काठमाडौं- नेपालले सन् १९८४ को सेप्टेम्बर १८ मा माल्दिभ्सविरुद्ध ४–० को जित निकालेको दिनबाट दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल खेलाउन सुरु भयो। रंगहालामा भएको पहिलो खेलमा गणेश थापाले दुई गोल गरे भने रुपक शर्मा र कृष्ण थापाले १–१ गोल थपेका थिए।
अन्तर्राष्ट्रिय फुटबलमा पाइला चाल्न सुरु गरेको नेपालले सन् १९८२ मा फिफाको मान्यता पाएपछि आधिकारिक रूपमा अन्तर्राष्ट्रिय खेल खेल्न सुरु गरेको हो। पहिलो अन्तर्राष्ट्रिय खेल भने नेपालले दिल्लीमा खेलेको थियो। त्यो एसियाली खेलकदुको छनोट प्रतियोगिता रह्यो।
बुधबार राति काठमाडौंको दशरथ रंगशालाले ८९औं अन्तर्राष्ट्रिय खेल सञ्चालन गर्दा नेपालले ५० खेलका शृंखला यही मैदानमा पूरा गरेको छ। पचासौँ शृंखलाको खेलमा नेपालले १४ वर्षपछि पाकिस्तानलाई हराएको छ।
अन्तराष्ट्रिय खेल सुरु गरेको ४० वर्षको अवधिमा नेपालले घरेलु मैदानमा ५० खेलका शृंखला पूरा गर्यो। विकसित देशको खेल संख्याको तुलनामा यो थोरै हो। नेपालले घरेलु रंगशालामा अन्तर्राष्ट्रिय खेलमा उत्रन थालेपछि दक्षिण एसियाली स्तरको प्रतियोगिता पनि सुरु भएकाले नेपालको फुटबल विकासमा कोसेढुंगा मानिन्छ।
दक्षिण एसियाली देशले एसियाली प्रतियोगितामा सँधै स्थान पाउने अवस्था थिएन। त्यसैले यो क्षेत्रका टिमलाई सँधै जागरुक बनाउन दक्षिण एसियाली खेलकुद सुरु भएको थियो। केही समयपछि साफ स्थापना भएर फुटबल खेल पनि सुरु भएको थियो।
देशको वर्णानुक्रमको आधारमा साफका खेल बंगलादेशबाट सुरु हुनु पर्ने हो। तर त्यहाँ आयोजना हुन नसकेपछि साफ प्रतियोगिता आयोजना गर्ने अवसर नेपालले पाएको थियो।
नेपालको घरेलु मैदानमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा माल्दिभ्सलाई ४-० ले हराएको थियो। सागको दोस्रो खेलमा नेपालले बंगलादेशलाई ४-२ ले हरायो। गोल गर्ने खेलाडी रहे कृष्ण थापा, सुदेश पन्थी र वाइबी घले। उनीहरुले समान १–१ गोल गर्दा नेपालले एक गोल चाहिँ आत्मघाती गरेको थियो।
दशरथ रंगशालामा नेपालले पहिलो हार सन् १९८५ मा दक्षिण कोरियासँग व्यहोर्यो। विश्वकप छनोटको पहिलो लेगको खेलमा नेपालले ०-२ को हार व्यहोरेको थियो। त्यही छनोटमा कोरियासँगको हारपछि नेपालले मलेसियासँग गोलरहित बराबरी खेलेको थियो।
सन् १९८६ मा नेपालले दशरथ रंगशालामा कुनै खेल खेलेन। सन् १९८७ मा ओलम्पिक छनोटका दुई खेल यही मैदानमा भएका थिए। ती दुवै खेल नेपाल र पाकिस्तानबीच भएका थिए। पाकिस्तानले अवे खेल पनि नेपालमै खेल्नका लागि मञ्जुरी गरेपछि पहिलो खेल गोलरहित बराबरी भयो भने दोस्रो खेलमा धीरेन्द्र प्रधानले गोल गर्दै नेपाललाई जित दिलाएका थिए। यो खेलसम्म आइपुगुन्जेल पनि पाकिस्तानका अधिकांश अन्तर्राष्ट्रिय खेल विदेशमा नै भइरहेका थिए।
सन् १९८८ मा एकै वर्ष नेपालले घरेलु मैदानमा चार खेल खेल्यो। घरेलु रंगशालामा सबैभन्दा धेरै खेल एकै वर्ष भएको समय थियो त्यो। ती सबै खेल एसियाली खेलकुदको छनोटका थिए। तर नेपालले कुनै पनि खेलमा जित निकाल्न सकेन।
इरानसँग ०–३, उत्तर कोरियासँग ०–१ र सिरियासँग ०–३ ले हारेको नेपालले हङकङसँग चाहिँ गोलरहित बराबरी खेलेको थियो। यससँगै नेपालले दशरथ रंगशालामा पहिलो १० खेल पूरा गर्दा तीन जित, चार हार, तीन बराबरी गरेको थियो। साथै नेपालले ९ गोल गर्दा ११ गोल बेहोरिसकेको थियो।

दशरथ रंगशालामा ११औं खेलका लागि एक दशक नै कुर्नु पर्यो। सन् १९८८ पछि १९९७ मा आएर मात्र रंगशालामा भएको खेलमा नेपालले ११औं अन्तर्राष्ट्रिय खेल खेल्यो। नेपाल साफ प्रतियोगितामा आयोजक थियो। साफका सुरुवाती दुवै खेलमा हार व्यहोरेपछि नेपाल बाहिरियो। पाकिस्तानसँग ०–२ र श्रीलंकासँग १–३ को हार बेहोरेको नेपालले अहिलेसम्मकै सबैभन्दा खराब प्रदर्शन त्यसै शृंखलाका खेललाई मानिन्छ। प्रतियोगितामा नेपालका दिपक अमात्यले मात्र गोल गरेका थिए।
सन् १९९८ मा नेपालले दशरथ रंगशालामा कुनै पनि खेल खेलेन। सन् १९९९ मा नेपालमा दक्षिण एसियाली महासंघीय खेलकुद आयोजना भएको थियो। त्यसमा नेपाल फाइनलसम्म पुगेको थियो। प्रतियोगिताको पहिलो खेलमा नेपालले भुटानलाई ७–० ले हराएको थियो। इतिहासकै सबैभन्दा बढी अन्तरको अन्तर्राष्ट्रिय जितमा हरि खड्का र बसन्तले समान २–२, साथै दीपक अमात्य, नरेश जोशी र निराजन रायमाझीले समान १–१ गोल गरेका थिए। त्यसकै दुई दिनपछि नेपालले पाकिस्तानलाई ३–१ ले हरायो। जहाँ हरि र बालगोपाल महर्जनले समान १–१ गोल गरेका थिए। एक गोल पाकिस्तानले आत्मघाती गरेको थियो।
समूह चरणको अन्तिम खेलमा भारतसँग नेपालले ०–४ को हार व्यहोर्नु पर्यो। हारका बाबजुद सेमिफाइनल पुगेको नेपालले माल्दिभ्सलाई दशरथ रंगशालामा २–१ को जित निकाल्यो। तर फाइनलमा बंगलादेशसँग ०–१ को हार खेप्नु पर्यो। त्यो वर्ष नेपालले रंगशालामा पाँच खेल खेलेको थियो। साथै साफमा उसले निकै सुधारिएको प्रदर्शन पनि गर्यो। त्यसपछि फेरि नेपालले रंगशालामा तीन वर्ष खेलेन।
चार वर्षपछि सन् २००३ मा भएको एसिया कप छनोटमा नेपालले अफगानिस्तान र किर्गिस्थानको सामना गरेको थियो। जहाँ अफगानिस्तानलाई ४–० ले हरायो भने कीर्गिस्तानसँग ०–२ को हार खेप्यो। अफगानिस्तानविरुद्ध नेपालका निराजनले दुई गोल गरेका थिए भने हरि र दीपकले समान १–१ गोल गरे।
नेपालले सन् २००४, २००५ र २००६ मा पनि दशरथ रंगशालामा खेलेन। त्यसपछि सन् २००७ मा विश्वकप छनोटको एक खेल खेलेको थियो। नेपालले ओमनसँग ०–२ को हार भोग्नु पर्यो।
यी बीचका १० खेलमध्ये ४ जित निकाल्दा नेपालले ६ खेलमा हार खायो। तर कुनै खेलमा बराबरी भएन भने १७ गोल गरेर १६ गोल व्यहोरेको थियो।

सन् २००८ मा नेपालले दशरथ रंगशालामा कुनै खेल खेलेको थिएन। दशरथ रंगशालामा भएको २१औं खेल चाहिँ एएफसी च्यालेन्ज कपको छनोट (२००९) थियो। त्यसमा नेपालले प्यालेस्टाइनलाई गोलरहित बराबरीमा रोक्यो। त्यही छनोटको अर्को खलमा नेपालले किर्गिस्तानलाई १–१ को बराबरीमा रोकेको थियो। नेपाली टिमका तत्कालीन कप्तान विराज महर्जनले गोल गरेका थिए। राष्ट्रिय टिमबाट उनको अन्तर्राष्ट्रिय गोल त्यही एक मात्र रह्यो।
एएफसी च्यालेन्ज कप छनोटकै तीन खेल २०११ मा पनि भएका थिए। छनोटमा नेपालले अफगानिस्तानलाई १–० ले हरायो भने उत्तर कोरियासँग ०–१ को हार खायो। अफगानिस्तानलाई हराउँदा भरत खवासले गोल गरेका थिए। तेस्रो खेलमा श्रीलंकालाई नेपालले गोलरहित बराबरीमा रोकेको थियो।
सन् २०१४ को ब्राजिल विश्वकप छनोटका खेल २०११ मा भएका थिए। त्यहाँ नेपालले पूर्वी टिमोरलाई २–१ ले हराउँदा जुमानु र अनिल गुरुङले गोल गरे। त्यही टिमलाई अर्को खेलमा नेपालले ५–० ले हरायो। नेपालले विश्वकप छनोटमा निकालेको यो निकै ठूलो जितसमेत हो। जोर्डनविरुद्धको खेलमा नेपालका भरत खवासले एक गोल फर्काएर बराबरीमा पुर्याएका थिए।
सन् २०१२ मा एएफसी च्यालेन्ज कप छनोट भयो। नेपाल सहभागी बनेको छनोटमा प्यालेस्टाइनसँग ०–२ ले पराजित भयो। माल्दिभ्ससँग ०–१ ले हार्यो। यी १० खेलबीचमा नेपालले तीन जित तीन हार र चार बराबरी खेलेको छ। जहाँ नेपालले १० गोल गरेर सात गोल खेपेको छ।
नेपालले दशरथ रंगशालामा खेलेको ३१औं खेल च्यालेन्ज कपको अन्तिम खेल थियो। उक्त खेलमा नेपालले तुर्कमेनस्तिानसँग ०–३ ले हार खायो। त्यही वर्ष २०१२ मा बंगालादेशसँग मैत्रीपूर्ण खेल्दा नेपालले १–१ को बराबरी गरेको थियो। गोलकर्ता थिए भोला सिलवाल। सन् २०१३ को फेब्रुअरीमा पाकिस्तानसँग दुई मैत्रीपूर्णमा ०-१ को समान हार खानुपर्यो। सोही वर्ष एएफसी च्यालेन्ज कपको छनोटका तीन खेल पनि भए। पहिलो खेलमा भरत खवासले उत्तरी मारियाना आइल्यान्डविरुद्ध ह्याट्रिक गरेका थिए। दशरथ रंगशालामा नेपालले गरेको पहिलो ह्याट्रिक थियो त्यो। त्यससँगै सन्तोष साहुखाल, राजु तामाङ र सन्दीप राईले समान १–१ गोल गरेपछि नेपालले ६–० को जित निकाल्यो। तर अर्को खेलमा बंगलादेशसँग ०–२ ले हार्नुपर्यो। प्यालेस्टाइनसँग गोलरहित बराबरी भयो।
सन् १०१३ मा नै साफ च्याम्पियनसिप नेपालमा आयोजना भएको थियो। घरेलु मैदानमा साफका ९ खेल भएका थिए। साफको पहिलो खेलमा नेपालले बंगलादेशलाई २–० ले हराएर पछिल्लो खेलको बदला दिएको थियो। बंगलादेशविरुद्ध अनिल र भरतले गोल गरेका थिए। दोस्रो खेलमा पाकिस्तानसँग १–१ को बराबरी भएको थियो। तर तेस्रो खेलमा चाहिँ भारतसँग १–२ ले हार्यो।
यसरी नेपालले ४० खेल पुरा गर्यो। त्यसबीचमा नेपालले तीन खेलमा मात्र जित निकालेको थियो। चार खेलमा हार बेहोरेको नेपालले तीन बराबरी खेल्यो। नेपालले १२ गोल गरेर १० गोल व्यहोरेको थियो।

नेपालेको ४१औं खेलमा रोहित चन्द दुई पटक पेनाल्टीमा चुके। निकै विवादित बनेको साफको सेमिफाइनल खेलमा नेपालले अफगानिस्तानसँग ०–१ को हार बेहोरेको थियो। यसरी नेपाल सेमिफाइनलबाटै बाहिरियो।
२०१४ मा नेपालले घरेलु यो रंगशालामा फुटबल नै खेलेन। तर २०१५ को विश्वकप छनोटमा भारतलाई गोलरहित बराबरीमा रोक्न सफल भएको थियो। विस २०७२ सालमा विनाशकारी भूकम्प आएपछि दशरथ रंगशाला खेल गराउन नसक्ने गरी भत्कियो। अनि नेपालले रंगशालामा खेल्नका लागि ६ वर्ष नै पर्खनु पर्यो।
सन् २०२१ अर्थात् २०७७ को चैतमा नेपालले थ्री नेसन्स कप आयोजना गर्यो। पहिलो खेलमा बंगालादेशसँग गोलरहित बराबरी भयो। त्यो कपको फाइनल खेलमा विशाल राई र संगोक राईले गोल गरेपछि बंगलादेशलाई २-१ ले हराउँदै नेपालले उपाधि जित्यो। त्यही वर्ष नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेलेको थियो। पहिलो खेलमा अञ्जन विष्टले गोल गरेपछि नेपालले १–१ को बराबरी गरेको थियो। अर्को खेलमा तेज तामाङले गोल फर्काए पनि नेपालले १–२ को हार खेप्नुपर्यो।
सन् २०२१ मा नै वर्ष नेपालले मोरिसससँग पनि दुईवटा मैत्रीपूर्ण खेल खेलेको थियो। कोभिडको कारण साढे २ वर्षसम्म फुटबल नखेलेको मोरिससविरुद्ध नेपालले दुवै खेलमा १–० को जित निकाल्यो। पहिलो खेलमा विमल घर्तीमगर र दोस्रो खेलमा सुजल श्रेष्ठले गोल गरेका थिए।
सन् २०२२ मा नेपालले दशरथ रंगशालामा बंगलादेशलाई आतिथ्यता प्रदान गरेको थियो। अञ्जन विष्ट बंगलादेशविरुद्ध ह्याट्रिक गरे। दशरथ रंगशालामा नेपालका तर्फबाट भएको यो दोस्रो ह्याट्रिक थियो। त्यसको सहयोगमा नेपालले ३-१ को जित निकाल्यो। यसरी रंगशालामा नेपालको ४९ खेल पूरा भएको थियो।
बुधबार साँझ पाकिस्तानसँग १७औं पटक खेलेपछि भने नेपालले रंगशालामा ५०औं खेल पूरा गर्यो। उक्त खेलमा अन्जन विष्टले ८२औं मिनेटमा गोल गरेपछि नेपालले पाकिस्तानलाई हरायो। यसअघि १९८७ र १९९९ मा दशरथ रंगशालमा नेपालले पाकिस्तानलाई हराएको थियो।

यसरी अन्तिम १० खेलमा नेपालले ४ जित निकालेर दुई हार खेपेको छ। त्यस्तै तीन खेलमा बराबरी गरेको छ। दशरथ रंगशालामा नेपालका ५० अन्तर्राष्ट्रिय खेलमा केकस्तो नतिजा आयो त? संक्षेपमा तल प्रस्तुत छ।
पहिलोदेखि दसौँ शृंखलासम्मका खेलमा नेपाल
जित ३, हार ४, बराबरी ३
गरेको गोल संख्या : ९
खाएको गोल संख्या : ११
एघारौँदेखि बीसौँ शृंखलासम्मका खेलमा नेपाल
जित ४, हार ६, बराबरी ०
गरेको गोल संख्या १७
खाएको गोल संख्या १७
एक्काइसौँदेखि तीसौँ शृंखलासम्मका खेलमा नेपाल
जित ३, हार ३, बराबरी ४
गोल गरेको संख्या : १०
खाएको गोल संख्या : ६
एकतीसौँदेखि चालिसौँ शृंखलासम्मका खेलमा नेपाल
जित २, हार ५, बराबरी ३
गरेको गोल संख्या : ११
खाएको गोल संख्या : ११
एकचालिसौँदेखि पचासौँ शृंखलासम्मका खेलमा नेपाल
जित ५, हार २, बराबरी ३
गरेको गोल संख्या : १०
खाएको गोल संख्या : ६
फराकिलो अन्तरका जितहार
सबैभन्दा फराकिलो अन्तरको जित भुटानविरुद्ध ७–०
सबैभन्दा फराकिलो अन्तरको हार भारतविरुद्ध ०–४
(यो सामग्री तयार पार्न हिमेशरत्न बज्रचार्यको खेल अर्काइभको सहयोग लिइएको छ।)