काठमाडौं– आगामी शुक्रबारदेखि चलचित्र ‘पासो’ प्रदर्शनमा आउने भएको छ। यतिबेला अन्य नेपाली चलचित्र हलमा रिलिज नभएकाले पनि पासोका लागि लाभदायक देखिन्छ।
आरबी पुनको निर्देशनमा तयार भएको तथा भगवान भुजेल निर्माता रहेको फिल्म ‘पासो’ले निर्मातालाई राहत दिने अपेक्षा गरिएको छ। फिल्मको ट्रेलरबाटै यसको कथावस्तु केही भिन्न रहेको र प्रस्तुतिमा निर्देशकले नयाँपन खोजेको अनुमान गर्न सकिन्छ।
फिल्मको मुख्य भूमिकामा नायिका रिस्ता बस्नेत र कलाकार सुनिशा बजगाईंको अभिनय छ। दुई नायिका केन्द्रित फिल्मले महिला अपहरण, बलात्कार र विद्रोहको कथा बोल्छ।
यो फिल्ममा काम गर्दा १० दिनसम्म बक्सभित्र बन्द भएको रिस्ताले बताइन्। फिल्म खिच्दाखिच्दै कैयौं पटक अब काम गर्न सक्दिनँसमेत भनेको रिस्ता सुनाउँछिन्। कतिपय समय पेनकिलर खाएर काम गरेको उनको भनाइ छ। सुनिशाले ५ दिनसम्म हात बाँधेर काम गरेकी थिइन्। ५ दिनसम्म हात बाँधेर काम गर्दा निकै गलेको अनुभव सुनाउँदै दर्शकले फरक स्वादको फिल्म हेर्न पाउने तर्क सुनिशाले गरिन्।
फिल्म ‘पासो’का लागि दुई नायिका विगत केही दिनदेखि प्रचारमा व्यस्त छन् । दुवै नायिकाले आफूहरुको दुःख दर्शकले स्वीकार्ने अपेक्षा गरेका छन्।