सोभियत संघमा फिल्म 'आवारा' रिलिज हुँदा त्यहाँको माहोल नै अलग बन्यो। फिल्मको गीत 'आवारा हुँ' सोभियतका सबैजसोको जिब्रोमा झुण्डिएको थियो। सन् १९५४ मा मात्रै ६ करोड ४० जनाले 'आवारा' को टिकट किनेका थिए, जसमा अधिकांश युवा थिए।
राज कपूरको अर्को फिल्म 'श्री ४२०' रिलिज भएपछि पूरै सोभियत संघमा उनको क्रेज बढेको थियो। सन् १९५४ मा जब भारतीय प्रतिनिधिमण्डल सोभियत संघ गएको थियो। सोभियतमा कार्यक्रमका बीच जताततै राज कपूरले 'आवारा हँ' गाउनुपर्छ भन्ने माग गरेका थिए र पछि उनले गाए पनि।
राज कपूरकी छोरी रितु नन्दाले आफ्नो पुस्तक 'राज कपूर द वन एन्ड वन्ली शो म्यान' मा लेखेकी छिन्, 'राज कपूरलाई पियानो स्टुलमा बसेको देख्नु जताततै सामान्य थियो। उसलाई चारैतिरबाट भोड्का प्रस्ताव गरिएको गरिरहेका थिए तर आफ्नै भने ह्वीस्कीको गिलास खाली थियो। उनी गाउन थालेपछि महिला-पुरुष सबै उनको धुनमा तालमेल मिलाएर नाच्न थाल्थे। नेहरु आफ्नो पहिलो सोभियत भ्रमणमा जाँदा त्यहाँ जम्मा भएको भीडले उहाँलाई 'आवारा हँ' भनेर हुटिङ गर्थे। त्यतिबेला बुल्गानिन सोभियत संघका प्रधानमन्त्री थिए। जब सरकारी भोजमा नेहरु बोलेपछि बुल्गानिनको बोल्ने पालो आयो, उनले 'आवारा हुँ' गाएर सुनाएका थिए।'
सन्देश र संगीतको प्याकेज थियो 'आवारा'

भारत स्वतन्त्र भएको चार वर्षमात्रै भएको थियो। त्यसै समय राज कपूरले आफ्ना फ्यानहरुका लागि फिल्म 'आवारा' बनाएका थिए। यसको बलियो संगीत फिल्म सफलताको मुख्य कारक मानिन्थ्यो। फिल्म एक पूर्ण प्याकेज थियो जसमा उत्कृष्ट प्रदर्शन मात्र नभएर मनोरञ्जनको रसमा घुलाएर सामाजिक सन्देश पनि प्रस्तुत गरिएको थियो।
कथा राज कपुरको वरिपरि घुम्छ, जो आफ्नी आमासँग बस्तीमा बस्छन्। उनका बुवा अदालतका न्यायाधीश हुन्छन् र छोरा राज कपूर र पत्नीलाई उनले एक शंकाको आधारमा घरबाट निकालिदिन्छन्। युवा राजको भूमिका शशी कपूरले निभाएका थिए। जब उनले बिहान बेलुकाको छाक टार्न जुत्तामा पालिस गर्ने काम गर्न थाले, त्यसै कारण उनलाई स्कुलबाट निकालियो। चोरी गर्ने मानिसलाई ठग्ने जस्ता काम गरेर बाध्यतावश उनी एक अपराधी बन्छन्।
वर्ग विभेदको विषय समेटिएको फिल्म 'आवारा'

शशी कपूरको रोल यस्तो हुन्छ कि उनले डकैत जग्गा (केएन सिंह) को हत्या गर्छन् र उनकै बुबाको इजलासमा पुग्छन् जहाँ रीता (नर्गिस दत्त) उनको मुद्दा लड्छिन्। यसैबीच राजकी आमाको मृत्यु हुन पुग्छ। उनले आफ्नो बुबाको पहिचान थाहा पाउँछन् र बुवाको इजलासले राजलाई तीन वर्षको सजाय सुनाएर कथाको अन्त्य हुन्छ।
रितु नन्दा लेख्छिन्, 'आवारा'को कथाको विषयवस्तु वर्गीय भेदभाव थियो जसमा भारतले स्वतन्त्रतापछि पाएको गरिबीमा बेरिएको रोमान्टिक कथा देखाइएको थियो। जब फिल्म हिलोमा कमलको फूल जस्तै बन्न पुग्यो। त्यतिन्जेलसम्म यस प्रकारको फिल्म मानिसहरुले हेर्न पाएका थिएनन्। फिल्मले एक प्रकारले गणतन्त्रको निर्दोषतालाई देखाउने कोसिस गरेको थियो। सँगै नयाँ पनि लिएर जन्मिएको फिल्म थियो 'आवारा' र कठिन समयको सामना गर्न सकेको थियो।
महबुब खानलाई यसअघि अब्बासले यो कथा अफर गरेका थिए

'आवारा' फिल्मको कथा ख्वाजा अहमद अब्बासले लेखेका थिए। यो कथा लिएर उनी पहिले महबुब खानकहाँ गए। उनलाई कथा मन पर्यो। तर उनी यस फिल्ममा दिलिप कुमारलाई छोराको भूमिकामा र पृथ्वीराज कपुरलाई बुबाको भूमिकामा राख्न चाहन्थे। ख्वाजा अहमद अब्बासले आफ्नो आत्मकथा 'आई एम नट एन आइल्याण्ड' मा लेखेका छन्, 'म महबुबको सोचसँग सहमत थिइनँ।'
राज कपूरले यो कथा कसैबाट सुनेका थिए। कथा सुन्नेबित्तिकै उनले भने, 'अब्बास साहब, यो कथा अहिले मेरो हो। अब कसैलाई नदिनुहोला।'
अब्बासले जब पृथ्वीराजलाई फिल्म 'आवारा'मा भित्र्याउन सफल भए

ख्वाजा अहमद अब्बास पृथ्वीराज कपूरकहाँ गएपछि उनले पृथ्वीराजलाई भने, 'त्यसो भए म के हिरोको पिताको भूमिका निभाऊँ ? तपाईं यहि चाहनुहुन्छ?' पृथ्वीराज कपूर हेर्नमा निकै सुन्दर थिए। उनले भर्खरै फिल्म 'राजनाटकी'मा नायकको भूमिका निर्वाह गरेका थिए र चरित्र भूमिका निर्वाह पनि उनी गर्न निकै सिपालु थिए। अब्बासले लेखेका छन्, 'मेरो जवाफ उनको लागि पहिले नै तयार थियो। मैले भनेँ, 'पृथ्वीजी, तपाईं नायकको पिता हुँदै होइन तपाईं नायक अनि राज तपाईंको छोरा हो।' पृथ्वीराजलाई कथा सुनाउँदा राज कपूर पनि त्यहाँ होस् भन्ने मेरो इच्छा थियो। तर उनी बुवाको अगाडि खुलेर चुरोट पिउन सक्दैन थिए। उनी कतै बाहिर गए। पृथ्वीराज फिल्ममा काम गर्न राजी भएपछि अब्बासको जीवनमा प्राण भरिए जत्तिकै भयो।
दर्शकको उच्च मूल्यांकन

यो फिल्म बनाउन राज कपूरले दुई वर्ष लगाएका थिए। फिल्मको प्रिमियरको दिन सम्पूर्ण फिल्म उद्योगलाई बोलाइएको थियो। कार्यक्रम सकिएपछि सबै जना हलबाट चुपचाप बाहिरिएका थिए। राज कपूर ढोकामा उभिरहेका थिए। सबैले राजसँग हात मिलाए तर एक शब्द पनि बोलेनन्। उनलाई बधाई दिनुको साटो सान्त्वना दिइरहेको देखिन्थ्यो। अब्बासले लेखेका छन्, 'जब सबै जना गए, राजले मलाई र साठेलाई सोधे, 'मलाई भन्नुहोस् के हाम्रो फिल्म यति धेरै खराब बनाइएको छ? मैले उनलाई फिल्म नराम्रो होइन, व्यक्तिगत रूपमा मलाई यसमा गर्व छ भनेँ। मलाई लाग्छ यो फिल्म हिट हुन्छ, अझै केही दिन पर्खनुहोस् जनतालाई आफ्नो निर्णय गर्न दिनुहोस्।
भोलिपल्टै फिल्म हेर्न ठूलो भिड लाग्यो र फिल्म हिट भयो। त्यतिबेला फिल्मका लगि कुनै अवार्ड दिने चलन नै थिएन। यदि अवार्ड दिने चलन हुन्थ्यो भने यो फिल्मले हरेक विधामा अवार्ड जित्ने थियो भन्नेमा कुनै शंका थिएन।'

राज कपूरले त्यतिबेला २७ वर्षका थिए। त्यसबेला नरगिस २२ वर्षकी थिइन्। राज कपूरले एक समयमा भनेका थिए उनका पहिलेका तीन फिल्म 'आग', 'बरसात' र 'आवारा' केही विदेशी तीन इटालियन फिल्म निर्माताहरु रोबर्टो रोसेलिनी, भिटोरियो डि सिका र सेजर ज्वाटिनीकोबाट प्रभावित भएका थिए।
फिल्मको धेरैजसो दृश्य राज कपूरको वरिपरि नै घुमे पनि फिल्मको कथाको जरो नरगिसको भूमिकासँग जोडिएको थियो। जर्ज नर्गिसको जीवनी 'द लाइफ एन्ड टाइम्स अफ नर्गिस'मा टीजेएसले लेखेकी छिन्, 'नर्गिसले यो फिल्ममा आफ्नो खुब मन लगाएकी थिइन्। वकिलको भूमिका निभाउनका लागि उनले वकिलहरुको फिजिकल शैली राम्ररी सिक्नको लागि उनले मुम्बई अदालतको धेरै चक्कर लगाएकी थिइन्। उनले आफ्नो फिल्म करियरमा राज कपूरसँग १६ वटा फिल्ममा काम गरिन् तर दुवैको केमेस्ट्री मिलेर 'आवारा' बन्यो। फिल्मको असर जनमानसमा यति धेरै परेको थियो कि देशका युवा पिँढीले राज कपूर र नरगिसको पोशाक लगाएर नक्कल गर्दै उनीहरुले प्रेम गीत गाउन थालेका थिए।'
राज कपूरको उत्कृष्ट टिम

यस फिल्ममार्फत राज कपूरले आफूलाई चार्ली च्याप्लिनको छविमा ढालेका छन्। उनको यो छवि उनका आगामी धेरै फिल्ममा पनि रह्यो। पृथ्वीराज कपूर र केएन सिंहले पनि राम्रो प्रदर्शन गरेका थिए। यो फिल्मको स्वप्न दृश्य नयाँ स्वतन्त्र भारतको आम मानिसको आशाको प्रतीक बनेको थियो। यो चलचित्रले विश्वभरका विपन्न वर्गसँग विशेष संवाद स्थापित गर्न सफल भएको छ। राज कपूरको टिममा सबै क्षमतावान व्यक्ति थिए।
रितु नन्द लेख्छन्, 'उनीसँग मार्क्सवादी उपन्यासकार ख्वाजा अहमद अब्बास र गीतकार शैलेन्द्र र संगीतकार शंकर जयकिशनसहित प्रतिभाशाली टोली थियो। तत्कालीन भारतका प्रमुख मुद्दा बेरोजगारी र न्याय प्रणालीमा रहेको भ्रष्टाचारलाई आम जनतामाझ राख्न 'आवारा' सफल भएको थियो। समाजवादको सन्देश बोकेको यो चलचित्रमा उच्च अभिनय, चुस्त निर्देशन र सुमधुर संगीतले त्यस समयको अविस्मरणीय चलचित्र बनेको छ।'
संगीतमा पनि अब्बल राज कपूर

राज कपूरले आफ्नो फिल्मको निर्देशन र कथामा जति ध्यान दिए त्यति नै संगीतमा पनि दिएका थिए। लता मंगेशकरले एक अन्तर्वार्तामा भनेकी छन्, 'म र मन्ना डे 'घर आया मेरा परदेशी' गीत रेकर्ड गर्दै थियौं। सङ्गीतकार शंकर जयकिशनले हामी दुवैलाई गीतको शब्द र धुन सम्झाइदिनुभएको थियो। तर, राज कपूर आएपछि हाम्रो दिनभरको मेहनत बर्बाद गरिदिएका थिए।
उनले जयकिशनलाई भने, मलाई 'पोपटिया' गीत मन पर्दैन। पूरै गीत परिवर्तन गर्दै उनले यसमा आलाप पनि थपेका थिए। दिउँसो ३ बजेसम्म यो गीतमा काम गर्थ्यौं। गीत रेकर्ड भएपछि उनले भने, अब खाना खाऔं। उनले सम्पूर्ण युनिटका लागि खानाको व्यवस्था गरेका थिए। मलाई याद छ उसले हामीलाई बाटोको बीचमा बसाएर खाना खुवाएका थिए। त्यतिबेला सडकमा खासगरी बिहान ३ बजेको समयमा धेरै सवारीसाधन थिएनन्। बाटोमा कपडा बिछ्याएर खाना खाइवरी आ-आफ्नो घरतिर लाग्यौँ।'
दु:ख भुलाउनेवाला फिल्म

सोभियत संघसहित अरब र अफ्रिकी देशहरूमा पनि 'आवारा' ले लोकप्रियताको नयाँ मापदण्ड कायम गरेको थियो। एकपटक 'वार एन्ड पिस' बनाएका सरगेइ बोन्डार्चुक सन् १९८३ मा दिल्ली आएका थिए, फिल्म फेस्टिभलको अध्यक्षका रुपमा। त्यतिबेला आयोजित पत्रकार सम्मेलनमा एक भारतीय पत्रकारले उनलाई सोभियत संघ जस्तो महान् समाजवादी देशले 'आवारा' जस्तो पुँजीवादी पलायनवादी फिल्मलाई कसरी मन पराउन सक्छ भनी सोध्दा उनका आँखामा एक किसिमको चमक आएको थियो। जब उनले 'आवारा'कै धुनमा सिट्टी बजाउन थाले, उनले यस मामलामा विचारधाराले फिल्मको अपिललाई कम गर्न असफल भएको स्वीकार गरेका थिए।
एक पटक ख्वाजा अहमद अब्बासले पनि सोभियतका नेता ख्रुश्चेभलाई आफ्नो देशमा फिल्मको लोकप्रियताको रहस्यबारे सोधे। सोभियत नेता खुश्चेभको जवाफ थियो, 'रुसी जनताले दोस्रो विश्वयुद्धको सबैभन्दा डरलाग्दो भयाबहको सामना गरे। धेरै रुसी फिल्म निर्माताहरूले यस विषयमा फिल्म बनाएर दुःखद घटनाको सम्झना गराउने प्रयास गरे भने 'आवारा'मा राज कपूरले 'जख्को के सेना है मेरा, हस्ती है मगर ये मस्त नजर' गाएर आशाको किरण जगाएका थिए। उनले दु:खहरु भुलाउनेमा मद्दत गरे।'
'आवारा' सोभियत इतिहासको सबैभन्दा लोकप्रिय फिल्म

सोभियत जनतामा यो फिल्मको क्रेज यतिसम्म थियो कि उनीहरु घण्टौंसम्म वर्षात् र हिउँको बीचमा लाइनमा बसेर यो फिल्मको टिकट किन्ने गर्थे। रुसी भाषामा डब गरिएको 'आवारा'को रूसी नाम 'ब्रादग्या' थियो।
ख्वाजा अहमद अब्बासले आफ्नो आत्मकथामा लेखेका छन्, 'फिल्म नोभेम्बर ७ मा ध्रुवीय अभियानमा गएका वैज्ञानिकहरूका लागि स्टिलको बक्समा विमानबाट खसालिएको थियो। फिल्म सोभियत संघभरि गर्मीको आगो जस्तै फैलियो। केही महिनामै होटल र रेष्टुरेन्टका ब्यान्ड र अर्केस्ट्राहरुले फिल्मको धुन बजाउन थालेका थिए। जब आफैंले कैयौं युवाहरुलाई भेटेको थिएँ ती युवाले फिल्म २०/३० पटक हेरेको दाबी गर्ने गर्थे।
सोभियत संघको सम्पूर्ण इतिहासमा कुनै पनि चलचित्रले त्यस्तो लोकप्रियता हासिल गरेको थिएन। अर्को वर्ष, जब नेहरू सोभियत संघको भ्रमणमा जानुभयो, उहाँहरुलाई भनियो कि तपाईं बाहेक सोभियत संघमा धेरै लोकप्रिय भएका एक मात्र पात्र राज कपूर हुनुहुन्छ।'
राज कपूरले रुसी भाषा बोल्दा मानिसहरु पागल भए

टर्कीमा निकै चर्चित रहेको टेलिभिजनमा 'आवारा' सिरियल बनाइएको थियो। चीनका अध्यक्ष माओ पनि यो फिल्मलाई मन पराउने मध्येकै एक थिए। जब मस्कोको ठूलो हलमा 'आवारा' प्रदर्शन भयो, फिल्म सकिएपछि दर्शकले राज कपूर र नरगिसलाई उठेर अभिवादन गरेका थिए।
राज र नरगिस स्टेजमा नपुगेसम्म उनीहरुले ताली बजाइरहेका थिए। उनले राज कपूरले आफ्नो लागि केही भन्नु पर्छ भनेर चिच्याए। यसका लागि राज कपूर पहिलेदेखि नै तयार थिए।
उनले भने, 'तोवारिशी ए द्रूजिया' (कमरेडहरु/साथीहरु) 'या लबलु वास इ वी लुबिता मिन्या' (म तपाईंहरुलाई माया गर्छु र तपाईं पनि मलाई माया गर्नुहुन्छ) 'दोसविदानिया' (धन्यवाद)। यो सुनेर मानिसहरु यति स्तब्ध भए कि बसिरहेकै घरको छत खसेको जस्तो लाग्थ्यो।'
राज कपूरलाई स्वागत गर्न पूरै सहर आतुर थियो

चर्चित फिल्म निर्देशक यश चोपडाले एक पटक एउटा किस्सा सुनाएका थिए, 'सन् १९७६ मा हामी तास्कन्द फिल्म फेस्टिभलमा गयौं। मैले धेरै महोत्सवहरुमा भाग लिएको छु तर मैले विदेशी भूमिमा कुनै पनि महोत्सवमा भारतीय फिल्म निर्माताहरूलाई राजाजस्तै व्यवहार गरेको देखेको छैन तर यहाँ त्यो सब भयो। यसको श्रेय राज कपूरलाई नै जान्छ।
हाम्रो प्रतिनिधिमण्डलमा ४८ जना सदस्य थिए। सबैका लागि विशेष बसको व्यवस्था गरिएको थियो। राज कपूरलाई मात्र ठूलो कार र उनलाई एक दोभासे पनि दिइएको थियो। राज कपूर बाहेक हामीलाई लन्च र डिनरको लागि कुपन दिइयो। हामीले तास्कन्दबाट समरकन्दसम्मको रातमा चल्ने रेल चढ्यौं। हामी सबैका लागि सिटहरु आरक्षित थिए तर रेलको पूरा डिब्बा राज कपूरको लागि आरक्षित गरिएको थियो। बिहान समरकन्द पुग्दा स्टेसनको दृश्य हेर्न लायक थियो। यस्तो लाग्थ्यो कि राज कपूरलाई लिन लगभग पूरै सहरका मानिस आएका थिए।'
अझ रोचक कुरा त के छ भने सन् १९९३ मा रुसी राष्ट्रपति बोरिस येल्तसिनले भारत भ्रमण गर्दा राज कपूरका परिवारका सदस्यहरुलाई भेट्ने इच्छा व्यक्त गरेका थिए। रितु नन्दलेले लेखेकी छिन्, 'म त्यतिबेला खास केही थिइनँ र राज कपूरको निधन भएको वर्षौं भइसकेको थियो। राष्ट्रपतिको प्रत्येक एक-एक मिनेटको धेरै महत्व हुन्छ तर पनि उहाँले हामीलाई भेट्न समय निकाल्नु भयो। उहाँले हामीलाई भन्नुभयो, म बालापनको बेला 'आवारा' फिल्ममा राज कपूरले लगाएको टोपी जस्तै मैले पनि त्यही तरिकाले लगाउँथे।'
उनले राज कपूरबारे लेखेको किताबमा अङ्ग्रेजीमा लेखेका छन, 'मेरो राज कपूरसँग प्रेम थियो र आज पनि म उनलाई सम्झन्छु।'
(रेहान फजलले बीबीसी हिन्दीका लागि तयार पारेको सामग्री पवन घिमिरेले भावानुवाद गरेका हुन्।)