सोमबार, मंसिर १३, २०७८
  • गृहपृष्ठ
  • संवाद
  • हाम्रो पुस्ताले देश हाँक्ने बेला भइसक्यो, आकांक्षी नमिले सभापतिको उम्मेदवार हामी तोक्छौं : गुरुराज घिमिरे [अन्तर्वार्ता]

हाम्रो पुस्ताले देश हाँक्ने बेला भइसक्यो, आकांक्षी नमिले सभापतिको उम्मेदवार हामी तोक्छौं : गुरुराज घिमिरे [अन्तर्वार्ता]

तीर्थराज बस्नेत  |  काठमाडौं, शनिबार, असोज २, २०७८

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

शनिबार, असोज २, २०७८, काठमाडौं

नेपाल समय

नेपाली कांग्रेसको १४औं महाधिवेशनको प्रक्रिया सुरु भइसकेको छ। ५७ जिल्लामा वडा अधिवेशन सकिएका छन्। त्यसमध्ये डडेल्धुरामा बल प्रयोग गरेर अधिवेशन गरिएको भन्दै संस्थापन इतर समूहले विरोध जनाएको छ। पुनः वडा अधिवेशन हुनुपर्ने माग इतर समूहको छ। बाँकी २० जिल्लामा क्रियाशील सदस्यता विवादका कारण वडा अधिवेशन हुन सकेको छैन। असोज ५ गतेका लागि ती जिल्लामा वडा अधिवेशन गर्ने तयारी छ। 

महाधिवेशनको पूर्वसन्ध्यामा नेताहरुले आ–आफ्नो उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ। संस्थापन इतर समूहबाट सभापतिको उम्मेदवार चयन गर्ने कसरतमा छ। तर, आकांक्षीहरु आ–आफ्नै अडानमा छन्। यस्तो अवस्थामा संस्थापन इतर समूहबाट सभापतिको साझा उम्मेदवार चयन होला?  अझै क्रियाशील विवाद नमिल्दा असोज ५ गते वडा अधिवेशन हुने सम्भावना कति छ? महाधिवेशनपछि कांग्रेस कस्तो होला? यी र यस्तै विषयमा केन्द्रित रहेर कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेसँग तीर्थराज बस्नेतले गरेको कुराकानीको सम्पादित अंश :

१४ औं महाधिवेशनको प्रक्रिया सुरु भइसकेको छ। तर, वडा अधिवेशन एकैसाथ हुन सकेन। अझै २० जिल्लामा वडा अधिवेशन हुन सकेको छैन। एकातिर वडा अधिवेशन भइरहने अर्कोतर्फ क्रियाशील सदस्यताको विवाद पनि नटुंगिने, किन यस्तो भएको हो?  

नेपाली कांग्रेसमा स्थापित परम्परा यसपटक खण्डित भयो। क्रियाशील सदस्यताको टुंगो लगाइसकेपछि सबै जिल्लाको सदस्यताको सूची प्रकाशित गर्ने र वडा अधिवेशन प्रारम्भ गरेर केन्द्रीय महाधिवेशनसम्म तालिकाअनुरुप सम्पन्न गर्ने हाम्रो स्थापित परम्परा हो। यसपटक त्यो पालना भएन। पहिला ५७ जिल्लाको सूची प्रकाशित भयो र वडा अधिवेशन सम्पन्न भयो। त्यसमा डडेल्धुराको विवादित बन्यो। २० जिल्लाको अधिवेशन सम्पन्न हुन सकेको छैन। सात जिल्लाको क्रियाशीलको सूची प्रकाशित भयो। अन्य जिल्लाको सूची प्रकाशित गर्न बाँकी छ। त्यसैले आन्तरिक अव्यवस्थापन नै यसको मुख्य कारण हो। हामीले क्रियाशील सदस्यताका विषयमा उठेका विवादलाई यथोचित सम्बोधन गर्न सकेनौं। समयभित्रै हामीले विवाद सम्बोधन गर्न सकेको भए सबै सूची समयमै प्रकाशित गर्न सकेको भए यस्तो अवस्था आउँदैन थियो। तथापि केही जिल्लाको वडा अधिवेशन सम्पन्न भएको छ। त्यहाँ महाधिवेशनको प्रक्रिया सुरु भएको छ। केही जिल्लाको चाहिँ प्रकाशन हुने क्रममा छ। र ५ गते वडा अधिवेशन तोकिएको छ। त्यसपछि संशोधित कार्यतालिकाअनुसार नै महाधिवेशन प्रक्रिया अघि बढ्छ।  

भदौ ५ गते बाँकी जिल्लामा वडा अधिवेशन हुने भनिएको छ। तर, अहिलेसम्म निश्चित छैन। भदौ ५ मै बाँकी जिल्लामा वडा अधिवेशन भएर पालिका र जिल्ला अधिवेशन हुनेमा आशंका त कायमै छ नि हैन? 

शंका गर्ने ठाउँ छ। किनभने विगतमा गरिएका शंका सही साबित भए। अधिवेशन पछि सर्ला कि अधिवेशन नहोला कि, समयमै विवाद समधान नहोला कि भन्ने जुन शंका थिए– ती शंका सही प्रमाणित भए, त्यसैले अहिले पनि शंका गर्ने ठाउँ छ। सूची प्रकाशित नभएका १३ र भर्खरै सूची प्रकाशित भएका सात गरेर २० जिल्लाको वडा अधिवेशन ५ गते नहोला कि? र ५ गते वडा अधिवेशन भएन भने गाउँपालिकादेखि केन्द्रसम्मको महाधिवेशन प्रभावित होला कि भन्ने शंका गर्ने प्रशस्त आधार छन्।

पार्टीभित्रको व्यवस्थापकीय पक्षको ठूलो कमजोरी हो। विधानले गरेको व्यवस्थाअनुसार हामीले समयमै क्रियाशील सदस्यताको विवाद टुंग्याउन सकेको भए। अर्थात् महाधिवेशनको वर्ष क्रियाशील सदस्यता नवीकरण र वितरण गर्न पाइँदैन। विधानको व्यवस्था यही हो। महाधिवेशनको वर्ष भनेको चौथो वर्ष हो। एउटा महाधिवेशन सकिएको पहिलो वर्ष, दोस्रो वर्ष र तेस्रो वर्ष हामीले सदस्यको नवीकरण गर्ने हो। र, नयाँ वितरण गर्ने समय हो। महाविधेशनको वर्षचाहिँ त्यो काम गर्न पाइँदैन। तर, हामीले महाधिवेशनको वर्ष सबै काम गर्छौं। यस पटक एकतिर कोभिड महामारी र अर्कोतिर अन्य पार्टीबाट आएका साथीहरुको ठूलो संख्या। लोकतान्त्रिक फोरम, राप्रपा र अन्य पनि विभिन्न पार्टी छोडेर आएका केन्द्रीय स्तरदेखि स्थानीय स्तरसम्मका नेताहरुको व्यवस्थापन गर्नुपर्ने थियो। उहाँहरुसँगै आएका साथीहरूलाई क्रियाशील दिनुपर्ने थियो। त्यसले गर्दा कामको चाप बढ्यो। त्यसैले पनि व्यवस्थापनमा कमजोरी देखियो।

हामीले पार्टी सञ्चालन गर्ने विधि निर्माण गरेका छौं। मूलतः हाम्रो पार्टी सञ्चालन गर्ने विधान छ। त्यसले पार्टी सञ्ंचालन गर्ने बाटो देखाएको छ। त्यसलाई हामीले अक्षरसः पालना गर्नुपर्छ। तर,हामीले पालना गर्दैनौं। आफ्नो अनुकूल नतिजा निकाल्न खोज्छौं। त्यसैले यो समस्या बारम्बार आउँछ र यस पटक पनि आएको हो।

हाम्रो आन्तरिक व्यवस्थापन प्रणाली परम्परागत छ। युग धेरै अघि बढिसक्यो। युग सापेक्ष आन्तरिक व्यवस्थापकीय प्रणाली हामीले बनाउन सकेका छैनौं। नेतृत्वले आफ्नो इच्छाअनुसार कार्यालय सञ्चालन गर्ने परम्परा छ। तर विधानले निर्दिष्ट गरेको प्रक्रियाअनुसार चलाउने हो। त्यसअनुसार चलाउन हामी अभ्यस्त भइसकेका छैनौं। त्यसैले पनि समस्या आयो। त्यसैले आजको मितिसम्म पनि क्रियाशील सदस्यता विवादले महाधिवेशन प्रक्रिया अवरुद्ध भइरहेको छ। 

महाधिवेशन पार्टी जीवनका लागि पनि नियमित र महत्त्वपूर्ण हुँदाहुँदै पनि समान्य प्रक्रिया हुनुपर्ने हो। तर, कांग्रेसमा महाधिवेशन गर्न ठूलै महाभारत भयो नि हैन?  

लोकतान्त्रिक शासन प्रणाली भनेको जनताको सहभागितामा आधारित प्रणाली हो। जनता सरिक भएन भने लोकतान्त्रिक प्रणाली सार्थक हुँदैन। लोकतान्त्रिक प्रणालीमा क्रियाशील राजनीतिक दल पनि कार्यकर्ताको सहभागितामा आधारित दलहरु हुन्। ती दलका गतिविधि आमकार्यकर्ताका सरोकारका विषय हुन्। विगतमा प्रकाशित सूचीअनुसार ८ लाख ५२ हजार ७११ क्रियाशील सदस्य छन्। ७७ वटै जिल्लाको अन्तिम सूची प्रकाशन भइसक्दा केही संख्या बढ्ला। यी हाम्रा पार्टीका आधारस्तम्भ हुन्। यी साथीहरुको सहभागितामा नेतृत्व चयनदेखि लिएर नीति निर्माणसम्म हुनुपर्छ। 


हाम्रो पार्टीभित्र सबै गतिविधि नेतृत्वको निजी मामिला जस्तो छ। पार्टीका आन्तरिक आयोजना नेतृत्वको निजी मामिला होइन। यो त पार्टीका आमसाथीहरुको साझा मामिला हो। यो नेताहरुको घरेलु मामिला पनि होइन। यसलाई निजी र घरेलु मामला बनाउन खोज्दा र नेतृत्वको प्रभावबाट सञ्चालन गर्न खोज्दा यी समस्या आउँछन्। हामीले पार्टी सञ्चालन गर्ने विधि निर्माण गरेका छौं। मूलतः हाम्रो पार्टी सञ्चालन गर्ने विधान छ। त्यसले पार्टी सञ्ंचालन गर्ने बाटो देखाएको छ। त्यसलाई हामीले अक्षरसः पालना गर्नुपर्छ। तर,हामीले पालना गर्दैनौं। आफ्नो अनुकूल नतिजा निकाल्न खोज्छौं। त्यसैले यो समस्या बारम्बार आउँछ र यस पटक पनि आएको हो। 

यहाँले अघि नै डडेल्धुराको प्रसंग पनि निकालिसक्नुभयो। जुन जिल्ला सभापति शेरबहादुर देउवाको हो। त्यहाँ प्रहरी लगाएर वडा अधिवेशन भएको भनिएको छ। तपाईंहरुले त्यसलाई मान्न नसकिने र फेरि वडा अधिवेशन गर्नुपर्ने माग गर्नुभएको छ। तर, संस्थापन पक्षले फेरि वडा अधिवेशन हुन नसक्ने बताएको छ। अब डडेल्धुराको विवाद कसरी सुल्झिएला? 

डडेल्धुरा ७७ जिल्लामध्ये एउटा जिल्ला हो। त्यो जिल्लाको अलि विशिष्ट महत्त्व छ। त्यहाँका जनप्रतिनिधि हाम्रो पार्टीको सभापति र प्रधानमन्त्री हुनुहुन्छ। प्रधानमन्त्रीको जिल्लामा कसरी अधिवेशन हुन्छ भनेर संसारले हेरिरहेको छ। हाम्रो क्रियाशील सदस्य बाँड्ने एउटा प्रक्रिया छ। नवीकरणको एउटा प्रक्रिया छ। जिल्ला कार्यसमितिले जिल्ला सभापतिले वडाबाट सम्पूर्ण प्रक्रिया पूरा गरेर केन्द्रमा नामावली पठाउने हो। तर, त्यो सूची तलमाथि गरेको पाइयो। जिल्ला कार्यसमितिका अनुसार जिल्लाबाट आएका ५ सय नाम काट्ने र केन्द्रबाट करिब चार सय नाम थप्ने काम भयो। योचाहिँ विधि र प्रक्रियासम्मत होइन भनेर जिल्ला सभापतिले भन्नुभएको छ।

पार्टीमा शास्त्रीय गुटहरु अर्थात् स्थापनाकालदेखिका सनातन गुट छन्। ती गुट मात्रै सर्वोपरि हुन् भन्ने कुराले गर्दा पार्टी एक प्रकारले जमेको पोखरीजस्तो भएको छ। यसलाई निकास दिन आवश्यक छ।

वास्तवमा उहाँको कुरा ठिक हो। वडाबाट प्रक्रिया सम्मत रूपमा आएका नामहरु छुटाउन, काट्न र बदल्न पाइँदैन। केही प्राविधिक त्रुटि, नामथर नमिलेको, क्रियाशील नम्बर तलमाथि भएको, बाबुको नाम नमिलेको, ठेगाना नमिलेको छ भने मात्रै हेर्ने हो। वडा, पालिका, क्षेत्र र जिल्ला कतै पनि विवाद छैन। सर्वसम्मतिबाट जिल्लाबाट आएका नाम काट्ने अधिकार कसैलाई पनि छैन। यसरी नाम काट्दै जाने हो भने यहाँ भद्रगोल हुन्छ, अराजकता फैलिन्छ। त्यसैले जिल्ला समितिले भनेको नाम काटेर, हटाएर केन्द्रबाट नाम थपेर जिल्ला समितिको सहमति बेगर अधिवेशन गराएर त्यही अधिवेशन अन्तिम हुन्छ भन्न पाइन्छ? त्यो गर्न पाइँदैन। त्यो अधिवेशनलाई जिल्ला कार्यसमितिले पनि मान्यता दिएको छैन। पार्टीका हामीले पनि मान्यता दिएका छैनौं र निर्वाचन समितिले पनि मान्यता दिनु हुँदैन। सभापतिको जिल्लामा त अनुकरणीय रूपमा हुनुपर्‍यो नि। त्यसले बाहिर सन्देश राम्रो दिँदैन। बल प्रयोग गरेर आफ्नो प्रभाव दुरुपयोग गरेर अधिवेशन गर्न मिल्दैन। 

वडा अधिवेशनका सन्दर्भमा देखिएका यस्ता विवाद, क्रियाशील सदस्यताको टुंगिन नसकेको विवादले महाधिवेशनको कार्यतालिका मिचिन थालेको छ। यसरी नै कार्यतालिका मिच्दै जाने हो भने त मंसिर ९–१३ मा केन्द्रीय महाधिवेशन होला र? 

महाधिवेशन कसैले टारेर टर्दैन। प्रक्रिया सुरु भइसक्यो। मंसिर ९–१३ गते महाविधेशन गर्ने भनेर मिति तोकेका छौं। त्यसमा दुईचार दिन तलमाथि भयो भने त्यो नयाँ कुरा होइन। वडा तहको प्रक्रिया सुरु भएर अघि बढिसकेपछि महाधिवेशन हुन्छ। त्यसमा कुनै संशय छैन। 

महाधिवेशनमा संस्थापन इतर समूहले साझा उम्मेदवार चयन गर्ने कसरत गरिरहेको छ। तर, अहिलेसम्म नेताहरु आ–आफ्नै अडानमा हुनुहुन्छ। साझा उम्मेदवार तय गरेर अघि बढ्ने सम्भावना कति छ?

यो सम्भावना एकदमै छ। किनभने लोकतान्त्रिक पार्टीमा क्रियाशील नेताहरुले केन्द्रीय नेतृत्वको जिम्मेवारी लिन्छु भनेर अग्रसरता देखाउनु स्वाभाविक हो। कांग्रेसमा ८–१० जना नेताले केन्द्रीय सभापति हुन्छु भन्नु कुनै अनौठो कुरा होइन। सधैंभरि पराम्परागत बाटोमै हिँडिरहनुपर्छ भन्ने पनि होइन। पार्टीमा शास्त्रीय गुटहरु अर्थात् स्थापनाकालदेखिका सनातन गुट छन्। ती गुट मात्रै सर्वोपरि हुन् भन्ने कुराले गर्दा पार्टी एक प्रकारले जमेको पोखरीजस्तो भएको छ। यसलाई निकास दिन आवश्यक छ। धेरै संख्यामा उम्मेदवारका आकांक्षी देखिँदा त्यसले पार्टीका साथीमा नयाँ जागरण र उत्साह ल्याएको छ। त्यसैले बढी उम्मेदवार हुनु अनौठो कुरा होइन। बढी उम्मेदवार देखिँदा आपसी प्रतिस्पर्धाले सही व्यक्तिलाई नेतृत्वमा पुर्‍याउने सम्भावना पनि हुन्छ। आमसाथीहरुले तौलिन्छन्, जोख्छन्। आफूलाई मन लागेको, मनले खाएको, पत्याएको, क्षमता भएको, नेतृत्व कौशल भएको व्यक्तिलाई सभापतिमा निर्वाचित गर्ने सम्भावना बढ्छ। 

अब एउटै उम्मेदवार हुने कि नहुने भन्ने कुरामा चाहिँ प्रयत्न भइरहेको छ। ७–८ जना आकांक्षी भएकोमा चार जनामा झर्नुभएको छ। १३ औं महाधिवेशनमा रामचन्द्र पौडेलले नेतृत्व गर्नुभएको समूहबाट चारजना हुनुहुन्छ। आकांक्षीहरुले अहिले एकप्रकारले चारमध्ये एक हुँदा ठिक छ भनेर भनिसक्नुभएको छ। पार्टी सभापतिको खेमाबाटै पनि अहिले तीन जना आकांक्षी देखिनुभएको छ। कृष्णप्रसाद सिटौलाले नेतृत्व गर्नुभएको धारबाट सिटौला आफैं उम्मेदवार देखिनुभएको छ। विगतमा कार्यकर्ताले यति धेरै उम्मेदवारको चाप व्यहोरेका थिएनन्। त्यसैले यो अनौठो देखिएको छ। तर, यसलाई हामीले अग्रगमन नै ठान्नुपर्छ। हाम्रो समूहका चारजना बीचमा उम्मेदवारीका सन्दर्भमा प्रशस्त छलफल भएको छ। प्रदेश अधिवेशन सकिएलगत्तै यसलाई टुंगो लगाउनुहुन्छ भन्ने विश्वास छ। 

रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइरालाले आफ्नो दाबी छोड्नुभएको छैन। उहाँहरुचीच सहमति हुने मिलन विन्दुचाहिँ के हुन सक्ला?

हिजो पनि हामीले प्रतिस्पर्धाबाट आएका नेतालाई स्वीकार गरेकै हौं। अब पनि प्रतिस्पर्धामा आएका नेतालाई स्वीकार्नुपर्छ। भोलि शेरबहादुर देउवा नै निर्वाचित भएर आउनुभयो, रामचन्द्र पौडेलले जितेर आउनुभयो वा विमलेन्द्र निधि या कृष्णप्रसाद सिटौला नै निर्वाचित भएर आउनुभयो भने पनि हामीले अन्यथा लिन हुँदैन। अब रह्यो पौडेल, सिंह र कोइरालाद्वयका बीचमा सहमति गरेर एक गराउने भन्ने कुरा। त्यसमा प्रयत्न भइरहकै छ। 

देउवा फेरि सभापतिको उम्मेदवार बन्छु भन्दै हुनुहुन्छ भनेपछि त रामचन्द्र पौडेल उम्मेदवार बन्न हुँदैन भन्नु त भएन। उहाँलाई रोक लगाउने कुरा त भएन। कुरा के हो भने पार्टीका नयाँ पुस्ताको मागलाई हेर्ने हो भने पुस्तान्तरण हुनुपर्छ

हामीले वरिष्ठ नेता पौडेललाई भनेका छौं– तपाईंसँग दुईवटा विकल्प छन्। एउटा–प्रत्यासीहरुलाई मिलाएर आफू सभापतिको उम्मेदवार बन्ने। देउवा फेरि सभापतिको उम्मेदवार बन्छु भन्दै हुनुहुन्छ भनेपछि त रामचन्द्र पौडेल उम्मेदवार बन्न हुँदैन भन्नु त भएन। उहाँलाई रोक लगाउने कुरा त भएन। कुरा के हो भने पार्टीका नयाँ पुस्ताको मागलाई हेर्ने हो भने पुस्तान्तरण हुनुपर्छ। तथापि हामीले के भनेका छौं भने पौडेलले सबैलाई मनाएर आफू सभापतिको उम्मेदवार बन्नुहुन्छ भने हामीलाई त्यो स्वीकार्य छ। 

दोस्रो कुरा– सबैलाई मनाएर उहाँ उम्मेदवार बन्न सक्नुभएन भने उहाँले नै आफूलाई उम्मेदवारीको दौडबाट बाहिर राखेर बाँकी उम्मेदवारहरुको सहमतिमा एक जनालाई तोक्नुपर्छ। यसमा पनि हामी मन्जुर छौं। यी दुवै काम हुन सक्दैन भने सभापतिको उम्मेदवार हामी तोक्छौं। पार्टीभित्र काम गर्दै आएका र १३ औं महाविधेशनपछि एउटा विचार समूह बनाएर काम गरिरहेका हामी १२–१४ जना युवा नेताहरुले उम्मेदवार तोक्छौं। यो कुरा हामीले आकांक्षीहरुबीचमा पनि भनेका छौं। 

सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति तपाईंहरु पहिलेदेखि नै आक्रामक हुनुभयो। देउवाको विकल्प खोज्ने कुरामा पनि तपाईंहरु सहमत हुनुहुन्छ। तर, विकल्प दिनचाहिँ किन रडाको चलिरहेको छ? 

विकल्प म हुन सक्छु भन्ने नेताहरु धेरै हुनुभयो नि त। देउवाको विकल्प म छु भनेर रामचन्द्र पौडेल देखिनुभयो। उहाँहरु एउटै पुस्ताको हो। यहाँ प्रश्न पुस्तान्तरणको कुरा पनि छ। तथापि पौडेल के भन्दै हुनुहुन्छ भने म देउवाको विकल्प हुँ भन्दै हुनुहुन्छ। पौडेल समूहका शशांक कोइराला देउवा र पौडेलको विकल्प म दिन सक्छु भन्दै हुनुहुन्छ। त्यही समूहमा शेखर कोइरालाले यो पार्टीलाई कसरी अघि बढाउने, अहिले हाम्रा अघिका चुनौती सामना गर्न सक्ने सामर्थ्य  विकास गरेर युवा र पहिलो पुस्तासम्मका साथीहरुको भरपर्दो पार्टी कसरी बनाउने त्यो काम म गर्न सक्छु भन्दै हुनुहुन्छ। प्रकाशमान सिंह म उपसभापति, महामन्त्री भइसकें, उपप्रधानमन्त्री भइसकें। लगानी धेरै भइसक्यो, त्यसैले स्वाभाविक दाबेदार म हुँ भनिरहनुभएको छ। पार्टीलाई सही दिशा दिन र नेतृत्व दिन म सक्छु भन्ने उहाँको दाबी छ।

हाम्रो समूहको पुस्ताको नेता पौडेल हो। बाँकी तीन जना दोस्रो पुस्ता हो।  अर्जुननरसिंह केसी, रामशरण महत, सुजाता कोइराला सबैले मिलेर आउनुस् भन्नुभएको छ। होइन भने हामी पनि उम्मेदवार भनिरहनुभएको छ। उहाँहरुले निःसर्त मैदान छोडेको त होइन।  तपाईंहरु मिल्नुस् भन्ने सर्तमा उहाँहरुले छोड्नुभएको हो। हाम्रो पुस्ताले के भनेको छ भने मेरो उमेरमा शेरबहादुर दाइ प्रधानमन्त्री बनिसक्नुभएको थियो। मेरो उमेरमा रामचन्द्र पौडेल मन्त्री भएर सभामुख भइसक्नुभएको थियो। हाम्रो पुस्ताले पार्टीको नेतृत्व गर्ने र मुलुक हाँक्ने बेला भइसक्यो। बीपी २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गर्दा ३२ वर्षको हुनुहुन्थ्यो। अहिले विश्वका धेरै देशमा पार्टीका नेता र प्रधानमन्त्री ३०–४० वर्ष उमेर समूहका छन्। बीपी कोइराला नै ३६ वर्षको उमेरमा गृहमन्त्री बन्नुभयो। उहाँ ४५ वर्षमा प्रधानमन्त्री बन्नुभयो। गणेशमानजीले यो पार्टीलाई नेतृत्व गर्दा कुन उमेरको हुनुहुन्थ्यो, सुवर्णशमशेरले नेतृत्व गर्दा कुन उमेरको हुनुहुन्थ्यो? तीन सालको मजदुर आन्दोलनको नेतृत्व गर्दा गिरिजाप्रसाद कोइरालाको उमेर  २१ वर्षको थियो। 

शेरबहादुर देउवा नेविसंघको अध्यक्ष हुँदा लगभग २६–२७ वर्षको हुनुहुन्थ्यो। रामचन्द्र पौडेल नेविसंघको संस्थापक सदस्य हुँदा उहाँको उमेर पनि त्यस्तै थियो। यी सबै हेर्दा हाम्रो पुस्ताले मुलुकलाई नेतृत्व गर्ने समय आइसक्यो नि। हामी त्यो ठाउँमा पुगिसक्यौ। त्यसैले हामीले नेताहरुलाई भनेका छौं हिजो तपाईंहरुले राम्रो पनि गर्नुभएको छ र कमीकमजोरी पनि छन्। र, हामीले तपाईंहरुकै जीवनकालमा तपाईंहरुले भन्दा राम्ररी पार्टी र देश चलाउन सक्षम छौं भनेका छौं। विकल्पको कमी छैन। पहिलो पुस्ताको विकल्प दोस्रो पुस्ता छ, दोस्रो पुस्ताको विकल्प तेस्रो पुस्ता छ। यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने मात्रै हो। 

चार जना आकांक्षीलाई मिलाउन सफलता मिल्छ भन्नेमा विश्वस्त हुनुहुन्छ? 

बिल्कुल सफलता मिल्छ। जिल्ला अधिवेशन सकिएपछि महाधिवेशनको पूर्वधार तयार हुन्छ। त्यसपछि उहाँहरु आफू उम्मेदवार बन्ने वा अरुलाई समर्थन गर्ने ठाउँमा पुग्नुहुन्छ। सभापतिको उम्मेदवार चयन गर्ने मानक के हो त? जिल्ला अधिवेशनबाट आएको परिणाम नै हो। जिल्ला सभापति र महाधिवेशन प्रतिनिधिको संख्या पनि हो। त्यसले पनि धेरै कुरा भन्छ। अहिले त नेता छानिँदैछन् नि। वडा सभापति, क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, जिल्ला समिति सबै ठाउँमा नेता छानिँदैछन्। वडा अधिवेशन सकिँदा सवा लाखभन्दा बढी त नेता छानिन्छन्। अर्को तहको अधिवेशनले अर्को नेता छान्छ। एवंरीतले केन्द्रीय महाधिवेशन प्रतिनिधिहरु छानिइसकेपछि उहाँहरुको धारणा के हुन्छ? कसले नेपाली कांग्रेसलाई सबल नेतृत्व प्रदान गर्न सक्छ? कुन व्यक्तिमा नेतृत्व कौशल छ? त्यो कुरा साथीहरुबाट आइहाल्छ नि। त्यो पनि त सभापतिको उम्मेदवार छान्ने एउटा भरपर्दो आधार हो। 

वडा अधिवेशन सुरु भएसँगै नेताहरुको उम्मेदवारी घोषणा गर्ने क्रम पनि बढेको छ। महाधिवेशनमा तपाईंले कुन पदमा उम्मेदवारी दिने तयारी गर्नुभएको छ? 

अहिले हामी महाधिवेशन सुनिश्चित गर्ने चटारोमा छौं। ७७ वटै जिल्लामा वडा अधिवेशन सम्पन्न हुन सकेको छैन। क्रियाशील सदस्यको विवाद टुंगिएको छैन। पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्ला अधिवेशन गर्न बाँकी छ। महाधिवेशन सुनिश्चिन गर्ने दायित्व हाम्रो हो। हामी केन्द्रीय कार्यसमितिका सदस्य हौं। त्यसैले चुनौती एकातर्फ छ।


महाधिवेशन सुनिश्चित गर्ने जिम्मेवारी छोडेर अहिले नै म फलानो पदमा उठ्छु भनेर ज्यादा शक्ति खर्च गर्ने बेला भइसकेको छैन। समय आएपछि त्यो विषयमा म पनि बोलौंला। उहाँहरुले गरेको घोषणाका बारेमा धेरै टिप्पणी गर्नु छैन। एउटा लोकतान्त्रिक पार्टीमा घोषणा गर्न पाउनुहुन्छ, उहाँहरुको अधिकार हो। युवा साथीहरुले घोषणा गर्नुभएको छ। सक्षम र योग्य साथीहरु हुनुहुन्छ। उहाँहरुले त्यो जिम्मेवारी प्राप्त गर्नुभयो भने पार्टीले गति प्राप्त गर्छ। त्यसमा म एकदमै सकारात्मक छु। मैले आफूलाई उहाँहरुभन्दा कम ठानेको छैन। उहाँहरुले घोषणा गर्नुभएको पदमा मैले जिम्मेवारी प्राप्त गरें भने म पनि नेतृत्व क्षमता प्रदर्शन गर्न सक्छु। 

महामन्त्रीमा पनि उम्मेदवारको भीड लाग्ने स्थिति छ। गगन थापा र विश्वप्रकाश शर्माले उम्मेदवारी घोषणा गरिसक्नुभएको छ। प्रदीप पौडेल घोषणा गर्ने तयारी गर्दै हुनुहुन्छ। युवा नेताहरू एकै पदमा लड्ने तयारीमा हुनुहुन्छ। महामन्त्री पद तपाईंहरुका लागि आकर्षक बनेको हो? यो बाध्यता हो वा प्रतिस्पर्धा?

युवाहरुले महामन्त्रीमा मात्रै होइन, सभापतिमा पनि घोषणा गर्नुभएको छ। कल्याण गुरुङजीले सभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको छ। युवाहरुले आँट पनि गर्नुभएको छ। उहाँको उम्मेदवारीलाई हामीले कमजोर नआकौं। ठिक छ, रिजल्ट जे होला। कल्याणजीको घोषणालाई मैले सकारात्मक रूपमा लिएको छु। प्रतिस्र्धामा युवा देखिनु राम्रो कुरा हो। सभापति बन्न युवाहरुको योग्य छन्। आ–आफ्नो इच्छा हो। म महामन्त्री बनेर पार्टी संगठनलाई राम्रोसँग सञ्चालन गर्छु भन्ने होला। मुलुकलाई राम्रोसँग सञ्चालन गर्न सक्ने क्षमता युवाहरुमा छ। एकपटकका लागि सभापतिमा दोस्रो पुस्तालाई छोडौं भनेर सदासयता पनि देखाउनुभएको छ। यद्यपि पार्टी र देश चलाउन पहिलो र दोस्रो पुस्ता होइन। तेस्रो पुस्ता नै सक्षम छ। 

क्रियाशील सदस्यताको सूची हेर्ने हो भने युवाहरुको वर्चस्व देखिन्छ। वडा सभापतिदेखि क्षेत्रीय प्रतिनिधिमा युवाहरुको जबरजस्त उदय भएको छ। यसलाई कसरी लिनुभएको छ?

अहिले मिडियाको एकदमै धेरै विकास भएको हुनाले यी कुरा सतहमा आएका हुन्। हामीले पार्टी स्थापनाकालदेखि नै हेर्ने हो भने नेताहरु नै युवा हुनुहुन्थ्यो। हाम्रा १३ वटा महाधिवेशन सम्पन्न भए। यसअघि पनि वडा सभापति र महाधिवेशन प्रतिनिधिका रुपमा धेरै युवा आउनुभएको थियो। अहिले मिडियाले सतहमा ल्याइदियो। १९ वर्षको वडा सभापति, २२ वर्षको क्षेत्रीय प्रतिनिधि भनेर आएको छ। यस्तो अघिल्लो महाधिवेशनमा पनि थियो। अहिले चर्चा बढी भयो। यसलाई मैले सकारात्मक रूपमा लिएको छु। युवा सीधै पार्टीको नेतृत्वमा जाने, भ्रातृसंस्थामा किन अल्झने? सोझै पार्टीमा प्रवेश गर्ने र कम उमेरमै पार्टीको नेतृत्व लिने चाहना पनि हुन सक्छ। पार्टीका भ्रातृसंस्था अकर्मण्यजस्ता देखिएका छन्। त्यसैले भ्रातृसंस्थामा नअलमलिने, समय त्यता खर्च नगर्ने र सोझै पार्टीमा आउने भनेर पनि साथीहरु आउनुभएको हुन सक्छ।

विधानअनुसार अहिले कोही नेता पदाधिकारी वा केन्द्रीय सदस्य लडेर पराजित भयो भने त्यो पाँच वर्ष पार्टीको कार्यसमिति बाहिर रहनुपर्नेछ। यसले पार्टीलाई फाइदा गर्छ वा घाटा? यो युवालाई नेतृत्वमा पुर्याउने खुड्किलो हो?

निर्वाचनबाट कुनै निश्चित पदमा आउन खोजेको व्यक्ति पार्टीका साथीहरुको मतबाट निर्वाचित भएन भने बाहिर बस्नैपर्छ। तर,  बाहिर बसेका नेतालाई पनि पार्टीले जिम्मेवारी दिएर सँगसँगै हिँडाउन सक्नुपर्छ। निर्वाचनमा हार्ने र अमुक अहोदामा पुग्न खोज्ने पद्धतिचाहिँ प्रजातान्त्रिक होइन। तपाईंले भन्नुभएजस्तै युवालाई नेतृत्वमा पुर्‍याउने खुट्किलो मात्रै पनि होइन। युवा पनि जान सक्छ, पुरानो मान्छे पनि जान सक्छ। सोही आधारमा अहिलेको विधानमा व्यवस्था गरेको होइन।  

उमेर र स्वास्थ्यका हिसाबले पाँच वर्ष पार्टीबाहिर बस्दा दोस्रो पुस्ताका धेरै नेतालाई १५ औं महाधिवेशनमा कमब्याक गर्न गाह्रो देखिन्छ। युवाले पाँच वर्षपछि पनि पार्टीमा कमब्याक गर्न सक्छन्। त्यसरी हेर्ने हो भने त यो व्यवस्थाले युवाको नेतृत्व स्थापित गर्न सहयोग नै गर्छ नि हैन र? 

कसको उमेर कति पुग्यो र उमेरका आधारमा नेता र व्यक्तिप्रति सहानुभूति राख्नुपर्छ भन्ने राजनीतिमा हुँदैन। कोही एकदमै सक्षम व्यक्ति प्राविधिक त्रुटिबस नेतृत्वमा आउन सकेन भने उसको क्षमताको उपयोग गर्ने हो। मानौं म भोलि पराजित भएँ, म कमब्याक हुन सकुँला तपाईंले भन्नुभए जस्तो उमेरका कारणले। मेरै ठाउँमा म भन्दा पाको उमेरको व्यक्ति निर्वाचनमा पराजित भयो भने मेरो गल्ती होइन, मेरो कमजोरी होइन। कार्यकर्ताले विश्वास गरेनन् भने त्यो पराजय स्वीकार गर्नुपर्छ। त्यसपछि चाहिँ पार्टीमा योगदान गर्ने हो भने अरु बाटो खोज्नुपर्यो। पद मात्रै जिम्मेवारी होइन नि त। अरु काम पनि दिन सकिन्छ। 

१४ औं महाधिवेशनपछि कांग्रेस कस्तो हुनुपर्छ? अथवा कस्तो हुनेछ? 

नेपाली कांग्रेसमाथि पनि ठूलो षडयन्त्र छ। देशभित्रका परम्परागत शक्तिहरु, देशभित्रको गैरलोकतान्त्रिक शक्तिहरु नेपाली कांग्रेसलाई कमजोर बनाउन चाहन्छन्। नेपाललाई सबै दृष्टिबाट बलियो राष्ट्र बनाउने, स्वतन्त्रता, स्वाधीनता, नेपालको सार्वभौम सत्ता र राष्ट्रियतालाई बलियो बनाउने, नेपाललाई संसारका सामु स्वाभिमानपूर्वक उभिन सक्ने बनाउने र सुरक्षित बनाउने दायित्व हामी सामु छ। यी समग्र विषयमा अरु राजनीतिक दलहरु सोच्दैनन्।

गैरलोकतान्त्रिक शक्तिमा कम्युनिस्टहरु पर्छन्। तराईबाट उदाएका शक्तिहरुलाई पनि सत्ताबाहेक अन्य कुरामा मतलब छैन। त्यसैले यी सबै शक्तिहरुले कांग्रेसलाई कमजोर बनाउन चाहन्छन्। कतिपय विदेशी शक्तिहरु पनि नेपालमा प्रजातान्त्रिक शक्ति बलियो भयो भने नेपाल बलियो हुन्छ। नेपाली जनताको भविष्य उज्वल हुन्छ। नेपालको समृद्धि र विकास हुन्छ। नेपालको स्वाभिनमा र प्रतिष्ठा उचाइमा जान्छ। एउटा स्वाभिमानी राष्ट्रसँग हाम्रा निहित स्वार्थहरु पूरा गर्न गाह्रो हुन्छ। स्वभामानी राष्ट्रको नेतृत्व स्वाभिमानी हुन्छ र त्यसले अनुचित सम्झौता गर्दैन। त्यसलै नेपाललाई कमजोर बनाउनुपर्छ भन्ने शक्तिहरु पनि छन्। सबै कुरालाई हेरेर वास्तविकतालाई सूक्ष्म ढंगले अध्ययन गरेर भोलिको नेपाली कांग्रेस सोच्नुपर्छ आजै। त्यसका निम्ति सबैभन्दा पहिला पार्टीभित्रको आन्तरिक र सांगठनिक पक्षलाई व्यवस्थित बनाउनुपर्छ। संगठनलाई जरैदेखि सुदृढ बनाउनुपर्छ। पार्टीभित्र न्यायप्रणालीलाई पुनस्र्थापित गर्नुपर्छ। मूल्यांकन प्रणाली एकदमै पारदर्शी हुनुपर्छ। सदृढ संगठन र संगठानत्मक व्यवस्थापन भएको पार्टी बनाउने क्रममा हामी लागेका छौं। त्यसमा हामीलाई सफलता प्राप्त हुन्छ। 

०७४ सालको निर्वाचनपछि कमजोर बन्न पुगेको कांग्रेस प्रकारान्तरले सत्ताको नेतृत्व गर्ने अवस्थामा आइपुगेको छ। सभापति देउवाले सरकारको नेतृत्व गरिरहनुभएको छ। सरकार गठन भएको २ महिना भएको छ। कसरी मूल्यांकन गर्नुहुन्छ?  

यो अप्रत्यासित रूपमा प्राप्त भएको सत्ता हो। अरुको सरकार भत्काएर, ढालेर सरकारमा पुग्ने कसरत गरेर मेहनत गरेर प्राप्त भएको होइन। गत संसदीय निर्वाचनमा झण्डै दुई तिहाई बहुमत प्राप्त गरेको वाम गठबन्धन (पछि बनेको नेकपा) ले पाँच वर्षसम्म प्राप्त भएको जनमत जोगाउन सकेन। फराकिलो बहुमत थेग्न नसकेपछि दुर्घटनाग्रस्त भयो। नेकपा दुई फ्याक र एमाले दुई फ्याक भए। मुलुक अन्योलको सुरुङभित्र प्रवेश गर्ने खतरा बढ्यो। त्यतिबेला नेपाली काग्रेसले मुलुक सम्हालेको हो। अरु राजनीतिक दलहरुले पनि समर्थन गरे। किनभने जबजब मुलुकमा संकट पर्छ, त्यतिबेला नेपाली कांग्रेसले नै नेतृत्व प्रदान गरेको छ र सम्हालेको छ। आजसम्मका सबै निर्वाचन नेपाली कांग्रेसले गराएको छ। ०४७ वा २०७२ मा जारी भएका संविधानको कुरा गरौं। धेरै पटक प्रजातन्त्रलाई समाप्त गर्ने प्रयासलाई विफल बनाएको छ। यो जिम्मेवारीलाई नेपाली कांग्रेसले कुशलतापूर्वक सम्हाल्नुपर्छ।

एमसीसी, मन्त्रिपरिषद् विस्तार र बजेट होलिडेसम्मको स्थितिमा आइपुग्दा सरकार आलोचित बनेको छ। यसबारे के भन्नुहुन्छ? 

अहिले सरकार क्रियाशील छ। यसले सरकार विस्तारको काम अहिले गर्न सकेको छैन। यसको आलोचना सुरु भएको छ। त्यसैले तत्काल गर्न पनि गाह्रो छ। गठबन्धनका दलहरुको सबैको सहमति बनेको कुरा पनि आइरहेको छ। किन ढिलो भएको हो, त्यसमा मलाई सूचना छैन। मेरो आग्रह के हो भने चाँडोभन्दा चाँडो सरकार विस्तार गर्नुपर्छ। जनताको जुन अपेक्षा हो, हिजोको सरकारसँगको जुन वितृष्णा हो, आक्रोश हो। त्यो आक्रोश फेरि यो सरकारका विरुद्धमा पोखिन सक्छ। त्यसैले चाँडोभन्दा चाँडो सरकार विस्तार गरेर देश र जनताप्रतिको जिम्मेवारीलाई अघि बढाउनुपर्छ।  

एमसीसीको विषय होस् वा बजेट होलिडेको विषय होस्। यसलाई चाँडो छिनोफानो गर्नुपर्छ। एमसीसी एउटा अन्तर्राष्ट्रिय अनुदान हो। यसमा प्रश्न उठ्यो, जनमत विभाजित भएको छ अहिले। यो नेपालको स्वाभिमान, स्वतन्त्रता, सार्वभौम सत्तामा खलल पुग्छ  भन्ने जनमत पनि देखिएको छ। एउटा जनमत पारित गरिहाल्नुपर्छ भन्ने छ। त्यसैले जे–जे प्रश्न उठेका छन्। त्यसका बारेमा नेपाल सरकारले जिज्ञासासहित जवाफ मागेको छ। एमसीसीका उपाध्यक्ष फतिमा सुमारले नेपालमा आएर स्पष्टीकरण दिनुभएको छ। अमेरिकी दूतावासबाट स्पष्टीकरण आएको छ। यी कुराहरुलाई ध्यान दिएर कमीकमजोरी सुधार गर्नुपर्छ। अमेरिका जस्तो विश्वको महाशक्ति राष्ट्रको सहयोग हामीले लिनुपर्छ। तर कमजोरी छन् भनेर जो प्रश्न उठेका छन्, त्यसमा पनि नजरअन्दाज गर्नुहुँदैन। नेपाली जनताले उठाएको प्रश्नलाई सरकारले सुन्नुपर्यो। स्वयं एमसीसीले पनि सुन्नुपर्‍यो। 

सरकार भनेको जनताको अभिभावक हो। जनताको दुःखमा साथ दिने संरक्षक हो। त्यो कुराको हेक्का सरकारमा बस्नेले राख्नुपर्छ। कांग्रेस  नेतृत्वको सरकार सम्पूर्ण रूपमा जनताप्रति समर्पित हुनुपर्छ। यति गर्न सकियो भने आगामी निर्वाचनमा हामीलाई गाह्रो हुँदैन। 

एमालेले हिजो सरकारमा बस्दा पनि भद्रगोल गर्ने, अराजकता मच्चाउने, मुलुकलाई बेतिथिमा लिएर जाने, कानुन र संविधान विहीनतातर्फ धकेल्ने काम गरेको थियो। आज पनि बजेट होलिडेतर्फ लिएर जाने एमालेको जुन रवैया छ, यो गैरजिम्मेवार रवैया हो। लोकतान्त्रिक पार्टीले यस्तो काम गर्दैन र गर्नु हुँदैन। मुलुकलाई एक प्रकारले बन्धक बनाउने हिसाबले एमाले हिँडेको छ। यसको मूल्यांकन जनताले गर्छन्।  

अब ढिलोचाँडो यही सरकारले निर्वाचन गराउनेछ। तर, निर्वाचन परिणामका सन्दर्भमा कांग्रेसका लागि सरकारका कामकारबाहीले धेरै अर्थ राख्छ। सरकारले के प्राथमिकता राखेर काम गर्नुपर्छ जसले कांग्रेसलाई ठूलो दल बन्न सहयोग गर्नेछ? 

मूल कुरा हाम्रो संविधानको रक्षा हुनुपर्यो। संविधानको मूल मर्म, संविधानको व्यवस्था र संविधानले मुलुक चलाउने बाटो निर्दिष्ट गरेको छ। त्यसमा दायाँबायाँ गर्न हुँदैन। संविधानले निर्दिष्ट गरेको बाटोबाट मुलुक सञ्चालन गर्नुपर्छ। विगतमा पूर्वप्रधानमन्त्री केपी ओलीबाट संविधान भत्काउने कोसिस भयो। त्यसलाई सुधार्नुपर्छ।  

शान्तिसुरक्षा सुदृढ बनाउनुपर्यो। सुशासन दिन सक्नुपर्यो। राज्य सञ्चालनको जुन तौरतरिका छ। त्यो जनताले अपेक्षा गरेअनुसारको हुनुपर्यो। सुशासन हुनुपर्यो। जनताको दैनिक जीवनमा झेलिरहेका अप्ठ्यारा संकट पहिचान गर्नुपर्यो। कोरोना महामारीले स्वास्थ्य संकट निम्तिएको छ। महामारीका कारण श्रमिकले रोजगारी गुमाएका छन्। घरको चुलो निभेको छ। बालबालिकाको पढाइ अस्तव्यस्त भएको छ। गाउँगाउँमा अनलाइन कक्षा प्रभावकारी हुन सकेका छैनन्। रुखको टुप्पोमा बसेर अनलाइन कक्षा लिएको देखेका छौं। त्यो भन्दा विडम्बनापूर्ण कुरा के हुन सक्छ? बाढीपहिरोले घरबास उठाएको छ। यी सबै कुरालाई हेरेर काम गर्नुपर्छ। सरकार भनेको जनताको अभिभावक हो। जनताको दुःखमा साथ दिने संरक्षक हो। त्यो कुराको हेक्का सरकारमा बस्नेले राख्नुपर्छ। कांग्रेस  नेतृत्वको सरकार सम्पूर्ण रूपमा जनताप्रति समर्पित हुनुपर्छ। यति गर्न सकियो भने आगामी निर्वाचनमा हामीलाई गाह्रो हुँदैन।


प्रकाशित: September 18, 2021 | 10:10:00 काठमाडौं, शनिबार, असोज २, २०७८
तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

काठमाडौं, शनिबार, असोज २, २०७८

थप समाचार

ओलीको विकल्प खोज्न जरुरी छ, म कुनै हालतमा 'ब्याक' हुन्‍न : भीम रावल [अन्तर्वार्ता]

त्यस्तो हुन सकेन। सदस्यता विरण, नवीकरण र महाधिवेशन प्रतिनिधिको चयन पनि निष्पक्ष भएन। देशका विभिन्न भागहरुमा हाम्रो पार्टीको नीतिलाई नसुहाउने, अलोकतान्त्रिक क्रियाकलाप भए।

साँठगाँठकै कारण शीर्ष नेताले मुख खोलेनन्, जबरासँग म एक्लै लड्छु : वरिष्ठ अधिवक्ता भण्डारी [अन्तर्वार्ता]

हाम्रा कुरा नसुनिएपछि र उनले मनपरी गर्न नछाडेपछि बाध्य भएर आन्दोलनमा आउनुपरेको हो।

पार्टी नेतृत्व सर्वसम्मत नभए त्यसको असर आम चुनावमा पनि पर्छ : एनपी साउद (अन्तर्वार्ता)

अहिले हामीले कांग्रेसका अघि जुन चुनौती देखिरहेका छौं, त्यो चुनौतिभित्र रहेर महाधिवेशन गर्ने हो भने आम निर्वाचनअघि महाधिवेशन गर्ने हो भने सर्वसम्मतिले नेतृत्व चयन गर्नुपर्छ। सर्वसम्मत हुन सकेन भने त्यसले आम निर्वाचनमा पनि असर गर्न सक्छ।

सरकारको नेतृत्व गरिरहेका दलले नै गुप्तचरलाई कमजोर बनाए : पूर्वएआईजी देवराज भट्ट [अन्तर्वार्ता]

स्वाभाविक ढंगले नेतृत्व विकास हुन नदिने, स्वाभाविक ढंगले जनशक्ति परिचालन गर्न नदिने, कर्मचारीको वृत्ति विकासका लागि नसोच्‍ने, संगठनको विकासभन्दा पनि आफ्नो स्वार्थ अनुकूल संगठनलाई प्रयोग गर्ने राजनीतिज्ञहरुको प्रवृत्तिले सुरक्षा संयन्त्रमा हस्तक्षेप बढेको छ।

महिलाका नाममा जाने ७० प्रतिशत कर्जामा पुरुषकै हालीमुहाली छ : कृष्णबहादुर अधिकारी [अन्तर्वार्ता]

सरकारले महिला उद्यमीका लागि दिने कर्जामा १ प्रतिशत बढी ब्याज अनुदान दिएको छ भने कर्जाको सीमा पनि १५ लाख रुपैयाँ छ। कतिपय पुरुषले कर्जा रकम पनि धेरै भएकाले महिलाका नाममा कम्पनी खोलेर काम गरिरहेका छन्।

ट्रेंडिंग

नेपाल समय
सुदूरपश्चिम

पुष्पकुमार शाहीद्वारा कांग्रेस सुदूरपश्चिम अध्यक्षमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका युवा नेता पुष्पकुमार शाहीले १४औं महाधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्।
नेपाल समय
समाज

यस्तो रहस्यमय मृत्यु जसले बाहिर ल्यायो रौतहट कारागारभित्रको 'दादागिरी'

एक कैदीको रहस्यमय मृत्युको घटनापछि जिल्ला कारागार रौतहटभित्र हुने गरेका बेथिति र हिंसाको अनेक पक्ष सतहमा आएका छन्।
नेपाल समय
राजनीति

एमाले-कांग्रेस महाधिवेशनमा ओली-देउवाका तीन संयोग, एकै अपेक्षा

असार २९ गते देउवा प्रधानमन्त्री बनेका थिए। त्यसयता उनको भेट ओलीसँग भएको थिए। एमाले महाधिवेशनले देउवा–ओलीको भेट त जुरायो नै। सँगै ओली र देउवाका बीचमा केही रोचक संयोग समेत पर्न गए।
नेपाल समय
ब्लग

बाटो बिराएका पूर्वशिक्षक प्रचण्डको एउटा ठूलो भ्रम

एउटा छविलालले बाटो बिराउँदा समाजले ठूलो मूल्य चुकाउनुपरेको छ। वाध्यताबस देशका लाखौं युवाले बाटो बिराएर कोही अरबको खाडी पुगेका छन् त कोही पूर्ण रुपमा अमेरिका, अस्ट्रेलियातिर हराएका छन्।
नेपाल समय
लुम्बिनी

कांग्रेस महाधिवेशन : राजनीतिमै जीवन बिताएका नेताहरु महाधिवेशन प्रतिनिधिमै पराजित

पौडेल रुपन्देहीको निर्वाचन क्षेत्र न. २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका उम्मेदवार थिए। तर, उनी पराजित भए। विद्यार्थी राजनीतिमा डेढ दशकदेखि सक्रिय पौडेलले यो पटक महाधिवेशन प्रतिनिधि जित्‍ने आशमा थिए।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C