मंगलबार, असोज ११, २०७९

फाइबर सिसाको सुरक्षा घेरामा बाङ्गेमुढाको ‘वास्या द्यो’

महेश्वर आचार्य  |  काठमाडौं, शनिबार, माघ २४, २०७७

महेश्वर आचार्य

महेश्वर आचार्य

शनिबार, माघ २४, २०७७, काठमाडौं

नेपाल समय

दाँत दुखेका बेला सिक्कामा किला छेँडेर मुढामा ठोक्दा दुखाई सन्चाे हुने जनविश्वास रहेको काठमाडौं बाङ्गेमुढाको परम्परागत ‘वास्या द्यो’ (दाँतको दुखाईको देउता) अचेल फाइबर प्लास्टिकको सुरक्षा घेरामा छ।

इन्द्रचोकबाट सोझै उत्तर जाँदा वा असनबाट पश्चिमतिर लाग्दाको चौबाटोमा पर्ने बाङ्गेमुढाको ‘वास्या द्यो’ को संरक्षणका लागि फाइबर सिसा ठोकिएको काठमाडौं महानगरपालिका वडा नम्बर २५ का अध्यक्ष नीलकाजी शाक्यले बताए।

‘तीनपटक चोर्ने प्रयास भयो,’ शाक्यले भने, ‘साथै भक्तजनले मुढाको टुक्रा उप्काएर लान थालेपछि सुरक्षाका लागि फाइबर ग्लास हालिएको हो।’

मुढामा ठोकिएका धातुका सिक्काको पुरातात्विक महत्त्वका कारणले पनि चोर्ने प्रयास भएको हुन सक्ने शाक्य बताउँछन्।

मुढाको प्राचीनता

नेपाल भाषामा वास्याको अर्थ दाँत र द्योको अर्थ देवता हुन्छ। दुखेको दाँत सन्चो बनाइदिने देवताको रूपमा बाङ्गेमुढाको सो वास्या द्योमा सिक्का गाड्ने प्रचलन छ। मुढामा कहिलेदेखि सिक्का गाड्न थालियो भन्नेबारे ठोस प्रमाण भने भेटिएको छैन।

सो मुढा पूरै सिक्काले ढाकिएको छ। मुढाको केही भाग मक्किसकेको छ भने यस देवस्थलमा अन्यत्रको जस्तो मूर्ति वा कलाकृति छैन। न त मन्दिरजस्तो कुनै संरचना नै छ।

‘मुढाको तल्लो भागमा जलद्रोणी थियो जसको जलाशयमा पाटीभित्रबाट पानी भरिन्थ्यो,’ बाङ्गेमुढामै जन्मेहुर्केका लेखक मल्ल के सुन्दर भन्छन्, ‘सो जलद्रोणी पूजाको लागि चाहिने चोखो पानीका लागि उपयोग हुने अनुमान गर्न सकिन्छ। तर, मर्मतसम्भार गर्दा सो जलद्रोणीलाई नै छोपर गाराे लगाइएको छ।’

किला गाडिएको देखेर धेरैले यसलाई किलागल ठान्ने मल्ल बताउँछन्। ‘किलागल त भेडासिंगभन्दा परको अर्को टोल हो,’ उनी भन्छन्।

कसरी बन्यो बाङ्गेमुढा

‘बाङ्गेमुढामा रहेको थास मण्डप बनाउँदा बढी भएको काठको मुढा त्यत्तिकै रह्यो। त्यसमध्येको एउटा मुढा बाङ्गो थियो। त्यही बाङ्गो मुढाले गर्दा नै ठाउँको नामै बाङ्गेमुढा रह्यो,’ नेपालभाषा टाइम्सका सम्पादक तथा सांस्कृतिक ज्ञाता सुरेश मानन्धर भन्छन्।

उनका अनुसार थासमण्डप मरु सत्तल जत्तिकै पुरानो सत्तल हो, जसको नाम अपभ्रंस हुँदै थाय मरु हुन पुग्यो र टोलको नाम नै त्यही रहन गयो।

‘वास्तुविद्हरू मरुको काष्ठमण्डप र बाङ्गेमुढाको थासमण्डपको स्वरुप, संरचना समान भएको बताउँछन्,’ मल्ल भन्छन्, ‘काष्ठमण्डप अपभ्रंस हुँदै मरु तथा थासमण्डप अपभ्रंस हुँदै थाय मरु भएको सन्दर्भ हेर्दा थास मण्डप प्राचीन हो भन्ने बुझिन्छ।’

२०७२ को भूकम्पले भत्किएको काष्ठमण्डप पुनर्निर्माण गर्दा जगमा झण्डै १५ सय वर्षअघिको जिष्णुगुप्तको पालाको सिक्का भेटिएको थियो। ‘थास मण्डप पनि हजार वर्षभन्दा पुरानो हुन सक्छ,’ मानन्धर भन्छन्।

मुढा निकै लामो भएको बताइन्छ। ‘झण्डै ४० वर्षअघि बाङ्गेमुढाभन्दा हजार मिटरपूर्वको न्यैंकन्तला चारढुंगे, नरसिंह मन्दिरपछाडिको घरको गारोमा रूखको भाग देखेको थिएँ,’ लेखक मल्ल भन्छन्, ‘बुढापाकाले त रूखको टुप्पो भोटाहिटीको साझा भण्डारअगाडिको अन्नपूर्णको पूजाघरसम्म लम्बिएको बताउँथे।’

मानन्धरका अनुसार सो मुढा रहेको स्थानबाट पूर्वतिरको भागमा बाह्र वर्षअघिसम्म घर बनाउँदा जगमा रूखको काठ भेटिएको थियो। ’ उनी भन्छन्, ‘कति लामो छ भन्न नसकिए पनि सामान्य रूखभन्दा केही न केही बढी लम्बाइएको थियो।’

प्राचीन लिखतमा वास्या द्योलाई नाग देवाताको प्रतीकका रूपमा उल्लेख गरिएको छ। मल्ल भन्छन्, ‘वास्या द्योमा पूजा गरिँदा नागपूजाको विधि अपनाइन्छ। पूजामा प्रयोग भएका सामग्री फिर्ता लानु हुन्न भन्ने विश्वास भएकाले पात वा टपरीमा पूजा सामग्री ल्याउने चलन छ।’

अचेल पनि यदाकदा मानिसहरू सिक्का ठोक्न आउँछन्। तर, सिसा ठोकिएपछि मुढामै सिक्का ठोक्ने कार्य रोकिएको छ। त्यसरी आउनेहरूका लागि वडाले वैकल्पिक व्यवस्था गर्ने भएको छ।

‘पुरानो मुढामुनि एउटा काठ ठोकेर मानिसहरूलाई सिक्का गाड्न दिने योजना छ,’ वडाध्यक्ष शाक्यले भने, ‘सयौं वर्षदेखिको परम्परालाई हामीले रोक्ने कुरा आउँदैन। खाली पुरानो मुढाको संरक्षण गर्न मात्र खोजेका हौं।’

रहस्यवादको अभ्यास

नेपालमा तान्त्रिक परम्पराको इतिहास भएको तथा रहस्यवाद पनि जीवनको अंग भएकाले यस्ता प्रचलन चलिआएको विज्ञ बताउँछन्।

‘नेपालमा तन्त्र पराम्पराको लामो इतिहास छ। विगतमा यहाँ ठूला तान्त्रिक थिए। राजाहरू आफैं पनि तान्त्रिक थिए। जामन गुभाजुजस्ता धेरै तान्त्रिक नेपाल खाल्डोमा थिए,’ परम्परागत झारफुकबारे अध्ययन गरेकी प्रा. डा. पुनम राणा भन्छिन्, ‘वास्या द्योको बारेमा पनि केही तान्त्रिक मिथक हुन सक्छ। यसको बारेमा अध्ययन अनुसन्धान हुन सकेको छैन।’

त्रिभुवन विश्वविद्यालय केन्द्रीय संस्कृति विभाग प्रमुख प्राध्यापक मदनकुमार रिमालका अनुसार सबैजसो कार्यमा देवी देवतालाई पूजाअर्चना गर्ने सनातनी परम्परा हो। उनी भन्छन्, ‘देवतालाई पूजाअर्चना गरेपछि तत् विषयमा व्यक्तिको कर्तव्य पूरा हुन्छ भन्ने जनविश्वासको अभिव्यक्ति यस्ता अमूर्त परम्परा हुन्।’

यो संसार कसैको सृष्टि हो भन्ने विश्वास गर्ने रहस्यवादअन्तर्गत पनि दैवी शक्तिलाई खुसी पार्न यस्ता चलन चलिआएको रिमाल बताउँछन्।

‘सिक्कालाई किलाले छेडेर मुढामा ठोक्दैमा दुखेको दाँत निको हुन्छ कि हुँदैन त्यो चिकित्सकीय बहसको विषय होला,’ रिमाल भन्छन्, ‘तर जुनसुकै समाजमा पनि अनौठा लाग्ने प्रचलन हुन्छन् नै। संस्कृति भनेकै विश्वासको आधारमा गरिने क्रियाकलाप हो र यो हाम्रो अनुपम संस्कृतिको एक अंग हो।’

आधुनिक चिकित्सा पद्धतिमा साइकोथेरापी र साइकोएनालाइसिसको जति महत्त्व छ त्यति नै महत्त्व यस्तो प्रचलनको रहेको रिमाल बताउँछन्।

‘अहिले पनि मानिसले भाकल गर्ने गरेका छन्। त्योतिष देखाउने गरेका छन्। त्यसो किन गरिन्छ भने उसलाई विश्वास छ,’ रिमाल भन्छन्, ‘विश्वासका कारणले गरिने कार्यको महत्त्व हुन्छ। कतिपय अभ्यास परम्परा बन्छन्। परम्पराले सांस्कृतिक चेतना र सांस्कृतिक सम्पदा बन्दै जान्छ।’

अहिले त सबै जनताको पहुँचमा सहज र सुलभ स्वास्थ्य सेवा छैन भने विगतमा हुने कुरै भएन। विगतमा परम्परागतरूपमा स्थापित वैद्यहरूलाई उपचार गराउने चलन थियो। तीनको संख्या पनि सीमित नै थियो। त्यही भएर पनि यस्तो अभ्यासले व्यापकता पाएको हुन सक्ने तर्क रिमालको छ।

रिमालको तर्कमा सहमत छन् ८६ वर्षीय संस्कृतिविद् तेजेश्वरबाबु ग्वङ्ग।

‘अहिले हामी साइकोथेरापी, साइकोट्रिटमेन्ट भन्छौं। उबेलामा यी विधा र नाम थाहा थिएन। हुन सक्छ त्यसकै प्रकटीकरण यस्ता अभ्यास हुन्,’ ग्वङ्ग भन्छन्, ‘यी र यस्ता प्रचलन सही हुन् वा होइनन् भन्नेबारे बहस गर्न सकिन्छ। तर, यी हाम्रा अमूर्त संस्कृतिका अंग हुन्। यिनको संरक्षण गर्नुपर्छ।’

ग्वङ्गका अनुसार काठमाडौंमा स्वास्थ्य र दीर्घायूको लागि अन्य देवीदेवतालाई पनि पूजा गर्ने चलन छ। उनका अनुसार विफर हुँदा पशुपति क्षेत्रको शीतलामाई, कान दुख्दा कुपण्डोलको कानदेवतास्थान, शिशुको सुस्वास्थ्यको लागि भाटभटेनी मन्दिर र स्वयम्भू अजिमा, सन्तानप्राप्तिको लागि ललितपुर, बाँडेगाउँको सन्तानेश्वर र काठमाडौंको ज्ञानेश्वर महादेव, नागदोष तथा चर्मदोष भएमा कुम्भेश्वरमा पूजा गर्ने प्रचलन छ।

२५ वर्षअघि र अहिलेको विवाह संस्कारमै आमूल परिवर्तन आइसकेको बताउँदै उनी भन्छन्, ‘पुराना संस्कृति र चालचलन मासिए पनि स्थानीय तहले आफ्नो क्षेत्रको ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्नु सराहनीय हो।’

दाँत बनाउन किलागल

संयोग के छ भने वास्या द्यो रहेकै क्षेत्रमा दाँत बनाउने ठाउँ छन्। नक्कली दाँत बनाउने नेपालको पुरानो ठाउँ किलागल हो।

‘किलागलमा दाँत बनाउने पेसा परम्परादेखि नै स्थानीय राजभण्डारीहरूले गर्दै आएको पाइन्छ,’ मानन्धर भन्छन्, ‘राजभण्डारीहरूले पुस्तौनी पेसाका रूपमा सो काम गर्दै आएको पाइन्छ।’

किलागलको दाँत बनाउने ठाउँ र वास्या द्योको सम्बन्धबारे कुनै प्रमाण नभेटिए पनि यी दुवैको आफ्नै ऐतिहासिक महत्त्व छ।


प्रकाशित: February 6, 2021 | 09:00:00 काठमाडौं, शनिबार, माघ २४, २०७७

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
स्वास्थ्य/जीवनशैली

डा पुनलाई अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार

असोज १० गते एसोसिएसनले जारी गरेको विज्ञप्तिमा प्राणघातक संक्रामक रोगबाट जोगाउन खेलेको भूमिकाको प्रशंशा गर्दै डा पुनलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको जानकारी दिइएको छ।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

२७ वटा अस्पतालका ओपीडीमा विद्यार्थीलाई ५० प्रतिशत छुट

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग विद्यार्थीहरुलाई ओपीडी सेवामा ५० प्रतिशत छुट गर्ने सहमति भएको बताएको छ।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

सरकारी कोटामा बेलायत जान चाहने नर्ससँग पैसा असुल्नेलाई ठगी मुद्दा

शून्य शुल्कमा दुई सरकारबीच भएको सम्झौतामा अन्य कुनै एजेन्सीको भूमिका नहुने हुँदा कसैले प्रलोभनमा पारेर पैसा असुल्न खोजे उजुरी दिन आग्रह मन्त्रालयको आग्रह।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

पछिल्लो २४ घन्टामा थपिए १०५१ डेंगु संक्रमित

हालसम्म डेंगु संक्रमणका कारण ३२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

कानुनी मान्यताको २० वर्ष पुग्दा पनि ५८ प्रतिशत महिला असुरक्षित गर्भपतन गराउन बाध्य

आठौँ राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस २०७९ का अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र यस क्षेत्रमा काम गरिरहेका संस्थाहरुको समूहले आयोजना गरेको कार्यक्रममा दूरदराजसम्म अझै चेतना जगाउन बाँकी रहेकामा जोड दिइएको थियो। कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराचन्द्र केसीले सुरक्षित गर्भपतन सेवाका बारेमा अझै शिक्षा र जागरण फैल्याउनुपर्ने बताए।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना