मंगलबार, कार्तिक ९, २०७८

आरसीटी अर्थात् फुटबलको जिउँदो इतिहास

विनय सापकोटा  |  काठमाडौं, शनिबार, असोज ९, २०७८

विनय सापकोटा

विनय सापकोटा

शनिबार, असोज ९, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं– रानीपोखरीको पश्चिमी कुनाको असनतर्फ जाने बाटोछेउमा पाँच तले भवन छ। भवनको अग्रभागमा लोगोसहित लेखिएको छ ‘अन्नपूर्ण क्लब आरसीटी’।

त्यही भवनमा छ नेपालको पहिलो र एक मात्र फुटबल संग्रहालय। २०७३ सालमा निर्माण सुरु गरिएको संग्रहालय दुई वर्षमा सम्पन्न भएको थियो।

इतिहास संरक्षण गरेर नयाँ पुस्तालाई हस्तान्तरण गर्न चुकेको नेपाली खेलकुदमा यो संग्रहालयले फुटबलको सय वर्षको इतिहासलाई संरक्षण गरेको छ।

नेपाली फुटबललाई नजिकबाट नियाल्नेहरु यस संग्रहालयले नेपाली फुटबल इतिहासको एक चौथाइ अंश समेटेको बताउँछन्। संग्रहालयले आरसीटी क्लबको गौरवमय इतिहास बोकेको छ। किनभने उसले हासिल गरेका उपलब्धिको पर्याय नै हो सो संग्रहालय।

भनिन्छ, जबसम्म आरसीटीको इतिहास बुझिन्न तबसम्म संग्रहालय र नेपाली फुटबल अधुरो रहन्छ।

आरसीटीले फुटबल एकेडेमीको अवधारणा नबन्दै दक्षिण एसियामा एकेडेमीको अवधारणा विकास गरेको थियो। उसले विगतमा गरेको सो काम गराउन आज फुटबल संघ (एन्फा) लाई पनि गाह्रो छ।

किनभने उमेर समूहदेखि सिनियरम्मको टिम बनाउने काम आरसीटीले ५० वर्षअघि नै गरिसकेको हो। आधिकारिक एकेडेमी नभए पनि एकेडेमी बराबरको टिम थियो। अझभन्दा एकेडेमीभन्दा पनि ठूलो।

ए, बी, सी र डी (अहिलेको फुटबल पिरामिडमा ‘डी डिभिजन’ छैन।) डिभिजन लिगका लागि क्बलसँग खेलाडी थिए।

ए डिभिजनमै आरसीटी र अन्नपूर्ण दुई टिम थिए। पछि आरसीटीको बी डिभिजन खेल्ने टिम पनि च्याम्पियन भएपछि एक साल ए डिभिजनमा बढुवा भएर तीन टिम शीर्ष डिभिजनमा थिए– आरसीटी, सुपर आरसीटी र अन्नपूर्ण क्लब। यति समृद्ध क्लब विश्वमै सायदै हुन्छन्।

इतिहास संरक्षण गरेर नयाँ पुस्तालाई हस्तान्तरण गर्न चुकेको नेपाली खेलकुदमा यो संग्रहालयले फुटबलको सय वर्षको इतिहासलाई संरक्षण गरेको छ।

क्लबमा चार ग्रेडका टिम थिए। खेलाडीहरु क्षमताअनुसार बढुवा र घटुवा हुन्थे। राम्रो गर्ने खेलाडी ए तिर, राम्रो गर्न नसके डीतिर झर्थे।

‘ती ग्रुपबाट यू–२३ र यू–१९ को टिम बनाउन पुग्थ्यो। त्यो भनेको त एकेडेमी बराबर हो। अहिले एसियाली फुटबल महासंघ (एएफसी) ले गरेको पनि त्यही हो,’ आरसीटी संग्रहालय व्यवस्थापन उपसमितिका सदस्य सचिव नरेश वैद्य भन्छन्।

क्लबले २०३० को दशकमा काठमाडौं मात्र होइन, भारतको दार्जिलिङ, सिक्कम र भुटानबाट पनि खेलाडी ल्याउने गरेको थियो । २०२६ सालयता क्लबले धेरै उपाधि जितेको छ, त्यो समय आरसीटीको स्वर्णीम समय थियो।

आरसीटीको आफ्नै मैदान थिएन तर प्रशस्त खेल्ने ठाउँ थियो। टुँडीखेलको एउटा छेउ सेनाले उपयोग गरिरहेको छ, अर्को छेउमा त्रिचन्द्र कलेजका भवन बने।

‘उतिबेला घण्टाघरपट्टी मात्र त्रिचन्द्र कलेज थियो। अहिले त्रिचन्द्रको बास्केटबल कोर्ट भएको ठाउँमा आरसीटीका खेलाडी अभ्यास गर्थे, जुन रानीपोखरीको एक कुनामा पर्छ। त्यसैले टिमको नाम नै रानीपोखरी कर्नर टिम रहन गयो,’ वैद्यले भने।

कसरी जन्मियो क्लब?

असनमा भएको एउटा मन्दिरको नाम हो– अन्नपूर्ण। त्यो मन्दिरको नाममा बनेको क्लब थियो अन्नपूर्ण। आरसीटी भनेको चाहिँ ‘रानीपोखरी कर्नर टिम’ हो। यो टिम त १९९० सालको भूकम्पअघि नै थियो।

२०२६ सालअघि भिन्न दुई टिम थिए। पछि दुवै टिम जोडिए र नाम रह्यो– अन्नपूर्ण क्लब आरसीटी। पहिले दुवै फुटबल टिम थिए। अहिले अन्नपूर्ण क्लब ‘कोल्याप्स’ भएको छ र आरसीटी मात्र छ।

फुटबलको इतिहास खोतल्दै जाने क्रममा संग्रहालयका सदस्य–सचिव वैद्य दंग पर्छन्। भन्छन्, ‘मेरो बाजे पनि जवानीमा फुटबल खेलाडी रहेछन्। त्यतिबेला यहाँको हरेक घरबाट १–१ जना खेलाडी निस्किँदा रहेछन्। असन, भोटाहिटी, मागो एरियामा स्थानीयले फुटबल टिम चलाएका रहेछन्। र, आर्थिक स्रोत पनि स्थानीय नै रहेछ।’

त्यसरी काठमाडौंको फुटबल विकास भएको थियो। टिममा धेरैजसो खेलाडी त स्थानीय नै हुन्थे।

एकमात्र आइकनिक क्लब

२०२४ सालतिरको कुरा हो। क्लबमा गाडी थियो। खासमा गाडीचाहिँ आरसीटीका संस्थापकमध्ये भक्तवीर र उनका भाइ पूर्णविर सिंहको थियो।

त्यो समयको चर्चित गाडी ल्याण्डरोभर संस्थापकको थियो। त्यो गाडीले खेलाडी ल्याउने–लाने गर्थ्यो। खेलाडीमात्र होइन, समर्थकले पनि त्यो गाडी चढ्न पाउँथे। गाडीमा चढ्न पाउने भएपछि धेरै मानिस क्लबका फ्यान भएका थिए।

खेलाडी र समर्थकलाई त्यो गाडीमा चढ्नु पनि निकै इज्जतको कुरा हुन्थ्यो। २०२४ सालताका नै क्लबले व्यापक समर्थक बटुलिसकेको थियो। आरसीटीको खेलको समय त असनतिर पर्वजस्तै हुन्थ्यो। टुँडीखेल पश्चिमका समर्थकहरु पसल बन्द गरेर खेल हेर्न जान्थे।

एक दिन त भद्रकालीमा दुर्घटना हुँदा क्लबका एक समर्थकले ज्यान गुमाए। त्यो दिन आरसीटी ए डिभिजनमा प्रवेश गरेको थियो। टोलभरी खुसीयाली थियो। समर्थकले भरिएको ट्रक दुर्घटनामा पर्यो र एकजनाको त ज्यानै गयो।

फुटबलको त्यो तहको क्रेज थियो, आरसीटीको। त्यसरी ए डिभिजन लिगमा उक्लिएको दोस्रो वर्ष नै उपविजेता बन्यो। २०२८, २९ र ३० मा त लगातार तीन पटक उपाधि चुम्यो।

त्यो समयको चर्चित गाडी ल्याण्डरोभर संस्थापकको थियो। त्यो गाडीले खेलाडी ल्याउने–लाने गर्थ्यो। खेलाडीमात्र होइन, समर्थकले पनि त्यो गाडी चढ्न पाउँथे। गाडीमा चढ्न पाउने भएपछि धेरै मानिस क्लबका फ्यान भएका थिए।

त्यो बेलाका अन्य चर्चित क्लबहरुमा ठमेल ११, एनआरटी, संकटा, महावीर र लालुपाते ११ थिए। तिनै टिमविरुद्ध खेलेर आरसीटीले २०३० मा पहिलोपटक आयोजना भएको शुभजन्मोत्सव कप जितेको थियो।

यता रानीपोखरी कर्नर टिमको भगिनी क्लब थियो– अन्नपूर्ण क्लब। उसले २०३९ सालमा लिग जित्यो। लिगमा मात्र होइन, प्रदर्शनमा पनि अन्नपूर्ण क्लब खरो थियो। आरसीटीले लगातार तीन पटक लिग जित्दा अन्नपूर्ण लगातार उपविजेता भएको थियो। आफ्नै टिमबीचको स्पर्धा पनि आरसीटीको ऐतिहासिक उपलब्धि हो।

त्यसको १० वर्षपछि आरसीटीले खराब प्रदर्शन गरेको समयमा अन्नपूर्णले लिग जितेर क्लबको साख जोगाएको थियो। त्यतिबेला लिग जित्ने टिमका सदस्य थिए, राजुकाजी शाक्य।

‘राष्ट्रिय टिममा परेपछि मलाई आरसीटीबाट अफर आएको थियो। म गएँ। तर नेसनल टिममा परिसकेको म त आरसीटीको बी क्लबमा राख्ने कुरा भयो,’ शाक्य भन्छन्, ‘पछि आरसीटीमा होइन अन्नपूर्णबाट खेलाउँ भन्ने कुरा भएर मैले पहिलो पटक अन्नपूर्णबाट लिग खेलेको थिएँ। जितियो पनि।’

आरसीटी फुटबल संग्रहालयका सदस्यसचिव नरेश वैद्य।

त्यतिबेला खेलाडीको लागि विशेष सुविधा केही थिएन। न त खेलाडीले खेलेबापत पैसा नै पाउँथे। बरु काठमाडौंको समाजमा फुटबल संस्कृति बनेको थियो। त्यसैको इज्जत थियो।

‘हामी त्यसैका लागि खेल्थ्यौं। हिलो मैदानमा बल गुडाउनै गाह्रो हुन्थ्यो। मैदान दायाँबायाँ भरिभराउ हुन्थ्यो। तर खेलाडीका लागि डाइट पनि हुन्थेन,’ शाक्य सम्झिन्छन्, ‘गेमको दिन चाहिँ चना, जेरी, पुलाउलगायत हुन्थ्यो।’

आफ्नो खेलाडी जीवनमा राष्ट्रिय टिमबाट सर्वाधिक क्याप जित्ने खेलाडी हुन् शाक्य। पछि उनी राष्ट्रिय टिमको मुख्य प्रशिक्षकसम्म भए।

ए डिभिजन, नेसनल लिग र बर्थडे कपको शिल्ड

आरसीटी संग्रहालयको मुख्य तीन आकर्षण भनेको तीन ठूला शिल्ड हुन्। नेपालमा पाइएको ए डिभिजन लिगको सबैभन्दा पुरानो र असली शिल्ड संग्रहालयमा छ। आरसीटीले लगातार तीन पटक लिग जितेर शिल्ड आफ्नो बनाएको हो।

नेपालको इतिहासमा लिग कसले जित्यो भन्ने कुरा त्यहाँ भएको नामबाहेक अरु केही पनि प्रमाण छैन। सहिद स्मारक लिग हुनुपूर्व नेपालमा रामजानकी लिग थियो– अहिलेको सहिद स्मारक लिग जस्तै। त्यसको विभिन्न डिभिजन थियो। त्यही रामजानकी लिगको पहिलो र एकमात्र शील्ड संग्रहालयमा छ।

कतिपयले अनुमान गरेअनुसार शिल्डको बीच भागमा सहिद स्मारक लिग लेखिएको छ। त्यो उक्कायो भने त्यसभित्र रामजानकी लिग भनेर लेखेको हुनुपर्छ। तर ऐतिहासिक सम्पदा भएका कारण आजसम्म कसैले हेरेकै छैन।

त्यो शिल्डको तौल निकै छ, एक जनाले उचाल्नै हम्मे पर्छ। रामजनकी लिगमा दोस्रो हुनेले पाउने शिल्ड चाहिँ अर्को छ। त्यो पनि आरसीटीसँगै छ। त्यो शिल्ड पनि आरसीटीले जितेर कब्जा जमाएको हो।

नेपालको इतिहासमा लिग कसले जित्यो भन्ने कुरा त्यहाँ भएको नामबाहेक अरु केही पनि प्रमाण छैन। सहिद स्मारक लिग हुनुपूर्व नेपालमा रामजानकी लिग थियो– अहिलेको सहिद स्मारक लिग जस्तै। त्यसको विभिन्न डिभिजन थियो। त्यही रामजानकी लिगको पहिलो र एकमात्र शील्ड संग्रहालयमा छ।

अहिले विजेतालाई दिने शिल्ड त धेरै पछि निर्माण गरिएको हो। त्यतिबेला आरसीटीले लगातार तीन उपाधि जिते पनि सहिद स्मारक शिल्ड राख्ने सम्भावना निकै कम थियो। तर लिग आयोजना गरिरहेको नेपाल फुटबल संघ नै विघटित हुन पुग्यो। अनि अखिल नेपाल फुटबल संघ (एन्फा) बन्यो। तिनीहरुबीचको टकरावका कारण आरसीटीले शिल्ड आफैंसँग राख्न सक्यो।

यता नेसनल (राष्ट्रिय) लिगको ट्रफी पनि आरसीटीले आफ्नै बनाएको हो। सहिद स्मारक लिगका उत्कृष्टमध्ये र मोफसलका विजेता क्लबले प्रतिस्पर्धा प्रतियोगिता हो– नेसनल लिग।

राष्ट्रिय लिग लगातार तीनपटक जितेपछि आरसीटीले ट्रफीमा आफ्नो प्रभुत्व जमायो। पछि कुनै समय एन्फाले नेसनल लिग पहिलो पटक गरेको बताएको थियो। जुन गलत हो भन्ने त्यो ट्रफीले पुष्टि गरेको छ।

किनभने २०३९, ४० र ४१ सालमा लागातार उपाधि जितेर आरसीटीले नेशनल लिगको शिल्ड आफ्नो बनाएको थियो।

नेसनल लिगको ट्रफीपछि अर्को आकर्षक ट्रफी देख्न पाइन्छ, संग्रहालयमा। त्यो हो बर्थडे कप। त्यो कपचाहिँ उसले लगातार तीनपटक उपाधि जितेर पाएको होइन। यद्यपि त्यो कपमा आरसीटीको भन्दा अन्य क्लबको हक कम नै होला। उसले अन्तिम पटक २०५७ सालको प्रतियोगिता जितेको थियो।

राजा वीरेन्द्रको राज्यभिषेकबाट सुरु भएको हो, बर्थडे कप। राजा वीरेन्द्रको मृत्यु भएसँगै त्यो कपको इतिहास सकियो। कपको पहिलो संस्करण २०३० मा पनि आरसीटीले जितेको थियो। दरबार हत्याकाण्डसँगै बर्थडे कपको पनि अन्त्य भयो।

अब त राजतन्त्र हटिसक्यो। बर्थडे कप आयोजना हुने कुरै भएन। राष्ट्रिपति कप, प्रधानमन्त्री कप, मुख्यमन्त्री कपदेखि मेयर कपसम्म आइसके।

‘२०३० सालमा सुरु हुँदा तथा अन्तिम पटक ०५७ सालमा जितेको हामीले हो। यसरी हेर्दा प्रतियोगिताको पहिलो सिजन र अन्तिम सिजन आरसीटीले जितेको छ,’ बद्रीबहादुर श्रेष्ठ भन्छन्।

र, संग्रहालयमा भएको राणाकालीन ट्रफीचाहिँ महावीर कप हो। वि.सं. १९८६ मा बनेको कप हो त्यो। आरसीटीले जितेको चाहिँ २०३६ सालमा थियो। राणाहरुको पालाको क्लब भएकाले महावीर कपको शिल्ड पनि राणाकालीन नै हो।

त्यतिबेला बन्यो, फेरि कहिले बनेन

जब आरसिटी उपाधिको सगरमाथामा थियो, त्यतिबेला टिममा थिए बद्रीबहादुर श्रेष्ठ। अहिले आरसीटीको पुराना एक खेलाडी मात्र उनको परिचय हो। तर उतिबेला श्रेष्ठले नै लामो समय टिम सम्हाले। थुप्रै उपाधि जिते। अन्नपूर्ण क्लबका त कप्तानसमेत भए।

कति जित्नुभयो भन्ने प्रश्नमा उनले हाँस्दै भने, ‘थुप्रै जितियो, गन्तिमा चाहिँ थाहा भएन।’ त्यतिबेलाको टिम कस्तो थियो? खेल्ने शैली कस्तो हुन्थ्यो? फुटबलमा कस्तो रणनीति अपनाइन्थ्यो? त्यसलाई बयान गर्ने अहिले सायदै कोही होला।

तर बद्रीबहादुरको सम्झनामा त्यो समय जत्तिको खेलाडी र टिम त्यसपछि देख्न पाइएको छैन।

‘पहिले बर्थडे कप थियो। त्यो सुरु हुँदाको नेपाली टिमजस्तो थियो त्यत्तिको टिम अहिलेसम्म नेपालमा बनेकै छैन,’ उनी भन्छन्, ‘नेपालबाट त्यही टिमसँग हामी एसियाली स्तरको पनि खेल्न गयौं। त्यो प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका थियौं।’

उनलाई त्यो खेल एसियन गेम्स हो जस्तो लाग्छ। ‘बुद्धि गुरुङ, बिनू सुब्बा, हिम, पुरुषोत्तम, चन्द्रप्रसाद, मलगायतका खेलाडी थियौं। यो ०३० सालपछिको खेल थियो। म ठोकुवा गरेरै भन्छु कि आजसम्म त्यति बलियो, त्यति गुणस्तरको टिम बनेको छैन,’ उनले दाबी कसे।

जब आरसिटी उपाधिको सगरमाथामा थियो, त्यतिबेला टिममा थिए बद्रीबहादुर श्रेष्ठ। अहिले आरसीटीको पुराना एक खेलाडी मात्र उनको परिचय हो। तर उतिबेला श्रेष्ठले नै लामो समय टिम सम्हाले। थुप्रै उपाधि जिते। अन्नपूर्ण क्लबका त कप्तानसमेत भए।

श्रेष्ठ अहिले क्लब संरक्षण समितिका सदस्य छन्। आरसीटीमा त्यो समय यू–१३ देखि माथि सबै टिम थियो। तर अधिकांश स्थानीय मात्रै। वैद्य सुनाउँछन्, ‘मैले फुटबल सुरु गरेको ०३५ सालबाट। त्यतिबेला फुटबल खेल्न नपाउने हामी तीन जना थियौं। शुक्रबार स्कुलबाट भागेर टुँडीखेल जान्थ्यौं। खेल्ने चाहना हुन्थ्यो तर सिनियर दाइहरुले खेल्नै दिँदैनथे। हामी सधैं पछाडि रहन्थ्यौं।’

उनले थपे, ‘०३६ सालमा मैले डी डिभिजन खेलेँ। त्यतिबेलाको छनोटमा तीन सय बराबर खेलाडी हुन्थे। जति पटक राष्ट्रिय टिम बन्छ, त्यसको ७५ प्रतिशत खेलाडी अन्नपूर्ण आरसीटीबाट हुन्थे।’

पुरानो जर्सीको विवाद


चार तारा नेपाली कांग्रेसले आफ्नो झण्डामा प्रयोग गरिरहेको छ। नेपाली प्रजातान्त्रिक कांग्रेस र नेपाली राष्ट्रिय कांग्रेसको मिलन भएपछि नै यो झण्डा कायम छ।

त्यतिबेला १०४ वर्षदेखि शासन चलाइरहेको राणाशासन अन्त्य गर्नमा कांग्रेसको निकै महत्वपूर्ण हात थियो। यता खेलको माध्यमबाट आरसीटीले पनि सहयोग गरिरहेको थियो।

आरसीटीका धेरै समर्थकहरु राणशासनबाट पिरोलिएका थिए। त्यसो त राणाविरुद्ध फुटबल खेल्ने पहिलो जनताको टिम पनि आरसीटी नै त थियो। त्यसैले आरसीटी राणा शासनविरुद्ध लडेको टिमको रुपमा आफूलाई चिनाउँछ।

हो, त्यही समयमा आरसीटीले चार तारा अंकित जर्सी प्रयोग गरेको थियो। सुरुका दिनमा त आरसीटीको जुत्ता पनि थिएन। न जर्सी नै थियो। तर त्यसरी लामो समय चलेन। अनि आरसीटीले जर्सी बनाएको थियो।

‘खासचाहिँ २००७ सालअघिको जर्सी हामीसँग छ। ओरिजिनल छैन डिजाइन चाहिँ छ,’ बद्रीबहादुर सुनाउँछन्, ‘सात सालअघिकै कुरा हो। त्यतिबेला हाम्रा बुवा–दाइहरु चार तारा लगाएकै जर्सीमा फुटबल खेल्थे।’

‘राणासँग बुवाबाजेहरु खेल्न जाँदा त्यतिबेला बनाएको जर्सी हो यो,’ सदस्य सचिव वैद्य भन्छन्, ‘यो जर्सी २०२४ सालमा सुरु हुँदा त्यही जर्सी लगाएर खेलेका थियौं। जुन २००७ सालअघि पनि लगाएका थियौं।’

जर्सीमा कांग्रेसको तारा अंकित छ भन्ने हल्ला त्यतिबेला चारैतिर फलियो। आरसीटी कांग्रेसकै टिम नभए पनि अप्रत्यक्ष रुपमा टच थियो। लौहपुरुष गणेशमान सिंहले भवन उद्घाटन जो गरेका थिए।

‘तर २०२४–०२५ सालमा पार्टीको विषयमा धेरै कडाइ गरिएको थियो। पार्टीसँग मिल्न पाइँदैन थियो। चार ताराको विषय पनि खुल्यो यता पहिले बनाएको जर्सी पनि पुरानो भएर मक्किसकेको थियो। त्यसैले एक सिजन पनि लाउन पाइएन। त्यसकारण पछि फेरेर हामीले नयाँ जर्सी बनायौँ,’ बद्रीबहादुर भन्छन्।

तर यो अहिलेको जर्सी पहिलेको जस्तो मिलेको छैन। त्यतिबेलाको भनेर अहिले संग्रहालयमा राखेको जर्सी बनाउन निकै समय लाग्यो। अनुसन्धान लामो चल्यो।

‘त्यो जर्सी बनाउने प्रयास धेरै भए। अनुमान लगाउन निकै गाह्रो पर्यो। एकपटक बनायो त्यो होइन भनियो। पछि अर्को तरिकाले बनाइयो, त्यो पनि होइन भनियो। पछि काँधबाट झरेको नक्सा भएको चाहिँ हो भन्ने अन्तिम निर्णय भयो। धेरै त्यही अनुमान रह्यो,’ वैद्यले सुनाए।

जर्सीमा कांग्रेसको तारा अंकित छ भन्ने हल्ला त्यतिबेला चारैतिर फलियो। आरसीटी कांग्रेसकै टिम नभए पनि अप्रत्यक्ष रुपमा टच थियो। लौहपुरुष गणेशमान सिंहले भवन उद्घाटन जो गरेका थिए।

केहीले सेतोमा पृष्ठभूमिका निलो धर्को भने। कसैले धर्का मुनी तारा भने त कसैले धर्कामाथि तारा रहेको प्रतिक्रिया दिए।

धर्को कहाँ थियो भन्ने कुरा पनि यकिन थिएन। धेरैतिर धर्का राखेर पहिलेको झल्को दिनेखालको जर्सी तयार गरियो। तर कुनै जर्सीले मेल खाएन।

एकफेर रातो बीचमा सेतो बाक्लो धर्को र बीचमा चारतारा भएको जर्सी बनाएपछि चाहिँ ‘यस्तै हुनुपर्छ’ भन्ने धेरैको अनुमान रह्यो। आज त्यही डिजाइनको जर्सी संग्रहालयमा देख्न पाइन्छ। धेरैको मत चाहिँ त्यो डिजाइनको जर्सी नै हो भन्ने रहेछ।

आरसीटीले सबैभन्दा धेरै उपाधि बटुलेको जर्सी चाहिँ त्यसपछिको यो दुइटा हो, निलो–सेतो मिसिएको र निक्खर सेतो। ती जर्सीका त तस्बिर संग्रहालयमा देख्न नै पाइन्छ।

आरसीटीसँग चार वटा सेल्फ फाइनान्सको जर्सी थियो। त्यसपछि स्पोन्सरबाट पाएको जर्सी हो। त्यसपछि धेरै जर्सीहरु परिवर्तन भएका छन्। स्पोन्सरले भरिएका छन् त्यसपछिका जर्सी। ‘प्रायोजकको डिजाइन उसकै प्याटर्न गर्नुपरेकाले त्यसपछिका जर्सी परिवर्तन गर्दै गएका हौं,’ वैद्य भन्छन्।

प्रायोजक नआउँदासम्म त कुनै ब्राण्ड नै थिएन। सबै खर्च स्थानीय चन्दा सहयोगबाट चल्थ्यो। बद्रीबहादुरहरुले खेल्दा एउटा जर्सी र कट्टु मात्र क्लबले दिन्थ्यो, बाँकी (बुट, मोजा) आफैं किन्नुपर्थ्यो।

स्पोन्सर आउन थालपछि चाहिँ जर्सी परिवर्तन हुँदै गयो। खेलाडीको सुविधा पनि बढ्यो। तर पहिलेको जर्सीसँग क्लबको जुन साइनो गाँसिएको थियो, त्यो भने नयाँ जर्सीमा अनुभव गर्न पाइँदैन।

अब जुनबेला आरसीटी ए मा जान्छ, त्यही पुरानै एउटा रंगको जर्सी राख्ने योजना छ। ‘ए मा गयो भने सबैभन्दा धेरै उपाधि जितेको दुईमध्ये एक जर्सी लगाउने योजना छ,’ उनले भने।

भलिबल र एथ्लेटिक्समा पनि च्याम्पियन

अन्नपूर्ण आरसीटी भन्नेबित्तिकै धेरैले फुटबल मात्र बुझ्ने गर्छन्। खासमा अन्नपूर्ण चाहिँ फुटबल कम, भलिबल ज्यादा थियो। त्यतिबेला अनुप शमशेर जबरा, विष्णुगोपाल श्रेष्ठ, राधाराम श्रेष्ठ, प्रचण्ड श्रेष्ठ, गणेश श्रेष्ठलगायत खेलाडीले भलिबलबाट अन्नपूर्ण क्लबलाई देशभर चिनाएका थिए।

खेलाडी, व्यवस्थापक र प्रशिक्षक बनेका मुकुन्ददास श्रेष्ठ सानै थिए। उनले ती खेलाडीबाट भलिबललाई माया गर्न सिके। अन्नपूर्ण क्लबमा भलिबल २०३१ देखि २०४६ सम्म उचाइमा थियो। त्यसपछि ‘स्विच अफ’ भयो। आज विष्णुगोपालको परिचय फुटबलसँग मात्र जोडिन्छ। तर उनले अन्नपूर्णबाट खेलेर ठूला उपाधि जितेका छन्।

तत्कालीन अन्नपूर्ण क्लबका भलिबल खेलाडी मुकुन्ददास श्रेष्ठ

भलिबलको पहिलो क्लब ओलम्पस हो। त्यसले आयोजना गरेको प्रतियोगितामा पनि अन्नपूर्ण क्लब विजेता भएको छ। अन्नपूर्ण क्लबले ओलम्पस क्लबमा सर्वप्रथप २०२८ सालमा भएको एक प्रतियोगितामा सहभागी भएर भलिबल सुरु गरेको थियो।

‘त्यो बन्द भयो। पुनः ३१ सालदेखि साथी बटुलेर भलिबल सुरु भएको थिए। त्यतिबेला लैनचौरको एक पुस्तकालयमा भएको प्रतियोगिता जितेका थियौं,’ मकुन्ददास सम्झिन्छन्, ‘अन्नपूर्ण आरसीटी भनेको भलिबलमा नामी क्लब थियो। जहाँ गए पनि उसले चाहिँ जित्छ भन्ने थियो।’

२०४६ सालमा नेपाल टेलिभिजनले भलिबलको पहिलो प्रतियोगिता टेलिभिजनमा देखाएको थियो। त्यो बर्थडे कप थियो। र, त्यो कप आरसीटीले जितेको थियो।

श्रेष्ठले भने, ‘२०५५ सालसम्म राम्ररी चल्यो। तर मपछि क्लबमा नेतृत्व गर्ने मान्छे खासै भएन र अहिले भलिबल नै बन्द छ।’ क्लबमा भलिबल ठप्पै भयो। पूर्व खेलाडीहरुले क्लबले भलिबलमा लगानी गरेन भनेर चिढिएका थिए।

२०४६ सालमा नेपाल टेलिभिजनले भलिबलको पहिलो प्रतियोगिता टेलिभिजनमा देखाएको थियो। त्यो बर्थडे कप थियो। र, त्यो कप आरसीटीले जितेको थियो।

‘अन्नपूर्णको अस्तित्व आरसीटीमा विलिन भएपछि भलिबल खेलाडीहरु रिसाएका रहेछन्,’ नरेश वैद्य भन्छन्, ‘फुटबललाई चाहिँ खर्च गर्ने भलिबललाई किन नगर्ने भन्ने उनीहरुको माग रहेछ।’

त्यति मात्र होइन, अन्नपूर्णको आफ्नै स्विमिङ टिम पनि थियो। त्यो टिमले जितेको उपाधिले आज संग्रहालयको सान चुलिएको छ। एथ्लेटिक्स टिममा भने धरैजसो फुटबलर नै सहभागी हुने रहेछन्। फुटबलर पनि एथ्लेटिक पनि। उनीहरुले जितेको मेडलबाट त्यो पुष्टि हुन्छ।

आजकल खेलाडी बन्नै छोडे

आरसीटीले पहिलो जति भन्यो उति खेलाडी पाउँथ्यो। आजभोलि पाउनै मुस्किल। अहिले त काठमाडौंबाट राष्ट्रिय टिममा बिरलै खेलाडी होलान्। कतिपय अवस्थामा ती खेलाडी पनि प्लेइङ सेटमा पर्दैनन्, बेन्चमै हुन्छन्।

‘अहिले देशमा स्कुलको संख्या बढ्यो। सबै बाबुआमा बच्चा पढाउन लागे। सबै बच्चा पढ्न थाले,’ अध्यक्ष सुरेशकाजी शाक्य कपालीले अध्यक्षमा मनोनित भएकै दिन भनेका थिए, ‘अहिले हाम्रो चिन्ता छ– खेलाडी कसरी उत्पादन गर्ने? काठमाडौंमा खेलमैदान नै छैन कसरी खेलाडी उत्पादन गर्न सकिन्छ?’

काठमाडौंका क्लबलाई अहिले खेल हुनुअघि खेलाडी खोज्न पूर्व–पश्चिमतिर जानुपर्ने अवस्था छ। त्यसमाथि बाहिरका सहरमा पनि खेलाडी भेटिने अवस्था छैन। ‘अविभावकहरु खेलेर के हुन्छ भन्ने अवस्थातिर गइसके। तर देशको नाम रोशन गर्ने त खेलेरै हो नि। होइन त?’ उनी भन्छन्, ‘त्यसैले हामी एकेडेमी सुरु गर्न गइरहेका छौं। धेरै संघर्ष गरेपछि मैदान प्राप्त भएको छ। नागार्जुन नगरपालिको सात नम्बर वडाको गोदामथोकमा मैदान पाएका छौं।’

त्यहाँको महादेव युवा क्लबका सक्रिय क्लब सदस्य छन्। खेलसम्बन्धी चाहना भएको एउटा समूह छ। उनी भन्छन्, ‘अब त्यो मैदान लिजमा लिने प्रक्रियामा छौं। २५ वर्षको लिजमा लिन लागेको हो।’

आरसीटीले गाउँका खेलाडीलाई अभ्यासको मौका दिनेछ। अहिले पनि ९९ प्रतिशत खेलाडी खोजेर ल्याउनुपर्ने अवस्था छ। त्यसैले एकेडेमी आरसीटीको मुख्य उद्देश्य हो।

आरसीटीले पछिल्लो सिजन बी डिभिजनमा खराब खेलेको थियो। यो वर्ष सुधार गर्ने उसको लक्ष्य छ। चार वर्षमा ए डिभिजनमा उक्लने आरसीटीको योजना छ।

आरसीटीले गाउँका खेलाडीलाई अभ्यासको मौका दिनेछ। अहिले पनि ९९ प्रतिशत खेलाडी खोजेर ल्याउनुपर्ने अवस्था छ। त्यसैले एकेडेमी आरसीटीको मुख्य उद्देश्य हो।

‘शीर्ष डिभिजनमा जान त अहिले पनि सकिएला तर गएर बसिरहन सक्नुपर्याे नि,’ उनले भने, ‘पहिले आर्थिक अवस्था मजबुत बनाउनेमा लागेका छौं।’ आरसीटीको कमाइ भनेको असन जाने बाटोको त्यही घर भाडामा लगाएबापत प्राप्त हुने रकम हो। जसबाट उसले ‘सात अंक’को आम्दानी गरिसकेको छ।

‘केही गर्छौं भन्नेका लागि तर सरकारले पनि केही सोच्नुपर्ने हो। सरकारसँग प्रशस्त जग्गा छ। त्यसको तुलनामा क्लबलाई एउटा रंगशाला बनाउने जग्गा दिनु कुनै ठूलो कुरा होइन। त्यसो भएमा त्यो हराभरा पनि हुन्छ। बाँकी कुरा त क्लबले गर्न सक्छ नि,’ उनले भने।

आरसीटीको पहिले जस्तो टिम थियो उमेर समूहदेखि सिनियरसम्म, उसले अब बनाउने चाहेको पनि त्यस्तै हो।

राजनीति र आर्थिक संकटले बी डिभिजनमा

०३० दशकको सर्वाधिक बलियो टिम २०५२ सालमा दुर्घटनामा पर्यो। अर्थात् दोस्रो डिभिजनमा झर्यो। आर्थिक संकटले थलिएपछि लिगमा उसको केही जोर चलेन। करोडौंको घाटा लागेको थियो क्लबलाई। ‘त्यही चिज फ्याक्ट हो। आरसीटी आर्थिक संकट र स्पोर्टस पोलिटिक्सको बराबरी मारमा परेको हो,’ सदस्य सचिव वैद्यले भने।

अब आर्थिक सपोर्ट नभइकन ए मा गएर काम छैन भन्ने आरसीटीलाई राम्रोसँग थाहा छ। एकेडेमी र मैदान नभएपछि पछिल्लो सिजन लिग जितेर पनि एएफसी कप छनोट खेल्न नपाएको मच्छिन्द्र क्लबको उदाहरण छ। ऊ लिग च्याम्पियन भयो र एएफसी कप त्रिभुवन आर्मी क्लबले खेल्यो।

‘अहिले बी डिभिजन क्लब चलाउन ५० लाख खर्च हुँदा पनि आरसीटीको राम्रो पोजिसन छैन। त्यसअघि बी डिभिजनको उपाधि जित्दा ३५ लाखमा सिजन सकिएको थियो। यसरी फुटबलमा लगानी अहिले अकासिएको छ,’ क्लबका अध्यक्ष शाक्यले नयाँ कार्यकालमा प्रवेश गरेसँगै भनेका थिए।

उनले थपे, ‘अब एमा जाने लगानी दुई करोडको हाराहारीमा पुग्छ। त्यसपछि फेरि आर्थिक संकटले बीमै झर्नुपर्यो भने शीर्ष डिभिजनमा गएको मतलबै भएन नि !’

एएफसीले नयाँ लाइसेन्स मापदण्ड ल्याएसँगै हरेक ए डिभिजन क्लब त्यसमा जानुपर्ने दबाब छ। आरसीटीका पदाधिकारीलाई अहिले लाग्छ– आरसीटीको जुन पहिलेको अवस्था थियो पुनः त्यही फर्किएर जानुपर्ने छ। त्यो भनेको विभिन्न समूहका कमसेकम तीनवटा टिम चाहिने।

त्यसैले सबै कुरा पूरा गरेर एमा जाने हो भने तयारीसाथ जाऔं। बिना तयारी नजाऔं भन्ने नै आरसीटीको लक्ष्य हो। त्यसैले आरसीटी अहिले ब्याकअप बलियो बनाउने लक्ष्यमा छ।


प्रकाशित: September 25, 2021 | 07:15:00 काठमाडौं, शनिबार, असोज ९, २०७८
विनय सापकोटा

विनय सापकोटा

काठमाडौं, शनिबार, असोज ९, २०७८

थप समाचार

एसियन कप छनोटमा नेपाल इरानसँग पराजित

एएफसी एसियन कप छनोटमा नेपाली यू–२३ फुटबल टिम इरान यू–२३ फुटबल टिमसँग पराजित भएको छ।

महिला लिग छनोट : गोदावारीको पहिलो जित, कन्काई र ललितपुर नकआउट चरणमा

ललितपुरमा जारी उपमेयर कप महिला राष्ट्रिय लिग छनोटमा गोदावारी नगरपालिकाले सोमबार पहिलो जित निकालेको छ।

भेट्रान्स फुटबलमा फर्पिङ र बनिमण्डलको जित

काठमाडौंमा जारी मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा फर्पिङ स्पोर्ट्स डेभलपमेन्टले जित निकालेको छ।

फर्पिङको जितमा निरोजको ४ गोल

फर्पिङ स्पोर्ट्स डेभलपमेन्टले मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा विजय सुरुआत गरेको छ। फर्पिङको जितमा निरोज श्रेष्ठले चार गोल गरेका छन्।

बाग्मती बाहिरियो, कनकाई दोस्रो चरणमा

झापाको कनकाई नगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ।

समूह विजेताका लागि कनकाई र बागमतीको प्रतिस्पर्धा

झापाको कनकाइ नगरपालिका र सर्लाहीको बागमती नगरपालिकाबीच उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको समूह 'ए' विजेताको लागि प्रतिस्पर्धा हुँदैछ।

ट्रेंडिंग

नेपाल समय
समाज

प्रहरीमा अब कसैलाई पनि 'तँ' नभन्‍न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले तीन वटै सुरक्षा निकायका प्रमुखलाई बोलाएर कसैलाई पनि 'तँ' नभन्‍न निर्देश दिएका छन्।
नेपाल समय
प्रदेश न. २

यसरी कानुनी राज्यको उपहास गर्दैछ सीके राउतको जनमत पार्टी

‘स्वतन्त्र मधेस गठबन्धन’ नारा त्यागेर २०७५ फागुन २४ मा सरकारसँग शान्तिपूर्ण राजनीतिमा आउने सहमति गरी गठन भएको जनमत पार्टी अराजक गतिविधिमा उत्रिएको छ।
नेपाल समय
कला/साहित्य

'विभेद गर्ने काठमाडौं अब फर्कन्न'

कुनै बेला बागमती करिडोरमा माछा तार्दै गर्दा मैले कामेश्वरलाई सोधेको थिएँ, ‘के रहेछ त जिन्दगी?’
नेपाल समय
प्रदेश न. २

अराजक बन्दै सीके राउतको दल, खानेपानीका हाकिमलाई अर्धनग्न पारेर नगर घुमाइयो

अविरल वर्षाका कारण जनकपुरधाम जलमग्न भएपछि ढल निर्माणमा अनियमितता भएको भन्दै सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले नेपाल खानेपानी संस्थान जनकपुरधामका निमित्त प्रमुखलाई कुटपिट गर्दै नगर घुमाएका छन्।
नेपाल समय
शिक्षा

शिक्षक महासंघले २८ कात्तिकदेखि सडक आन्दोलन गर्ने

नेपाल शिक्षक महासंघले कार्तिक २८ गतेबाट देश भरिकै शिक्षक कर्मचारीलाई काठमाडौंमा उपस्थित गराई दबाबमूलक सडक आन्दोलन गर्ने जनाएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C