काठमाडौं- गायनमा परिचित नाम हो स्वप्न सुमन। सन् २०१२ मा कभर गीत गाउँदै गायनमा प्रवेश गरेका स्वप्नले ‘म तिम्रो’, ‘दी कफी सङ’, ‘के सारो राम्री भाको’, ‘ए हेलो’, ‘थाहै भएन’, ‘जाने कुरा नगर’ लगायतका थुप्रै गीत हिट छन्।
आधुनिक प्रविधिले आफूलाई गाउनका लागि सहज वातावरण सिर्जना गरेको बताउने स्वप्न स्टेज शोमा पनि निकै व्यस्त छन्। युवा पुस्ताका प्रिय गायक स्वप्न अब फिल्ममा नायक भएर देखा पर्दैछन्।
लव स्टोरी फिल्म बनाउन सक्षम युवा निर्देशक हुन् दिनेश राउत। सहरको प्रेम कथालाई सरल रूपमा बुझाउन सक्छन् राउत। उनै राउतका प्रिय गायक हुन्, स्वप्न।
राउतको फिल्मका लागि अडिसन नै लिएका थिए। अडिसन मार्फत उनी मूख्य भुमिकामा छनोट भएका हुन्। उनी तीन महिनादेखि अभिनय प्रशिक्षणमा छन्।
सिनेमाको कथामा सुमन फिट हुने भएकाले मुख्य कलाकारको रूपमा छनोट गरिएको निर्देशक राउतले बताए। उनले सामाजिक सञ्जालमा फोटो पोस्ट गर्दै लेखेका छन्, ‘सहरी सभ्यताभित्रको ढोंग र प्रेम। सहयात्रामा मलाई मन पर्ने गायक।’ बैशाखदेखि छायांकनमा जाने भनिएको फिल्मको नाम भने सार्वजनिक गरेका छैनन् स्वप्नले।