश्वप्रकाशले उम्मेदवार बन्छु भन्दै गर्दा महामन्त्रीको हैसियतले पनि सामान्यतया सबै क्षेत्रमा ढोका खुला हुन्छ होला। तर, म उम्मेदवार नै नबन्नु एउटा कुरा हुन्छ, बन्दै गर्दा झापा १ भन्दा बाहिरबाट बन्दिनँ। 

१४औं महाधिवेशन भएको ६ महिना पुगेको छ। महामन्त्रीका हैसियतमा पार्टी सञ्‍चालन गर्दाको अनुभव कस्तो रह्यो?  

हामी दुई महामन्त्रीबीचको समन्वय राम्रो छ। जति स्पिड हुनुपर्ने हो, पार्टीलाई त्यो स्पिड हामीले दिनसकेका छैनौं। कामको विभाजनलाई हेर्दा, गठबन्धनहरुको छलफलमा गगनजी जाने गर्नुहुन्छ। घोषणापत्र निर्माण गर्दा गगनजीलाई सभापतिले जिम्मा दिनुभयो। 

स्थानीय तह निर्वाचनको सन्दर्भमा मेरो जिम्मेवारी जुन थियो, बाहिरबाट कम देखिने तर भित्रबाट साह्रै धेरै व्यस्त रहनुपर्ने थियो। म बिहान ६ बजे पनि आएको छु, बेलुका १२ बजेसम्म पनि बसेको छु। मेरो जिम्मा के थियो भने ८ जना सह–महामन्त्रीमा एक जना मन्त्री पनि भएकोले उनलाई लगाइएन। नत्र सातजना सह–महामन्त्रीको संयोजोकत्वमा सातवटा डेस्क बनेको थियो। त्यो सबै मैले हेर्नुपर्ने थियो। कुन ठाउँको अवस्था के छ, कहाँ टिकट पुग्यो-पुगेन, को विद्रोही देखियो, के भयो भन्नेजस्ता समग्र कुराहरु सातवटा डेस्कले हेर्दै गर्दा सबैलाई संयोजन गर्ने काम मेरो थियो। 

गठबन्धन, तालमेल लगायतका कुरामा पार्टी पंक्ति व्यस्त रह्यो। निर्वाचनमा तुरुन्तै होमिनु पनि पर्‍यो। यो समयावधी चाहिँ कमिटी आएलगत्तै हामीले पर्याप्त ढंगले भातृसंस्थाहरुमा काम गर्न नसकेको हो। तर, त्यसको अर्थ तरुण दल र नेविसंघजस्ता संगठन परिचालनको कुरालाई समस्या हुन भने दिएनौं।

यसपालीको अनुभव के छ भने, फिल्डमा जहाँ भए  पनि म नियमित रुपमा एकचोटी केन्द्रीय कार्यलयमा रहेका साथीहरुसँग छलफलमै हुन्थें। त्यसैले कम समयमा पनि हामीले केन्द्रीय कार्यलयबाट गर्ने परिचालन व्यवस्थित रुपमा गर्ने प्रयत्‍न गर्‍यौं। तर, संगठनका कयौं संरचनागत कुराहरु हामीले बनाउन सकेका छैनौं। अब विभाग, भातृसंस्थाका विषयमा हामी प्रवेश गर्दैछौं। सम्पर्क समितिलाई व्यवस्थित गर्नेतर्फ हाम्रो ध्यान जानेछ। 

आलोचकहरुले भन्‍न थालेका छन् कि कांग्रेसमा दुई युवा महामन्त्रीको उदय त भयो तर दुवै महामन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने तहमा पार्टी जिताउन सकेनन्? खास कमजोरी के भयो? 

कोहीबेला क्याण्डलको मुनि अध्याँरो भनेजस्तो, क्यान्टिनको छेउमै भोको भनेजस्तो हुन्छ। मेरो भूगोल भन्दै गर्दा म गाँसिने कुरो वा गगनजी नै गाँसिने कुरा हुन्छ। तर, के हो भने हामी त्यो भूगोलको मात्रै जिम्मेवारी लिएर बसिरहेका हुँदैनौं। मेरो घरमा त म गएको बेला छिमेकी(दाजु–भाउजु)ले ताला खोलिदिनुहुन्छ। हामी चारजनाको परिवार ललितपुरमा डेरामा बस्छौँ। तर, उता मेरो घरमा ताला खुल्दै गर्दा पहिला मेरो पितामाताको तस्बिर देखिन्छ। त्यसकारण म त त्यहाँ पाहुनै जस्तो हो नि त। पार्टीको जिम्मेवारीको हिसाबले म त्यहीँ बसेर सम्हालिरहेको त छुइनँ। त्यहाँ नगरकमिटी छ, क्षेत्रीय कमिटीजस्ता विभिन्न कमिटी छन्। मात्र म त्यो भूगोलको मतदाता हुँ।

म त्यहाँ जन्मिएको हुँ, म मर्ने पनि त्यही भूगोलमा हो। त्यसकारण मेरो त्यो भावनात्मक रुपमा गाँसिएको भूगोल हो। सांगाठनिक रुपमा चाहीँ जे अपेक्षा मेरो थियो, त्यो पूरा भएन। अरुले भन्दै गर्दा मलाई नै तोके, मैले जिम्मा लिने नै भएँ। मैले पनि के पुगेन, कहाँ पुगेन भनेर सोध्नुपर्ने साथीहरु पनि छन्। तर, जनताको जे फैसला आएको छ, त्यसलाई स्वीकार्नुपर्छ। फेरि म चुनावमा जहाँ–जहाँ पुगेको छु त्यहाँ कांग्रेसले जितेको छ। त्यसकारण महामन्त्री विश्वप्रकाश पुगेको ठाउँमा जितेको छ, विश्वप्रकाशकोमा चाहीँ हारेको हो। आफ्नो ठाउँमा हार्दै गर्दा म आत्माआलोचित हुनुपर्छ। मैले अरुलाई दोष लगाउने होइन, आफूले जिम्मेवारी लिनुपर्छ।

यो ६ महिनाको अवधिमा कांग्रेसको आन्तरिक जीवनमा केही सुखद् क्षण पनि देखिए। तर पार्टी सञ्‍चालन गर्ने पद्धतीका हिसाबले हेर्ने हो भने खास परिवर्तन नदेखिएको टिप्पणी पनि हुँदै आएका छन्। भातृसंस्थालाई मृत्युशय्यामा पुर्‍याएर कांग्रेस चुनावमा गएको आरोप लाग्दै आएको छ। भातृसंस्थालाई पूर्णता नदिइ विभिन्न समिति बनाएर चुनावमा कांग्रेस गएको थियो। एउटा लोकतान्त्रिक र जिवन्त पार्टीका भातृसंस्था जीवन र मृत्युसँग संघर्ष गरिरहनुले के संकेत गर्छ? 

लामो समयदेखि म्याद सकिएका भातृसंस्थाहरुलाई समय नथपेर हामीले एउटा सकारात्मक कुरा त सम्पन्‍न गरिसक्यौं। तर, यस्तो टाइमिङ परेको थियो कि राष्ट्रिय राजनीतिकै चर्चित र महत्वपूर्ण मुद्दा एमसीसीमा सबै पार्टी संगठन केन्द्रित हुनपुग्यो। त्यो सकिँदै गर्दा चुनाव आइहाल्यो। गठबन्धन, तालमेल लगायतका कुरामा पार्टी पंक्ति व्यस्त रह्यो। निर्वाचनमा तुरुन्तै होमिनु पनि पर्‍यो। यो समयावधी चाहिँ कमिटी आएलगत्तै हामीले पर्याप्त ढंगले भातृसंस्थाहरुमा काम गर्न नसकेको हो। तर, त्यसको अर्थ तरुण दल र नेविसंघजस्ता संगठन परिचालनको कुरालाई समस्या हुन भने दिएनौं। नेविसंघको केन्द्रीय सभापति भएपनि उहाँमार्फत परिचालन समिति बनाउने कामहरु भए। तरुण दललगायतमा पनि भयो। अरु टाउको पनि नबनाइएका कमिटीलाई विभिन्न उपसमितीमार्फत परिचालन गरियो। देशैभरी ६ हजार ७४३ वटै वडासमितिसम्म दुई महामन्त्रीले हस्ताक्षर गरेर गएको पत्रबमोजिम कुन वडा कमिटीले के गर्ने भन्नेसम्मका कुराहरु भए।

त्यसकारण हामीले तपाईंले भनेको कुरामा गएर आत्माआलोचित र परिमार्जित हुनुपर्नेछ। जति चुस्त रुपमा भातृसंस्थाहरु बनाउनुपर्ने हो, त्यो भएन। र अहिलेको कुराबाट शिक्षा हासिल गरेर अझै बलियो बनाउन हामी लागि पर्नेछौं। 

महाधिवेशनको समयमा अवधारणापत्र सार्वजनिक गर्दै ‘हिजो राजनीतिक परिवर्तन भएको र अब राजनीतिमा परिवर्तन’ गर्नुपर्ने आवश्यकता औंल्याउनु भएको थियो। तर, ६ महिनाको अवधिमा तपाईंको अवधारणापत्र कार्यान्वयनको छनक भएको देखिएन नि। महामन्त्री जितेसँगै अवधारणापत्र दराजमा थन्काउनुभएको हो? 

होइन। जस्तो म महामन्त्री भइकन हेर्नुभयो भने साह्रै कम म बोल्छु नि। अथवा अन्तर्वार्ता नै गर्नुभयो भने यो महामन्त्री भइकन मैले दिएको छैटौं अन्तर्वार्ता हो। यो पनि के नमुना हो भने, राजनीतिक नेतृत्वले धेरै बोल्छ, त्यसकारण धेरै नबोल्ने, धेरै सुन्‍ने र केही बोल्ने भन्‍ने हो। त्यसैले धेरै भिजिबल हुने कुरामा पनि नेताहरुले घटाउनुपर्छ। सस्तो लोकप्रियतामा बोल्ने कुरा आउँदा पनि म बालिरहेको हुन्‍नँ। त्यसैले राजनीतिमा रुपान्तरण भन्दै गर्दा, आएका परिणामलाई हार्दिकतापूर्वक लिने कुरा, अर्कालाई धेरै गाली नगर्ने कुरा राजनीतिक रुपान्तरणसँग सम्बन्धित विषयवस्तु हुन्। राजनीतिमा रुपान्तरण भन्दै गर्दा दलको रुपान्तरण सँगैमा जोडिन्छ। दलको डेलिभरीसँग गाँसिन्छ। अहिले धरान, काठमाडौंमा आएका मत पनि राजनीतिमा रुपान्तरण खोज्‍नेहरुले दिए नि त। यो सबै राजनीतिमा रुपान्तरणको सन्देश हो। यसमा दृढतापूर्वक लागिरहेको छु।

महाधिवेशन नीति तय गर्ने र नेतृत्व चयन गर्ने थलो हो। यसपटक कांग्रेस नीति छाडेर नेतृत्व चयनमा मात्रै केन्द्रित रह्यो। र, एउटा निर्वाचन पनि लड्यो। कांग्रेसमा नीतिविहीनता कहिलेसम्म रहला? प्रतिनिधिसभाको चुनाव अघि नै नीति महाधिवेशन हुन्छ वा धकेल्ने योजना छ?

सबै राजनीतिक दलको अभ्यास हेर्ने हो भने महाधिवेशनमा नीति ओझेलमा पर्ने र नेतृत्व चयनमा चासो हुने गरेको देखियो। नेतृत्व चयनमा मात्र सबैको ध्यान जान्छ। त्यसकारण हामी यसलाई सर्लक्कै छुट्याऔँ भनेर मैले भन्‍ने गरेको थिएँ। पछि तत्कालीन महामन्त्री पूर्णबहादुर खड्काले प्रस्ताव नै ल्याउनुभयो। यसको श्रेय म उहाँलाई नै दिन्छु। 

पहिला नीतीचाहीँ साझा रुपले बन्थ्यो, अनि आएको नेतृत्वले त्यो बोकेर जाने भयो। त्यसैले हामीले नेतृत्वले नीति महाधिवेशन गरेर टुंगो लगाउनुपर्छ भन्यौं। गोलमोटल रुपमा नीति पनि पास गरियो, कार्यक्रम पनि पास गरियो भनेर झारा टार्नुभन्दा बरु अलिकति समय गुजारेर गर्नु राम्रो हुन्छ भनेर छुट्याइएको थियो। तर, त्यसलगत्तै निर्वाचनमा जानुपरेकोले हामीले नीति अधिवेशन गर्न नपाएको हो। तर, त्यसको बाबजुत हामीले महामन्त्री गगन थापाको टिम बनाएर काम गर्‍यौं। त्यसमा नीतीको कुरो, वर्तमानको कुरो, विगतको कुरो, दृष्टिकोणको कुरा सबै समाहित छ। त्यसैले नीति शून्यतामा हामी अघि बढिरहेका छौं भन्‍ने होइन। अब नीति महाधिवेशनका गर्ने सन्दर्भमा छलफल गर्नेछौं। 

अन्त्यमा, कांग्रेस नेतृत्वकै सरकारले बजेट ल्याएको छ। बजेटबारे यहाँको टिप्पणी के छ? 

बजेटको दुईवटा पाटो हुन्छन्। एउटाचाहीँ बजेटको नीतिगत पाटो हुन्छ। यो कोणबाट हेर्दा थुप्रै सकारात्मक कार्यक्रम आएका छन्। गरिबको परिचयपत्र, पूँजीगत बजेट खर्च हुन नसकेर रोइकराइ छ, त्यसका लागि अलग्गै कानुन नै निर्माण गर्ने भनिएको छ। बाह्य लगानी प्रोत्साहन गर्ने कुरा होस् वा एक घर एक धाराको कुरा नै किन नहोस्। नीतिगतरुपमा बजेटमा कतिपय विषय दुरगामी महत्वका छन्। विकास बजेटका लागि छुट्याइएको ५ खर्ब छ भने त्यसको २५ प्रतिशत जम्मा खर्च हुन्छ। त्यसलाई कसरी खर्च गर्ने भन्‍ने सन्दर्भमा अलग्गै कानुन निर्माण गर्ने भनिएको छ। त्यो ठिक छ। तर कतिपय सन्दर्भमा कसरी ल्याएर पूर्ती गरिएला भन्नेमा जोखिम पनि देखिन्छ। त्यसलाई चाहिँ इच्छाशक्तिको जगमा सोचिएका योजनाहरुलाई कार्यान्वयन गर्ने हो। बजेटले दृष्टिकोण बोकेको छ। दृष्टिकोण मात्रैले पुग्दैन इच्छाशक्ति चाहिन्छ। इच्छाशक्तिसँगै आर्थिक शक्ति पनि चाहिन्छ। आर्थिक शक्तिको वृद्धि अर्थात पूँजी निर्माणको कुरा चुनौतिपूर्ण छ। यो कुरा गर्न सक्ने क्षमता अर्थमन्त्रीसँग हुनुपर्छ।


प्रकाशित: June 3, 2022 | 19:40:20 काठमाडौं, शुक्रबार, जेठ २०, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
संवाद

लगानीकर्ताको हितलाई केन्द्रमा राखेर नयाँ एक्सचेन्ज ल्याउन लागिएको हो : सेबोन अध्यक्ष हमाल [अन्तर्वार्ता]

हामीले विश्वभरमा स्टक एक्सचेन्जको अवस्था, नेप्सेको अहिलेको अवस्था, यसको सेवा प्रणाली, क्षमता आदिका विषयमा गम्भीर अध्ययन गरेर नै नयाँ स्टक एक्सचेन्ज ल्याउन लागेका हौं।
नेपाल समय
संवाद

१६५ निर्वाचन क्षेत्रमा २२७ वटा सिट पाउनुपर्ने चार दलको अडान अचम्मलाग्दो छः हिमलाल पुरी [अन्तर्वार्ता]

केपी ओलीले प्रतिगमन गरे भनेर रोइलो गर्ने हामीहरू उनै ओलीलाई भावी प्रधानमन्त्री घोषणा गरेर एमाले चुनावमा गइसक्दासमेत संविधान जोगाउँछौं भनेर गठबन्धन गरेकाहरूका बीच सिट बाँडफाँटकै लागि एकता हुन नसक्नु दुर्भाग्य हुनेछ।
नेपाल समय
संवाद

प्राध्यापक लोकराज बराल भन्छन्ः दोस्रो पुस्ताले शेरबहादुर, केपी ओली र प्रचण्डलाई रिप्लेस गर्नुपर्छ [अन्तर्वार्ता]

अहिलेको राजनीति दोस्रो पुस्ताका नेताहरूले सुधार्न अबको निर्वाचन (पार्टीको आन्तरिक र आमनिर्वाचन) मा एकदमै शक्तिशाली भएर आउनुपर्छ।
नेपाल समय
संवाद

अमेरिकाका लागि राजदूत खत्री भन्छन्- नेपाल सानो देश होइन, अघि बढ्न प्रयासरत छ [अन्तर्वार्ता]

वैदेशिक नीतिको कुरा गर्ने हो भने हाम्रो नीति छर्लङ्ग छ, कतैतिर पनि झुकाव छैन। यस कुरालाई हाम्रो संविधानले पनि प्रष्ट्याएको छ। त्यसैले, विश्वव्यापी शक्तिहरुका बीचमा हुनु भनेको पनि फाइदाजनक नै हुन्छ जस्तो मलाई लाग्छ।
नेपाल समय
संवाद

प्रचण्डले ओलीको धोकाबाट प्राप्त ज्ञान बिर्सिनुहुन्‍न : विश्‍वप्रकाश शर्मा [अन्तर्वार्ता]

प्राइमरी इलेक्सन जस्तो गराएर भोटिङमार्फत पहिलो भएकोलाई उम्मेदवार बनाउने, दोस्रो भएकोलाई प्रचार समितिको संयोजक बनाउने खालको पद्धतिमा किन नजाने?

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना