काठमाडौं– हिमालय सेफर्डले ढाका डकल्याबको ग्लोबल फिल्म एन्ड इनिसिएसिभ अवार्ड जितेको छ। गत अगस्त अन्त्यमा बंगलादेशमा भएको ढाका डकल्याबमा ५६ वटा वृत्तचित्रको आवेदन परेको थियो।
उक्त ल्याबमा सर्टलिस्टमा परेको हिमालय सेफर्डले २ हजार युरोको उक्त अवार्ड जितेको हो। हिमालय सेफर्ड हिमाली क्षेत्रमा जलवायु परिवर्तनले आदिवासीमा पारेको समस्याको विषयलाई समेटेर बन्न लागेको डकुमेन्ट्री हो।
ल्याबमा १३ वटा डकुमेन्ट्री सर्टलिस्टमा परेका थिए। नेपाल, भारत, बंगलादेश, श्रीलंका, अस्ट्रेलिया, वेल्स, फिलिपिन्स र चीन प्रतिस्पर्धामा थिए। यसमध्ये २ हजार युरोको इमर्जिङ ट्यालेन्ट अवार्ड बंगलादेशको ‘घोस्ट पोड’ले जितेको छ।
सन् २०२३ को सुरुआतमा छायांकनमा जाने हिमालय सेफर्डले हाल अन्तर्राष्ट्रिय डकुमेन्ट्री ल्याबमा प्रतिस्पर्धा गरिरहेको छ। यसका निर्देशक आभाष रिजाल र निर्माता सुशीलदेव पाण्डे हुन्।