मंगलबार, मंसिर १३, २०७९
नेपाल समय

'पार्टीले पत्याए मेयर बनेर काठमाडौं जोगाउने र सुधार्ने भिजन मात्र होइन, साहस पनि मसँग छ'

तीर्थराज बस्नेत  |  काठमाडौं, मंगलबार, चैत ८, २०७८
तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

काठमाडौं, मंगलबार, चैत ८, २०७८

काठमाडौं- अघिल्लो स्थानीय निर्वाचनका बेला काठमाडौं महानगर मेयरमा चर्चाको सूचीमा थिए सुसन वैद्य। त्यतिबेला उनी ३६ वर्षका थिए। कांग्रेसभित्र उनको स्थान काठमाडौं जिल्ला समिति सदस्यको थियो। ५०को मध्यदशकमा थापाथली इञ्जिनियरिङ क्याम्पसमा नेपाल विद्यार्थी संघको उपाध्यक्ष भएका सुसन ०६५ सालमा काठमाडौं नेविसंघको नेतृत्वमा झिनो मतान्तरले पराजित भएका थिए। 

अघिल्लो स्थानीय निर्वाचनमा कांग्रेसका तर्फबाट मेयर पदमा टिकट नपाए पनि पार्टी पंक्तिमा उनको सक्रियता र काठमाडौंको 'सम्पदा बचाऊ अभियान'मा उनी खरो उत्रिए। पेसाले आर्किटेक्ट इञ्जिनियर सुसन खुलामञ्चदेखि कमलपोखरीसम्म जोडिएका अभियानमा अग्रपंक्तिमा रहे। 

कांग्रेस महानगर समितिको सचिव रहेका उनी अहिले पनि आसन्न स्थानीय निर्वाचनअघि काठमाडौं मेयरको दाबेदार सूचीमा छन्। मेयरमा उनको दाबी र दृष्टिको अर्थ सान्दर्भिक होला भनेर नेपाल समयले यही सेरोफेरोमा ४० वर्षीय सुसनसँग लामो कुराकानी गरेको छ। प्रस्तुत छ कुराकानीको सम्पादित रुपः-

काठमाडौं महानगर मेयरका लागि कांग्रेसबाट झन्डै एक दर्जन आकांक्षी छन्। यो सूचीमा तपाईं पनि हुनुहुन्छ। अरुभन्दा आफूलाई कसरी अलग र बलियो पाउनुहुन्छ?
मेयरका सबै आकांक्षीहरूप्रति मेरो सम्मानभाव छ। उहाँहरू सबैले पार्टी पंक्तिमा योगदान गर्नुभएको छ। मभन्दा सिनियर कार्यकर्ता तथा नेताहरू जो काठमाडौं मेयरमा उम्मेदवारी दिन चाहनुहुन्छ, उहाँहरूका विषयमा मेरो केही टिप्पणी छैन। तर मैले काठमाडौंको नेतृत्व युवा पुस्ताबाट तय हुनुपर्छ भन्दै आइरहेको छु। यसको खास कारण छ।

राजनीतिक रूपमा मात्र होइन, देशकै सबैभन्दा ठूलो र महत्वपूर्ण महानगरको नेतृत्वसँग काठमाडौंमा बदल्न पर्ने कुरा बदल्ने र जोगाउने मार्गचित्र हुन जरुरी छ। त्यो 'रोडम्याप' कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने आयामिक र रणनीतिक योजना अति महत्वपूर्ण पक्ष हो। मेरा आदरणीय नेताहरूले युवाको जोस–जाँगर र योजनालाई मनन गरिदिनुभयो भने महानगरको नेतृत्वको लागि आफूलाई मैले तयार बनाएर राखेको छु भन्ने ठान्दछु। 

देशकै राजधानी रहेको काठमाडौंबारे यसअघिका मेयरहरूले अनेकौँ वाचा र योजना सुनाए। तर कार्यान्वयनको पक्ष सधैं विरक्तलाग्दो मात्र देखियो। यसमा तपाईं कसरी अपवाद हुनुहोला र?
म पेसाले आर्किटेक्ट हुँ। सहरलाई हेर्ने मेरो नजरिया अलि अलग छ। सहर भन्ने बित्तिकै हामी फराकिला र चौडा सडक तथा अग्लाअग्ला भवन मात्रै सम्झन्छौं। यो होइन, यो बाहेक पनि सहरभित्र फरक चिजहरू जरुरी हुन्छन्। सबैभन्दा महत्वपूर्ण कुरा त सहरभित्र खुला स्पेस चाहिन्छ। काठमाडौंमा खुला ठाउँ हुनैपर्छ भनेर हामीले निरन्तर वकालत गरिरहेका छौं। 

सन् २००८/०९ तिर हामीले 'लिभेबल काठमाडौं' भनेर पनि अभियान चलाएका थियौं। त्यसले काठमाडौं बस्न लायक बनाउन के–के गर्नुपर्छ भनेर प्यारामिटरमा अध्ययन गरेको थियो। इन्जिनियर साथीहरूकै टिम थियो। ६–७ महिना हामीले केही चिजमा अध्ययन गर्‍यौँ। तर, हामीले वायु प्रदुषण, ठोस फोहोरमैला व्यवस्थापन, ऊर्जा, सार्वजनिक यातायात र खानेपानीजस्ता पक्षहरूमा अध्ययन गरेका थियौं। 

नेपाल समय

अध्ययनपछि हामीले काठमाडौंमा विपद् व्यवस्थापनलगायत धेरै चिजहरूका लागि खुला स्पेस चाहिन्छ भन्नेमा पुग्यौं। खुला स्पेस भयो भने वायु प्रदुषण पनि घटाउन सकिन्छ भनेर वकालत गर्‍यौं। अभियानकै एउटा अनुक्रमका रूपमा त्यसअघि फोहोर फाल्ने ठाउँ बनाइएको नारायणचौरलाई हामीले एउटा सुन्दर पार्क बनायौं। त्यसका लागि हामीले धेरै मेहनत गरेका थियौं। त्यसका लागि त्यस क्षेत्रका सांसद् गगन थापा र त्यस बेलाका काठमाडौं उपत्यका विकास प्राधिकारणका प्रमुख डा. योगेश्वर पराजुली हुनुहुन्थ्यो। त्यो बेला नारायणचौरलाई कसैले फुटबल ग्राउन्ड, कसैले कम्प्लेक्स बनाउने, कसैले पार्किङ बनाउने भनिरहेका थिए। तर, हामीले सबै उमेर समूहलाई हुने पार्क बनाउने योजना अघि सार्‍यौँ र बनायौं। त्यो बेला हामीले समाजलाई पनि 'कन्भिन्स' गर्न सक्यौं र 'अथोरिटी'लाई पनि जोड्यौं।

मैले यो प्रसङ्ग यहाँ किन सम्झिन चाहेको हो भने, एउटा स्वतन्त्र अभियानका रूपमा त कतिपय सुधारका काम गर्न सकिन्छ भने महानगरको नेतृत्वमा बस्ने जो कसैसँग पनि खास योजना छ भने त्यसलाई कार्यान्वयन गर्न सहज हुन्छ। योजना पनि सही ढंगको हुनुपर्‍यो। अभियानहरूका आफ्ना खालका अर्थ, सन्दर्भ र सिमीतता हुन्छन्। तर स्थानीय सरकारको नेतृत्वले धेरै कुरामा समन्वय गर्न सक्छ। यत्ति कुरा हो, योजना र कार्यान्वयन गर्ने जोश, जाँगर र प्रतिबद्धता चाहिँ हुनु पर्‍यो। मञ्चहरूमा उभिएर कार्यान्वयन गर्नै नसकिने योजना सुनाउने तर महानगरमा माखो पनि नमार्ने प्रवृत्ति हाम्रा लागि घातक छ। म यस्तो प्रवृत्तिविरुद्ध छु। यसले काठमाडौं सुधार्दैन। 

रानीपोखरी पुनः निर्माणका बेला पनि तपाईंहरू आन्दोलित हुनुभएको थियो। तपाईं अग्रपंक्तिमै हुनुहुन्थ्यो। त्यो राजनीति थियो कि सम्पदाको माया? या आफूले कुनै बेला मेयरमा दाबी गर्नुपर्छ भनेर गरिएको स्टन्ट?
म काठमाडौंमै जन्मे-हुर्केको हुँ। यहाँको माटोको सुगन्ध र यहाँका मठ–मन्दिर, देवालय र जात्राको सांस्कृतिक सौन्दर्य तथा मौलिकताप्रति मेरो आफ्नै खालको मान्यता र निष्ठा जोडिएको छ। काठमाडौंको परम्परागत मौलिकता नष्ट गर्ने कुराप्रति कुनै पनि हिसाबले सहमत हुन सकिँदैन।

भूकम्पका कारण क्षतिग्रस्त बनेको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा पुरातत्त्व विभागले बनाउँदै गर्दा त्यसको जगमा 'कंक्रिट' प्रयोग गर्‍यो। हामीले पहिलो पटक केही सीमित साथीहरू यो गलत भयो भन्दै विरोधमा उत्रियौं। क्रंकिट प्रयोग गरेर हाम्रो सम्पदाको अस्तित्व नै खतरामा पर्छ भनेर हामीले पुरातत्त्वमा गएर प्रदर्शन गर्‍यौँ। 

क्रंकिट राखेर नबनाउने निर्णयमा पुरातत्त्व पनि पुग्यो र पुरातात्विक मान्यताका आधारमा नै बनाउन सुरु गर्‍यो। त्यसपछि भएको स्थानीय निर्वाचन पछि रानीपोखरी बनाउने जिम्मा काठमाडौं महानगरपालिकामा आयो। तर, महानगर संवदनहीन बन्यो। पुरातात्विक महत्त्वप्रति उदासीन भएर कंक्रिट राखेर बनाउन थाल्यो। त्यसपछि २–३ चरणमा हामीले महानगर पुगेर यसको प्रतिवाद गर्‍यौँ। पुरातत्त्वमा पनि हामीले रोक्न आग्रह गर्‍यौँ। तर, त्यस बेलाको महानगर नेतृत्वले 'यो त हाम्रो ड्रिम प्रोजेक्ट हो, यहाँ हामी डुंगा चलाउछौं, क्याफेटेरिया बनाउने हो' भन्यो। यो कुरा गलत थियो। यसो गर्दा गजबको पोखरी बन्छ भनेपछि हामीले तालाबन्दी गर्‍यौँ। त्यसपछि यो अभियान राष्ट्रियस्तरको मुद्दा बन्न पुग्यो। त्यति नगरेको भए आज रानीपोखरी रानीपोखरी नभएर स्विमिङ पुल बन्थ्यो। 

नेपाल समय
हालको रानीपोखरी।

त्यसले हामीलाई अझ आँट र भरोसा दियो। पुरानो बसपार्कमा अहिले भ्यू टावर बन्दैछ। त्यसको विरोधमा स्थानीय साथीहरू लाग्यौं। खुला स्थान जोगेर्ना गर्नुपर्छ भनेर हामी लागेका थियौं। त्यसमा हामी सफल हुन सकेनौं। हामीलाई अहिले पनि सार्वजनिक वा सरकारी जग्गामा त्यस्ता भवन बनाउन हुँदैन भन्ने लाग्छ। 

जसले भ्यू टावर बनाइरहेको छ त्यही ठेकेदारले खुला मञ्चको एक साइडमा टहरा बनाएर भाडामा लगाउन थालेको थियो। हामीले आन्दोलन सुरु गर्‍यौँ र केही दिनमा नै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यो त गलत नै हो भनेर डोजर लगाएर खाली गराइदिनुभयो। त्यसका लागि तत्कालीन प्रधानमन्त्रीलाई धन्यवाद। 

सम्पदासँग जोडिँदै गएपछि एकपछि अर्को मुद्दामा हामी जोडिदै गयौं। लगत्तै कमलपोखरीमा महानगरले कंक्रिटको कमल बनाउने भनेर योजना बनाएको थियो। पोखरी अतिक्रमण गरेर सानो बनाउन लागेको थियो। हाम्रै साथीहरू मिलेर विरोध गर्‍यौँ। जसका कारण अहिले कमलपोखरीको बीचमा कंक्रिटको कमल राखिएन। 

यी अनुभवहरूका आधारमा म के भन्छु भने, यी कुराहरू कुनै 'स्टन्ट' थिएनन्। काठमाडौंको सम्पदा र मौलिकताप्रति हाम्रो प्रेम र निष्ठाले उपन्न गरेका अभियान थिए यी। त्यसैले महानगरको नेतृत्व काठमाडौंप्रति प्रेमिल हुनुपर्छ। स्पष्ट हुनुपर्छ। 

म कांग्रेस पार्टीको एउटा सिपाही हुँ। स्वभाविक रूपमा महानगरबारे दलभित्र र बाहिर मैले मेरो दृष्टिकोण राख्ने हक छ। महानगरको नेतृत्व पाएमा काम गर्छु भन्ने हक पनि छ। पार्टीले पत्यायो भने मेयर बनेर काठमाडौं जोगाउने र सुधार्ने भिजन मात्र होइन, साहस पनि मसँग छ। बाँकी चिजहरू त दलको उच्च तप्काले निर्णय गर्ने हो। 

काठमाडौं सहरको चरित्र अलिक अलग छ। यहाँको रैथाने समुदायबाहेक अर्को समुदाय पनि छ, जो बाहिरबाट बसाइँ सरेर यहाँ आएको छ। काठमाडौंको विकास र समृद्धिमा यी फरक फरक समुदाय कसरी जोडिन सक्छन्? यसबारे तपाईंको अवधारणा के छ?
अब काठमाडौंमा आउने नेतृत्वलाई फरक तरिकाले हेनुपर्छ। देशका अन्य सहर भन्दा यो पृथक छ। हेर्ने हो भने आज बाहिरबाट आएको जनसंख्या ५० प्रतिशत पुग्न लागेको छ। त्यो संख्या काठमाडौंमा नै बसाइ सरेर आएको जनसंख्या हो। 

महानगरको नेतृत्व पाएमा काम गर्छु भन्ने हक पनि छ। पार्टीले पत्यायो भने मेयर बनेर काठमाडौं जोगाउने र सुधार्ने भिजन मात्र होइन, साहस पनि मसँग छ।

त्योसँगै यहाँ काठमाडौंको सम्पदा धानिरहेको समुदाय छ। जुन नेवार समुदाय हो। बाहिरबाट आएको र सम्पदा, संस्कृति धानेको समुदायबीचको 'हार्मोनी' महत्वपूर्ण पक्ष हो। यहाँभित्र पनि दुई प्रकृतिका समुदाय छन्। एउटा रथ तान्ने र अर्को रथ तानेको हेरेर रमाउने। रथ नतान्ने तर जात्राहरू सबै मनाउने समुदाय पनि नेवारी समुदायभित्रै छ। शाक्य, बज्राचार्य, तण्डुकार, महर्जन, खड्गी रथ तान्ने, बाजा बजाउने, रथ बनाउने, कुमारी मन्दिर सजाउने समुदाय हो। श्रेष्ठ, जोशी, वैद्यहरूले प्रत्यक्ष रूपमा रथ नै नतानेपनि रथजात्रा हाम्रो हो भन्छौं, पूजा गर्छौं र जात्रा पनि मनाउँछौं। तर, रथ तान्ने ठाउँमा हामी हुँदैनौं। 

काठमाडौं बाहिर आएका नेवार पनि यसमा जोडिएका छन्। त्योभन्दा बाहिरबाट आएको समुदाय पनि छ। तीन खालको समुदायको फरक–फरक आकांक्षा छ। सबै आकांक्षा बुझ्न सक्ने नेतृत्व अहिले काठमाडौंमा चाहिएको छ। 

काठमाडौं महानगरमा आर्थिक गतिविधि नभइकन हुँदैन। काठमाडौं देशको करिब आधा आर्थिक गतिविधि हुने ठाउँ हो। काठमाडौंको संस्कृति, सम्पदा, कला जोगाएर राख्न सकेनौं भने काठमाडौं काठमाडौं रहँदैन। काठमाडौंको अर्थतन्त्र र सम्पदालाई सँगै लान सक्यौं भने मात्र काठमाडौं काठमाडौं रहन्छ। तर, यी दुईमध्ये एउटा छुट्यो भने हामीले खोजेजस्तो काठमाडौं बन्दैन। 

काठमाडौंका अनेकौँ दुःखहरू छन्। तपाईंका नजरमा दुःखहरूको प्राथमिकता र त्यसको निवारण के हो?
हामीले काठमाडौंका दुःखलाई घटाउने र सुखलाई बढाउने हो। आजको सबैभन्दा दुःख भनेको सार्वजनिक सवारी र ट्राफिक जाम। त्योसँगै पार्किङको समस्या हो। यातायातको समस्या समधान भनेको सडकलाई चौडा बनाएर समधान हुँदैन। हिजो डा. बाबुराम भट्टराईले सडक चौडा गर्दा पनि हामीले भनेको त्यही हो। सडक चौडा हुँदैमा ट्राफिक जाम घट्दैन। केही समयका लागि घटेको अनुभूति गराउँछ, तर घट्दैन। 

ट्राफिक जाम कम गर्न र पार्किङको व्यवस्थापन गर्न व्यवस्थित सार्वजनिक यातायात प्रणाली स्थापित गर्नुपर्छ। आज पनि सार्वजनिक यातायात सञ्चालनमा छन्। तर, मैले किन निजी सवारी चढिरहेको छु भने सार्वजनिक सवारी साधनमाथि विश्वसनीयता छैन। सार्वजनिक सवारीको विश्वसनीयता बढाउन सक्नुपर्छ। सार्वजनिक सवारी साधनको विश्वसनीयता बढेको दिन तपाईंहामीले निजी सवारीको प्रयोग कम गर्छौं। हामीले जति निजी सवारी सडकबाट निकाल्न सक्छौं, त्यति सडक खुला हुने हो। त्यो भयो भने जाम घट्छ र समयमा हामी गन्तव्यमा पुग्न सक्छौं। पार्किङको समस्या पनि स्वतः कम हुन्छ। यसो गरियो भने एउटा दुःख हटाउन सक्छौं। 

नेपाल समय

एउटा चिजसँग धेरै कुरा जेलिएर आएको हुन्छ। निजी सवारीको संख्या हामीले घटाउन सक्यौँ र सार्वजनिक सवारी व्यवस्थित गर्न सक्यौं भने वायु प्रदूषण पनि कम हुन्छ। काठमाडौंमा ठूला कलकारखाना छैनन्। ३५ प्रतिशत वायु प्रदुषण हाम्रा सवारी साधनका कारणले हुने गर्छ। वायु प्रदुषण कम गर्न पनि हामीले निजी सवारी साधन घटाउनुपर्छ। 

हामी सँधै व्यापार घाटाको कुरा गरिरहन्छौं। व्यापार घाटा किन भइरहेको छ भने हामीले आयात गर्ने वस्तुको ठूलो भाग इन्धनले ओगटेको छ। अस्ति भर्खरै संसदीय समितिले जोरबिजोर प्रणाली लागू गर्न निर्देशन दियो। यो जस्तो बौद्धिक कंगालता केही पनि होइन। इन्धन भनेको अर्थतन्त्रको इन्जिन हो। इन्धन प्रयोग भएन भने अर्थतन्त्र चलाउन सकिँदैन। एउटा पाटो मात्रै हेरेर हुँदैन। व्यापार घाटा कम गर्न अर्थतन्त्रको कच्चा पदार्थका रूपमा रहेको इन्धन आयात गर्दैनौं भन्नु ठिक होइन। 

हामीले कोभिडको समयमा लामो समय अभ्यास गर्‍यौँ, वर्क फर्म होम। त्यसलाई हाइब्रिड मोडलमा लिएर जान सकिन्छ। त्यो भनेको तीन दिन घरबाट काम गर्ने, तीन दिन अफिस आउने। यस्तै केही मोडल बनायौं भने ट्राफिक पनि घट्छ। यो सबै कुरा गर्न काठमाडौंको संस्कृति बुझेको र भोलिको काठमाडौंबारे सोच्न सक्ने नेतृत्व चाहिन्छ। 

जसले जे भनेपछि अहिलेलाई मनोरेल निर्माण गर्ने सम्भावना छैन। संसारबाटै विस्थापित भएको मनोरेल चलाउने योजना कहाँबाट आयो? यो टेक्नोलोजी 'अफ' भइसकेको छ।

मेरो बुझाइमा जनप्रतिनिधि भनेको साधन मात्रै हो, साध्य होइन। काठमाडौं वा कुनै सहर वा देशका लागि सबैका सपना हुन्छन्। ती सपना कसरी साकार गर्ने भन्ने कुरा प्रतिनिधिलाई थाहा हुनुपर्छ।

काठमाडौंमा नयाँ चिज बनाउनुपर्ने केही छैन। तर, भएका चिजहरूलाई व्यवस्थित गर्ने चुनौती हामीसामु छ। काठमाडौं महानगरको विकास बजेट ५ अर्ब छ। त्यसको राम्रो परिचालन गर्ने हो भने विकास गर्ने ठाउँ नै रहँदैन। खुला स्थान हामीले मिच्दै गएका छौं। हिजोका दिनमा पोखरी, चौरहरू पर्याप्त रूपमा थिए। हामीले त्यसलाई संरक्षण गर्न सकेनौं। कतिपय अवस्थामा व्यवस्थापन गर्न पनि सकेनौं। कतै सरकारी तवरबाट त कतै निजी तवरबाट ती ठाँउ मिचिए। खुला स्थान संरक्षण गर्न नसकेका कारणले हामीलाई आज दुःख भएको छ। खुला स्थानको व्यवस्थापन गर्दा मात्र हाम्रा धेरै दुःखहरूको न्यूनीकरण हुन्छ।

सार्वजनिक यातायात व्यवस्थित गर्ने सन्दर्भमा कोटेश्वर, बानेश्वरलगायतका चोकलाई हामीले व्यवस्थित गर्न सकिन्छ। अन्डरपास बनाउन सकिन्छ। चोकहरूमा अन्डरपास बनाउन सकियो भने काठमाडौंको स्पिड डबल हुन्छ। हामीले सडक फराकिलो बनाउने तर्फ मात्रै सोच्यौं, तर जक्सन व्यवस्थापनमा ध्यान दिएनौं। जक्सन व्यवस्थापन गर्न सकियो भने सडक चौडा पार्नुभन्दा दुई गुणा बढी फाइदा पुग्छ। 

तपाईं यहाँका संरचनाको व्यवस्थापनको कुरा गरिरहनुभएको छ। यसअघि मोनोरेलको समेत नारा बेचियो। व्यवस्थापनको कुराले मात्र पुग्ला र? कि के हो?
जसले जे भनेपछि अहिलेलाई मनोरेल निर्माण गर्ने सम्भावना छैन। संसारबाटै विस्थापित भएको मनोरेल चलाउने योजना कहाँबाट आयो? यो टेक्नोलोजी 'अफ' भइसकेको छ। मेट्रोरेलको कुरा गर्ने हो भने काठमाडौं महानगरले मात्रै निर्माण गर्न सक्ने योजना होइन। काठमाडौंको विकास बजेट जम्माजम्मी ५ अर्ब रुपैयाँ हो। यसले मेट्रोरेल बन्दैन। प्रदेश सरकार र केन्द्र सरकारको सहयोग नभई काठमाडौंमा मेट्रोरेल बन्दैन। मेट्रो रेल भनेको जमिनमुनि बन्ने संरचना हो। 

हामी कक्षा ४ मा पढ्दा सुरु भएको मेलम्ची अहिलेसम्म पुरा हुन सकेको छैन। २७ किलोमिटर सुरुङ खन्न हामीलाई करिब ३० वर्ष लाग्यो। यो काठमाडौंमा कहिले सुरुङ खन्ने र मेट्रोरेल बनाउने? २५ वर्षपछि मेट्रोरेल बन्छ भनेर आजको ट्राफिक जामको समस्या समधान हुँदैन। त्यसका लागि केही अध्ययन चाहिएला। काम सुरु गर्नुपर्छ। आज डिपीआर बनाउन सक्छौं। तर, आजको भोलि मेट्रोरेल आइहाल्छ भनेर भन्न हुँदैन। 

मन्दिर देखिने 'पार्ट' मात्रै हो। त्यसका अदृश्य 'पार्ट' छन्, त्यसमा ध्यान केन्द्रित गर्नुपर्छ। अमूर्त संस्कृति क्षय भयो भने मूर्त सम्पदालाई संरक्षण गर्न सक्दैनौं। सम्पदासँग जोडिएका व्यापारहरू छन्। काठमाडौंका धेरै रैथाने नेवार परिवारहरू अझै पनि काष्ठकला, शिल्पकला, चित्रकलासँग जोडिएका छन्।

काठमाडौंमा अर्को ठूलो दुःख भनेको खानेपानीको हो। ३० वर्षसम्म मेलम्चीको आशमा तिर्खाएका हौं। 'अबको ३० वर्षपछि मेट्रो चल्छ, अहिले जाममा बस' भन्नु राजनीतिक अपराध हो। अहिले तत्कालीन समाधान चाहिन्छ। यस्तै मध्यकालीन र दिर्घकालीन समाधानको योजना पनि चाहिन्छ। दिर्घकालीन समाधान मेट्रो हुन सक्छ। 

काठमाडौं महानगरपालिका हाम्रो सजिलोका लागि राजनीतिक रूपमा टुक्राएको भौगोलिक इकाइ मात्र हो। काठमाडौं भनेको महानगरसँग नोजोडिएका १० वटा नगरपालिका, ललितपुर र भक्तपुर पनि हो। सबैको संयुक्त भौगोलिक इकाइ काठमाडौं उपत्यका हो। उपत्यकालाई एउटा इकाईका रूपमा जबसम्म हामीले हेर्न सक्दैनौं, तबसम्म काठमाडौंको विकास र यहाँको समस्या समाधान हुन सक्दैन। 

सडकको वारी काठमाडौं र पारी ललितपुर छ। एउटा पुलले काठमाडौं र भक्तपुरलाई छुट्याएको छ। काठमाडौं भित्र स्वच्छ हावा र ललितपुरमा दुषित हुन सक्दैन। काठमाडौंलाई स्वच्छ बनाउने हो भने ललितपुरलाई पनि सँगै लिएर हिँड्नुपर्छ। छिमेकी नगरपालिका र जिल्लालाई पनि सँगै लिएर नगएसम्म काठमाडौंको सवारी चाप पनि कम हुँदैन, बेरोजगारी, खुला स्थान र खानेपानीको समस्या पनि समधान हुँदैन। उपत्यकालाई एउटा भौगोलिक इकाईका रूपमा हेरेर त्यसको नेतृत्व काठमाडौं महानगरपालिकाले गर्नुपर्छ। त्यसो गरियो भने मात्रै समस्याको दीर्घकालीन समाधानको उपाय निस्कन सक्छ। 

अहिलेको महानगर र यसको नेतृत्वप्रति तपाईंको मूल्याङ्कन के छ? के कुरामा ग्याप भए जस्तो लाग्छ? बितेको ५ वर्षमा त काठमाडौं खासै सुध्रेन त! त्यस्तो कुनै विषय छ जहाँ महानगरले काम गर्न सक्छ?
म प्रष्ट छु, राजनीतिक इच्छाशक्ति भयो भने काम गर्न सकिन्छ। विकास बजेट लगेर मुद्दती खातामा राखेर ब्याज खान खोज्नु अपराध हो। छिमेकी नगरपालिकाको विकासमा सहयोग गर्न सकिन्छ। जसले हाम्रा समस्या समधान हुन सक्छन्। विकास बजेट खातामा राख्नु वित्तीय अपराध त हुँदै हो, सँगै काठमाडौंवासीमाथिको अन्याय पनि हो। 

काठमाडौं महानगरपालिका हाम्रो सजिलोका लागि राजनीतिक रूपमा टुक्राएको भौगोलिक इकाइ मात्र हो। काठमाडौं भनेको महानगरसँग नोजोडिएका १० वटा नगरपालिका, ललितपुर र भक्तपुर पनि हो।

अर्को कुरा, सबैभन्दा महत्त्वपूर्ण विषय शिक्षा हो। काठमाडौं महानगरपालिकाले ५ प्रतिशत जति बजेट शिक्षामा खर्च गर्छ। अहिले सामुदायिक विद्यालयमा काठमाडौंका रैथानेहरूले छोराछोरी पढाउन पठाउँदैनन्। रैथाने मान्छेका छोराछोरी पढ्छन् भने पनि उनीहरूलाई हितनाबोध हुने अवस्था छ। जसले निजी स्कुल पढ्छन् उनीहरूप्रति मेरो टिप्पणी छैन। सबैले आफ्ना सन्तानका लागि उत्कृष्ट शिक्षा दिने हो। काठमाडौंमा उत्कृष्टहरू स्कुलहरू छन्। त्यो नभएको भए सक्नेले विदेशमा पढाउँथे होला। निजी स्कुलहरूले त्यो चिज रोकिदिएको छ। 

सामुदायिक शिक्षाको अवस्था भने हरिबिजोग छ। शिक्षकहरूले एक पटक सेवामा प्रवेश गरिसकेपछि उनीहरूबारे कहिलै 'टेस्ट' हुँदैन। अहिलेको शिक्षा कहाँबाट कहाँ पुगिसक्यो, तर शिक्षक पुरानै ढर्रामा हुन्छन्। त्यसकारण उनीहरूलाई आवश्यक तालिम दिने 'ग्रेडिङ' गर्नुपर्छ। 

अहिलेको नवीन प्रविधिमा शिक्षकहरू अभ्यस्त छन्/छैनन् मूल्यांकन गर्नुपर्छ। शिक्षक प्रोत्साहनका कार्यक्रम पनि ल्याउनुपर्छ। पढाउने शैक्षिक विधिलाई पनि समयानुकुल परिवर्तन गर्नुपर्छ। राम्रो पढाउने शिक्षकलाई राम्रो आर्थिक हैसियत निर्माण गरिदिने व्यवस्था गरिदिनुपर्छ। 

शिक्षालाई स्थानीय तह अन्तर्गत ल्याएपछि हामी एसईई बोर्डमा बसिरहन पर्छ भन्ने जरुरी छैन। महानगरपालिकाले आफ्नो हिसाबले बोर्ड बनाएर आफ्नो हिसाबले पढाउन सक्छ। अहिले जति शैक्षिक संस्थाका भौतिक संरचना छन्, त्यसमा पनि आमूल परिवर्तन गर्नुपर्छ। 

मलाई खड्केको काठमाडौंभित्रको अर्को पक्ष पनि यहाँ राख्न चाहन्छु। त्यो के भने सम्पदा संरक्षणको पक्ष। हामीले संस्कृति र सम्पदाको कुरा गर्दा एउटा सानो 'पार्ट'लाई मात्रै ध्यान दिएको जस्तो लाग्छ। काठमाडौं महानगरले मठमन्दिर संरक्षणका लागि जसरी खर्च गरेको छ, त्यो राम्रो कुरा हो। तर, त्यो मन्दिर सम्पदाको सानो हिस्सा मात्रै होइन। त्यसको ठूलो हिस्सा मन्दिरसँग जोडिएका गुठी छन्, त्यससँग जोडिएका परिवार छन्। उनीहरूले गर्ने सांस्कृतिक कार्यक्रम छन्। यसले गर्दा नै मन्दिर आजको अवस्थासम्म आइपुगेको हो।

सम्पदा संरक्षणको माग गर्दै प्रदर्शनमा वैद्य।

मन्दिर देखिने 'पार्ट' मात्रै हो। त्यसका अदृश्य 'पार्ट' छन्, त्यसमा ध्यान केन्द्रित गर्नुपर्छ। अमूर्त संस्कृति क्षय भयो भने मूर्त सम्पदालाई संरक्षण गर्न सक्दैनौं। सम्पदासँग जोडिएका व्यापारहरू छन्। काठमाडौंका धेरै रैथाने नेवार परिवारहरू अझै पनि काष्ठकला, शिल्पकला, चित्रकलासँग जोडिएका छन्। जुन उनीहरूको व्यवसाय हो। तर, हामीले त्यसलाई व्यवसायका रूपमा मात्रै लिन हुँदैन। त्यसले हाम्रो सम्पदालाई जगेर्ना गरेको छ। जुन शिल्पकार, काष्ठकर्मीहरू छन् सम्पदा जगेर्ना गर्न ठूलो सहयोग गरेका छन्।

भूकम्पपछिको अवस्था हेर्ने हो भने उनीहरू थिएनन् भने मूर्त सम्पदा फेरि उठाउनै सक्दैन थियौं। त्यसैले यसलाई व्यवसायकोरूपमा मात्रै हेर्न हुँदैन। यसले हाम्रो अर्थतन्त्र पनि चलाएको छ र देशविदेशमा हाम्रो सम्पदाको प्रचार गरेको छ। त्यसैले यसलाई कर छुटदेखि लिएर संरक्षणका कार्यक्रम तय गरिनुपर्छ। यो पेसामा जोडिएकाहरूलाई यसमै केन्द्रित गराउनुपर्छ।

यतिका कुरा गरिरहँदा कांग्रेसले तपाईँलाई मेयरका लागि पत्याइदिनुपर्ने कारण अरु के हुन सक्छन्? तपाईंभन्दा उमेरले पाका र 'सिनियर'हरू पनि लाममा उभ्भिएका छन्।  
बीपी कोइराला ३२ वर्ष हुँदा जन्माएको पार्टी हो कांग्रेस। ४४ वर्षमा त उहाँ कांग्रेसको नेतृत्व गरेर प्रधानमन्त्री भइसक्नुभएको थियो। काठमाडौंको कुरा गर्ने हो भने प्रकाशमान सिंह ४० वर्षको हाराहारीमा मन्त्री बन्नुभयो। स्वर्गीय नविन्द्रराज जोशी ३० वर्षको हाराहारीमा उपमेयर बन्नुभयो। कांग्रेसले युवालाई कहिल्यै पनि उपेक्षा गरेको छैन। 

नेपाल समय

काठमाडौं द्रुत गतिमा परिवर्तन भइरहने सहर हो र भइरहेको छ। काठमाडौंलाई हिजोको काठमाडौं जस्तो होइन भोलिको काठमाडौं बुझ्न सक्ने नेतृत्व चाहिएको छ। देशभरको सहरले काठमाडौंबाट आशा गरेको छ। हिजोको शैलीले अब महानगर चल्दैन। काठमाडौं अरु सहरहरूका लागि नमूना सहर हो। अन्य सहरहरूलाई कस्तो सहर बन्ने भनेर काठमाडौंले देखाउने हो।  

यहाँ रोजगारी बढाउनुपर्छ। काठमाडौंलाई २४ घण्टा चल्ने सहर बनाउनुपर्छ। काठमाडौंलाई १० बजे सुरु भएर ५ बजे बन्द हुने काठमाडौं बनाउन हुँदैन। सुरक्षाको कारण देखाएर १० बजे रेष्टुरेन्ट बन्द गर्ने होइन। तीन सिफ्टमा काठमाडौं चल्यो भने रोजगारी तीन गुणा वृद्धि हुन्छ। यसले सबैलाई फाइदा हुन्छ। व्यवसायीले राति व्यवसाय गरेपनि वा नगरेपनि भाडा तिर्ने त त्यति नै हो नि। डबल सिफ्टमा काम गर्ने हो भने भाडा जोगिन्छ। राति चल्ने व्यवसायबाट केही ट्याक्स लिएर सुरक्षामा खर्च गर्न सकिन्छ। 

विकास बजेट खातामा राख्नु वित्तीय अपराध त हुँदै हो, सँगै काठमाडौंवासीमाथिको अन्याय पनि हो। 

जहाँसम्म काठमाडौं सुधार्ने मेरो अभियान र दृष्टिकोण छ, मसँग भएको यही हो। मेरो पार्टीले यो कुरा मनन गर्दा मात्र मलाई अगाडि बढाउने हो। म आउँदा दिनप्रति सकारात्मक छु। अहिलेलाई यत्ति भन्न चाहेँ।

अन्त्यमा एउटा निजी कुरा सोधौं। तपाईं राजनीतिक परिवारमा हुर्केको हो कि के हो? त्यस्तो अविस्मरणीय कुनै कुरा छ?
मेरो राजनीतिक यात्रा मेरो जन्मभन्दा अघिबाट सुरु भएको हो। मेरो बुबा नेपाली कांग्रेसमा क्रियाशील हुनुहुन्थ्यो। २०३६ सालमा भेडासिंमा गोली काण्ड भएको थियो। त्यसमा बुवा घाइते हुनु भएको थियो। र, परिवारले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको थियो। तीन वर्षसम्म बुवा बेड रेस्टमा रहनुभयो। त्यही बेलादेखि नै हाम्रो परिवार राजनीतिक रूपमा पार्टीमा होमिएको हो। 

भेडासिं गोली काण्ड मैले भन्दा पनि मेरो परिवारले भोगेको कुरा हो। बुबा पेसाले व्यापारी हुनुहुन्थ्यो। पर्यटन क्षेत्रसँग सम्बन्धित व्यापार थियो। बुवाले गोली खाइसकेपछि मेरो आमाले आर्थिक र मानसिक समस्या भोग्नुपर्‍यो। व्यापार राम्रो चलेको थियो। त्यो बेलामा गाडीको व्यापारमा पनि हात हालेका थियौं। आमाले अहिले पनि यस्तो गाडी बेचेको हो हामीले भनेर मसँग कुरा गर्नुहुन्छ। 

बुवालाई उपचार गर्दा अहिले बसेको घरबाहेक केही पनि बाँकी रहेन। पुरानो बाक्साहरू खोल्यौं भने अहिले पनि सुन बन्धकी राखेको तर उकास्न नसकेको बैंकका अर्धकट्टी भेटिन्छन्। आमा त्यो देख्दा अहिले पनि भावुक हुनुहुन्छ। बुवालाई खुट्टामा गोली लागेको थियो। खुट्टै काट्नुपर्छ सम्म भनिएको थियो। तर, आमाले उपचारमा जे लाग्छ, व्यहोर्छौं भनेर हिम्मत देखाउनुभएको थियो।

त्यो बेलाको तनाशाही व्यवस्था त त्यति थाहा छैन। तर ०४६ पछिको समयलाई भने मैले निहालिरहेको छु। त्यो बेला गणेशमान बालगायत पार्टीका नेताहरूसँग बुवाको सम्पर्क हुन्थ्यो। त्यही बेलादेखि नै राजनीतिमा चासो बढेको हो। यद्यपि २०५५ सालमा थापाथली क्याम्पसमा स्ववियू उपाध्यक्षका रूपमा निर्वाचित भएपछि सक्रिय राजनीतिमा म आएको हुँ। 

नेविसंघको जिल्ला सदस्य, उपाध्यक्ष हुँदै अध्यक्षको उम्मेदवार पनि थिएँ। ०६३ सालमा झिनो मतले अध्यक्षमा पराजित भएँ। अध्यक्षमा पराजित भएपछि अब विद्यार्थी राजनीतिमा होइन, फरक ठाउँमा राजनीति गर्छु भनेर अघि बढेँ। यो दौरानमा आफ्नो अध्ययन पनि पूरा गरेँ। इन्जिनियरिङ सकिएपछि नेपाल इन्जिनियरिङ एसोसिएसनको राजनीतिमा पनि भिजेँ। ३१औं कार्यकारी समितिमा सदस्य भएँ र त्यसपछि कोषाध्यक्षमा निर्वाचित भएँ। 

त्यसपछि म काठमाडौं जिल्लामा दुई पटक जिल्ला सदस्य भएँ। अहिले कांग्रेस काठमाडौं महानगरपालिकाको सचिवमा निर्वाचित भएको छु।

म जहाँ छु, त्यहाँबाट पार्टीलाई गतिशील बनाउन भूमिका खेलको छु। मेरो पेसाबाट पनि भूमिका खेलिरहेको छु। मलाई काठमाडौंको सपना राम्ररी थाहा छ। यहाँका जनताका दुःखका पाटाहरूसँग परिचित छु। 

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चितवनका तीन क्षेत्रमा कसको अवस्था कस्तो?

प्रतिनिधिसभामा तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा तीनवटै क्षेत्रको मतगणना भइरहेको छ।

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

यो एमालेको दोस्रो जित हो। यसअघि एमालेले ललितपुर २ मा जित निकालेको थियो।

गुल्मी-२ मा ठूलो मतान्तरले पछि परिन् झाँक्री

गुल्मी क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई भारी मतले पछि पार्दै नेकपा एमालेका गोकर्ण विष्टले अग्रता कायम राखेका छन्।

समानुपातिक मतमा स्वतन्त्र पार्टी तेस्रो, एमालेलाई पछ्याउँदै कांग्रेस

प्रत्यक्षतर्फ चार वटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ भने समानुपातिकतर्फ पनि मतगणना भइरहेको छ।

गुल्मी-२ मा झाँक्रीलाई पछि पार्दै विष्टको अग्रता

आइतबार भएको निर्वाचन जारी मतगणनामा विष्ट ६७२ मतसहित अगाडि छन्।

युथ युनेस्को क्लब युएसएको इन्टरनेशनल मिडिया एडभाइजरमा बस्नेत

अमेरिकाको क्यालिफोर्नियामा युवा केन्द्रित रचनात्मक कार्यहरू सञ्चालन गर्दै आएको युथ युनेस्को क्लब युएसएले सञ्चारकर्मी मनोज बस्नेतलाई अन्तर्राष्ट्रिय सञ्चार सल्लाहकारमा मनोनयन गरेको छ।

दुई क्षेत्रमा स्वतन्त्र पार्टी अगाडि, दुई-दुईमा कांग्रेस र एमाले

काठमाडौं हिजो आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत आज बिहानदेखि केही क्षेत्रमा मतगणना सुरु भएको छ।

बाजुरामा गोली लागेका एक जनाको मृत्यु

कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएपछि मतदान सकिनै लाग्दा झडप भएको हो।

जेलबाट मतदान गरेपछि रेशम चौधरीले भने– बडा मज्जा आयो

कैदीबन्दीले पनि निर्वाचनमा सहभागी हुन पाउने भएपछि उनीहरु उत्साहित भएका थिए। काठमाडौं उपत्यकामा १८२ जना कैदीबन्दी मतदान गर्न योग्य भएको निर्वाचन अयोगको तथ्यांक छ।

थप समाचार

नेपाल समय
संवाद

सरकार कांग्रेसकै नेतृत्वमा बन्छ, जनताको चाहनालाई केन्द्रमा राख्ने छौं : प्रकाशशरण महत [अन्तरवार्ता]

नयाँ पीढीको अपेक्षामा खरो उत्रिनुपर्ने देखियो। पार्टी, व्यक्तिको लाभहानीभन्दा माथि उठेर देश र जनताको लाभ हानीमा ध्यान केन्द्रित गर्नुपर्छ। उच्च कर्तव्यनिष्ठताका साथ रातदिन आफ्नो जिम्मेवारीप्रति पूर्ण जिम्मेवार भएर काम गर्नुपर्छ। त्यसपछि यो निराशाको माहौल हटेर हामीप्रति विश्वासको वातावरण बन्ने छ।
नेपाल समय
संवाद

मतदानको निष्पक्षतामा असर पार्ने जो कोहीलाई पनि कारबाही हुन्छ : दिनेशकुमार थपलिया [अन्तर्वार्ता]

मतदान शुरू हुने दिनभन्दा ४८ घण्टा अघिदेखि अर्थात आज राति १२ बजेदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री वितरण तथा सेवन गर्ने/गराउने कार्यलाई पूर्ण रूपले निधेष गर्ने व्यवस्था मिलाउन जिल्ला आचारसंहिता अनुगमन समिति र स्थानीय प्रशासनलाई सक्रिय बनाइएको छ।
नेपाल समय
संवाद

मकवानपुरबासीको मन र मत पाउन प्रत्यक्ष चुनावमा होमिएकी हुँः महालक्ष्मी उपाध्याय [अन्तर्वार्ता]

मैले सांसदमात्रै बन्न उम्मेदवारी दिएकी होइन। सांसद बन्नकै लागि भए समानुपातिकको पहिलो नम्बरमा बस्थें। नेताहरूले समानुपातिकको सूचीमा बस्न आग्रह गरे पनि प्रत्यक्षतर्फ नै उम्मेदवार बन्ने अठोट लिएर मकवानपुरबासीको मन र मत पाउन चुनावी मैदानमा होमिएकी हुँ।
नेपाल समय
संवाद

शेरबहादुरजीले विश्राम लिनुपर्छ, प्रधानमन्त्री म बन्छु : शशांक कोइराला

मान्छेले राजनीति किन गर्छ? राजनीति गरिसकेपछि सबैभन्दा माथिल्लो तलामा जाने चाहना हुन्छ। त्यो चाहना मेरो पनि छ। म प्रधानमन्त्रीको बलियो उम्मेदवार पनि हो। पार्टीभित्र कुरा भइसकेको छैन तर म प्रधानमन्त्री बन्न बलियो दाबी गर्ने व्यक्ति हुँ।
नेपाल समय
संवाद

दलका घोषणापत्र बनाउने अर्थविद् लेखनदास मात्रै हुन् : डा. विमल कोइराला [अन्तर्वार्ता]

राजनीतिक दलले जारी गरेका घोषणापत्र वाचाकबुल र आश्वासन दिने तर काम नगर्नेहरूको फेहरिस्त मात्र हो। राजनीतिक दलहरूका बीचमा कति हावादारी गफ लेख्ने भन्ने प्रतिस्पर्धा चलिरहेको छ। जसले बढी हावादारी कुरा घोषणापत्रमा लेख्छ, उही जनताको बीचमा लोकप्रिय हुन्छ भन्ने भ्रम छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना