सोमबार, माघ ३, २०७८
  • गृहपृष्ठ
  • संवाद
  • गगन-विश्वको अग्निपरीक्षा सुरु भएको छ : गेजा शर्मा वाग्ले [अन्तर्वार्ता]

गगन-विश्वको अग्निपरीक्षा सुरु भएको छ : गेजा शर्मा वाग्ले [अन्तर्वार्ता]

नारायण अमृत/तीर्थराज बस्नेत  |  काठमाडौं, आइतबार, पुष ४, २०७८

नेपाल समय

नारायण अमृत/तीर्थराज बस्नेत

आइतबार, पुष ४, २०७८, काठमाडौं

नेपाल समय

भर्खरै सम्पन्न नेपाली कांग्रेसको महाधिवेशनको समग्र चित्र आउन बाँकी छ। यद्यपि पदाधिकारीको मतपरिणाम सार्वजनिक भइसकेको छ। नेपाली कांग्रेसको मूल नेतृत्वमा पुरानै अनुहार दोहोरिएपनि महामन्त्रीमा पुस्तान्तरण र रुपान्तरणको मुद्दा उठाउँदै आएका दुई युवा नेता गगन थापा र विश्वप्रकाश शर्मा प्यानल परम्परा तोड्दै निर्वाचित भएका छन्। यसले नेपाली कांग्रेसमा मात्र होइन, दलीय राजनीतिमा खासै चासो नराख्ने नेपालीलाई पनि प्रभावित पारेको विश्लेषण हुन थालेको छ।

पार्टी रुपान्तरणको मुद्दा, समग्र राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेश सुहाउँदो कांग्रेस बनाउने अभिभारा, आगामी निर्वाचनमा जेठो दललाई ठूलो दल बनाउने मात्र नभएर समग्र राष्ट्रकै रूपान्तरणको खाका कोर्ने जिम्मेवारी पनि कांग्रेसका मतदाताले उनीहरूलाई सुम्पिएका छन्। 

यही विषयको सेरोफेरोमा गगन-विश्व उदयको अर्थ र सन्देश, कांग्रेसमा रुपान्तरणको मुद्दा, पार्टीको निर्देशक सिद्धान्तको समयसापेक्ष परिमार्जन, थप मतदातालाई कांग्रेसमा जोड्ने र कांग्रेसलाई देखिने सुनिने बनाउने विषयमा अब कांग्रेसले कसरी अघि बढ्नुपर्ला लगायतका विषयमा राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेसँग नेपाल समयका नारायण अमृततीर्थराज बस्नेतले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छ:-

कांग्रेसमा सभापति 'सेट' गरेर महामन्त्री उठाउने र प्यानल बाहिर गएर मतदान नगर्ने परम्परा यसपटक तोडिएको छ। युवा सक्रियता र सहभागिता पनि बढेको छ। यसको सन्देश र राजनीतिक अर्थ के हो?

नेपाली कांग्रेसको १४औं महाधिवेशन धेरै दृष्टिले उपलब्धिमूलक र सकारात्मक रह्यो। भर्खरै सम्पन्न महाधिवेशन नेपाली कांग्रेसको भविष्यको दृष्टिले मात्रै सुखद् र सकारात्मक होइन,  नेपालको लोकतन्त्र र संविधानको भविष्यको दृष्टिले समेत उल्लेखनीय र उपलब्धिमूलक  रह्यो। 

मेरो विचारमा यो महाधिवेशनका पाँच सन्देश छन्। 

पहिलो भनेको नेपाली कांग्रेस पार्टीको रूपान्तरण नै हो। नेपाली कांग्रेसको महाधिवेशनको आधिकारिक नारा पनि 'एकता, उत्साह र रुपान्तरण' नै थियो। महाधिवेशनको प्रक्रिया प्रारम्भ भएपछि कांग्रेसजनहरूका बीचमा सबैभन्दा धेरै बहस भएको विषय पार्टीको रुपान्तरण नै थियो। 

नेपाली कांग्रेस नेपालको लोकतान्त्रिक आन्दोलनमा विशिष्ट भूमिका निर्वाह गरेको लोकतन्त्रवादी पार्टी भए पनि यसलाई रुपान्तरण गर्नुपर्ने बहस विगत लामो समयदेखि चल्दै आएको थियो। खासगरी नेपाली कांग्रेसको राजनीतिभित्र युवा र नयाँ पुस्ताको नेतृत्व गर्ने गगन थापा, विश्वप्रकाश शर्मालगायतका युवा नेताहरुले यो विषयलाई सशक्तरूपमा उठाउँदै आउनुभएको थियो। त्यो मुद्दालाई यसपटकको महाधिवेशनले अनुमोदन गरेको देखिन्छ। 

बेलायतको लेबर पार्टीको सन्दर्भ उल्लेख गर्दै यो विषयलाई मैले थप स्पष्ट पार्न चाहन्छु। जतिबेला टोनी ब्लेयर बेलायतको लेबर पार्टीको उदयीमान नेता थिए, त्यसरी नै अहिले नेपाली कांग्रेसमा गगन थापा र विश्वप्रकाश शर्माजी भएको देखिन्छ। लेबर पार्टीका कतिपय सैद्धान्तिक र नीतिगत विषयमा ब्लेयरका फरक दृष्टिकोण थिए। पार्टीको सिद्धान्त र नीतिलाई समयानुकूल पुन:परिभाषित गरी आफ्नो नीति र कार्यक्रम पार्टीमा  स्थापित गरेर नेतृत्वमा पुग्न उनलाई करिब एक दशकको समय लागेको थियो। ब्लेयरले परम्परागत लेबर पार्टीको सिद्धान्त, विचार र नीतिलाई समयानुकूल पुन:परिभाषित गरी 'न्यू लेबर पार्टी' बनाए। पहिले लेबर पार्टीको विचार परम्परागत थियो, शास्त्रीय थियो, समयानुकूल थिएन। त्यसैले पार्टी कमजोर र अलोकप्रिय थियो। तर, उक्त वास्तविकतालाई आत्मसात गरी ब्लेयरले सिद्धान्त, विचार र नीतिलाई समयानुकूल पुन:परिभाषित गरेपछि ब्लेयरको वैचारिक नेतृत्वमा लेबर पार्टीले पुनर्जीवन पाएको थियो र बेलायतको इतिहासमा नै लेबर लोकप्रिय पार्टीको रूपमा स्थापित भएको थियो। लोकप्रिय मत हासिल गरी तेस्रो कार्यकालसम्म प्रधानमन्त्री भएका ब्लेयरले केवल लेबर पार्टीका लागि मात्रै होइन, बेलायतको राजनीतिक, आर्थिक, सामाजिक र कूटनीतिक क्षेत्रमा समेत विशिष्ट योगदान गरेका थिए।  

जसरी लेबर पार्टीलाई ब्लेयरले सैद्धान्तिक र वैचारिक दृष्टिले रुपान्तरण गरे,  त्यसरी नै नेपाली कांग्रेसलाई पनि रूपान्तरण गर्नु पर्ने घडी आएको छ। त्यसका लागि नवनिर्वाचित सभापति शेरबहादुर देउवा र महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माहरूको विशिष्ट भूमिका रहने छ। जनता र कार्यकर्ताको अपेक्षा पनि यही हो र महाधिवेशनको म्यान्डेट पनि यही हो। 

दोस्रो सन्देश भनेको पुस्तान्तरण हो। रुपान्तरणको मुद्दा जति सशक्त रूपमा उठेको थियो, त्यसरी नै पुस्तान्तरणको मुद्दा पनि उठेको थियो। सभापतिमा शेरबहादुर देउवा पुनः निर्वाचित हुनुभएको छ भने उपसभापतिमा पूर्णबहादुर खड्का निर्वाचित हुनु भएको छ। तर एक उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीमा युवा पुस्ताका नयाँ अनुहार निर्वाचित हुनु भएको छ। त्यसैले मूल नेतृत्व परिवर्तन नभएपनि उपसभापतिमा धनराज गुरुङ, महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा र सहमहामन्त्री डिना उपाध्याय, भीष्मराज आङदेम्बे, उमाकान्त चौधरी, फर्मुल्लाह मन्सुर, महेन्द्र यादव, बद्री पाण्डे र जीवन परियार जस्ता युवा पुस्ताका नयाँ अनुहार निर्वाचित भएपछि पुस्तान्तरणको मुद्दालाई पनि महाधिवेशनले अनुमोदन  गरेको देखिन्छ छ। मूल नेतृत्वमा पुस्तान्तरण भएन। तर, अन्य पदाधिकारीमा कार्यकर्ताले विवेकसम्मत निर्णय गरी पुस्तान्तरणको मुद्दालाई आत्मसात गरेको देखियो। 

नेपाली कांग्रेसमा रुपान्तरणको मुद्दा जति आवश्यक र महत्वपूर्ण थियो। त्यति नै आवश्यक र महत्वपूर्ण पुस्तान्तरण पनि थियो। शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्कालगायतका नेताहरुले नेपालको लोकतान्त्रिक आन्दोलनमा विशिष्ट भूमिका निर्वाह गर्नुभयो, गरिरहनुभएको छ। अब चाहिँ नयाँ पुस्ताले पार्टीको नेतृत्व गर्छ र यही पुस्ताले वैचारिक रुपमा पनि रुपान्तरण गरेर नयाँ कांग्रेस बनाउँछ भन्ने सन्देश महाधिवेशनले दिएको छ। केवल नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि, कार्यकर्ता र सदस्यले मात्रै होइन, सम्पूर्ण नेपाली जनताले  नेपाली कांग्रेसमा रुपान्तरण र पुस्तान्तरण भएको हेर्न चाहेको कुरा महाधिवेशनको मतमार्फत् प्रकट गरेका छन्। त्यसैले गगन, विश्वप्रकाश र उहाँहरूको पुस्तालाई इतिहासले विशिष्ट जिम्मेवारी सुम्पिएको छ।

गगन-विश्वले पार्टीमा रुपान्तरण गरेर देश रुपान्तरण गर्ने हो। समृद्धि, समुन्नति, सम्मानित नेपाली, लोकतान्त्रिक समाजवाद, शिक्षा, स्वास्थ्य र सामाजिक न्यायका मुद्दामा उनीहरूले नै नेतृत्व गर्ने हो। गगन र विश्वहरूले उदार लोकतन्त्र र प्रगतिशील पार्टीको नीति अख्तियार गर्नुपर्छ। सामाजिक न्यायसहितको विकास जनताले अनूभूति गर्न पाउनुपर्छ। 


तेस्रो सन्देश चाहिँ पार्टी सञ्चालनको तरिका फेर्नुपर्छ भन्ने हो। कांग्रेसमा पार्टी सञ्चालनको तरिका शास्त्रीय थियो। नेतृत्वको कार्यशैली पनि उस्तै शास्त्रीय। त्यसकारण कांग्रेसलाई पार्टी संचालनका लोकतान्त्रिक मूल्य र मान्यताअनुरूप पारदर्शीरूपम विधिसम्मत, विधानसम्मतरूपमा सञ्चालन गर्नु अपरिहार्य छ। विगत लामो समयदेखि उक्त बहस हुँदै आएको थियो। महामन्त्रीमा गगन र विश्व निर्वाचित भएपछि अब विधिसम्मत र विधानसम्मतरूपमा संचालन हुने र पार्टीमा आन्तरिक लोकतन्त्र सुदृढ हुने परिवेश सिर्जना भएको छ। कांग्रेसको विधानअनुसार पार्टी संचालन प्रक्रियामा महामन्त्रीको भूमिका महत्वपूर्ण हुन्छ। 

जसरी लेबर पार्टीलाई ब्लेयरले सैद्धान्तिक र वैचारिक दृष्टिले रुपान्तरण गरे,  त्यसरी नै नेपाली कांग्रेसलाई पनि रूपान्तरण गर्नु पर्ने घडी आएको छ। त्यसका लागि नवनिर्वाचित सभापति शेरबहादुर देउवा र महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माहरूको विशिष्ट भूमिका रहने छ। जनता र कार्यकर्ताको अपेक्षा पनि यही हो र महाधिवेशनको म्यान्डेट पनि यही हो।

चौथो, नेपाली कांग्रेसभित्र अनुदारवादी र कन्जरभेटिभ धार कमजोर भई लोकतन्त्रवादी र उदारवादी धार बलियो भएको छ। विशेष गरी सन् २०१०  पछि विश्वव्यापीरुपमा नै लोकतन्त्रवादी र उदार लोकतन्त्रवादी पार्टीभन्दा पनि दक्षिणपन्थी, राष्ट्रवादी र कन्जरभेटिभ पार्टी र धार हाबी हुँदै आएको देखिन्थ्यो। अमेरिकामा डोनाल्ड ट्रम्प, बेलायतमा बोरिस जोन्सन र भारतमा नरेन्द्र मोदीको उदय सोही धार हावी भएका उदाहरण हुन्। त्यसैले लोकतन्त्रवादी, उदार लोकतन्त्रवादी र मध्यमार्गी पार्टी वा विचार प्रतिरक्षात्मक भएका थिए भने दक्षिणपन्थी, राष्ट्रवादी र कन्जरभेटिभ पार्टी वा विचारको पक्षमा अन्तर्राष्ट्रिय लहर नै आएको थियो। 

त्यसैले नेपाली कांग्रेस पनि उदारवादी धार छोडेर कन्जरभेटिभ धारतर्फ जान्छ कि भन्ने आशंका उत्पन्न भएको थियो। कांग्रेसको विगत महासमितिको बैठकमा समेत उक्त अनुदारवादी विचार सशक्त रूपमा उठेको थियो। विशेष गरी नेतृत्व पंक्तिबाटै बीपी कोइरालाका सिद्धान्त त्यागेर गल्ती गरेको दावी गर्दै गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताबारे पुर्नविचार गर्नुपर्ने आवाज पनि उठिरहेको थियो।

बीपी कोइरालाले अंगीकार गरेको संवैधानिक राजतन्त्र र बहुदलीय लोकतन्त्रको मौलिक सिद्धान्त त्यागेर गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयता स्वीकार गरेको कारणले परम्परागत सैद्धान्तिक र वर्गाधार कमजोर भएको विवादास्पद अभिव्यक्ति कतिपय समय र सन्दर्भमा नेतृत्वपंक्तिबाटै सार्वजनिक हुँदै आएका छन्। त्यसैले बीपी कोइरालाको सैद्धान्तिक धार छोडेर गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको धारमा जानु हुँदैन भन्ने बहस स्वयं भित्रै चलिरहेको थियो।

स्वयं निवर्तमान महामन्त्री शशांक कोइरालाले नै उक्त धारको नेतृत्व गर्नुभएको थियो। तर अहिले जुन नेतृत्व निर्वाचित भएको छ, यस नेतृत्वले पार्टीलाई दक्षिणपन्थी, राष्ट्रवादी र कन्जरभेटिभ धारतर्फ होइन, लोकतन्त्रवादी, उदार लोकतन्त्रवादी र मध्यमार्गी पार्टी धारतर्फ लानेछ। त्यसैले कांग्रेसमा दक्षिणपन्थी र कन्जरभेटिभ धारको अवसान भएको छ, जुन लोकतन्त्र, संविधान र कांग्रेसको भविष्यको दृष्टिले सुखद् र सकारात्मक हो।

पाचौँ चाहिँ जसरी कांग्रेसले उन्नत लोकतान्त्रिक अभ्यास गरी नेतृत्व चयन गरेको छ, त्यसले कांग्रेसको आन्तरिक जीवनमा युगान्तकारी महत्व राख्नेछ। यसरी उन्नत लोकतान्त्रिक अभ्यासमार्फत चयन भएको नेतृत्व अब जनता र कार्यकर्ताप्रति उत्तरदायी हुनेछ भने पार्टीको आन्तरिक लोकतन्त्र पनि सुदृढ हुनेछ।

वैचारिक रुपान्तरणका विषयमा पनि महाधिवेशनमा कुरा उठ्यो, यद्यपि यो नीति महाधिवेशन होइन। गगनले 'समुन्नत नेपाल, सम्मानित नेपाली'को अवधारणा ल्याएर करिब दुई तिहाइ मत पाए। 'दलमा रुपान्तरण' र 'आधुनिक कांग्रेस' अवधारणाका साथ आएका विश्व 'प्रतिकूल' अवस्थामा पनि विजयी भए। उनीहरुको अवधारणालाई पार्टीको सम्पत्ति बनाउन कति सहज छ? चुनौती के छन्? तल्लो तहको कांग्रेसले त्यसलाई कसरी अनुमोदन गर्ला? 

यो प्रश्न अत्यन्त सान्दर्भिक छ। अहिले कांग्रेसभित्र भएको बहस पनि यही नै हो। यसलाई खासगरी तीन वटा आयामबाट हेर्न सकिन्छ। 

पहिलो गगन-विश्वजीहरूले अहिलेसम्म प्रश्न गर्ने ठाउँमा हुनुहुन्थ्यो र प्रश्न गर्दै आउनु भएको थियो। तर, अब उहाँहरु उत्तर दिने ठाँउमा पुग्नुभएको छ। यद्यपि नेपाली कांग्रेस सभापतीय प्रणाली भएको पार्टी हो। अहिलेसम्म सभापतिको भूमिका निर्णायक हुँदै आएको छ। तर, विगत महासमितिको बैठकबाट संशोधन गरिएको विधानले सभापतीय प्रणाली मात्रै भन्दा पनि सामूहिक नेतृत्व प्रणालीको भावनालाई संस्थागत गरेको छ। 

दोस्रो पक्ष भनेको कांग्रेसमा महामन्त्रीको भूमिका कार्यकारी हुन्छ। विधानले नै महामन्त्रीको भूमिकालाई कार्यकारीको भूमिकाका रुपमा व्याख्या गरेको छ। गगन-विश्वले हालसम्म व्यक्त गर्दै आएका लोकतन्त्रको संस्थागत विकास, संविधानको कार्यन्वयन, देशको विकास, पार्टी संचालन प्रणालीका बारेमा विचार र धारणा व्यक्त गर्दै आउनु भएको थियो। उहाँहरू महामन्त्रीमा निर्वाचित भएकाले अब ती मुद्दा उहाँहरुका मात्रै रहेनन्। ती विचार, नीति, धारणा, कार्यसूची र मुद्दा अब कांग्रेस पार्टीको हुनुपर्छ। उहाँहरुले उठाएका मुद्दाका आधारमा कार्यकर्ताले निर्वाचित गरेकाले उहाँहरुका अवधारणा पनि अनुमोदन भएका हुन्। 


अब ती मुद्दाहरुलाई गगन-विश्वले पार्टीको आधिकारिक दस्तावेज र नीतिका रुपमा रुपान्तरण गर्न सक्नुपर्छ। अब उहाँहरूको पनि अग्निपरीक्षा सुरु भएको छ। त्यसमा उहाँहरु खरो उत्रन सक्नुभएन भने आज जसरी अरु नेतृत्वको बारेमा प्रश्न गरिएको छ, त्यही प्रश्न भोलि गगन-विश्वमाथि पनि उठ्ने छन्। 

कांग्रेसका मार्गनिर्देशक सिद्धान्तहरू राष्ट्रियता, लोकतन्त्र र लोकतान्त्रिक समाजवाद हुन्। सिद्धान्तत्: कांग्रेसका  मार्गनिर्देशक सिद्धान्त ठिक छन्। तर, २१औं शताब्दीका चुनौतीको सामना गर्नका लागि कांग्रेसले आफ्नो मार्गनिर्देशक सिद्धान्तलाई पनि पुनःपरिभाषा गर्न जरुरी छ। २१औं शताब्दीमा सिर्जना भएका समस्या र चुनौतीको सामना गरी समुन्नत र समतामूलक समाज स्थापना गर्न सक्षम पार्टीको रूपमा स्थापित गर्नु अपरिहार्य छ। अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय राजनीतिक, आर्थिक, सामाजिक, भूराजनीतिक, कूटनीतिक दृष्टिले व्यापक परिवर्तन भएको छ। राष्ट्रियता, लोकतन्त्र, समाजवाद, अर्थनीति, परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्धका आयाम पनि परिवर्तन भएका छन्। नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र भएपछि नेपालको सन्दर्भमा विश्लेषण गर्ने हो भने राष्ट्रियताको परिभाषाको आयाममा समेत परिवर्तन भएका छन्। त्यसैले नेकपा एमाले जस्तो अनुदार र संकीर्ण राष्ट्रवादी तथा राप्रपा जस्तो दक्षिणपन्थी राष्ट्रवादी होइन, नेपाली समाजको वहुलता र विविधतालाई आत्मसात गर्दै राष्ट्रियताको सम्वर्द्धन गर्ने वास्तविक र उदार राष्ट्रवादी पार्टीकोरूपमा स्थापित गर्न राष्ट्रियताको पनि पुनर्व्याख्या गर्नु पर्ने घडी आएको छ।

अहिले नेपालले अंगिकार गरेको लोकतान्त्रिक प्रणाली शास्त्रीय लोकतान्त्रिक प्रणाली वा बेलायती मोडेलको शास्त्रीय संसदीय प्रणाली होइन। मिश्रित निर्वाचन प्रणाली अनुशरण गरिएको सहभागितामूलक तथा उन्नतस्तरको लोकतान्त्रिक शासन प्रणाली हो। यसलाई व्यवहारमा रुपान्तरण गर्ने सन्दर्भमा राजनीतिक दलहरुकै भूमिका हुन्छ। त्यसैले समावेशी र सहभागितामूलक लोकतान्त्रिक प्रणालीको भावनालाई पूर्णरूपमा आत्मसात गरी सोही सिद्धान्तअनुरूप राज्य र पार्टी संचालन गर्ने नीति अख्तियार गर्नु स्वयं कांग्रेसकै दीर्घकालीन स्वास्थ्यका लागि लाभदायक हुनेछ। 

तेस्रो नेपाली कांग्रेसका नेतादेखि कार्यकर्तासम्मले लोकतान्त्रिक समाजवादको नारा लगाउँदै आएका छन्। २०४६ सालपछि कांग्रेस पटक–पटक सत्तामा पुगेको छ। २०४६ मा कांग्रेस नेतृत्वको सरकारले उदारवादी अर्थनीति अनुशरण गरेर देशको अर्थतन्त्रलाई नयाँ गन्तव्य र गति दिएको छ।

तर नेपाली कांग्रेसले स्थापनाकालदेखि अंगीकार गर्दै आइरहेको लोकतान्त्रिक समाजवादी नीति त्यागेर उदारीकरण, भूमण्डलीकरण र निजीकरणलाई अन्धानुकरण गरेको भनी व्यापक आलोचना हुँदै आएको छ। समाजवादी नीति त्यागेर पुँजीवादी नीति अख्तियार गरेको कारणले नेपाली कांग्रेसको जनाधार कमजोर भएको आरोप केवल विपक्षीले मात्रै लगाएका छैनन्, यस्तो आवाज स्वयं पार्टीपंक्तिबाट पनि उठ्दै आएको छ। गगनजीको महामन्त्रीको अवधारणापत्रमा लोकतान्त्रिक समाजवाद र सामाजिक लोकतन्त्रबारे उहाँले आफ्ना धारणा सार्वजनिक गर्नु भएको छ। यसको बारेमा पनि कांग्रेस वृत्तमा छलफल र बहस होला। नेपाली कांग्रेसले अवलम्बन गरेको उदार अर्थनीतिको कारणले अर्थतन्त्र वृद्धि भयो र उच्च र माध्यम वर्ग त लाभान्वित भए। तर गरिब, विपन्न, किसान, मजदुर, समाजमा पिछडिएका तथा बञ्चितीकरणमा परेका सीमान्तकृत समुदायको अपेक्षाकृत उत्थान र विकास हुन नसकेको प्रश्न पनि उठिरहेको छ। 

नेपाली कांग्रेस लोकतान्त्रिक समाजवादी पार्टी हो तर शास्त्रीय समाजवादी होइन। त्यसैले उक्त वास्तविकतालाई  हृदयंगम गर्दै सामाजिक न्यायसहितको समुन्नत तथा समतामूलक समाज स्थापना गर्नका लागि लोकतान्त्रिक समाजवादलाई समयानूकल पुन: पारिभाषित गर्नु आजको आवश्यकता हो। 

विकास भनेको केवल ठूला ठूला पूर्वाधार परियोजना र भ्यू टावर निर्माण मात्रै होइन। समाजका गरिब तथा सीमान्तकृत र बञ्चितीकरणमा परेका समुदायको समेत उत्थान हुने गरी जनतालाई केन्द्रमा राखेर अर्थनीति र विकासको मोडेल अनुसरण गर्नु अहिलेको आवश्यकता हो। त्यसैले केवल समृद्ध मात्रै होइन, मानव विकाससहितको समुन्नत नेपाल आजको आवश्यकता हो। 

महाधिवेशन प्रतिनिधिले उदारवादी धारको प्रवक्ताका रुपमा रहेका गगन-विश्वलगायतका नेताहरुलाई निर्वाचित गरेका छन्। नागरिकमुखी नीति लिएर पार्टीलाई रुपान्तरण गरी आगामी निर्वाचनमा विजयी गराउने दायित्व नयाँ नेतृत्वसामु छ। सभापति देउवाले उद्घाटन समारोहमा आगामी निर्वाचनमा तीनै तहमा पार्टीलाई विजय गराउने संकल्प गर्नु भएको छ। त्यो उद्देश्य ठिक छ। तर, पार्टीलाई विजय गराउने, नीति, विचार, कार्यक्रम र घोषणापत्रको बारेमा पनि व्यापक वहस गरी ठोस मार्गचित्र तय गर्नु पर्छ। 

कांग्रेसमा व्यक्तिगत तहमा विचार, नीति ल्याउने क्रम जारी छ। नीति, विचार दृष्टिकोण एजेन्डामाथि छलफल गर्न नीति अधिवेशन गर्ने भनिएको छ। व्यक्तिगत विचारको सान्दर्भिकता नीति अधिवेशनसँग जोडिन्छ कि जोडिँदैन? विभिन्न विचारमध्ये पार्टीका लागि 'यही विचार सही छ' भनेर कसरी निर्क्यौल गर्ने? 

कांग्रेस पार्टीमा यसपटक महाअघिवेशन भन्दा पनि महानिर्वाचन भयो। खाली उद्घाटन भयो र निर्वाचनको प्रक्रिया अघि बढ्यो। यसपटक महामन्त्रीको प्रतिवेदन र कोषाध्यक्षको प्रतिवेदनबाहेक अन्य विषयमा छलफल भएन, कुनै प्रस्ताव पारित गरिएन। 

अब गगन-विश्वको पनि अग्निपरीक्षा सुरु भएको छ। त्यसमा उहाँहरु खरो उत्रन सक्नुभएन भने आज जसरी अरु नेतृत्वको बारेमा प्रश्न गरिएको छ, त्यही प्रश्न भोलि गगन-विश्वमाथि पनि उठ्ने छन्। 

विगत महाधिवेशनमा पनि कांग्रेसमा नीति र कार्यक्रमको बारेमा सघन र व्यापक छलफल हुँदैनथ्यो। छलफल र बहसको प्रमुख प्राथमिकता र केन्द्र नेतृत्वको बारेमा हुन्थ्यो। शायद सोही वास्तविकतालाई आत्मसात गरेर होला, यसपटकदेखि नीति अधिवेशन र नेतृत्व अधिवेशन छुट्टाछुट्टै गर्ने निर्णय कांग्रेसले गरेको छ। त्यसैले यसपटक वैचारिक बहस पूर्णरूपमा ओझेलमा पर्‍यो। 

नीति अधिवेशन र नेतृत्व अधिवेशन छुट्टाछुट्टै गर्ने निर्णय केही हदसम्म सकारात्मक पनि हो। नेपाली कांग्रेस नीतिप्रधानभन्दा पनि नेतृत्व प्रधान हुँदै गइरहेको थियो। नेपाली कांग्रेसको नीति र नेतृत्व संक्रमणकालबाट गुज्रिँदै गइरहेको थियो। नेतृत्वका बारेमा जति छलफल र बहस भए, नीतिबारेमा पनि त्यति नै सघन बहस गरेर २१औं शताब्दी अनुकुलको नीति नेपाली कांग्रेसले अनुशरण गर्न जरुरी छ। यसपटकको नेतृत्व महाधिवेशन सापेक्षिक रूपमा सफल भयो। अब निकट भविष्यमा अनुकुल समयमा नीति महाधिवेशन गर्नु अपरिहार्य छ।

मेरो विचारमा आम निर्वाचनभन्दा अघि नै नीति महाधिवेशन गर्ने र त्यो महाधिवेशनमा कांग्रेसको मार्गनिर्देशक सिद्धान्त, विचार, नीति, कार्यक्रम, एजेन्डा, जनताका चाहना, जनताका भावना, अर्थनीति, परराष्ट्र नीति, स्वास्थ्य नीति, सामाजिक न्याय नीति, विकास नीतिका विषयमा सघन छलफल गरी ठोस नीति तय गर्नुपर्छ।

नीति महाधिवेशनभन्दा पहिले नै पार्टीको सिद्धान्त, नीति, विचार र कार्यक्रमको बारेमा एउटा ठोस दस्तावेज तयार गरी उक्त दस्तावेजलाई सार्वजनिक संचारमाध्यम र सामाजिक संजालमार्फत जनता र कार्यकर्तासम्म पुर्‍याउनु पर्छ। त्यसपछि जनता र कार्यकर्ताका धारणा, सुझाव र टिप्पणीलाई समेत समावेश गरेर उक्त मस्यौदा परिमार्जन गर्नुपर्छ र नीति र कम्तीमा तीनदेखि पाँच दिनसम्म छलफल गरेर ठोस् सिद्धान्त, नीति, विचार र कार्यक्रम तय गर्नु पर्छ। सोही प्रगतिशील दस्तावेजको आधारमा घोषणापत्र बनाउनुपर्छ। महामन्त्रीमा निर्वाचित हुनुभएका साथीहरुले कांग्रेसको नीति, कार्यक्रम, एजेन्डा, विचार यस्तो हुनुपर्छ भनेर बोल्दै आउनुभएको थियो। अहिलेसम्म उहाँहरुले पार्टीको नेतृत्वलाई प्रश्न गर्ने र विचार सार्वजनिक गरेर जनता समक्ष पुराएर पार्टीभित्र जनमत सिर्जना गर्ने पोजिसनमा हुनुहुन्थ्यो। तर, अब चाहिँ उहाँहरुले उठाउँदै आउनुभएका मुद्दाहरुलाई पार्टीको आधिकारिक नीति तथा कार्यक्रम बनाएर त्यसका आधारमा अघि बढाउने जिम्मेवारी र चुनौती सभापति देउवादेखि लिएर महामन्त्री थापा, शर्माहरुको काँधमा आएको छ। 


पुरानो पुस्ताको नेतृत्वमा अलिकति  पुरातनवादी र शास्त्रीय सोच थियो, छ। त्यसकारण अहिलेको महाधिवेशनबाट कांग्रेसलाई वैचारिकरुपमा रुपान्तरण गर्न जरुरी छ, पुस्तान्तरण पनि गर्नुपर्ने छ भनेर जुन म्यान्डेट कार्यकर्ताले दिएका छन्, त्यो म्यान्डेटलाई समेत आत्मसात गरेर पुरानो पुस्ताको अनुभवी र परिपक्व नेता शेरबहादुर देउवादेखि लिएर नयाँ पुस्ताका गगन–विश्वलगायतका नेताहरु अघि बढ्नुपर्नेछ। 

गगन-विश्वलाई नेतृत्वसँग सम्झौता गरेर आफूले उठाउँदै आएका मुद्दा बिर्सने छुट छैन। पार्टीको आगामी नीति महाधिवेशनबाट कांग्रेसलाई वास्तविक राष्ट्रवादी, लोकतन्त्रवादी, लोकतान्त्रिक समाजवादी र प्रगतिशील पार्टीमा नीतिगत रुपमा स्थापित गर्ने कुरामा पनि अब उहाँहरुले नेतृत्वदायी भूमिका निर्वाह गर्न जरुरी छ। कांग्रेस र लोकतन्त्रको भविष्य यसमै छ। 

महामन्त्री थापाले कांग्रेसलाई बहुमत दिलाउन १० देखि १५ लाख नयाँ मतदाता थप्नुपर्छ भनिरहनुभएको छ। कसरी थप्ने भन्ने चाहिँ छैन। कांग्रेसले आफूलाई 'रिफर्म' नगरी अनुहार मात्रै परिवर्तन गरेर मतदाता थप्न सकिएला?  

गगनजीले भनेको कुरा ठिक हो। यदि कांग्रेसले आफूलाई लोकप्रिय र आगामी निर्वाचनबाट बहुमतको सरकार बनाउने हो भने नयाँ मतदातालाई आकर्षित गर्नैपर्छ। नयाँ मतदाताको आकर्षण गगन थापा र विश्वप्रकाश शर्माको पुस्ताप्रति छ। तर केवल गगन थापा र विश्वप्रकाश शर्मालाई 'पोस्टर ब्वाई' बनाएर  मात्रै पनि समस्याको समाधान हुँदैन। किनभने नयाँ पुस्ताले केवल नेतृत्व मात्रै होइन, पार्टीको नीति, विचार र कार्यक्रम पनि हेर्छ। नेपाली कांग्रेस नीति र नेतृत्व दुवै हिसाबले संक्रमणकालमा थियो।

कांग्रेसको नीति जनताप्रधान छ र त्यो नीतिले २१औं शताब्दीका चुनौती समाना गर्न सक्छ भनेर जनता विश्वस्त नभइकन केवल गगन र विश्वप्रकाशलाई पोस्टर ब्वाई बनाएर कांग्रेस आगामी निर्वाचनमा विजय हासिल गर्न सक्ने सम्भावना छैन। 

नेतृत्व रुपान्तरण र पुस्तान्तरणको प्रक्रिया प्रारम्भ भएको छ। तर, यसका साथै नेपाली कांग्रेसको नीतिलाई पनि जनतामुखी, नागरिकमैत्री बनाउन जरुरी छ। कांग्रेसको नीति जनताप्रधान छ र त्यो नीतिले २१औं शताब्दीका चुनौती समाना गर्न सक्छ भनेर जनता विश्वस्त नभइकन केवल गगन र विश्वप्रकाशलाई पोस्टर ब्वाई बनाएर कांग्रेस आगामी निर्वाचनमा विजय हासिल गर्न सक्ने सम्भावना छैन। कांग्रेसले नीति, कार्यक्रम, विचार, सिद्धान्त र कार्यसूचीलाई पनि जनताको भावना अनुसार अघि बढाउन आवश्यक छ। 

नेपाली कांग्रेसको आदर्श भनेको समतामूलक समाज स्थापित गर्नु हो। समतामूलक समाज स्थापनाको आधार भनेको सामाजिक न्याय हो। आजको नेपालको आवाज भनेको केवल समृद्धि होइन, सामाजिक न्यायसहितको समुन्नति हो। उक्त वास्तविकतालाई कांग्रेसले आत्मसात गर्नुपर्छ। विशेषगरी युवा पुस्ताको एजेन्डा (शिक्षा, स्वास्थ्य,रोजगारी, सुशासन, वातावरण) सम्बोधन गर्न सक्ने पार्टी बनाउनु पर्छ। यदि युवा पुस्तालाई कांग्रेस उक्त मुद्दा सम्बोधन गर्न कांग्रेस सक्षम छ भन्ने आशा र विश्वास भयो भने युवा पुस्ताको आकर्षण बढ्नेछ। 

गगन–विश्व उदयको प्रभाव कांग्रेस रुपान्तरणमा रहने अपेक्षा गरौँ। कांग्रेसको अन्तरपार्टी सम्बन्ध सत्तामुखी मात्र भयो भन्ने पनि गरिएको छ। अब चाहिँ कांग्रेसको अन्तरपार्टी सम्बन्ध कस्तो हुनुपर्छ? 

नेपाली कांग्रेस जस्तो परम्परागत पार्टीमा गगन-विश्व महामन्त्रीमा निर्वाचित हुनुभनेको स्वयं एउटा क्रान्ति हो। यसले धेरै कुराको संकेत पनि गरेको र धेरै कुराको सन्देश पनि दिएको छ, जुन हामीले पहिलो प्रश्नमा पनि चर्चा गर्‍यौँ। 

जहाँसम्म कांग्रेसको भावी नीति, कार्यदिशा र कार्यक्रमको प्रश्न छ, जसरी केपी ओलीको सरकारले नेपालको संविधानलाई समेत गलत व्याख्या गरेर सर्वसत्तावादी, अधिनायकवादी शासन गर्ने दुष्प्रयास गर्‍यो। त्यसको विरुद्धमा नेपाली कांग्रेसको नेतृत्वमा ५ दलीय गठबन्धन बन्यो र त्यसले केपी ओली नेतृत्वको सरकारलाई विस्थापन गर्‍यो र कांग्रेस सभापति देउवाको नेतृत्वमा सरकार बन्यो। त्यो सरकार केका लागि हो भने लोकतन्त्र र संविधानको संरक्षणका लागि हो। त्यसका लागि सबैभन्दा सशक्त रूपमा अघि बढेर जनमत बनाउने काम गगन-विश्वले नै गरेका हुन्। 

लोकतन्त्र र संविधानको संरक्षणका लागि गठबन्धन चाहिँ बन्यो। तर, सँगसँगै कांग्रेसले लोकतन्त्र र संविधानको संरक्षण गरेर मात्रै भएन। संविधानको संस्थागत विकास गर्दै कांग्रेसको आगामी कार्यदिशा के हुन्छ भन्ने बारेमा व्यापक छलफल, बहस र चासोको विषय बन्यो। यद्यपि यसबारेमा महाधिवेशनमा व्यापक छलफल भएन। सम्भवतः नीति महाविधेशनमा होला। 

आगामी निर्वाचनमा कांग्रेस कसरी जान्छ भन्ने विषय आम रूपमा सोध्न थालिएको छ। आगामी निर्वाचनमा गठबन्धनका दलसँग सहकार्य गरेर जान्छ कि एक्लै जान्छ? भन्ने प्रश्न पनि छ। अर्को चाहिँ कांग्रेसको अबको घोषणापत्र कस्तो हुन्छ भन्ने पनि छ। 

कांग्रेसको महाधिवेशनबाट नयाँ नेतृत्व आइसकेपछि नीति, विचार, सिद्धान्त र घोषणापत्र तथा चुनावी रणनीतिका बारेमा बहस हुन आवश्यक छ। चुनावी गठबन्धन गरेर जाने कि नजाने? कम्युनिस्ट पार्टीहरुसँग चुनावी गठबन्धन  गर्दा कांग्रेसको भविषयमा कस्तो प्रभाव पर्ला? कम्युनिस्टसँगै मिलेरै चुनावमा जाने हो भने पार्टीले अख्तियार गर्ने नीतिमा कति असर गर्ला र त्यसपछिको सरकार कस्तो होला? भन्ने बारेमा पनि व्यापक चासो चाहिँ छ। 

कांग्रेसको सिद्धान्त पनि गतिशील र परिवर्तनशील होस् भन्ने नै हो। यो वास्तविकतालाई जहिलेसम्म कांग्रेसजनले बुझ्दैनन्, रुपान्तरणको सम्भावना छैन। 

मेरो विचारमा कांग्रेसका अधिकांश सदस्यको धारणा चाहिँ कांग्रेस चुनावमा एक्लै जानुपर्छ भन्ने छ। कांग्रेसले प्रगतिशील, लोकतान्त्रिक समाजवादी र नागरिकमुखी नीति लिएर जनतासमक्ष जानुपर्छ। यदि कांग्रेसले प्रगतिशील, लोकतान्त्रिक समाजवादी र नागरिकमुखी नीति सहित जनतामा गयो भने लोकप्रिय मत हाँसिल गर्ने सम्भावना छ। 

लोकतन्त्र र संविधानको संवर्द्धन गर्दै देशको आर्थिक-सामाजिक रुपान्तरण गरी समुन्नत नेपाल निर्माणको नेतृत्व कांग्रेसले गर्छ भन्ने विचार लिएर जनतासमक्ष गयो भने नेपाली कांग्रेसको भविष्य सुखद् छ। जनताको भावना र कार्यकर्ताको चाहना पनि यही हो। जनताको भावना र कार्यकर्ताको चाहानाअनुरुप नै कुनै पनि पार्टीले नीति तय गर्नुपर्छ। 

नेपाली कांग्रेसको विचार, नीति र सिद्धान्तको कुरा गर्दा एउटा समस्या देखिन्छ। कांग्रेसले विचार, नीति र सिद्धान्तलाई जडताका रुपमा बुझ्छ। बीपी कोइराला र उहाँको सिद्धान्त भनेर गायत्री मन्त्रको रुपमा जप्ने प्रवृत्ति छ। मेरो विचारमा सिद्धान्त र नीति भनेको कहिल्यै जडता होइन। त्यो त गतिशील हुन्छ। समयसापेक्ष परिमार्जन गर्दै जानुपर्छ। बीपीले प्रतिपादन गरेको मार्गनिर्देशक सिद्धान्तलाई अहिले पनि जडताका रुपमा बुझ्नु कांग्रेसको कमजोरी हो। कांग्रेसको सिद्धान्त पनि गतिशील र परिवर्तनशील होस् भन्ने नै हो। यो वास्तविकतालाई जहिलेसम्म कांग्रेसजनले बुझ्दैनन्, रुपान्तरणको सम्भावना छैन। 


पार्टीका नीति, विचार र सिद्धान्तलाई गतिशील नबनाउने हो भने पार्टीको सान्दर्भिकता नै समाप्त हुन्छ। यिनलाई जडताका रुपमा बुझियो भने पार्टी या त जडसूत्रवादी कम्युनिस्ट जस्तै हुन्छ या दक्षिणपन्थी धारमा पार्टी जान्छ। पार्टी जति नागरिकमुखी र नागरिकमैत्री हुन्छ त्यो पार्टीको सान्दर्भिकता पनि त्यति नै हुन्छ।

कांग्रेस महाधिवेशनको तरंग देशभर त छ तर कतिपय राष्ट्रिय/अन्तर्राष्ट्रिय मुद्दामा कांग्रेस मौन बस्यो भन्ने आरोप पनि छ। सबै कुरा 'क्रोनिक' बनाएको कांग्रेसले नै हो भन्नेहरु पनि छन्। यसमा कांग्रेसले अलग्गै केही गर्न सक्छ? 

परिवर्तित भूराजनीति, राजनीतिक, कुटनीतिक, व्यापारिक, आर्थिक, सामाजिक, सांस्कृतिक सन्दर्भमा अन्तर्राष्ट्रिय सम्बन्धका आयामहरु जटिल हुँदै आएका छन्। खासगरी उदयीमान शक्ति राष्ट्रहरु चीन र भारतका बीचमा भएको नेपालका अन्तराष्ट्रिय सम्बन्धका आयामहरु संवेदनशील मात्रै होइनन, जटिल समेत छन्। त्यसैले नेपालको भूराजनीतिक महत्व र संवेदनशीलता हेरेर नेपालले विदेश नीति अख्तियार गर्नु पर्ने अवस्था छ। त्यसैले नेपालले अनुशरण गर्नुपर्ने अन्तराष्ट्रिय सम्बन्धका सिद्धान्त र मापदण्ड चुनौतीपूर्ण छन्। 

नेपाल एउटा भूपरिवेष्ठित देश भएकाले नेपालको आन्तरिक राजनीतिमा पनि छिमेकी र बाह्य शक्तिहरुको भूमिका, प्रभाव, चासो र स्वार्थ सबै छन्। नेपालको राष्ट्रिय एकता, भौगोलिक अखण्डता, सार्वभौमिकताको रक्षा गर्दै अन्तर्राष्ट्रिय सम्बन्धलाई नेपालले आफ्नो राष्ट्रिय स्वार्थ अनुसार परिभाषित गर्नु पर्छ। भारत, चीन, अमेरिका, यूरोप, जापानसँगको सम्बन्धका स्पष्ट मापदण्ड निर्धारण गरेर विदेशनीति अख्तियार गर्नुपर्छ। विशेषगरी भारत, चीन, अमेरिका, यूरोप, जापानको विकासबाट नेपाल लाभाविन्त हुने नीति नेपालले लिनु पर्छ। 

नेपालको विकासका लागि एमसीसी पनि आवश्यक छ, बीआरआई पनि आवश्यक छ भन्ने मलाई लाग्छ।

राष्ट्रहितलाई केन्द्रमा राखेर कूटनीतिक सन्तुलन कायम गर्न सक्नुपर्छ भन्ने कुरा नेपालले बुझ्नुपर्छ। इतिहास हेर्ने हो भने कांग्रेस मात्रै यस्तो एउटा पार्टी हो, जसले राष्ट्रहितलाई प्राथमिकतामा राखेर सन्तुलित कूटनीति अख्तियार गर्दै आएको छ। पञ्चायतले पनि  पनि कहिले भारत, कहिले चीन, कहिले अमेरिकाको समर्थन लिएर सत्ता टिकाउने काम गर्‍यो। कम्युनिस्टहरु सत्तामा आएपछि नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक सन्तुलन बिग्रिएको छ। पूर्वप्रधानमन्त्री केपी ओली सत्ता टिकाउन कहिले भारततर्फ ढल्किए, कहिले चीनमुखी भए भने कहिले एमसीसीको नाममा अमेरिकामुखी भएर पनि सत्तामा टिक्ने प्रयास गरे। 

कांग्रेसले सत्ता र पार्टीलाई केन्द्रमा राखेर सत्ता टिकाउने भन्दा पनि राष्ट्रहितलाई केन्द्रमा राखेर जिम्मेवार र परिपक्व कूटनीति अख्तियार गर्दै आएको छ। अहिले नै हेर्ने हो भने पनि एमसीसीका बारेमा पनि बहस र विवाद भइरहेको छ। चीनसँगको सम्बन्ध र भारतसँगको सम्बन्धका बारेमा पनि बहस र विवाद छ। अमेरिका र पश्चिमा देशबारेमा पनि बहस र विवाद छ।  

मलाई के लाग्छ भने नेपालको विकासका लागि एमसीसी पनि आवश्यक छ, बीआरआई पनि आवश्यक छ। हामीले एमसीसीमा हस्ताक्षर गरेको चार वर्षभन्दा बढी भइसक्यो। बीआरआरआईमा हस्ताक्षर गरेको पनि चार वर्षभन्दा बढी भइसक्यो। जबकि विगतको नेकपा सरकार चीनमैत्री सरकार मानिन्थ्यो। तर, चीनमैत्री भनिएको सरकारका पालमा पनि बिआरआईका एउटा पनि परियोजना अघि बढ्न सकेन। 

नेपालले ठूला विकास परियोजनामा हस्ताक्षर गर्ने, त्यसपछि विवाद गर्ने र विवाद भएपछि कार्यान्वयन गर्न नसक्ने भएका कारणले गर्दा नेपालको कूटनीतिक विश्वसनीयता अहिले खस्किएको छ। यदि हाम्रो सम्बन्ध भारत, चीन र अमेरिकालगायतका समृद्ध र विकसित देशसँग राम्रो हुन सकेन र अन्तर्राष्ट्रिय सहयोग आकर्षित गर्न सकेनौं भने नेपालको विकास हुन सक्दैन। जहिले-जहिले कम्युनिस्टहरु सरकारमा आए ,अन्तर्राष्ट्रिय सम्बन्धमा समस्या सिर्जना भएको छ। कूटनीतिक सन्तुलन बिग्रिएको छ र विदेश नीतिमा विचलन आएको छ। २०५१ सालमा एमालेको अल्मपतको सरकार बनेपछि गुमाउनु परेको अरुण तेस्रो परियोजना होस् कि, केपी ओलीको सरकारकै पालामा कुनै पनि ठूला विकास परियोजना कार्यन्वयन हुन नसकेको वास्तविकता घाम जत्तिकै छर्लङ्ग छ। 

ओली सरकार बनेपछि एमसीसी र बिआरआईबारे अनावश्यक र अतिरञ्जित बहस/विवाद सिर्जना गरेर विकास र पूर्वाधार विकासमा समस्या खडा गर्दा ठूला विकासका परियोजना अघि बढ्न सकेनन्। चीन र भारतसँगको सम्बन्धमा पनि हामीले सन्तुलन गर्न सकेनौं। ओली सरकार कहिले चीन, कहिले भारत र कहिले अमेरिकातिर ढल्कियो। 

जहिले-जहिले कम्युनिस्टहरु सरकारमा आए, अन्तर्राष्ट्रिय सम्बन्धमा समस्या सिर्जना भएको छ। कूटनीतिक सन्तुलन बिग्रिएको छ र विदेश नीतिमा विचलन आएको छ।

कांग्रेस सभापति देउवा नेतृत्वको वर्तमान सरकार कूटनीतिक जटिलताका बीचमा बनेको छ। यो सरकारले चाहिँ राष्ट्रहितका आधारमा छिमेकीलगायत सबै देशसँग विदेशनीति तय गर्नुपर्छ। त्यसका आधारमा भारत, चीन र अमेरिकाबीचमा कूटनीतिक सन्तुलन कायम गर्न जरुरी छ। त्यो गर्न सकेनौं भने विदेशीको खेलमैदान पनि बन्न सक्छौं। केपी ओलीका पालामा नेपाल विदेशीको खेलमैदान बनिसकेको थियो। यो सरकार बनेपछि केही हदसम्म भारत, चीन र अमेरिकासँगको सम्बन्ध सुधार भएको छ। एमसीसी र बिआरआईलगायतका सम्झौता अघि बढाएर ओली सरकारका पालामा खस्किएको कूटनीतिक विश्वसनीयतालाई सुधार गर्ने प्रयास सरकारले गरेको छ। 

बेलायतको ग्लास्गोमा भएको जलवायुसम्बन्धी अन्तराष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री देउवाले अमेरिका राष्ट्रपति, बेलायती प्रधानमन्त्री, जर्मन चान्सलर, भारतीय प्रधानमन्त्रीसँग भएको भेट र त्यसपछि अमेरिकी राष्ट्रपतिले आयोजना गरेको डेमोक्रेसी समिटमा नेपालका प्रधानमन्त्रीले गरेको सम्बोधनले त्यसको झल्को दिन्छ। 

बहुचर्चित डेमोक्रेसी समिटमा नेपालका प्रधानमन्त्रीलाई भन्दा पनि एउटा उदार लोकतन्त्रवादी पार्टीका सभापतिलाई आमन्त्रण गरेर अन्तर्राष्ट्रिय समुदायले पनि नेपाली कांग्रेसलाई विश्वास गरेको देखिन्छ। नेपाली कांग्रेसका सभापति र प्रधानमन्त्री देउवाले ग्लास्गो र डेमोक्रेसी समिटमा जुन खालको अवसर पाउनु भयो, त्यसले पनि नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई विविधीकरण गरी कूटनीतिक सम्बन्धलाई विस्तार गर्दै छिमेकी मात्रै होइन, बृहत्तर अन्तर्राष्ट्रिय समुदायसँग कूटनीतिक सम्बन्धलाई प्रगाढ बनाएर विकास र समृद्धिका लागि सहयोग ल्याउने वातावरण बनाउन सक्छ भन्ने सन्देश प्रवाह गरेको छ। कांग्रेसले आगामी नीति महाधिवेशनमा अन्तर्राष्ट्रिय सम्बन्ध, नेपालको परराष्ट्र नीतिका बारेमा स्पष्ट मार्गचित्र बनाउनुपर्छ। 


प्रकाशित: December 19, 2021 | 20:38:48 काठमाडौं, आइतबार, पुष ४, २०७८
नेपाल समय

नारायण अमृत/तीर्थराज बस्नेत

काठमाडौं, आइतबार, पुष ४, २०७८

थप समाचार

एमसीसीमा परराष्ट्रलाई बाइपास गरियो, नेताहरूले नै जनतालाई भ्रमित पारे : प्रा.डा. खड्ग केसी [अन्तर्वार्ता]

एमसीसीमा परराष्ट्र मन्त्रालयलाई बाइपास गरिएको छ भनेपछि कति गैरजिम्मेवार रुपमा यसलाई अघि बढाइएको होला त? एमसीसी हस्ताक्षर हुने समयमा परराष्ट्रलाई सोध्‍नु पर्दैन? अर्थ मन्त्रालयमा मात्रै त्यो विज्ञता थियो?

नेकपा माओवादी अरुजस्तो विचारशून्य पार्टी होइन : प्रचण्ड [अन्तर्वार्ता]

राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने दस्तावेजमा मैले समाजवादको आधार निर्माण कसरी गर्न सकिन्छ भन्ने विषयलाई केन्द्रित भएर एउटा निष्कर्ष दिने कोसिस गरेको छु।

कसैले साथ नदिए पनि महामन्त्रीमा लड्छु, जितेँ भने कांग्रेस सुधार्छु : गगन थापा [अन्तर्वार्ता]

पार्टीका समर्थक र शुभेच्छुकहरु पार्टीको नेतृत्वमा आओस् भन्ने चाहन्छ। म त्यसकै आधारमा म यो निधोमा पुगेको हुँ। मलाई पार्टीका प्रतिनिधिहरुले राखिदिन खोजेको ठाउँ महामन्त्री हो। मैले दाबी गरेको भन्दा पनि उहाँहरुले मलाई राखिदिन खोजेको चाहनालाई सम्बोधन गर्ने प्रयास गरेको हुँ।

ओलीको विकल्प खोज्न जरुरी छ, म कुनै हालतमा 'ब्याक' हुन्‍न : भीम रावल [अन्तर्वार्ता]

त्यस्तो हुन सकेन। सदस्यता विरण, नवीकरण र महाधिवेशन प्रतिनिधिको चयन पनि निष्पक्ष भएन। देशका विभिन्न भागहरुमा हाम्रो पार्टीको नीतिलाई नसुहाउने, अलोकतान्त्रिक क्रियाकलाप भए।

साँठगाँठकै कारण शीर्ष नेताले मुख खोलेनन्, जबरासँग म एक्लै लड्छु : वरिष्ठ अधिवक्ता भण्डारी [अन्तर्वार्ता]

हाम्रा कुरा नसुनिएपछि र उनले मनपरी गर्न नछाडेपछि बाध्य भएर आन्दोलनमा आउनुपरेको हो।

ट्रेंडिंग

नेपाल समय
राजनीति

गगन र विश्वप्रकाशः संघर्ष कि सहकार्य?

यसअघि प्रश्न गर्ने ठाउँमा रहेका उनीहरु अब उत्तर दिने ठाउँमा आइपुगेका छन्। त्यसकारण अबको चार वर्ष उनीहरुको अग्निपरीक्षा हुनेछ।
नेपाल समय
शिक्षा

आयोगको परीक्षामा उमेर हद हटाउन राहत शिक्षकको माग

नेपाल राहत शिक्षक केन्द्रीय कार्यसमितिले शिक्षक सेवा आयोगले खुलाएको विज्ञापनमा राहत शिक्षकका लागि उमेरहद हटाउन माग गरेका छन्।
नेपाल समय
समाज

भत्क्यो मण्डला : त्यो घर जहाँबाट दयाहाङ 'स्टार' बने

‘कला र सिर्जनामा सिंगो शक्ति खर्चिएका थियौं। कलाकारको सपनामात्रै होइन मण्डलासँग जोडिएको इतिहास पनि भत्केझैं लाग्छ।’
नेपाल समय
संवाद

एमसीसीमा परराष्ट्रलाई बाइपास गरियो, नेताहरूले नै जनतालाई भ्रमित पारे : प्रा.डा. खड्ग केसी [अन्तर्वार्ता]

एमसीसीमा परराष्ट्र मन्त्रालयलाई बाइपास गरिएको छ भनेपछि कति गैरजिम्मेवार रुपमा यसलाई अघि बढाइएको होला त? एमसीसी हस्ताक्षर हुने समयमा परराष्ट्रलाई सोध्‍नु पर्दैन? अर्थ मन्त्रालयमा मात्रै त्यो विज्ञता थियो?
नेपाल समय
श्रृंखला

पेन्सनपट्टासँगै विगत बन्यो सैनिक हिरासतमा मैले पाएको यातनाको कथा [भिडियोसहित]

नेपाल समयले उनका विषयमा ‘गनले अन्याय, गनले न्याय’ शीर्षकमा श्रृंखलाबद्ध रिपोर्टिङ गरेको थियो। लवकुमार गुरुङले जागिर छाडेपछि हाम्रा सहकर्मी अनिल यादवसँग सुनाएको आफ्नो यातनाको कथा जस्ताको तस्तैः

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2022. Design & Development by Cn’C