काठमाडौं- फिल्म 'ऐना झ्यालको पुतली' ९५औँ संस्करणको अस्कर अवार्डका लागि सिफारिस भएको छ। नेपालको इन्टरनेसनल फिचर फिल्म कमिटीले फिल्मलाई सिफारिस गरेको हो।
अस्कर अवार्डका लागि प्रतिस्पर्धी बन्न 'प्रकाश', 'राधा' र 'ऐना झ्यालको पुतली' छानिएका थिए। प्राविधिक पक्ष, कथ्यको प्रस्तुति पक्ष, चरित्रहरूको भावनात्मक विश्लेषण पक्ष तथा प्रस्तुतिको कलात्मक बुनोट आदि समेतलाई दृष्टिगत गरी 'ऐना झ्यालको पुतली'लाई सिफारिस गरिएको एकेडेमी अफ मोसन पिक्चर एन्ड साइन्सेसअन्तर्गत अन्तर्राष्ट्रिय फिचर चलचित्र छनौट समितिले जानकारी दिएको छ।
सुजित बिडारीले निर्देशन गरेको यो फिल्ममा दिदीभाइको सम्बन्ध देखाइएको छ। बालकलाकार कञ्चन(लक्ष्मी) चिमरिया, दिनेश खत्री, विशाल चाम्लिङ राई, उमेश श्रेष्ठ र राज थापाको अभिनय फिल्ममा छ। त्यस्तै पुराना कलाकार सिरु विष्ट, पदमप्रसाद पौडेलको पनि फिल्ममा अभिनय देख्न सकिन्छ।
