सोमबार, असोज १७, २०७९

फिल्म र म्युजिक भिडियोमा कर्णालीः दृष्य मात्रै कि कथा पनि?

राज सरगम  |  काठमाडौं, शनिबार, असार ३२, २०७९

राज सरगम

राज सरगम

शनिबार, असार ३२, २०७९, काठमाडौं

नेपाल समय

 विकासका हिसाबले अझै पछौटे अवस्थामा छ, कर्णाली। समृद्धिका नारा जति घन्किए पनि कर्णाली प्रदेशको माथिल्ला जिल्लाहरूमा हिँड्नुको दुःख अझै उस्तै छ। 

हुम्ला भर्खरै सहर झर्ने मोटरबाटोसँग जोडिएको छ। हवाई यात्रा छोइनसक्नु छ। भरपर्दो छैन। सिंहदरबारले कर्णालीको कथाव्यथालाई कहिल्यै सुनिदिएन। न त कर्णालीमाथि गम्भीर भयो। 

काठमाडौंबाट ३७२ किलोमिटर टाढाको कर्णालीका माथिल्ला जिल्ला जुम्ला, कालीकोट, हुम्ला र डोल्पाका भित्री बस्तीसम्म पुग्न बाटोको हिसाब राज्यसँग छैन। तर कला क्षेत्रमा लागेका कलाकारहरू कथा र लोकेसन खोज्दै कर्णालीतिर उक्लिन थालेका छन्। 

यार्सा बटुल्नेहरू चैत/वैशाखमा माथिल्लो लेक उग्लिएझैं म्युजिक भिडियो र फिल्म निर्माताकर्मीहरू काठमाडौंबाट कर्णालीका विभिन्न जिल्ला किन उक्लिँदैछन्? 

जवाफ सरल छ, ‘भर्जिन लोकेसन र मौलिक कथा।’ 

‘दूरीका हिसाबले टाढा भए पनि भर्जिन स्टोरी र न्यू लोकेसनका कारण फिल्म मेकरहरू कर्णालीतिर सर्दै छन्’, सिनेमाटोग्राफर राजु केसीले भने। 

अशिक्षा, गरिबी, भोकमरी र अन्धविश्वासले ग्रस्त कर्णाली क्षेत्रमा भिडियो तथा चलचित्र छायांकन गर्न जाने हिम्मत अझै जोकसैले गर्दैनन्। सोच गरिहाले भने ठूलै रकमको जोहो गर्नुपर्छ। यातायात खर्च बढी लाग्ने भएकाले महँगा म्युजिक भिडियो र फिल्म बनाउन गाह्रो छ। पहाडी र हिमाली जिल्ला जुम्ला, हुम्ला, कालीकोट र डोल्पा पुग्न कयौं दिन हिँड्नुको सकस उस्तै छ। सकस भए पनि चलचित्रकर्मी तथा म्युजिक भिडियोकर्मीहरू कर्णालीको भूगोल र मौलिकतासँग जोडिनुको दोस्रो कारण के? 

रंगकर्मी हीरा बिजुलीका अनुसार नेपाली सिनेकर्मीको पछ्याउने बानीले पनि कर्णालीको कथा र लोकेसनमा काम गर्न थालेझैं लाग्छ। 

‘नेपाली चलचित्र ‘कपी स्टोरी’ मा बन्दै आएकै नकार्न सकिँदैन। तर पछिल्लो दशकदेखि अन्तर्राष्ट्रिय बजारलाई ध्यानमा राखेर मौलिकताको रटान सुन्न पाइन्छ। कथा खोज्न जानेनन् भन्ने आरोप छ, चलचित्र क्षेत्रलाई। त्यसैले कथा खोज्न दुर्गम गाउँतिर लागे कि भन्ने लाग्छ ’, हीरा भन्छन्, ‘तर कर्णालीको कथालाई के हामीले इमानदारीसाथ भन्यौं त ? यसमा गम्भीरता देखाएको भने लाग्दैन।’ 

सन् ५० को दशकपछि भूगोलशास्त्री टोनी ह्यागनले पहिलोपल्ट कर्णालीको भूगोललाई क्यामेरामा कैद गरेका थिए। कर्णालीको जनजीवनलाई ह्यागनले समाजशास्त्री ढंगले पर्गेलेका थिए। 
चलचित्र निर्देशक मीन भाम र रंगकर्मी हीरा बिजुली

त्यसपछि कर्णालीको माथिल्लो डोल्पाको लोकेसन र जनजीवनको कथा बुनेर ‘क्याराभान’ जस्तो चलचित्र बनाए, फ्रेन्च फोटोग्राफर एन्ड निर्देशक एरिक भ्यालीले। 

क्याराभानजस्तो फिल्म आउँदा पनि कर्णालीको कथा र लोकेसनमा काम गर्न नेपाली चलचित्रकर्मी ‘कन्भेन्स’ हुन सकेनन्। पहिलो कुरा, बजेटले नै भ्याउँथेन भने दोस्रो कुरा, भारतीय फिल्मबाट प्रभावित कथा भन्न सजिलो हुने भएकाले गाउँको कथा किन भनिरहनू?

मीन भाम र हीरा बिजुली रंगमञ्चलाई आधार बनाएर नेपाली कला क्षेत्रमा उदाए। २०६४ मा ‘कर्णाली कला केन्द्र’ नाम जुराएर मुगुमा नाटक घर जन्मिएको थियो, जसमा हीरा बिजुली उपाध्यक्ष थिए भने चलचित्र निर्देशक मीन भाम अध्यक्ष। हीरा बिजुलीले कर्णालीकै कथालाई ‘कर्णाली दख्खिन बग्दोछ’ नाम दिएर रंगमञ्चमा उतारे।  

अशिक्षा, गरिबी, भोकमरी र अन्धविश्वासमा लपेटिएको कर्णालीका कथाव्यथालाई निजिकियाउँदै छ क्यामेरा।

पहिलोपल्ट ‘कर्णाली दख्खिन बग्दोछ’ नाटकमार्फत काठमाडौंका मानिसलाई कर्णाली देखाए, हीराले। 

नाटकमा सक्रियता देखाउन थालेदेखि नै भामले चलचित्रको कथामा कर्णालीको कथालाई बुन्न थालेका थिए। त्यसैको फलस्वरूप उनले ‘कालो पोथी’ जस्तो ‘माइलस्टोन’ सिनेमा बनाए। 

निर्देशक भामले कालो पोथी सिनेमा बनाएपछि नेपाली सिनेकर्मीको कर्णालीमाथि ध्यान तानियो। कर्णालीको कथालाई क्यामेराको फराकिलो एंगलबाट देखाउन सकेका थिए, मीनले। कालो पोथीमा खिचिएको कर्णालीको कथाले नेपाली दर्शकलाई मात्रै मुग्ध पारेन, अन्तर्राष्ट्रिय बजारमा पनि यसले नेपाली सिने उद्योग चिनायो। नेपाली दर्शकलाई कालो पोथीमार्फत गम्भीर हुन सिकायो। 

द्वन्द्वको कथा भए पनि कालोपोथीको ल्यान्ड स्केप कर्णालीकै थियो। भाषा कर्णालीको थियो। लोकेसन कर्णालीको थियो। निर्देशक भाम पनि कर्णाली मुगुकै थिए। यसले गर्दा कर्णालीको कथा टपक्कै टिपियो। 

सिनेमाटोग्राफर, राजु केसी

नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने बाटो पहिल्याएको कालो पोथीले फ्रान्स, जर्मन र नेपालको संयुक्त लगानीमा बनेको यो फिल्म त्यसकारण पनि महत्त्वपूर्ण छ। 

भेनिस अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा क्रिटिक्स विक्समा उत्कृष्ट ठहरिएको उक्त फिल्मबाट निर्देशक भामले अस्ट्रेलिया, ताइवान, इटलीका उत्कृष्ट डेब्यु निर्देशकका लागि प्रतिस्पर्धा गरेका थिए।

यसअघि भामले अन्तर्राष्ट्रिय रूपमा चर्चा पाउने गरी कर्णालीमाथि नै ‘बासुल्ली’ बनाएका थिए। कर्णालीको हिमाली जिल्लाबाट आएका जनप्रतिनिधि सिंहदरबार छिरेपछि बिर्सिन्छन् कर्णाली तर बिर्सिंदैनन् कलाचेत भएका कलाकारहरू। कलालाई महसुस गर्न चाहनेहरू। 

रंगकर्मी हीरा कालो पोथीले नेपाली चलचित्रकर्मीलाई कर्णालीसँग प्रेम बढाइदिएको सुनाउँछन्। यस्तो कसरी भयो? 

उनी भन्छन्, ‘कम्तीमा फिल्म मेकरलाई कथा भन्न कन्जुस्याइँ गर्नुहुन् भन्ने महसुस गरायो, कालो पोथीले। कालो पोथीको सफलताले मौलिक कथामा काम गर्न हौसायो।’ 

पछिल्लो समय कर्णालीकै पृष्ठभूमिमा तयार पारिएको चलचित्र ‘प्रकाश’ चर्चामा छ। अभिनेता प्रदीप खड्का एवं अभिनेत्री दिया मास्केको कस्टम र लुक्सले प्रशंसा पायो। 

कालो पोथीपछि कर्णालीको लोकेसनमा बनेका चलचित्र किन सफल हुन सकेनन्?

‘हामीले कति इमानदार भएर कर्णालीको कथा भन्न सक्यौं? कथालाई कति न्याय गर्यौं‍?’ हिरा भन्छन्, ‘पहिलो कथा भन्ने मानिसकै हो। मानिससँग जोडिएका जीवनशैली हो। त्यसलाई हामी कति आत्मासात् गर्दै छौं। कति न्यायपूर्वक भन्दै छौं। जुन समुदाय र भूगोलको कथा भनिरहेका छौं, त्यहाँका मानिससँग कति लगाव देखाएका छौं? यसले पनि कथाको ‘प्लट’ निर्धारण गर्छजस्तो लाग्छ।’

कर्णालीमा सुटिङ गर्न आउनु मात्रै ठूलो कुरा होइन भन्ने ठहर छ, हीराको। लोकेसन दोस्रो प्राथमिकतामा पर्ने भएकाले पहिला कथामै गम्भीर हुनुपर्ने हीरा सुनाउँछन्। 

हिजोका दिनमा कर्णालीको कथा भन्ने मान्छे त्यहीँबाटै नआएका कारण पनि यहाँको कथा पछाडि परेको लाग्छ। तर मीन, हीराजस्ता पात्रहरू जब नेपाली सिनेमामा देखिए, सँगसँगै रंगमञ्च र फिल्ममा कर्णालीको कथा र लोकेसन देखिन थालेको नकार्न सकिँदैन। 

पछिल्लो समय कर्णालीकै पृष्ठभूमिमा तयार पारिएको चलचित्र ‘प्रकाश’ चर्चामा छ। अभिनेता प्रदीप खड्का एवं अभिनेत्री दिया मास्केको कस्टम र लुक्सले प्रशंसा पायो। कर्णालीको मौलिक पहिरन मात्रै होइन, त्यहाँको मौलिक कथा पनि न्यायपूर्ण ढंगले आओस् है भन्नेहरूको बाक्लै भीड छ। 


आफ्नो भूगोल, आफ्नै कथा, आफ्नै पात्रको कथा भनिरहँदा लोकेसनमा पनि न्याय गर्नैपर्‍यो। त्यसैले निर्देशक राउतले प्रकाश चलचित्रको लोकेसनलाई पश्चिम जुम्ला नै छाने। राउत भन्छन्, प्रकाशका लागि पश्चिमकै भूगोल छान्नुमा त्यहाँको कष्टकर जीवन संघर्षसँगै विविध विषय पनि छन्, जुन फिल्ममा देखिनेछ।’

सिनेमाटोग्राफर राजु केसी केही थान डकुमेन्ट्री र ‘एकादेशको कथा’ नामक चलचित्र खिच्न हुम्ला र जुम्ला पुगेका थिए। काठमाडौंले बुझेको कर्णाली र आफूले देखेको कर्णालीमा अनेकन अन्तर पाएका बताउने राजुले असार १० देखि १७ गतेसम्म चलचित्र विकास बोर्ड र स्थानीय संघ–संस्थाको सहयोगमा ‘स्क्रिप्ट राइटिङ कार्यशाला’ मा कर्णालीको लोकेसनमाथि आफ्नो अनुभव सुनाएका थिए। 

‘डिस्टेनका हिसाबले कर्णाली टाढा भए पनि त्यहाँको लोकेसन र कथाले लोभ्याउँछ। भर्जिन लोकेसनले आँखालाई मुग्ध पार्छ। कथा कमजोर हुन्छन् भन्ने आरोप खेप्दै आएको नेपाली सिनेमाले कर्णालीको कथामाथि बोल्ने हो भने मुहतोड जवाफ दिन सक्छ’, राजुले भने। 

राजुले फेरि थप्छन्, ‘हामी फराकिला दृश्यलाई मात्रै कैद गरेर फर्किन्छौं तर कथा खोज्न समय दिँदैनौं।’

०००

रेलको बाटो पुग्दैछ रे तिमी बस्ने सहरैमा 

हुम्ला कहिले मोटर आउला बस्याको छु हेर्न रहरैमा 

गायक सुरज पण्डितले गाएको यो गीत माथिल्लो डोल्पा र हुम्लामा कैद गरिएको बताउँछन्, गायक पण्डित। जुम्लाबासी गायक पण्डित आफैं कर्णालीका भएकाले त्यहाँको लोकेसन छुटाएनन्। 

हुन त, उनले गीतका शब्दमै हुम्ला जोडेर गीतलाई थप मार्मिक बनाए। 

रेलको बाटो गीत तयार पारेपछि सुटिङका लागि लोकेसन कर्णाली नै छनोटमा पर्‍यो। जुम्लाबाट गीत–संगीतमा संघर्ष गर्दै आएका सुरजले आफ्नो भूगोल र कथालाई क्यामेरामा कैद गरे। 

गायक, सुरज पण्डित

रेलको बाटो गीतमा गायक पण्डित पहाड छिचोलेर आफ्नो गाउँ आएको बाटोमा गुडेको मोटर हेर्न मन गर्छन्। लक्ष्मण सुनारले निर्देशन गरेको रेलको बाटो भिडियोलाई ‘लार्जन देन लाइफ’मा खिचेका छन्। सुरज भन्छन्, ‘आफू उतै भएकाले पनि कर्णालीको कथा छुटाउन नसकेको हो।’

कर्णालीको समस्या जन्मेदेखि देख्दै आएका सुरजले गीतमार्फत कर्णालीको कथा बोले। सुरजले आफ्नै बाल्यकालका कथा आफैंले भने। 

पहिलो म्युजिक भिडियो लोकगायक विमल डाँगीले डोल्पाको लोकेसनमा खिचेको बताउँछन्, सुरज। युट्युबमा गएर हेर्दा ‘त्रिपुराकोट मन्दिरमा सुनको गजुर’ बोलको गीतको भिडियोमा डोल्पाको लोकेसन देख्न सकिन्छ, जसलाई देव नेपालको निर्देशन र रत्न कार्कीको छायांकन रहेको छ। 

‘पहिलेको तुलनामा अहिले म्युजिक भिडियो कर्णाली प्रदेशमा बढी सुटिङ हुन थालेको छ’, सुरजले भने। 

स्थानीय सरकार आएसँगै नगरपालिका र गाउँपालिकाले आफ्नो नगरको वृत्तचित्र बनाउने क्रम बढेको छ। सुरजका अनुसार कर्णालीलाई फराकिलो बनाएर म्युजिक भिडियोमा ल्याएको ‘रेलको बाटो’ नै हो। उनी भन्छन्, ‘कर्णालीको ‘लार्जन देन लाइफ’ स्टोरी म्युजिक भिडियोमा आएको ‘रेलकै बाटो’मा हो, सायद।’  

म्युजिक भिडियो निर्देशक जिबी आग्रीले कर्णालीको कालीकोटमा मात्रै आधा दर्जन म्युजिक भिडियो निर्देशन गरेका छन्। कञ्चनपुर स्थायी बास भएका आग्री कालीकोटको दुःख र भूगोल देखाउन कोसिस गरेको बताउँछन्। 

उनी भन्छन्, ‘कथा र लोकेसन दुवै हिसाबले कर्णाली प्रदेश अर्गानिक हो। लोकेसन मात्रै आश गरेर कर्णाली पुृग्नेले कथामा काम गर्न लोभिन्छन् किनकि क्यामेराको जुन फ्रेम जता लगाए पनि कथा भेटिन्छ।’ 

अलिअलि दुःख खेप्न आँट दिएको छ, कर्णाली कथाले। त्यहाँको लोकेसनले। कर्णालीको विकट जिल्ला पुगेर कथा र लोकेसनलाई क्याच गर्न खोज्नु पर्यटकीय हिसाबले पनि राम्रै हो।

केही नयाँ कथा, केही नयाँ लोकेसन टिप्न लागेका छन्, सिनेमाकर्मीहरू। त्यो पनि कर्णाली प्रदेश सोच्नुको पहिलो कारण मान्छन्, आग्री। उनका अनुसार कर्णाली प्रदेशको कथा जति आएको छ, फुटकर आएको छ। ती संयोगले नै जुराएका कारण आएको छ। 

नेपाली म्युजिक भिडियोमा कथा बुनिन थालिएपछि कर्णाली प्रदेशका प्राथमिकतामा पर्न पुगेको लाग्छ, आग्रीलाई। उनी भन्छन्, ‘बजेटअनुसार भिडियो बनाइन्छ। त्यसैले कर्णालीमा सुटिङ गरौं। त्यतैको कथा बोलौं भनेपछि बजेट त्यहीअनुसार व्यवस्थापन गरिन्छ।’

म्युजिक भिडियो सुटिङ समय थोरै लाग्ने र केही लाखमै छायांकन गर्न सकिने भएपछि पछिल्लो समय नेपाली म्युजिक भिडियोको लोकेसन कर्णाली पर्न थालेको मान्छन्, आग्री। 

०००

लोकेसनसँगै कर्णालीको कथा पनि आफैंमा विशेष छ। हिमाली जिल्लाको सांस्कृतिक विविधता देखेर बाहिरबाट जानेहरू आश्चर्यमा पर्छन्। परापूर्वकालदेखि चलिआएको परम्पराले राखेको सद्भावको कथा आफैंमा जीवन्त लाग्छ। यस्तै, जीवन्त कथा डकुमेन्ट्रीमा निर्देशक गणेश पाण्डेले ‘को–हजबेन्ट’मा ल्याए। हुम्लाको कथा बहुपति विवाह प्रथालाई उनले अन्तर्राष्ट्रिय फिल्म बजारमा पुर्या‍ए। कर्णालीको मौलिकता मात्रै नभएर त्यहाँको ‘ल्यान्ड स्केप’मा खिचिएको हिमाल, पहाड पनि चिनाए।

त्यसैगरी पत्रकार भोजराज भाटले बनाएको ‘सुनकली’ नामक डकुमेन्ट्रीले कर्णाली मुुगुका महिलाको साहस र संघर्षका कथा भनेको छ। 

यातायात अभावको बाबजुद पनि महिलाहरू मुगुबाट पैदल हिँडेर जुम्ला पुग्छन्, फुटबल खेल्नकै लागि। एक दिन त्यही मिहिनेत सफलतामा बदलिन्छ। सुनकलीझैं विश्व यात्रा गर्छन्, मुगुका महिला फुटबल खेलाडी।

म्युजिक भिडियो निर्देशक, जिबी आग्री

साढे ४ हजार मिटर उचाइमा चंखेली लेकको कथा भनिरहेका भाट सुनकलीसँगै चर्चामा आए। मुगुका दिदीबहिनीको हिम्मत संसारभर चिनाए। 

नेपालका अधिकांश हिमाली क्षेत्रमध्ये फिल्म मेकर र म्युजिक भिडियो मेकरले मनाङ/मुस्ताङ मात्रै गन्तव्य बनाउँदै आएका थिए। त्यहाँ ल्यान्ड स्केप फ्रेम क्रियसन गर्न पाउँथे। काठमाडौंदेखि नजिक र सुविधासम्पन्न लोकेसनका हिसाबले पोखरालाई सम्झिन्थे। सस्ता होटल र लोकेसनका हिसाबले चितवन आसपास बढी छायांकन हुने गर्छ। तर जुम्ला आफैंमा टाढा हुनु र होटल, सडक, यातायात अभाव झेल्नुपर्छ। 

राउतका अनुसार जुम्लाको भूगोलमा प्रकाशको सुटिङ ४२ दिनसम्म चलेको थियो। त्यहाँ छायांकन गर्दाका कठिनाइ थुप्रै थिए। बस्न, खानका लागि होटल अभाव उस्तै। उनी भन्छन्, ‘स्थानीयको घरमा बास मागेर सुटिङ गरियो। बासस्थानदेखि प्राविधिक कुरामा अझै कठिन छ, जुम्लामा।’

अलिअलि दुःख खेप्न आँट दिएको छ, कर्णाली कथाले। त्यहाँको लोकेसनले। कर्णालीको विकट जिल्ला पुगेर कथा र लोकेसनलाई क्याच गर्न खोज्नु पर्यटकीय हिसाबले पनि राम्रै हो। सिंगो नेपाली चलचित्र र गीत–संगीत उद्योगले अर्गानिक कथा पाउनेछ। 

सिनेमाटोग्राफर राजु कुनै बेला पोखरा र चितवनका लोकेसनमा थुप्रै काम गरे। अहिले कर्णालीको कथामा काम गर्न एकाग्र छन्, उनी। 

सुर्खेतबाट २२९ किलोमिटर जुम्ला, १४० किलोमिटर टाढा डोल्पा, २३४ किलोमिटर हुम्ला भए पनि चलचित्र र म्युजिक भिडियो मेकरका लागि यो दूरी नजिकिँदै गएको छ। जसरी यात्राको सकसलाई आत्मसात् गर्दै गएका छन्, त्यसैगरी ‘कर्णालीको लुक्स’लाई चलचित्रका कथा बनाइयो भने नेपाली मौलिक चलचित्रले पक्कै खडेरी बेहोर्नु पर्दैन।


प्रकाशित: July 16, 2022 | 12:44:00 काठमाडौं, शनिबार, असार ३२, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
फिल्म

९६ वर्षअघि महँगो फिल्म बनाएकी एसियाकै पहिलो महिला निर्देशक फातमा बेगम

एकातिर यो फिल्म पहिलो पटक महिलाले निर्देशन गरेको चर्चा भइरहेको थियो भने अर्कोतिर यसमा देखाइएको भीएफएक्सले पनि तारिफ पाइरहेको थियो।
नेपाल समय
फिल्म

ऐतिहासिक कथामा बनेको ‘नालापानी’को ट्रेलर सार्वजनिक (भिडियो)

ट्रेलर रिलिज कार्यक्रममा निर्देशक अधिकारीले लामो समय अध्ययन र अनुसन्धान गरेर ९ वर्ष लगाएर फिल्म निर्माण गरेको बताए। फिल्मले नेपाली विरताको गाथा बोकेकाले सोलो रिलिजको अवसर मिलाइदिन पनि उनले फिल्म सम्बद्ध संघ-संस्था तथा राज्यसँग अपिल गरेका छन्। उनले ‘नालापानी’ एक युगमा एक पटक मात्र निर्माण हुने भएकाले दर्शकलाई एकपटक हेरिदिन पनि आग्रह गरे।
नेपाल समय
फिल्म

'ऐना झ्यालको पुतली' को माग डायस्पोरामा पनि

नेपालमा दर्शक र समीक्षकबाट दशककै उत्कृष्ट फिल्मको प्रतिक्रिया पाएको ‘ऐना झ्यालको पुतली’ले विदेश यात्राको तय गरेको छ।
नेपाल समय
फिल्म

कर चुक्ता नगरेका कारण प्रेमगीत-३ को सेन्सर रोकिएको थियो : भुवन केसी

बोर्डले केही दिनसम्म रोकिराखेको सेन्सर अनुमति करचुक्ता प्रमाणपत्र पेस गरेपछि भने सेन्सर पास गर्नका लागि केन्द्रीय चलचित्र जाँच समितिमा सिफारिस गरिएको जानकारीसमेत बोर्डले दिएको छ।
नेपाल समय
फिल्म

'प्रेम गीत-३' को हिन्दी संस्करणले पनि पायो सेन्सर अनुमति

चलचित्र विकास बोर्डले 'प्रेम गीत-३' फिल्मको हिन्दी संस्करणको सेन्सरका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सिफारिस गरेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना