सोमबार, असोज १७, २०७९

एक दर्शकको रुवाइले जन्मिएको 'पानीफोटो'

राज सरगम  |  काठमाडौं, सोमबार, साउन ९, २०७९

राज सरगम

राज सरगम

सोमबार, साउन ९, २०७९, काठमाडौं

नेपाल समय
तस्बिर : दिनेश श्रेष्ठ

‘यो नाटकको लेखक र निर्देशक को हो?’ पानीफोटो नाटक हेरेर निस्किएका एक दर्शकले रंगकर्मी कमलमणि नेपालसँग सोधेछन्। ‘उहाँ हुनुहुन्छ’, कमलमणिले अभिनेता तथा निर्देशक खगेन्द्र लामिछानेलाई देखाइदिएछन्। 

खगेन्द्रलाई देख्नेबित्तिकै ती दर्शकले झ्याप्पै अँगालो हालेर डाँको छाडेछन्। खगेन्द्र एकछिन अलमलिएछन्। नाटकको प्रतिक्रिया कसैले रोएर दिएको पहिलोपल्ट थियो, खगेन्द्रलाई। रोइसकेको मान्छेले आफ्ना गिला आँखा पुछ्दै भनेछन्, ‘मेरो दाइ र दिदी आजसम्म बेपत्ता छन्।’ 

खगेन्द्र एकछिन स्तब्ध भएछन्। दर्शकले देखाएको प्रेम र भिजेका आँखा अगाडि उभिइरहन सकेनछन्, खगेन्द्र। ती दर्शकबाट छुटेर एकान्तमा पुगेछन्। 

‘किन मैले रुने कथा लेखें। किन यस्तो कथा भनें, जसका कारण रुनुपर्छ’, यस्तै–यस्तै सोचेर पिरोलिए, खगेन्द्र। ‘पानीफोटोबाट दर्शक रुवाउने रहर होइन मलाई’, ती दर्शकको धमिलो अनुहार सम्झिँदै खगेन्द्रले भने। 

दर्शकले रुँदै–रुँदै आफ्ना बेपत्ता परिवार सम्झिए। आफ्ना कथा जोडे। हराएका मान्छे अझै खोजिरहेका छन् भनेर बुझाए, उनले। पानीफोटो हेरेर धेरैले आफ्नो कथा भनोस् भन्ने लाग्यो उनलाई। आफ्नो संघर्षको प्रतिविम्ब देखोेस्। धेरैलाई यो कथा भन्न सकुँ भयो, उनलाई। 

विस्तारै धारणा बदलिँदै गए पनि तत्काल फिल्म बनाइहाल्ने अनुभव थिएन उनीसँग। 

द्वन्द्वका बेला एक घर एक सदस्य हराउने दिन थिए। परिवारका सदस्य घर फर्किने बाटो हेर्थे। श्रीमती श्रीमान् फर्किएको आश गर्थिन्। आमाबुबा छोराछोरी घर फर्किएको आश गर्थे। हो, सशस्त्र द्वन्द्वमा हराएको छोरो आजसम्म नफर्किएकामा अझै छोरा खोजिरहेका छन् होला। त्यही आमाबुबाको संघर्षपूर्ण यात्रा नाटकमा बुनेका थिए, खगेन्द्रले। 

यस्तै–यस्तै सोचेर नाटक पानीफोटोलाई ठूलो ‘मास’मा लैजाने सोच बनाएका थिए। संयोगले वधशालाजस्तो फिल्म खेल्न पाए। सिनेमामा काम गर्न थालेपछि पानीफोटोको फिल्म बनाउने सपना देख्न थाले उनले। 

पानीफोटो नाटक हेर्ने एक दर्शकको रुवाइले चलचित्र बनाउने सोच जन्मिएको थियो, खगेन्द्र लामिछाने भित्र, जसलाई उनले संकल्प मात्रै गरेनन्, खगेन्द्रले पानीफोटो चलचित्र बनाएर साकारै गरे। उक्त फिल्मलाई साउन १३ मा दर्शक माझ ल्याउँदै छन्। 


‘फुलानी’ कथा संग्रह लेखेका खगेन्द्रसँग कथाको कमी छैन। अभिनय र निर्देशनअघि लेखनमै सक्रिय थिए। अहिले पनि निरन्तर लेखिरहेछन्। चलचित्र ‘पशुपति प्रसाद’ को कथा र स्क्रिप्ट पनि उनैले लेखेका थिए, जसमा ‘भष्मे डन’जस्ता पात्र जन्मिएका थिए। उनी कथा बन्न सक्छन्। आफूले लेखेका कथाका पात्र छनोटका कारण पनि जीवन्त बनाउँछन्। आफूले गरेका भूमिकालाई न्याय गर्छन्। तर पहिलो निर्देशनका लागि उनले नाटक पानीफोटोकै कथा छाने। किन?

‘द्वन्द्वको प्रभाव यस्तो पनि हुन सक्छ है भन्ने बुझाउन मन थियो। आजसम्म पनि द्वन्द्वको प्रभाव मानसिक रूपमा गहिरिँदै गएको छ’, उनले भने। 

द्वन्द्वपीडित होइनन् खगेन्द्र तर द्वन्द्वलाई नजिकबाट बुझ्ने कोसिस सधैं गरे। आफ्नो जीवनकालमा द्वन्द्वले भौतिक क्षति नगरे पनि अप्रत्यक्ष रूपमा द्वन्द्वको प्रभाव उनले भोगे। माओवादीको त्रास बोकेर घर–सहर गरेको सम्झिन्छन्, ‘नजिकबाट देखेको थिएँ माओवादी, जसको भय अहिले पनि समाजमा छ।’

खगेन्द्रको पहिलो फिल्म ‘वधशाला’ जनयुद्धकै सेरोफेरोको कथा थियो। सेनाले पक्रिएको एक सर्वसाधारणको भूमिका निर्वाह गरेका थिए, उनले। यसपछि ‘टलकजंग भर्सेज टुल्के’ मा अभिनय गरे। यो फिल्म पनि सशस्त्र द्वन्द्वकै कथा हो। चिनियाँ लेखक लु सुनको कथा ‘द स्टोरी अफ अ क्यू’ लाई खगेन्द्र लामिछानेले नाटकमा रुपान्तरण गरेका थिए, जुन समय–सान्दर्भिक कथा बन्यो, नेपाली समाजमा। 

त्यसपछि खगेन्द्रको सम्झनामा आइरहने फिल्म ‘पशुपति प्रसाद’ बन्यो । नाटकदेखि सिनेमासम्म उनले सशस्त्र जनयुद्धले नेपाली समाजमा पारेको असरकै कथा लेखे। भने। र द्वन्द्वकै कथामा बुनिएको नाटकलाई स्वयंले स्क्रिनप्ले गरे। निर्देशन पनि गरे। 

द्वन्द्वको कथा फितलो आएकै हो। जति आउनुपर्थ्यो, त्यति आउन सकेन। ५० र ६० को दशकका युवाको ऊर्जावान समय त्रासमा बित्यो। ऊर्जावान समय खेर फालिरहेका युवाको समस्य द्वन्द्वपछि न राज्यले बुझ्यो, न त सशस्त्र द्वन्द्व हाँक्नेले बुझे। खगेन्द्रका लागि त्यो समय एउटा पाठ बनिदियो। घटनाक्रमसँगै स्वभाव निर्माण गर्नुपर्ने बेला थियो। त्यो समयलाई नजिकबाट महसुस गर्नेले नै कथा भन्न सके। तर त्यो कथा कति इमानदारीका साथ भनिएको छ?

‘जनयुद्धका कथा त आए तर राम्ररी भनिएन भन्ने लाग्छ’, उनी भन्छन्, ‘सशस्त्र द्वन्द्वका कारण पारेको प्रभावको कथा अब आउन थालेका छन्। त्यसैको क्रम हो, पानीफोटो।’

माओवादी सशस्त्र द्वन्द्वमाथि बनेको चलचित्र ‘कालो पोथी’देखि ‘दोख’सम्म आइपुग्दा फिल्मले नेपाली दर्शकको उपस्थिति सोचेजस्तो पाएन। १० वर्षे जनयुद्धको घटनालाई मिहीन देखाउन कोसिस गरिए पनि दर्शकले किन रुचाउँदैनन्? आखिर दर्शक द्वन्द्वको कथामा बनेको फिल्म हेर्न किन सकिरहेका छैनन्? अभिनेता खगेन्द्रसँग पनि यही प्रश्न हो। उनी भन्छन्, ‘माओवादी द्वन्द्वमा बनेका चलचित्रमाथि दर्शकले कम इन्ट्रेस दिन्छन्।’ 

किन कम भयो रुचि? 

द्वन्द्वको कथालाई कसरी भनियो भन्नेले अर्थ राख्ने बताउँछन्, खगेन्द्र । 

‘माओवादी द्वन्द्वको कथामाथि फिल्म बनाउन र हेर्न एकथरी मान्छेले नाक उचाल्ने प्रवृत्ति छ। यो टलक जंग भर्सेज टुल्के बनाउँदा पनि थाहा पाएको कुरा हो,’ उनले आफ्नो अनुभव सुनाए।

दर्शकलाई सशस्त्र द्वन्द्वसँग लामो गुनासो छ। तिनले आफ्ना सन्तान र भाइभतिज गुमाएको दुःख छ। आफ्नो कथालाई हेरेर पुनः रुन सिनेमाघरसम्म आउन गाह्रो हुँदो होला। तर यस्ता घटनालाई अहिलेका नयाँ पुस्तामाझ नल्याई भएको छैन। 

खगेन्द्रका अनुसार अहिले पनि नेपाली समाज सशस्त्र द्वन्द्वबाट प्रताडित छ। उनी भन्छन्, ‘कयौं मान्छे घरबारविहीन भए, अपांगता भए, एकल भए, टुहुरा भए। यसको समग्र प्रभाव आजका पुस्तामा पनि पर्दै गयो, जसका कारण सशस्त्र द्वन्द्वमाथि नै घृणा जन्मियो।’ 

सशस्त्र द्वन्द्व एउटा घटना मात्रै थिएन। काल थियो, जसले समाज नै उलटपुलट गर्‍यो। यसैको बलमा कयौं कथाहरू जन्मिए। ती कथाहरू बुन्न कतिले जाने, कतिले जानेनन्। खगेन्द्रका अनुसार आफूसँग कथा भए पनि भन्न जानिएन। ती कथा नै लागेन, हामीलाई। अन्य कथामा भौतारियौं। असली कथा आफैँसँग छ। 

नजिकको तीर्थ हेला हुन्छ भनेझैं आफूसँग भएको कथा दोहोर्‍याए हेर्न त्यति मन हुँदैन। त्यसैले जनयुद्धमाथि बनेका फिल्ममाथि दर्शकको रुचि कमै छ। 

तर केही गम्भीर फिल्म निर्माताहरू सशस्त्र द्वन्द्वकै कथालाई भन्न लागिरहेका छन्। द्वन्द्वकै कथालाई कोट्याउँदै छन्। खत बनेर बसेको घाउलाई कोट्याउन खोजिएको छ। 

खगेन्द्र द्वन्द्वको कथा ल्याउन जरुरी ठान्छन्। उनी भन्छन्, ‘हामीसँग भएर पनि छुटेको कथा भनेको द्वन्द्वकै हो, जुन आउन जरुरी छ। अहिले पनि आफ्ना सन्तान खोजिरहेका अभिभावक घरबाट हिँडेको धेरै समय भयो तर न्याय पाएका छैनन्।’

पानीफोटो नाटकलाई स्क्रिनप्ले गर्न मात्रै चार वर्ष लगाएका थिए, खगेन्द्रले । नाटकको क्यानाभासमा लेखेको पानीफोटोलाई स्क्रिनप्ले गर्दा सिनेमाको क्यानाभासमा जानुपथ्र्यो। यसका लागि उनले थप अनुसन्धान गरे। आफ्ना पात्रलाई थप माझमुझ पारे। यथार्थ घटनालाई फेरि अध्ययन गरे। भन्छन्, ‘विषयवस्तु नै गम्भीर भएकाले थप अनुसन्धान गर्नुपर्‍यो। नाटकलाई सिनेमा बनाउँदा धेरै कुरा खड्किँदो रहेछ।’

०००

यसमा लेखन, निर्देशन र अभिनय पनि खगेन्द्रकै छ। भूमिका सशक्त छ। अन्य फिल्ममा उनी लिड भूमिका हुन्थे। पानीफोटोमा भने मुख्य पात्र रंगकर्मी अनुप बराल हुन्। 

अनुपलाई गुरु मान्छन्, खगेन्द्र। आफ्नो गुरुलाई पहिलो निर्देशनमै अभिनय गराएका छन्, खगेन्द्रले । कास्टिङसमेत खगेन्द्रको रहेको पानीफोटोमा अनुपको अपोजिटमा छन्, मेनुका प्रधान। वास्तविक जीवनमा उमेरअन्तर धेरै छ। तर खगेन्द्रले यी दुवैलाई श्रीमान्–श्रीमतीको भूमिकामा फिट गराएका छन्। भन्छन्, ‘पहिला साह्रै गाह्रो लागेको थियो। कोसिस गरौं भन्ने भयो। मिहिनेत पनि गरियो। अहिले ट्रेलरमा हेरेर धेरैले सकारात्मक प्रतिक्रिया दिएका छन्।’

मेनुकासँग लामो समयदेखि रेडियो नाटक र रंगमञ्चमा सँगसँगै काम गरेका छन्, खगेन्द्रले। त्यो कामको अनुभवले पनि मेनुका र अनुप बराललाई एकै फ्रेममा सुहाउने पात्र बनाउन सकेको लाग्छ, खगेन्द्रलाई। भन्छन्, ‘फिजिकल्ली म्याच कसरी गर्ने भन्नेमा धेरै मिहिनेत गर्‍यौं।’ 

पानीफोटोलाई बर्दिया, रोल्पा र स्याङ्जाका विभिन्न ठाउँमा सुटिङ गरिएको थियो। ४८ दिन सुटिङ गर्दा कुनै अप्रिय घटना भएन। कहिलेकाहीँ पानीले दुःख दिएको भने याद छ, उनलाई। एउटा घटना सुनाउँछन्, ‘एक दिन लाइटमेनलाई करेन्ट लाग्यो। आपतकालीन अवस्थामा अस्पताल पु¥याइयो। त्यो दिन टिम लिडर भएको हुँदा अलिकति तनाव थियो।’ 

सामान्य उपचारपछि लाइटमेन सकुशल घर फर्किए। 

उनी लेखन र अभिनयभन्दा जटिल देख्छन् निर्देशन कार्य। टिमलाई नै काँधमा बोकेर हिँड्नुको सकस देख्छन्। टिम चुस्त र मिलनसार भइरहे काम गर्न सहज हुने अनुभव छन्, उनीसँग। 

‘निर्देशन पक्ष स्क्रिप्ट लेखनदेखि चलचित्र हलसम्म पुर्‍याउँदा दुःखसँग सामेल हुनुपर्ने भएकाले बढी जिम्मेवार हुनुपर्दो रहेछ’, उनले आफ्नो अनुभव सुनाए। 

लेखन, निर्देशन, अभिनय मात्रै होइन, निर्मताका रूपमा पनि उनले आफ्नी श्रीमती रोजिना सिटौलालाई राखेका छन्। निर्माणमा उनलाई साथ दिएका छन्, रवीन्द्र वज्राचार्यले। मिलीजुली गरिएका काम राम्रै हुने आश गर्छन्, उनी। पानीफोटो नाटक आयो, किताब आयो, अनि फिल्म आउँदै छ।

एउटै विषयमाथि धेरै पटक काम गर्नुको कारण उनी भन्छन्, ‘यो कथामा दिल बस्यो। धेरै मान्छेलाई सुनाउन जरुरी पनि छ भन्ने लागेर यसैमा काम गरेको हो।’ 

सिनेमाले सोचेजस्तै व्यवसाय गर्ला? 

खगेन्द्र निर्देशनमा पनि सफल हुने आश गर्छन्। तर फिल्म चलाउन गरिने उट्पट्याङ नजानेको बताउँछन्, ‘फिल्म चलाउन अनेक तिकडम गरिन्छ भन्छन्, त्यही कुरा जानिएन।’

पानीफोटो पनि माओवादी जनयुद्धको कथा भनी दर्शकले नाक खुम्च्याउँछन् कि भन्ने शंका गर्छन्, उनी। जनयुद्धलाई लुकाएर अरू नै फिल्म हो भन्ने भ्रम पार्न सकिँदैन किनकि कथाले नै दर्शकलाई हलसम्म तान्ने हो। तर आफ्नो पुराना काम सम्झिएर दर्शक हलसम्म पुग्छन् कि भन्ने लाग्छ, उनलाई।

उनले एक किस्सा सुनाए। 

एक दिन उनको फेसबुक इनबक्समा म्यासेज आयो। हेरे। पशुपति प्रसाद फिल्म सिनेमा घरमा हेर्न छुटाएकामा पछुतो मानेको म्यासेज रहेछ। युट्युबमा हेरेर चित्त बुझाउन नसकेका ती दर्शकले पानीफोटो हेर्न स–परिवार सिनेमा घरमा जाने लेखेका रहेछन्। यस्ता म्यासेज अचेल धेरैको संख्यामा आइरहेको बताउने खगेन्द्र भन्छन्, ‘व्यक्तिगत म्यासेजले गर्दा पनि फिल्म चल्छ भन्ने आश छ।’ 

हुन त खगेन्द्रले गरेका अघिल्ला काम निकै प्रशंसनीय छन्। आफू अभिनय र लेखनमा अब्बल भएका कारण निर्देशकीय पाटोबाट पनि पानीफोटो अझै राम्रो बनेको छ भन्ने लाग्छ, खगेन्द्रलाई। 

हेर्नुस् ट्रेलर



प्रकाशित: July 25, 2022 | 07:22:21 काठमाडौं, सोमबार, साउन ९, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
फिल्म

९६ वर्षअघि महँगो फिल्म बनाएकी एसियाकै पहिलो महिला निर्देशक फातमा बेगम

एकातिर यो फिल्म पहिलो पटक महिलाले निर्देशन गरेको चर्चा भइरहेको थियो भने अर्कोतिर यसमा देखाइएको भीएफएक्सले पनि तारिफ पाइरहेको थियो।
नेपाल समय
फिल्म

ऐतिहासिक कथामा बनेको ‘नालापानी’को ट्रेलर सार्वजनिक (भिडियो)

ट्रेलर रिलिज कार्यक्रममा निर्देशक अधिकारीले लामो समय अध्ययन र अनुसन्धान गरेर ९ वर्ष लगाएर फिल्म निर्माण गरेको बताए। फिल्मले नेपाली विरताको गाथा बोकेकाले सोलो रिलिजको अवसर मिलाइदिन पनि उनले फिल्म सम्बद्ध संघ-संस्था तथा राज्यसँग अपिल गरेका छन्। उनले ‘नालापानी’ एक युगमा एक पटक मात्र निर्माण हुने भएकाले दर्शकलाई एकपटक हेरिदिन पनि आग्रह गरे।
नेपाल समय
फिल्म

'ऐना झ्यालको पुतली' को माग डायस्पोरामा पनि

नेपालमा दर्शक र समीक्षकबाट दशककै उत्कृष्ट फिल्मको प्रतिक्रिया पाएको ‘ऐना झ्यालको पुतली’ले विदेश यात्राको तय गरेको छ।
नेपाल समय
फिल्म

कर चुक्ता नगरेका कारण प्रेमगीत-३ को सेन्सर रोकिएको थियो : भुवन केसी

बोर्डले केही दिनसम्म रोकिराखेको सेन्सर अनुमति करचुक्ता प्रमाणपत्र पेस गरेपछि भने सेन्सर पास गर्नका लागि केन्द्रीय चलचित्र जाँच समितिमा सिफारिस गरिएको जानकारीसमेत बोर्डले दिएको छ।
नेपाल समय
फिल्म

'प्रेम गीत-३' को हिन्दी संस्करणले पनि पायो सेन्सर अनुमति

चलचित्र विकास बोर्डले 'प्रेम गीत-३' फिल्मको हिन्दी संस्करणको सेन्सरका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सिफारिस गरेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना