काठमाडौं- साढे तीन वर्षसम्म पाकिस्तानी फुटबल गुमनामसमान भयो। फिफाले प्रतिबन्ध हटाइदिएसँगै पाकिस्तानको फुटबल पहिलेझैँ गुलजार हुँदैछ। वितग भुलेर बुधबार दशरथ रंगशालामा नेपाली टिमको ५०औं खेलमा प्रतिस्पर्धी बनेर मैदान उत्रिएको पाकिस्तानी फुटबल नयाँ युगको सुरुवातका लागि अग्रसर छ भन्ने सन्देश प्रवाह गरेको छ।
‘संकटपछि हामीले खेल्न सुरु गरेको हो। यो नै ठूलो कुरा हो। हामीले फुटबलको राम्रो भविष्यको आशा राखेका छौं। यो खेल पाकिस्तानका लागि धेरै अर्थ राख्छ,’ खेलपछि पाकिस्तानी टिमका मुख्य प्रशिक्षक अहजर अनवरले भने।
फिफाको लामो प्रतिबन्धबाट फुकुवा भएपछि पहिलो पटक ६ हजार ९७२ दर्शकसामु नेपालसँग खेलेको पाकिस्तानले निर्धारित ९० मिनेटमा पाकिस्तानले कुनै गोल गर्न नसकेपछि हार व्यहोर्नुपर्यो। यद्यपि यो खेललाई पाकिस्तानले महत्वका साथ लिएको छ।
१-० को नतिजा आफ्नो पक्षमा पारेको नेपाललाई उसले बधाई दिएको छ। ‘विजयी नेपाललाई बधाई। उनीहरुले लगातार खेलिरहे पनि हामीले साढे तीन वर्षपछि पहिला पटक खेलिरहेको हो। मलाई लाग्छ हामीले अहिले अरु टिमसँग तुलुना गर्नु हुँदैन,’ पत्रकारको प्रश्नमा अनवरको जवाफ छ।
खेलको ८४औं मिनेटमा गोल गरेका नेपाली खेलाडी अञ्जन विष्टले राष्ट्रिय टिमबाट ११ गोल पूरा गरेका छन्। उनले गोल गर्दा फुकाएर नचाएको जर्सी भने पाकिस्तानी खेलाडीसँग साटेका छन्। ‘हामीले पहिले खेल्दाखेरी नै जर्सी साट्ने भनेका थियौँ। पछि साटेको हो,’ म्यानअफ दि म्याचसमेत बनेका अन्जनले पाकिस्तानी खेलाडीसँग खुसी साटेको पल सम्झँदै भने, ‘त्यतिबेला चाहिँ पाकिस्तानमा बोलाउँछौं भनेका थिए। मैले पनि खेल्न आउँछु भनेँ।’

यो मैत्रीपूर्ण खेल मात्र थियो। तर उनले जसरी सेलिब्रेसन गरे त्यो चाहिँ ठूलो प्रतियोगितामा निर्णयक गोल गर्दाको शैलीमा जस्तै देखिन्थ्यो। के त्यो आवश्यक थियो? अञ्जनको जवाफ छ, ‘यो मैत्रीपूर्ण खेल हाम्रा लागि मैत्रीपूर्णमा सीमित छैन। देशलाई प्रतिनिधित्व गरेको हो। गोल भएपछि त्यस्तै भयो। अघिबाटै सोचेको चाहिँ थिएन। भित्रैबाट आइहालेको हो।’
सन् २००८ मा नेपालले पाकिस्तानसँग खेलेका दुवै खेलमा हार व्यहोरेको थियो। नेपालले अन्तिम पटक पाकिस्तानलाई जितेको भनेको पनि १४ वर्ष भइसकेको रहेछ। ‘१४ वर्षपछि पाकिस्तानलाई हराउन पाउँदा एकदमै खुसी छु। हामीले १२ दिनको मात्र अभ्यास गरेका थियौँ। त्यसबाट पनि जित निकाल्नु ठूलो कुरा हुन्थ्यो,’ नेपाली टिमका प्रशिक्षक प्रवेश कटुवालले भने।
खेलमा नेपालले निकै अवसर पाए पनि सदुपयोग गर्न सकेन। पहिलो हाफको सुरुमै विष्टले एकपटक पोस्टमाथि प्रहार गरे। पाकिस्तानी खेलाडीले प्रहार गर्नै लागेको बल दीप कार्कीले अघि बढेर नियन्त्रणमा लिए। त्यस्तै खेलको ३०औं मिनेटमा अञ्जनले बक्सभित्रै बल भेट्न नसक्दा गोलको अर्को अवसरमा नेपाल चुक्यो।
पहिलो हाफको अन्तिम १० मिनेट बाँकी रहँदा तेज तामाङले पोस्टअघि क्रस गरेका थिए। पाकिस्तानी डिफेन्डर अदुल क्बदर खानले हेडमार्फत् बल क्लियर गरिदिएपछि बल हान्न पुगेका विमल घर्तिमगर त्यसै फर्किए।
दिनेश राजवंशीले पाकिस्तानी क्षेत्रको मैदानको मध्यभागबाट प्रदान गरेको बललाई चाहिँ गोलकिपर युसुफ बटले बचाएका थिए।

पाकिस्तानले पनि गोलका अवसर सिर्जना गरेको थियो। पोस्टअघिबाट हसन बसिर र वालिद खानले लगातार दुईपटक प्रयास गरे पनि नेपाली डिफेन्डरले जोगाए। पकिस्तानले पहिलो हाफको बीचतिर केही प्रयास गरे पनि गोल हुन सकेन। यससँगै पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो।
‘सायद तयारी कम भए पनि होला, फिनिसिङ गर्न सकेनौँ,’ खेलको विश्लेषणमा प्रशिक्षक प्रवेश कटुवाल भन्छन्, ‘हाम्रो खेलाडी सबै फिट थिएनन्। त्यसैले ६० मिनेटपछि बेन्चका खेलाडी छिराएको हो। धेरै थाकिसकेको बेलामा नयाँ स्फुर्ति दिन्छ भनेर।’
दोस्रो हाफका पाँचौँ मिनेट नबित्दै पाकिस्तान आत्मघाती गोलबाट जोगिएको थियो। बसिरले नेपालको पोस्टअघिबाट प्रभावशाली प्रहार गरे। तर उनको प्रहारमा बल पोस्टलाई बायाँतर्फ छोड्दै अघि गयो।
५६औं मिनेटमा सेसेहाङ आङदेम्बे र पुजन उपरकोटीको ठाउँमा आवास लामिछाने र एरिक विष्ट मैदान प्रवेश गरेका थिए। आवासले सेसेहाङको ठाउँमा मैदान छिदै डेब्यु गरेका थिए। त्यस्तै, ७२औं मिनेटमा नवयुग श्रेष्ठ र सुनिल बल मैदानमा प्रवेश गरेपछि खेल झन् प्रतिस्पर्धात्मक बनेको थियो। त्यसको केही समयमा पाकिस्तानका सायक दोस्तले गरेको प्रहार गोलकिपर कार्कीले बचाएका थिए। खेलमा १० मिनेट बाँकी रहँदा दुवै टिमले अट्याकलाई तीव्र बनाएपनि गोल हुन सकेको थिएन। ८२औं मिनेटमा अञ्जनले लामो पासलाई पोस्टको दायातर्फ प्रहार गर्दै गोल गरेका थिए। दिनेश राजवंशीले ‘राइट फ्ल्यांक’बाट उपलब्ध गराएको पासमा नेपालले गरेको यो निकै आकर्षक गोल थियो।
खेलपछि पाकिस्तानी प्रशिक्षक अनवरले पीच फरक परेको, उचाईका कारणले गर्दा खेलाडीमा क्रम्पलगायतका समस्या आएको पनि बताएका छन्। नेपालका प्रशिक्षक प्रवेशले चाहिँ आफ्नो जिम्मेवारीलाई एन्फाको ठूलो उपहार भएको बताएका छन्।
‘प्रशिक्षणको पनि तीन वर्ष त भयो। यति छिटै यो निकै ठूलो उपहार हो। तर यसअघि पनि सक्षम हुँदाहुँदै पनि पाइनँ। यद्यपि विरलै आउने यस्तो अवसरका लागि मैले हरेश खाएको थिएन। मैले पाउँछु भन्ने लागेको थियो,’ प्रशिक्षक प्रवेशले भने।
आजको खेलमा म्यान अफ दि म्याच बनेका अञ्जनले पनि गोल गरेर अझै धेरै गर्नुछ भन्ने संकेत दिएका छन्। ‘यो गोल चाहिँ अन्तिम होइन अझै धेर गर्नुछ भन्ने कुराको संकेत हो। अनि म सेलिब्रसन गर्दा कान थुन्ने गर्दछु। मेरो भनाइ चाहिँ कस्तो भने, जीवनमा उतारचढाव हुन्छ। तल परेको बेला नराम्रो नसुनौँ भन्ने पनि छ,’ उनले आफ्ना सेलिब्रसनबारे भने।
लामो समयसम्म अञ्जनले गोल गर्न सकेका थिएनन्। तर उनले पछिल्ला दुवै खेलमा निर्णायक गोल गरेका छन्। अघिल्लो खेलमा त ह्याट्रिक नै गरे। एकाएक यस्तो परिवर्तन कसरी? उनको जवाफ छ, ‘लामो समय गोल भएन। तर कमजोरीलाई फोकस गरेर त्यसलाई सुधार गर्दै अघि बढ्नु पर्छ। अझै कति खेल्न बाँकी छ।’