काठमाडौं– डिफेन्डिङ च्याम्पियन संकटा क्लब २० औं संस्करणको आहा रारा गोल्डकपको पहिलो खेलमा मछिन्द्रसँग पराजित हुँदै बाहिरिएको छ।
सोमबार दिउँसो पोखरा रंगशालामा सम्पन्न खेलमा मछिन्द्रसँग ४–१ ले पराजित हुँदै संकटा क्लब प्रतियोगिताबाट बाहिरिएको हो। मछिन्द्रलाई जित दिलाउन मेसुके ओलुमेउले दुई गोल गरे भने उत्सव राई र अभिषेक गुरुङले समान १–१ गोल गरेका थिए।
खेलमा संकटाका गणेश हमालले एक गोेल फर्काएसँगै मछिन्द्र ४–१ ले विजयी भएको हो। आजको खेलमा जित निकालेसँगै मछिन्द्र क्लब पहिलोपटक आहा राराको सेमिफाइनलमा प्रवेश गर्यो।
उसले अब सेमिफाइनल खेलमा विभागीय टिम एपीएफको सामना गर्नेछ। एपीएफ र मछिन्द्रबीचको खेल माघ १२ गते हुनेछ। त्यस्तै, भोलिको खेलमा थ्रिस्टार क्लबले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ। यो खेलको विजेताले अर्को सेमिफाइनल खेलमा गोल्डकपको सर्वाधिक विजेता मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ।