निर्माताका रूपमा दिलीप कुमारको पहिलो फिल्म थियो 'गंगा जमना'। तर यो फिल्म बनाएपछि उनको अनुभव यति तितो भयो कि उनले फेरि फिल्म बनाउन अस्वीकार गरे।
त्यतिबेला बिवी केसकर सूचना तथा प्रसारण मन्त्री थिए भारतमा। उनको मातहतमा रहेको सेन्सर बोर्डले चलचित्र 'गंगा जमना' देखाउँदा २५० सिन कट गर्न सिफारिस गरेको थियो। उनले फिल्ममा अत्यधिक अश्लीलता र हिंसा देखाइएको बताएका थिए। दिलीप कुमारले सेन्सर बोर्डलाई धेरै स्पष्टीकरण दिए तर बोर्ड आफ्नो निर्णय बदल्न तयार भएन।
उनले सेन्सर बोर्डलाई १२० पृष्ठको ज्ञापनपत्र पनि दिएका थिए तर बोर्डले हेर्ने आँट गरेन। मेघनाद देसाई दिलीप कुमारको जीवनीमा लेख्छन्, 'सेन्सर बोर्डले फिल्मको मृत्यु सिनमा आपत्ति जनाएको थियो, जसमा महात्मा गान्धीलाई नाथुराम गोडसेले गोली हानेपछि गान्धीले भनेका अन्तिम शब्दहरु विवादित भएको जनाइएको थियो। दिलीपकुमारसँग कुनै विकल्प थिएन। त्यसै कारण प्रधानमन्त्री जवाहरलाल नेहरूको सहयोग लिने निर्णय गरे।'
केसकरलाई नेहरु मन्त्रिपरिषद्बाट हटाइयो

इन्दिरा गान्धीले नेहरूसँग दिलीप कुमारको १५ मिनेट भेटको व्यवस्था गरिन्। भेटमा दिलीप कुमारले नेहरूलाई आफ्नो समस्या मात्रै सुनाएनन्, सेन्सर बोर्डको सम्पूर्ण कार्यप्रणालीमा पनि धेरै प्रश्न उठाएका थिए।
उनले नेहरूलाई भने- सेन्सर बोर्ड तानाशाहको रूपमा काम गरिरहेको छ। उसको विचार विपरीत कुनै पनि तर्क सुन्न तयार छैन।
नेहरुसँग १५ मिनेटका लागि तय भएको भेट डेढ घण्टासम्म चलेको थियो। नेहरूको हस्तक्षेपले सेन्सर बोर्डले फिल्म पास त गर्यो तर त्यसको केही समयपछि बिवी केसकरलाई मन्त्रिपरिषद्बाट हटाइयो र उनको राजनीतिक करियर नै समाप्त भयो।
केसकरलाई यस कार्यको लागि प्रशंसा गरिएको थियो कि उनले सामान्य जनतालाई शास्त्रीय संगीतमा परिचय गराए र अल इन्डिया रेडियोमा संगीतको अखिल भारतीय कन्सर्ट सुरु गराए। तर केसकरले नै आकाशवाणीमा फिल्म संगीत र क्रिकेट कमेन्टरीमा प्रतिबन्ध लगाएकी थिए। उनलाई हटाउने बित्तिकै यी प्रतिबन्धहरु पनि हटाइएको थियो।
'मदर इण्डिया'को जवाफ थियो 'गंगा जमना'

वास्तवमा दिलीप कुमार महबूब खानले आफ्ना भाइ नासिर खानलाई राजेन्द्र कुमारले आफ्नो फिल्म ‘मदर इण्डिया’ मा गरेको भूमिका दिन चाहेका थिए। नासिर खानले केही पाकिस्तानी फिल्ममा हात हालेर बम्बईमा आफ्नो प्रभाव जमाउन खोजिरहेका थिए।
महबूब खानले दिलीप कुमारको अनुरोधलाई अस्वीकार गरे र यसले उनीहरूको सम्बन्धलाई चिसो बनायो। पहिलो पटक दिलीप कुमारको दिमागमा ‘गंगा जमना’ बनाउने आइडिया आयो। अन्तत दिलीप कुमारले आफ्नै फिल्म 'गंगा जमना' मा आफ्ना भाइ नासिर खानलाई ठूलो भूमिका दिए।
त्रिनेत्रा र अंशुला बाजपेयी दिलीप कुमारको जीवनी 'दिलीप कुमार पियरलेस आइकन इन्स्पायरिङ जेनेरेसन' मा लेख्छन्, 'दिलीप कुमारले हामीलाई 'गंगा जमना' बनाउने प्रेरणा पुरानो वालेस बेरी वेस्टर्नबाट पाएको बताए। फिल्मको अन्त्यमा बाबु आफ्नै छोरालाई मार्न बाध्य हुन्छन्। 'गंगा जमना' मा बाबु र छोराको सट्टा कान्छो र जेठो भाइलाई देखाइएको छ, जसमा नासिर खानले असल भाइ (पुलिस इन्स्पेक्टर) को भूमिका निभाएका छन् भने दिलीप कुमारले लुटेराको भूमिका निर्वाह गरेका छन्। फिल्म ‘गंगा जमना’ महबूब खानको फिल्म ‘मदर इण्डिया’को जवाफ थियो भन्ने कुराले खुब चर्चा बटुलेको थियो।'
शापूरजी मिस्त्रीले दिलीप कुमारलाई ब्ल्यांक चेक दिए

प्रसिद्ध उद्योगपति शापूरजी मिस्त्री र पल्लोनजी मिस्त्रीले आफ्नो पैसा ‘गंगा जमना’मा लगानी गरेका थिए। त्रिनेत्रा र अंशुला बाजपेयी लेख्छन्, 'फिल्म बन्नुअघि शापूरजीले दिलीप कुमारलाई दुईवटा चेकबुक दिँदै भने- एउटा चेकबुक फिल्म निर्माण खर्चको लागि हो र अर्को चेकबुक फिल्ममा तपाईंको पारिश्रमिकको लागि हो। प्रत्येक चेकमा तपाईले चाहेजति रकम निकाल्न सक्नुहुन्छ।
यी सबै चेकहरू खाली छन् र प्रत्येक चेकमा मेरो हस्ताक्षर छ। जब फिल्म रिलिज भयो र सुपरहिट भयो, दिलीप कुमारले शापुरजीलाई आफूले दिएको दुवै चेकबुक फिर्ता गरे। उनले उत्पादन प्रयोजनका लागि दिइएको पहिलो चेकबुकबाट केही चेक मात्रै प्रयोग गरेका थिए र दोस्रो चेकबुकमा हातसमेत लगाएका थिएनन्। यो देखेर शापूरजी भावुक भए र उनले दिलीप कुमारलाई अँगालो हालेका थिए।'
दिलीपका भाइ चाहँदैनथे दाइले डकैतको भूमिका निभाउन्

दिलीप कुमारले आफ्नो आत्मकथा ‘द सब्सटेन्स एन्ड द छाया- एन ऑटोबायोग्राफी’ मा लेखेका छन्, 'शापूरजीले मबाट ‘गंगा जमना’ को कथा सुनेबित्तिकै उनले फिल्मको सफलतामा आफूलाई कुनै शङ्का नभएको बताए। तर मेरो भाइ नासिरले भने मलाई डकैतको भूमिका निर्वाह गरेको प्रति राम्रो नलागेको कुरा व्यक्त गर्यो।
मैले दुष्ट जग्गाधनीसँग बदला लिन डाँकाको संगत लिएको कुरा दर्शकलाई मन नपर्ने उनले जोड दिएका थिए। म यो फिल्म मेरो भाइ नासिरको पुनरागमनको लागि बनाइरहेको थिएँ। उनले मलाई पटक–पटक यो भूमिका आफ्नो लागि लेखेर गल्ती गरिरहेको बताए तर मैले आफ्नो स्क्रिप्ट परिवर्तन गरिन।
यस फिल्मको सफलतामा शापूरजी पूर्णतया ढुक्क भएकाले मैले फिल्ममा डाँकुको भूमिका निर्वाह गर्ने निर्णय गरेँ। जब यो फिल्म रिलिज भयो, दर्शक यसलाई हेर्नको लागि ब्याकुल थिए।'
फिल्म निर्देशनका लागि नितिन बोस चयन भए

दिलीप कुमारले यो फिल्म निर्देशन गर्न नितिन बोसलाई चुने, जसले उनलाई यसअघि ‘मिलन’ र ‘दीदार’ फिल्म निर्देशन गरेका थिए। नितिन बोसको सट्टा दिलिप कुमार आफैंले फिल्म निर्देशन गरेको हल्ला बजारमा धेरै थियो। पछि नितिन बोसले यो भनाइको खण्डन गरे, 'दिलीप एक अनुशासित अभिनेता मात्र होइन धेरै खरोपनको व्यक्ति पनि हो।
हामी दुवैले छायांकनको सबै योजना छायांकनको एक दिन अघि नै बनाइदिन्थ्यौं। जवान र डाँकाबीचको भिडन्तको सुटिङका क्रममा एक जुनियर कलाकारले बन्दुकको गलत निशाना लगाउँदै गलत आँखा चिम्लिएर गल्ती गरेका थिए। मेरा सहायक निर्देशक जावेद हुसेन उनीसँग रिसाए र बन्दुक समातेर भने, 'यस्तो होइन, यसरी बन्दुक समात।
कलाकारको औंला बन्दुकको नालमा थियो र गल्तीले त्यो बन्दुकको स्ट्याण्ड गाडियो। गोली जावेदको छाति चिर्दै निस्कियो र उनको त्यहीँ मृत्यु भयो। जब मैले यो कसरी भयो थाहा पाएँ, मेरो दिमागले काम गर्न छोड्यो। त्यसपछि मैले दिलीप कुमारलाई मेरो काम सम्हाल्न भने।'
नौशादको सल्लाहमा दिलीपले फिल्मभर पूरबिया बोले

'गंगा जमना'को संगीत निर्देशनको जिम्मेवारी नौशादलाई दिइएको थियो। उनले नै दिलीप कुमारलाई फिल्ममा यथार्थ ल्याउन सबै संवाद पुर्बियामा बोल्नुपर्ने सल्लाह दिएका थिए।
दिलीपले तुरुन्तै सहमति जनाए। गंगाको भूमिका गर्नु र बुझ्नुअघि दिलीप कुमारले उत्तर प्रदेश र बिहारका धेरै क्षेत्रहरूको भ्रमण गरे। यही बोलीमा उनले आफ्नो बिहारी माली र श्रीमतीबिच कुरा गरेको, झगडा गरेको र एकअर्कालाई मनाउँदै गरेको सुनेका थिए र त्यसबेलादेखि नै यो बोली उनीहरुको मन-मस्तिष्कमा जमिसकेको थियो।'
दिलीप कुमार लेख्छन्, 'त्यतिबेला मलाई यो बोली उत्तर प्रदेश वा बिहारको हो भनेर पनि थाहा थिएन। तर म यो बोलीको लागि पागल थिएँ। यसको भावना व्यक्त गर्ने क्षमता अचम्मको थियो। जसरी हाम्रो बिहारी माली र उनकी श्रीमती कुरा गर्थिन्। एक आपसमा झगडा गर्नु निकै रोचक हुन्थ्यो। 'गंगा जमना'को भूमिकामा म गंगा र जमना हुर्केको अवस्थामा ठुलो खुशीको सास फेर्न चाहन्थें।
सबै किसिमका दु:ख भोगेर निर्दयी जमिनदारको खेत जोत्ने किसानको पीडा पनि देखाउन चाहन्थे। गंगाको भूमिका निर्वाह गर्दा मलाई सबैभन्दा धेरै छोएको कुरा यो थियो कि मलाई कथाको भावनात्मक 'वर्तमान' बुझ्न गाह्रो थिएन। त्यसैले गंगा एक पात्रको रूपमा मेरो लागि अपरिचित भूमिका थिएन।
पूरबिया बोल्दा मतभेद

जब दिलीपले महबूब खान र के आसिफलाई 'गंगा जमना' मा पूरबिया बोल्ने आफ्नो मनसाय बताए, उनले त्यसलाई ठाडै अस्वीकार गरेका थिए। विमल रोय, उनका साथी हितेन चौधरी, लखनऊका नौशाद र सीतापुरका वजाहत मिर्जाले मात्र समर्थन गरे।
चलचित्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका अभिनेता पनि बनारस निवासी कन्हैया लालले सबै कलाकारलाई पूरबिया सही उच्चारणमा बोल्न सिकाएका थिए। कवि रामामूर्ति चतुर्वेदीले पनि फिल्मका मुख्य कलाकारहरूलाई पूरबिया बोल्ने तालिम दिएका थिए। नतिजा यो भयो कि आफ्नो संवाद 'रोमन'मा लेख्ने बैजन्तिमाला पनि अचम्मको बोलिन् र धनो पात्रको भूमिकामा पूरै डुबेकी थिइन्।
- पृथ्वीराजले बलिउडमा रोपेको 'कपुर रुख' र फैलिएका हाँगाहरू
- पाँच दशकपछि 'आनन्द'को रिमेक बनाउँदै नाति पुस्ता
टेप रेकर्डरमा रेकर्ड गरी वैजन्थिमालालाई संवादहरु दिए

दिलीप कुमारको 'परफेक्सन' प्रतिको लगाव यति हदसम्म थियो कि उनी आफ्ना साथी कलाकारका लागि पनि अभिनयको जिम्मेवारी लिने गर्थे। 'गंगा जमना'मा उनको नायिका वैजन्तिमालाले एक अन्तर्वार्तामा भनेकी थिइन्, 'दिलीप साहबसँगको मेरो उत्कृष्ट फिल्म 'गंगा जमना' थियो।
यो फिल्ममा मैले उनकी श्रीमती धन्नोको भूमिका निर्वाह गरेकी छु। उनले मेरा संवादहरू आफ्नै आवाजमा टेपरेकर्डरमा रेकर्ड गरे र मलाई पुरबिया संवादहरू कसरी बोल्ने भनेर बुझ्न सकून् भनेर दिए। साउथ इन्डियन भएकाले यो संवाद बोल्न मलाई कत्ति गाह्रो भएको हुनुपर्छ भन्ने उनलाई थाहा थियो। त्यसैले उनले ती संवादहरू मेरो लागि रेकर्ड गरे ताकि म हरेक शब्द बुझ्न सकूँ र त्यसमा सही अनुहारको भाव दिन सकुँ र यसले मलाई धेरै नै मद्दत गर्यो।
अमिताभ बच्चनले पनि प्रशंसा गरेका छन्
केही वर्षअघि अमिताभ बच्चनले पनि एक अन्तर्वार्तामा भनेका थिए कि इलाहाबादमा आफ्नो विद्यार्थी जीवनमा उनले ‘गंगा जमना’ बारम्बार हेरेका थिए कि कसरी एक पठानले उत्तर प्रदेशको ग्रामीण पात्रलाई कसरी भुमिकामा समेटिरहेका छन्। कत्ति सहजताका साथ बोलिरहेका छन्।
दिलीप कुमारले आफ्नो आत्मकथामा लेखेका छन्, 'म अमिताभ बच्चनका शब्दहरूमा निकै शक्ति छ भन्ने बुझ्छु। गंगाको व्यक्तित्व र भाषामा सहज हुन कुनै पनि पठानका लागि साँच्चै गाह्रो थियो। तर पठान जसको कथा तपाईंले पढिरहनुभएको छ, उनी निरन्तर अध्ययन र अथक अभ्यासद्वारा उसको लागि नयाँ काममा सफल हुने तीव्र इच्छा भएका कारण उसले त्यो पूरा गर्न सफल भयो।'
महाराष्ट्रको एउटा गाउँमा सुटिङ

दिलीप कुमारलाई 'गंगा जमना'को सुटिङ लोकेशन छनोट गर्न झण्डै एक महिना लाग्यो। उनले आफ्नो फिल्मको छायांकनका लागि बम्बईबाट करिब १२० किलोमिटर टाढा इगतपुरीको जावर गाउँ रोजे। उनको यो ठाउँको भ्रमण संयोग मात्रै थियो। उनी आफ्नो साथी जोनी वाकरसँग घुम्न गएका थिए, पछि उनलाई यो ठाउँ मन पर्यो।
त्यसबेला दिलीप कुमारलाई यो ठाउँ धेरै हिन्दी फिल्मको छायांकनका लागि प्रयोग हुनेछ भन्ने पत्तो थिएन। उनले त्यो गाउँमा जमिन्दारहरुको हवेली देखाउन एउटा अस्थायी संरचनाको गाउँ नै निर्माण गरेका थिए। महबूब र फिल्मालय स्टुडियोमा ‘गंगा जमना’को केही इनडोर सुटिङ पनि गरिएको थियो।
सबै पात्रहरुले यादगार भूमिका निर्वाह गर्न सफल भए

मुख्य कलाकारसहित ‘गंगा जमना’का सबै कलाकारहरू उत्कृष्ट अभिनय गरेर आफ्नो राम्रो करियर बनाउन सफल भए चाहे त्यो जमिन्दारनीको भूमिकामा प्रवीण पाल होस्, प्रहरी उपरीक्षकको भूमिकामा नासिर हुसेन होस् वा हरिरामको भूमिकामा कन्हैया लाल वा आमाको भूमिका लिला चिटनिस होस्, सबै शतप्रतिशत सफल भएका थिए।
जमनाको ठूलो भूमिकामा नासिर खानले भने खासै प्रभाव छोड्न सकेनन्। तर फिल्मको कबड्डी दृश्यको सर्वत्र चर्चा भयो। यसमा धन्नोले गंगालाई विपक्षी टोलीलाई जित्न चुनौती दिन्छिन्। उनी भन्छिन्, 'यसपटक पनि टनकपुरका जनताले जित्नेछन्। हेरन कस्ता कस्ता गब्रु जवान आएका छन्।'
यसमा गंगाको तुरुन्तै जवाफ आउँछ, 'त्यसो भए जा बेसरम भएर समात कसैको हात।' अन्तमा गंगाको जित हुन्छ। सारा गाउँ खुसीले पागल हुन्छ।'
एकै शटमा क्लाइमेक्स खिचियो
फिल्मको क्लाइमेक्समा भाइ जमनाले चलाएको गोलीबाट घाइते गंगा आफु जन्मेको घरमा पुग्छन् र भाइको काखमा बसेर भन्छन्, 'हम घर आ गये मुन्ना।' मृत्युको समयमा उनको अन्तिम शब्द हो, 'हे राम'। यो दृश्य साँझ फिल्म स्टुडियोमा खिचिएको थियो।
दिलीप कुमारले क्यामेराम्यान वी बाबासाहबलाई सबै कुरा तयार राख्न भने, किनभने यो शटको लागि न त रिहर्सल हुनेछ न अरू कुनै टेक। दिलीप कुमारले लेखेका छन्, 'मैले स्टुडियोको धेरै चक्कर लगाएँ। जब म पूरै थकित भएँ र म असफल हुँदैछु भन्ने सोच्दै सेटमा प्रवेश गरेँ जहाँ बाबासाहब आफ्नो क्यामेरा लिएर पहिले नै तयार थिए।'
दिलीपकुमार फिल्मफेयर पुरस्कारबाट बन्चित भए

चलचित्र जगतका दिग्गजहरूले यो चलचित्र हेर्दा सबैको मुखबाट एउटै स्वरमा 'वाह' निस्किएकाे थियो। दिलीप कुमारले क्लासिक फिल्म बनाएको सबैको धारणा थियो। तर फिल्मफेयरले दिलीपको अभिनयलाई सर्वोत्कृष्ट अभिनयको अवार्ड दिन योग्य ठानेन।
त्यस वर्ष सर्वोत्कृष्ट अभिनयको अवार्ड राज कपूरलाई उनको फिल्म 'जिस देश मे गंगा बेहती है'का लागि दिइएको थियो। जब दिलीप कुमारले 'गंगा जमना'लाई युकेको पाइनवुड स्टुडियोमा प्राविधिक कलर प्रशोधनका लागि लिएर गए, त्यहाँको ल्याबमा रहेका प्राविधिकहरू फिल्म हेरेपछि निकै प्रभावित भएका थिए।
स्वतन्त्र भारतमा सामन्ती जमिन्दारहरुको तानाशाही र उत्पिडित किसानहरूको इमान्दारितालाई चित्रण गरेकोले यो चलचित्रलाई ओस्कारका लागि पठाउन उनीहरुले सुझाव दिए।
जब 'गंगा जमना' चेकोस्लोभाकियाको कार्लोभी भेरी, बोस्टन र कायरोको फिल्म फेस्टिभलमा देखाइयो, सबैले एक स्वरमा फिल्मको प्रशंसा गरेका थिए।
दिलीप कुमारले लेखेका छन्, 'मेरो फिल्मका समीक्षकहरु उत्सुक थिए कि म कसरी यस्तो अभिनय गर्न सक्छु। यसका पछाडि कत्तिको अनुसन्धान छ भन्ने जान्न उत्सुक थिए, किनभने 'गंगा जमना' जस्ता फिल्म धेरै अध्ययन र सोचविचार गरेर मात्रै आफ्नो देशमा बनेको हुन्थ्यो। मैले स्क्रिप्ट, फिल्मका पात्र र पूरबिया बोलीमा कसरी काम गरेँ भन्ने कुरा सुनाएँ।'
कार्लोभीमा उनको अविस्मरणीय अभिनयको लागि १९६२ मा दिलीप कुमारलाई मानार्थ डिप्लोमा प्रदान गरियो, जबकि गंगा जमनाले १९६३ बोस्टन फिल्म फेस्टिभलमा 'सिलवर बोल' पुरस्कार जिते।
'गंगा जमना'मा दिलीप कुमारको कामलाई अभिनयको पाठ्यपुस्तक भन्ने गरिन्छ। यो फिल्म स्वर्ण जयन्ती हिट मात्र होइन, क्लासिकको हैसियत पनि कमायो र सर्वकालिन उत्कृष्ट फिल्महरुमा गनिन सफल भयो।
(रेहान फजलले बीबीसी हिन्दीका लागि तयार पारेको सामग्री पवन घिमिरेले भावानुवाद गरेका हुन्।)