मंगलबार, कार्तिक २, २०७८
  • गृहपृष्ठ
  • संवाद
  • म महामन्त्रीको उम्मेदवार हुँ, कसैको दौराको फेर समात्नुपर्छ भन्ने छैन : धनराज गुरुङ [अन्तर्वार्ता]

म महामन्त्रीको उम्मेदवार हुँ, कसैको दौराको फेर समात्नुपर्छ भन्ने छैन : धनराज गुरुङ [अन्तर्वार्ता]

तीर्थराज बस्नेत  |  काठमाडौं, मंगलबार, असोज ५, २०७८

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

मंगलबार, असोज ५, २०७८, काठमाडौं

नेपाल समय

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको प्रक्रिया आरम्भ भइसकेको छ। वडा तहका अधिवेशन भइरहेका छन्। वडा तहको अधिवेशन चलिरहँदा नेताहरुले उम्मेदवारी घोषणा गर्ने क्रम पनि बढेको छ। सभापतिदेखि महामन्त्रीसम्मका उम्मेदवारहरुले औपचारिक, अनौपचाकि रुपमा उम्मेदवारी घोषणा गरिरहँदा केन्द्रीय सदस्य धनराज गुरुङ पनि महामन्त्री पदमा लड्ने तयारीमा छन्। उनै गुरुङसँग १४ औं महाधिवेशन, उनका एजेन्डा, अबको कांग्रेस लगायतका विषयमा केन्द्रित रहेर नेपाल समयले गरेको कुराकानीको सम्पादित अंशः

लामो समयदेखिको रस्साकस्सीपछि क्रियाशील सदस्यता विवाद मिलेको छ। अब बल्ल अधिवेशन सहज वातावरणमा अघि बढ्छ भन्ने अवस्थामा आइपुग्नुभयो हैन त? 

जुन विवाद थियो, त्यो टुंगिएपछि हामी विवाद टुंगियो भन्ने ठाउँमै पुग्छौं। खास गरेर महाधिवेशनमा विवादको जग भनेको क्रियाशील सदस्यता नै हो। क्रियाशील सदस्यता टुंगिएपछि महाधिवेशनको प्रक्रिया विना अवरोध अघि बढ्छ। यसमा विवाद हुनुको कारण नखोतलौं। अब कसरी अघि बढ्ने भन्ने महत्वपूर्ण हुन्छ। 

क्रियाशील विवाद मिल्न ढिलो भएका जिल्लामा असोज ५ (आज) वडा अधिवेशन तोकिएको थियो। तर, ती सबै जिल्लामा आज अधिवेशन हुन सकेन। त्यसले अन्य तहका अधिवेशनको कार्यतालिकामा असर गर्ने देखियो नि?

यो ठूलो कुरो होइन। मुख्य कुरा विवाद मिल्यो। अब बाँकी प्रक्रिया विना अवरोध अघि बढ्छ। ७ गते वडा तहमा अधिवेशन भयो भने पनि ९ गते पालिका अधिवेशन सहजै हुन सक्छ। अरु कार्यतालिका फेरबदल गर्नुपर्ने अवस्था आउँदैन। 

कांग्रेस एउटा लोकतान्त्रिक पार्टी हो, जसले आफूलाई लोकतन्त्रको रक्षार्थ सधैं प्रस्तुत गर्छ। एउटा लोकतान्त्रिक पार्टीका लागि महाधिवेशन महत्वपूर्ण हुँदाहुँदै पनि सामान्य र नियमित प्रक्रिया हुनुपर्ने हो। तर, त्यस्तो देखिँदैन नि, किन? 

यो एउटा महोत्सव हो। महोत्वसमा सबैले सहज ढंगबाट भाग लिने परिस्थिति बन्नुपर्थ्यो नै। तर, यसो नहुनुको पछाडि कारण के हो भने महत्वाकांक्षा हो। नेतृत्वमा को जाने भन्ने महत्वाकांक्षाले केही भूमिका खेलिरहेको हुन्छ। त्यसका कारणले गर्दा पनि विवादहरु हुन्छन्। पार्टी घर हो र हामी परिवार हौं भन्ने सोचबाट गाइडेड नहुँदा यस्तो अवस्था सिर्जना भएको हो। 

नेतृत्वमा पुग्ने महत्वाकांक्षाले महाधिवेशन गर्ने विषयमा उल्झन आयो भनिरहँदा ६ पटकसम्म मिति परिवर्तन गरिरहनुपर्ने, क्रियाशील सदस्यताको विवाद वडा अधिवेशनको प्रक्रिया सुरु भइसक्दा पनि चर्किरहने अवस्था आउनुको पछि नेतृत्वमा पुग्न चाहनेहरुले हेरेको अनुकूलता पनि त कारक होला नि? 

मुख्य कुरा त क्रियाशील सदस्यताका सन्दर्भमा छलफल हुँदा र मापदण्ड बनाउँदा विवाद केन्द्रसम्म ल्याउने वातावरण सिर्जना नगरौं भनेको हुँ। वडा, गाउँ तहमा कसलाई क्रियाशील सदस्यता दिन हुन्छ वा हुँदैन भन्ने कुरा केन्द्रीय सभापति, वरिष्ठ नेता वा हामी केन्द्रीय सदस्यलाई थाहा हुँदैन। वास्तविक कुरा यही हो। वडा तहबाट क्रियाशील सदस्यता वितरण गरेर गाउँ तह, गाउँबाट निर्वाचन क्षेत्र र जिल्ला तहमा अन्तिम सुनुवाइ गरौं भनेर प्रस्ताव राखेको थिएँ। त्यो नेताहरुले मान्नुभएन। किन मान्नुभएन भन्दा कतै तलै अधिकार दिँदा आफ्नो हातको डाडु पन्यु छुट्छ कि भन्ने त्रास नै हो। नेतृत्वमा कसरी अडिने वा कसरी पुग्ने भन्नेबीचको खेलका कारणले नै यो सबै भएको हो। 

सदस्यताको कुरा गरिरहँदा कांग्रेसको विधानले दुई थरी सदस्यको परिकल्पना गरेको छ। जसलाई नेपाली कांग्रेसको सदस्य र क्रियाशील सदस्य भनिएको छ। तर, कांग्रेसले साधारण सदस्यको हिसाब राखेको छैन र विधानले भनेअनुसार साधारण सदस्यता लिएको एक वर्षमा क्रियाशील सदस्यता वितरण गर्ने अभ्यास पनि छैन। त्योसँगै सदस्य थप्ने विषय पार्टीका लागि सुखद् नै हुनुपर्ने हो। विधानको व्यवस्थालाई पालना नगर्दा र लाभहानी हिसाब गरेर सदस्यता थप्ने सन्दर्भमा किचलो निकाल्दा समस्या भएको हो? 

विधानले एक वर्ष साधारण सदस्य भएको व्यक्तिलाई क्रियाशील सदस्यता दिने भनेको छ। माथिल्लो तहदेखि वडा तहसम्म नेतृत्व कसले लिने भन्ने होड चलिरहेको हुन्छ। त्यो निष्पक्ष र स्वच्छ प्रतिस्पर्धामा उत्रन सकेको भए सायद यस्तो हुने थिएन भन्ने मलाई लाग्छ। तर, यहाँ जसलाई पनि क्रियाशील सदस्यतामा तलमाथि गर्न पाए भइहाल्छ भन्ने साँघुरो सोचका कारण आएका हुन्। महाधिवेशन हुने वर्षमा क्रियाशील सदस्यता नवीकरण र वितरण गर्न नपाउने व्यवस्था विधानमा गरिएको छ। तर, अहिले महाधिवेशनको सुरुवात भइसक्यो अनि बल्ल क्रियाशील सदस्यता विवाद टुंग्याइयो। यसको अर्थ के हो भने अहिलेसम्म पनि हामीले काम गरिरह्यौं। के गरिरह्यौं, वितरण गरिह्यौं। क्रियाशील सदस्यता नवीकरण गरिरह्यौं। यो हाम्रो विधान मिच्ने काम पनि भयो। विधान बमोजिम हामी चल्न सकेनौं। नेतृत्व विधान बमोजिम चल्न नसकेका सबै परिणाम अहिले हामीले भोगिरहेका छौं। 

महाधिवेशनको मिति तोक्ने सन्दर्भमा त विधान मात्रै होइन संविधान नै मिच्ने अवस्थासम्म कांग्रेस पुग्यो नि हैन र? 

प्रजातन्त्रको पर्यायवाची कांग्रेस हो भनेर हामी दावी गर्छौं। तर, यहाँ मुलुकमा आफूलाई आइपरेपछि न विधान न संविधान आफ्नो घोडा बनाइदिने अवस्था आयो। संविधान र विधानलाई घोडा बनाएर आफू सवार हुने स्थिति भयो। यो नेपाली राजनीतिको विकृति हो भन्ने मलाई लाग्छ। त्यसबाट हाम्रो पार्टीको नेतृत्व पनि अछुतो रहेन भन्ने प्रमाणित भइसक्यो। विधानले महाधिवेशन वर्षमा क्रियाशील सदस्यता वितरण गर्न नपाइने भनेको छ। त्यसको अर्थ अरु प्रभावित कार्य पनि गर्न हुँदैन। आचारसंहिता लागु हुनुपर्ने हो। तर, केही पनि लागु भएन। यो दुःखद् पक्ष हो। तर, यसो भनेर अब कहिल्यै परिवर्तन र रुपान्तरण गर्न सकिँदैन भन्ने होइन। अब यस्तो प्रवृत्तिको अन्त्य गरेर रुपान्तरण गर्ने हो। 

पार्टीभित्र महाधिवेशनको राप र ताप सुरु भइसकेको छ। नेताहरुले उम्मेदवारी घोषणा गरिरहनुभएको छ। खासगरी संस्थापन इतर समूहमा सभापतिका आकांक्षीहरु धेरै देखिनुभएको छ। उहाँहरुबीच सहमतिको प्रयास भइरहेको छ भनेर पनि भनिएको छ। संस्थापन इतर समूहबाट एक जनामात्रै सभापतिको उम्मेदवार हुने सम्भावना कति छ? 

अब परम्परागत गुटहरु भत्किनुपर्छ। दौराको फेर, सारीको फुर्को समातेर पालित– पोषित भएर नेता बन्ने प्रचलन हट्नुपर्छ। क्षमताको आधारमा दृष्टिकोण र कार्ययोजना बोकेर अघि बढ्ने साथीहरुले पार्टीमा स्थान पाउनुपर्छ। तपाईंले जे प्रश्न सोध्नुभयो संस्थापन इतर र भितरको कुरा। अहिले संस्थापनमा पनि सभापति शेरबहादुर देउवा, उपभापति विमलेन्द्र निधि, नेता गोपालमान श्रेष्ठ सभापतिमा उठ्छु भनिरहनुभएको छ। इतर समूहबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता शेखर कोइराला सभापतिका आकांक्षी हुनुहुन्छ।

विधानले महाधिवेशन वर्षमा क्रियाशील सदस्यता वितरण गर्न नपाइने भनेको छ। त्यसको अर्थ अरु प्रभावित कार्य पनि गर्न हुँदैन। आचारसंहिता लागु हुनुपर्ने हो। तर, केही पनि लागु भएन।

यसमा इतर र भितरको भागवण्डा लगाएर फेरि परम्परागत गुटकै फेर समातेर त्यही पदचापमा हिँड्न खोजेर रुपान्तरण हुन सक्दैन। त्यसैले म त अझै धेरै नेताहरु उठ्दा पनि केही फरक पर्दैन भन्छु। सभापति धेरै भएपछि उपसभापति, महामन्त्री पनि धेरैले दावी गर्लान्। त्यसैले यसलाई अनौठो मानेर खाली दुई जना वा तीन जना मात्रै भइदिए हुन्थ्यो भन्ने मानसिकताभन्दा माथि बाहिरिनुपर्छ। सभापतिको उम्मेदवार ८–१० जना हुँदा पनि फरक पर्दैन भन्ने मलाई लाग्छ। 

यहाँले सभापतिका उम्मेदवार ८–१० जना हुँदा पनि फरक पर्दैन भनिरहँदा विधानको एउटा व्यवस्थाले पदाधिकारी वा केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गरेर पराजित हुने नेता पाँच वर्ष पार्टीको जिम्मेवारी भन्दा बाहिर रहनुपर्ने अवस्था आउँछ। यसले त पार्टीमा अनुभवी नेताहरुको खाडल सिर्जना गर्दैन र? 

पार्टीको कार्यकारी पदमा नहोला, औपचारिक ढंगबाट नहोला, अनौपचारिक ढंगबाट काम गर्न सकिन्छ। पार्टीकै दायराभित्र रहेर काम गर्न सकिन्छ। कहिले पार्टीलाई खबरदारी गर्ने, कहिले देशको सत्तालाई खबरदारी गरेर काम गर्न सकिन्छ। त्यसैले यसलाई हाउगुजी मानेर हिड्न हुँदैन। राजनीति भनेको निरन्तरता हो। अविच्छिन्न ढंगबाट लाग्ने हो। पद भनेको अस्थायी हो। कहिले पद हुन्छ, कहिले हुँदैन। पद नहुँदा पनि निरन्तर काम गर्नु नै राजनीति हो। आफ्नो इमान्दारिता त्यहाँ हुनुपर्छ। पद हुँदा काम गर्ने नहुँदा काम नगर्ने हो भने इमान्दारिता भएन। आफूले बोकेको सिद्धान्तका प्रति त निष्ठावान भएर लागिरहनुपर्छ नि। त्यसैले यो व्यवस्थाले केही फरक पार्दैन। 

खासगरी तपाईंहरुले सभापति देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आलोचना गर्दै आउनुभएको छ। उहाँको विकल्पको खोजि हुनुपर्छ पनि भनिरहनुभएको छ। सभापतिका उम्मेदवार ८–१० जना हुँदा देउवाको विकल्प खोज्ने तपाईंहरुको अभियान त कमजोर हुँदैन र? 

हुँदैन। किनभने धेरै साथी उम्मेदवार बन्दा अहिलेकै सभापति शेरबहादुर देउवाले फेरि नेतृत्व लिनुहुन्छ, बलियो बन्नुहुन्छ भन्ने कुरा मलाई लाग्दैन। मुख्य कुरा पाँच वर्ष पार्टी हाँक्दा उहाँले के गर्नुभयो भन्ने कुरालाई उहाँसँगै बसेका साथीले छातीमा हात राखेर सम्झिँदा पुग्छ भन्ने मलाई लाग्छ। फेरि पनि उहाँ मतदानबाट सभापति बन्नुभयो भने पनि हामीले मन दुखाउन हुँदैन। तर, यत्ति हो उहाँले पाँच वर्ष कसरी पार्टी सञ्चालन गर्नुभयो। त्यसको मूल्यांकन हुन आवश्यक छ। उहाँले पार्टीलाई कहाँबाट, कहाँ पुर्याउनुभयो भन्ने कुरा निष्पक्ष ढंगबाट ४५ सय जना महाधिवेशन प्रतिनिधिहरुले मूल्यांकन गर्नुपर्छ। पार्टी बिग्रियो पनि भन्न नछाड्ने, नेताहरुको मूल्यांकन गर्न आएका महाधिवेशन प्रतिनिधिहरुले मूल्यांकन नै नगरिदिने हो भने झनै बिग्रिएर जान्छ। त्यसैले मूल्यांकन जरुरी छ र उहाँहरुले गर्नुहुन्छ भन्ने मलाई विश्वास छ। 

यहाँले यसो भनिरहँदा पार्टीभित्र रहेका सनातनी गुटगत हिसाबले हेर्दा तपाईंले सोचेजस्तो महाधिवेशन प्रतिनिधिले सोच्छन् भनेर विश्वास गर्ने आधार त देखिँदैन नि? 

सनातनी ढंगबाटै चल्ने साथीहरु आउनुहुन्छ भन्ने नै मलाई लाग्दैन। केही अपवाद त हुन्छ नै। तर पनि अहिले देशभरका साथीहरुसँग मेरो कुरा भइरहेकै छ। देशभरका साथीहरुले रुपान्तरण खोजेका छन्। त्यसले गर्दा नेतृत्वमा रुपान्तरण खोजिएको छ भन्ने मेरो विश्वास हो।

पार्टीलाई सुधार गर्नुपर्छ, बलियो बनाउनुपर्छ भनेर यहाँहरुले भन्नुहुन्छ। युवा नेता भनिएका तपाईंहरु एक ठाउँमा आएर अभियान पनि चलाउनुहुन्छ। तर, महाधिवेशन नजिकै आइपुग्दा चाहिँ विभिन्न गुटमा विभक्त हुनुहुन्छ। यसरी हेर्दा तपाईंहरुको अभियान र गतिविधिबीच रुप र सार नै नमिलेको जस्तो देखिन जान्छ नि?

हाम्रैबीचबाट नेतृत्वको उम्मेदवार चयन गर्ने सन्दर्भमा गृहकार्य भइरहेको छ। हाम्रो जुन वैचारिक समूह छ। त्यसमा अरु साथीहरु पनि आइरहनुभएको छ। र, उस्तै परे हामीभित्रैबाट नेतृत्व निस्कन सक्दैन भन्न सकिँदैन। सम्भावना ढोका खुलै राखेका छौं। तथापि हामीले एकपटक अग्रजलाई छोडौं भनिरहेका छौं। १४ औं महाधिवेशनमा अग्रजलाई मानौं भनेर छलफल भइरहेको छ। तर, हामी भित्रैबाट नेतृत्व लिएर जानै हुन्न भन्ने कुरा पनि भएको छैन। त्यसैले जसरी युवाहरु गुट–गुटमा विभक्त हुन्छन् भन्ने होइन। हाम्रो भित्र गहन छलफल चलिरहेको छ।

भनाइको अर्थ तपाईंहरुको वैचारिक समूह १४ औं महाधिवेशनमा एकढिक्का हुन्छ र एउटै प्यानलमा हुन्छ होइन त? 

सकेसम्म। सम्भव भएसम्म एउटै समूहमा रहन्छौं। किनभने हामीले पार्टीलाई रुपान्तरण गर्न पार्टीभित्र दस्ताबेजहरु बुझाएका छौं। दृष्टिकोण दियौं। नयाँ–नयाँ प्रस्तावहरु राख्यौं। पार्टीमा त्यो प्रताव राख्नेहरु एक ठाउँमा उभिएर अघि बढ्नुपर्छ भन्ने हाम्रो निर्क्योल छ। त्यहाँबाट छिन्नभिन्न भएर अघि बढ्दा रुपान्तरण खोज्न सकिँदैन भन्ने पनि राम्रैसँग थाहा छ। त्यसो भएपछि हामी एक ठाउँमा हुन्छौं। 

जसरी यहाँले अग्रजलाई एकपटकका लागि छोड्ने भन्नुभयो। अग्रजहरुबाट तपाईहरुको नेतृत्व जसले गर्छ। त्यस्तो नेता छनौटका मापदण्ड के हुन सक्लान्? 

हाम्रो दृष्टिकोण, योजना र एजेन्डा बोक्ने नेतालाई नै हामीले नेतृत्वमा लिएर अघि बढ्ने हो। एजेन्डा मिल्नुपर्छ, कार्यशैली मिल्नुपर्छ। हाम्रो दृष्टिकोणलाई वास्तै नगर्ने वा घमण्डले ओतप्रोत भएको नेताहरुलाई लिएर अघि बढ्न सकिँदैन। किनभने हामीले अहिलेसम्म राखेका प्रस्तावहरु पार्टीमा कार्यान्वयन भइदिएको भए उहाँहरुलाई नै नेता मानेर अघि बढ्थ्यौं। तर, अहिलेसम्म कार्यान्वयन भएको छैन। भनेपछि अब पनि हामीले हाम्रो कुरै नसुन्ने सभापति बनाएर अघि बढ्नु हामीलाई आवश्यक छैन। हाम्रो व्यक्तिगत स्वार्थको कुरा सुन्नुस् भनेको होइन। कमसेकम पार्टीगत हित र देशहितको स्वार्थमा हामीले जे एजेन्डा प्रस्तुत गर्छौं। त्यसलाई सुन्ने खालको नेतृत्व चाहिन्छ।

खासगरी वडा तहका अधिवेशन भइरहँदा नेताहरुले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरिरहनुभएको छ। तपाईंले चाहिँ के पदमा उम्मेदवारी दिने तयारी गर्नुभएको छ?

मेरो कुरा प्रष्टै छ। म महामन्त्री पदको उम्मेदवार हुँ। मैले साथीभाइहरुका बीचमा भनिरहेको छु। म ११ वर्षदेखि केन्द्रीय समितिको सदस्य छु। ११ वर्षसम्म सुझावकर्ता जस्तो भइयो। धेरै राम्रा–राम्रा सुझाव नेतृत्वलाई दिइयो। तर, ती सुझावहरु कार्यान्वयन भइदिए पनि हुन्थ्यो। तर, कार्यान्वयन भएन। त्यसैले आफूले दिएका सुझाव कार्यान्वयन नभएको देख्दाखेरी अब निर्णयार्थ प्रस्तुत गर्ने ठाउँमा अर्थात् महामन्त्री बन्ने हो र आफूले राख्ने एजेन्डाहरु त्यहाँबाट पारित गरेर देशहित र जनहितका लागि लागू गर्ने हो। 

अहिले प्यानल बनिनसक्दै, प्यानलको नेतृत्व कसले गर्छ भन्ने टुंगो नलाग्दै महामन्त्रीमा उम्मेदवारी घोषणा तपाईंलगायत नेताहरुले गरिरहनुभएको छ। तपाईंचाहिँ कुन टिमबाट लड्नुहुन्छ वा तपाईं कसको महामन्त्री बन्नुहुन्छ? यसको सिन क्लियर छैन। यसबारे केही खुलाउन मिल्छ? 

यसरी महामन्त्रीमा उम्मेदवारी दिने कुरालाई म सहज रुपमै लिन्छु। नेताहरुले सभापतिमा लड्छु भन्ने कुरालाई सहज रुपमा लिने र महामन्त्री लड्छु भन्ने कुरालाई असहज ढंगबाट लिन आवश्यक छैन। मैले अघि नै परम्परागत गुटहरु भत्किनुपर्छ भनिसकेपछि अब हामीले महामन्त्री लड्छु भन्दा असहज रुपमा लिन हुँदैन। हामीले आ–आफ्ना कुरा राखेका छौं। र, त्यसमा पनि हाम्रो एउटा वैचारिक समूह छ। त्यसले सबै साथीहरुको व्यवस्थापन गर्छ र हामी त्यो प्रयास गर्छौ। अब रह्यो मेरो टिमको कुरा। मैले बोकेका एजेन्डा सम्बोधन गर्ने खालको टिम हुन्छ। मैले पार्टीभित्र न्यायोचित व्यवस्थापनको कुरा गरिरहेको छु।

किनभने पार्टीको व्यवस्थापन गर्न नसक्ने नेताले देशको व्यवस्थापन गर्न सक्दैन। आफ्नो पार्टी चलाउन नसक्ने नेताले देश चलाउन सक्दैन। त्यसैले पार्टी चलाउने हैसियत बनाउनुपर्छ र त्यस्तो हैसियत बनाउनका लागि पार्टीभित्र न्यायोचित व्यवस्थापन हुनुपर्छ। कसैप्रति अन्याय गर्न हुँदैन। मैले लगातार भ्रष्टाचार विरोधी अभियान चलाउनुपर्छ भन्दै आएको छु। किनभने यो मुलुक नचलेकै भ्रष्टाचारका कारणले हो। त्यो भ्रष्टाचार विरोधी अभियानलाई साथ दिने नेतृत्व लिएर अघि बढ्ने हो। त्यसैले एजेन्डा जोसँग मिल्छ, त्यो हाम्रो सभापति हुन्छ। अहिले हामी उठ्छौं भनेर जति नेताहरुले भन्नुभएको छ, त्यसमा पनि हामी केलाउँदैछौं। अहिले नै किन भन्नुपर्यो र? 

मेरो कुरा प्रष्टै छ। म महामन्त्री पदको उम्मेदवार हुँ। मैले साथीभाइहरुका बीचमा भनिरहेको छु। म ११ वर्षदेखि केन्द्रीय समितिको सदस्य छु। ११ वर्षसम्म सुझावकर्ता जस्तो भइयो। धेरै राम्रा–राम्रा सुझाव नेतृत्वलाई दिइयो। तर, ती सुझावहरु कार्यान्वयन भइदिए पनि हुन्थ्यो।

क्रियाशील सदस्यताको सूची हेर्दा युवाहरुको बाहुल्य देखिन्छ। वडा तहमा पनि युवा धमाधम निर्वाचित भइरहेका छन्। महाधिवेशन प्रतिनिधि पनि धेरै युवा नै हुने देखिन्छ। युवा नेता भनिएका तपाईंहरु धेरै जना महामन्त्रीमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। यसको खास संकेत वा अर्थ के हो? 

वडा तहमा युवाहरु आउनु सकारात्मक सन्देश हो। किनभने बीपी कोइरालाले ३३ वर्षको उमेर पार्टी स्थापना गर्नुभएको थियो। उहाँले ३६–३७ वर्षको उमेरमा क्रान्ति छेड्नुभयो र ४४–४५ वर्षको उमेरमा प्रधामन्त्री बन्नुभयो। भनेपछि त्यही बीपीका हामी अनुनायी हौं। हामी त ४४ होइन, ५० देखि ६० वर्ष हाराहारीमा पुग्न लाग्यौं। सभापति देउवा र वरिष्ठ नेता पौडेल पनि ५० वर्षको हाराहारीमा प्रधामन्त्री, सभामुख भइसक्नुभएको थियो। भनेपछि अहिले हामीलाई केटाकेटी देख्न हुँदैन।

हामीसँग जोश, जाँगर, साहस, दृष्टिकोण सबै कुरा अहिले छ। बुढ्यौली लागेसँगै हामीसँग भएका सबै कुरा डिरेल हुँदै जान सक्छ। यो प्राकृतिक कुरा हो। सबै मोहम्मद महाथिर हुँदैनन्, जसले ९१ वर्षमा पनि देश चलाउन सकोस्। सबै गिरिजाप्रसाद हुँदैनन्, जसले ८४–८५ वर्षको उमेरमा पनि मुलुकलाई शान्ति प्रक्रियामा ल्याउन सकोस्। सबैसँग त्यो क्षमता हुँदैन। त्यसैले हाम्रो पनि उमेर त पाको भइसकेको छ। हामीले अब यो ढंगबाट हेर्दा हामी सिंगो पार्टी चलाउने हैसियत राख्छौं भने महामन्त्रीको के कुरा। अहिले हामी माथि ठूलो दबाब छ। तपाईंहरुबीचबाटै सभापति पनि बन्नुस् भन्ने दबाब छ। तैपनि एकपटक अग्रजहरु मध्येबाट हेरौं कि भन्ने कुरा न हो। 

यसको मतलब १४ औं महाधिवेशनमा अग्रजलाई छोड्ने र १५ औं महाधिवेशनबाट कांग्रेसको नेतृत्व तपाईंहरुको पुस्तामा ल्याउने योजनामा हुनुहुन्छ होइन त? 

त्यो त छेकेरै छेकिन्न। कसैले छेक्नै सक्दैन। १५ औं महाधिवेशनमा हाम्रो पुस्ता नेतृत्वमा आउँछ–आउँछ। अहिले नै यति ठूलो दबाब छ भनेपछि आगामी महाधिवेशनमा हामी सजह ढंगबाट पुग्छौं। 

अहिले सभापति र महामन्त्रीको दाबी गरिरहनुभएका तपाईं अधिकांश नेविसंघको पृष्ठभूमिबाट आउनुभएको छ। अहिले नै पार्टीको नेतृत्व नेविसंघको पूर्वअध्यक्षले गर्नुभएको छ। तर, नेविसंघ त अहिले जीवन–मरणको दोसाँधमा छ। यसलाई कसरी लिनुहुन्छ? 

यो दुर्भाग्य हो। अहिलेका पार्टी सभापति नै नेविसंघका पूर्वअध्यक्ष हुनुहुन्छ। तर, अहिले नेविसंघको अवस्था हेर्ने हो भने यसले पूर्णता पाएको छैन। मैले यही सन्दर्भमा केन्द्रीय समिति बैठकमा भनेको थिएँ। २०५३ सालमा नेविसंघको केन्द्रीय अध्यक्ष बन्दै गर्दा २७ सदस्यीय केन्द्रीय समितिको लिस्टमा एक जनाको नाम पनि तलमाथि नगरी गिरिजाबाबु र किसुनजीसँगै बसेर घोषणा गर्नुभयो। त्यो हैसियत राख्नुपर्यो नि नेताहरुले। मान्छेको पनि भागबण्डा लाउने हो? बडो गज्जब छ। अहिलेका नेताहरुलाई हेर्दा म बडो छक्क पर्छु। मान्छे पनि भागबण्डा लाग्छ? कांग्रेस एउटा घर र हामी एउटा परिवार हौं भन्ने कुरा त बुझ्नुपर्यो नि नेताहरुले। कांग्रेसभित्र तेरो र मेरो गर्ने हो? यही दुर्भाग्य हो। त्यही भएर नेविसंघले पूर्णता पाएको छैन। 

यसको मतलब सभापति देउवाले आफ्नो पृष्ठभूमि बिर्सनुभयो र जसका कारण नेविसंघ यो अवस्थामा आइपुग्यो भन्ने हो? 

देउवाले पनि र रामचन्द्र पौडेलले पनि। उहाँहरुले आफूले नेतृत्व लिएको इतिहास बिर्सनुभएको छ। नेतामा निर्णय दिन सक्ने क्षमता पनि हुनुपर्छ नि। निर्णय दिन नसक्ने मान्छेले गर्दा सिंगो पार्टी डुब्न सक्छ। अहिले हेर्नुस् त नेविसंघको हालत ! यो के कारणले भएको भन्दा निर्णय दिन नसक्ने क्षमताका कारणले हो। तरुण दल हेर्नुस्, चार जनाले चलाइरहेका छन्। त्यसले पनि पूर्णता पाएको छैन।

१४ औं महाधिवेशनपछिको कांग्रेसका बारेमा कल्पना गरौं। अबको कांग्रेस कस्तो हुनुपर्छ, कसको हुनुपर्छ?  

१४ औं महाधिवेशनपछि कांग्रेस इतिहासमै एकपटक सम्झनलायकको कांग्रेस हामी बनाउँछौं। अहिले फोटो र नारामा सीमित भएको बीपीको अनुहारलाई हामी कार्यान्वयनमा लिएर अघि बढ्छौं। २०१५ देखि २०७८ सालसम्म आइपुग्दा कांग्रेसको लोकप्रिय मत भनेको ३० देखि ४० प्रतिशतका बीचमा अल्झिएको छ। १४ औं महाविधेशनपछि हामी १५ लाख मतदाता थप्छौं। जनताको मन जितेर मतदाता थप्छौं र ५१ प्रतिशतको कांग्रेस बनाउँछौं। 

१४ औं महाधिवेशनपछि कांग्रेस इतिहासमै एकपटक सम्झनलायकको कांग्रेस हामी बनाउँछौं। अहिले फोटो र नारामा सीमित भएको बीपीको अनुहारलाई हामी कार्यान्वयनमा लिएर अघि बढ्छौं।

२०७४ सालको निर्वाचनबाट कांग्रेस अंकगणितका हिसाबले कमजोर बनेको थियो। तर, प्रकारान्तरले दुई तिहाई बहुमत नजिकको तत्कालिन नेकपाको सरकारलाई विस्थापित गरेर कांग्रेस सत्तामा पुगेको छ। सरकार गठन भएको दुई महिना बितेको छ। सरकारको यो अवधिलाई कसरी मूल्यांकन गर्नुहुन्छ? 

झन्डै दुई तिहाईको सरकार किन ढल्यो भन्दा तत्कालिन नेकपाभित्र न्यायोचित व्यवस्थापन भएन। मैले यो कुरा अघि पनि गरिसकेको छु। हामीले सरकारको नेतृत्व गर्छौं भनेर सोचेकै थिएनौं। हामी त ५ वर्षका लागि प्रतिपक्षमै बस्न तयार थियौं नि। नेकपाले थेग्न सकेन र हामी सरकारमा पुगेका हौं। अहिले गठबन्धनको सरकार बनेको छ। यो सरकार पनि ओलीको पदचापमा हिँड्न हुँदैन। अहिलेसम्म सरकारले पूर्णता पाएको छैन। यो त दुर्भाग्य नै हो नि। ओलीकै पदचापमा हिँड्न खोज्दा फेरि अर्को दुर्भाग्य निम्तन थालेको छ। चाहे दुई महिना प्रधानमन्त्री हुनुस् चाहे चार महिना हुनुस्। राम्रो काम गर्नस्, जनताका लागि र देशका लागि काम गर्नुस्। सत्ता टिकाउनका लागि जालझेल गर्नु पर्दैन। ओलीकै पदचापमा अहिलेको सरकारको नेतृत्व आफ्नो पाइला अघि सार्दा नेपाली जनताले दुई महिनासम्म पूर्ण मन्त्रिमण्डल देख्न पाएका छैनन्। जुन कुरा गर्न हुँदैन त्यही कुरा सिंहदरबार पुगेर त्यही गर्नुपर्छ भन्ने होइन। 

एमसीसीदेखि मुलुक बजेटविहीन हुने अवस्था, तक्मा वितरण लगायतका क्रियाकलापले सरकार आलोचित बनेको छ। यसरी नै आलोचना बढ्दै जाने हो भने तपाईंले अघि भनेजस्तो ५१ प्रतिशतको कांग्रेस बन्न सम्भव होला र? 

मैले त १४ औं महाधिवेशनपछिको कांग्रेस ५१ प्रतिशतको हुन्छ भनेको हो। त्यो कांग्रेस हामी बनाउँछौं। हामी नेतृत्वमा पुगेपछि त्यो कुरा गरेको हो। यसो भन्दैमा अहिले जे गरेपनि गरुन् भनेको होइन। सुझाव त हामीले दिइरहेकै छौं। प्रधानमन्त्रीजीलाई सुझाव दिइरहेका छौं। राम्रो सुझाव दिइन्छ। तर, त्यो कार्यान्वयन हुँदैन।

अहिलेको सरकारलाई चुनावी सरकार पनि भनिन्छ। १४ औं महाधिवेशनपछि सभापति जसले जिते पनि प्रधानमन्त्री निर्वाचन नहुन्जेलसम्म देउवा नै रहने होला। सरकारका गतिविधिले आउँदै गरेको निर्वाचनलाई पक्कै असर त गर्छ नि? 

अहिले केन्द्रीय सदस्य भएर सुझाव दिइरहेको छु प्रधानमन्त्रीलाई। १४ औं महाधिवेशनपछि महामन्त्री भएँ भने त केन्द्रबाट निर्णय गरेर पठाइदिन्छौं। यो–यो काम गर भनेर निर्देशन दिन्छौं नि। पार्टीले दिएको कुरा त मान्नुपर्यो नि त। सभापतिज्यू प्रधानमन्त्री भएपछि हामीले उहाँलाई भेट्यौं। तपाईंले भ्रष्टाचारका ठूला काण्डको छानबिन सुरु गर्नुस् भनेर मैले भनेको थिएँ। त्यो त सुझाव हो। केन्द्रीय समितिमा पनि मैले त्यो सुझाव राखेँ। अहिलेसम्म भ्रष्टाचारको कुनै ठूलो काण्ड छानबिन थाल्नुभएको छैन। तर, १४ औं महाधिवेशनपछि आफैं सचिवालयको प्रमुखमा पुगेपछि पार्टीले निर्णय गर्छ। पार्टीले निर्देशन दिन्छ। यस्ता थुप्रै एजेन्डा छन्, जुन कुरा गर्दा कांग्रेस पपुलिस्ट पनि हुन्छ र जनताका लागि राम्रो हुन्छ। पहिलो हाम्रो जिम्मेवारी देश र जनहितको कुरा गर्छौं। त्यो गर्नेबित्तिकै कांग्रेस यत्तिकै माथि आउँछ नि।


प्रकाशित: September 21, 2021 | 16:30:00 काठमाडौं, मंगलबार, असोज ५, २०७८
तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

काठमाडौं, मंगलबार, असोज ५, २०७८

थप समाचार

महेन्द्रले रूस भ्रमण गरेपछि नेपालमा कम्युनिस्ट गतिविधि बढ्यो [हिमालयशमशेर जबराको संस्मरण]

काँधमा ठूलो जिम्मेवारी आएपछि मैले नअत्तालीकन आफ्नो भूमिका निर्वाह गरें। तर पछि राजाका आसेपासेका कारण महेन्द्र र मबीचको दूरी बढ्न थाल्यो।

सरकारको नेतृत्व गरिरहेका दलले नै गुप्तचरलाई कमजोर बनाए : पूर्वएआईजी देवराज भट्ट [अन्तर्वार्ता]

स्वाभाविक ढंगले नेतृत्व विकास हुन नदिने, स्वाभाविक ढंगले जनशक्ति परिचालन गर्न नदिने, कर्मचारीको वृत्ति विकासका लागि नसोच्‍ने, संगठनको विकासभन्दा पनि आफ्नो स्वार्थ अनुकूल संगठनलाई प्रयोग गर्ने राजनीतिज्ञहरुको प्रवृत्तिले सुरक्षा संयन्त्रमा हस्तक्षेप बढेको छ।

महिलाका नाममा जाने ७० प्रतिशत कर्जामा पुरुषकै हालीमुहाली छ : कृष्णबहादुर अधिकारी [अन्तर्वार्ता]

सरकारले महिला उद्यमीका लागि दिने कर्जामा १ प्रतिशत बढी ब्याज अनुदान दिएको छ भने कर्जाको सीमा पनि १५ लाख रुपैयाँ छ। कतिपय पुरुषले कर्जा रकम पनि धेरै भएकाले महिलाका नाममा कम्पनी खोलेर काम गरिरहेका छन्।

मन्त्रिपरिषद् विस्तारमा विलम्ब गरेर विदेशीलाई चलखेल गर्न दिनु हुँदैन : डा. दिनेश भट्टराई [अन्तर्वार्ता]

स्वभावत: हुने प्रक्रियालाई पनि बाहिरको भन्‍ने दृष्टिकोण निर्माण गर्ने प्रवृत्ति भएका कारण त्यस्तो हल्ला गर्ने र मन्त्रिपरिषद्‌मा भइरहेको विलम्बसँग जोड्‍ने गरेको हुन सक्छ। विगत सरकारका क्रियाकलाप हेर्ने हो भने पनि तपाईंले भनेको कुरालाई पूर्ण अस्वीकार गर्न सकिँदैन।

हाम्रो पुस्ताले देश हाँक्ने बेला भइसक्यो, आकांक्षी नमिले सभापतिको उम्मेदवार हामी तोक्छौं : गुरुराज घिमिरे [अन्तर्वार्ता]

महाधिवेशन सुनिश्चित गर्ने जिम्मेवारी छोडेर अहिले नै म फलानो पदमा उठ्छु भनेर ज्यादा शक्ति खर्च गर्ने बेला भइसकेको छैन। समय आएपछि त्यो विषयमा म पनि बोलौंला।

राष्ट्र बैंकको पैसा वाणिज्य बैंकमा सार्नेबित्तिकै तरलताको समस्या हट्छ : भुवनकुमार दाहाल [अन्तर्वार्ता]

बैंकहरुको आइडल फन्ड राष्ट्र बैंकमा छैन। उनीहरुले विभिन्न ऋणपत्रमा लगानी गरिरहेका छन्। आफूसँग आइडल रकम नभएपछि बैंकहरुले ऋणपत्र धितो राखेर ५ प्रतिशतमा राष्ट्र बैंकबाट ऋण लिनुपर्‍यो। बैंकहरुमा अहिले तरलताको अभाव नभएर आइडल फन्डको दबाब मात्र हो।

ट्रेंडिंग

नेपाल समय
समाज

४४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ

४४ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा बन्दीपुर गाउँपालिका-२ पौवा बस्‍ने १७ वर्षीय किशोर पक्राउ परेका छन्।
नेपाल समय
शिक्षा

१२ पछि के पढ्ने? यस्ता छन् विकल्प

१२ पछि के पढ्ने? विकल्प धेरै छन् भविष्य खोज्दै विद्यार्थी
नेपाल समय
फुटबल

साफ फाइनलमा नेपाल भारतसँग पराजित

साफ च्याम्पियनसिपअन्तर्गत शनिबार माल्दिभ्सको राजधानी मालेमा भएको फाइनलमा भारतले नेपाललाई ३–० गोलले पराजित गर्दै उपाधि जितेको हो।
नेपाल समय
फुटबल

साफ फाइनल : नेपालको सुरुवाती ११ सार्वजनिक

गोलरक्षकमा कप्तान किरण चेम्जोङले नै निरन्तरता पाएका छन्। डिफेन्डरतर्फ अनन्त तामाङ र दिनेश राजवंशीले सेन्टर डिफेन्स तथा विंगब्याकमा गौतम श्रेष्ठ र सुमन अर्याल खेल्नेछन्।
नेपाल समय
विदेश

दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शन

बंगलादेशमा दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शनहरु भएका छन्। शुक्रबार हिन्दु मन्दिर र दुर्गा पूजा पण्डालमा तोडफोड भएपछि राजधानी ढाका र नोआखालीमा प्रदर्शनहरु भएका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C