काठमाडौं- नीता फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्म 'ह्रस्व दीर्घ' घोषणाको क्रमदेखि चर्चामा छ। अभिनेत्री नीता ढुङ्गानाले पहिलो पटक होम प्रोडक्सनबाट निर्माण गर्न लागेको फिल्ममा नीतासँगै ज्योतिषी अभिनेता हरिहर अधिकारी मुख्य भूमिकामा रहनेछन्। नीता र हरिहर आफैँमा 'लभ कपल' हुन् ।
यो जोडीले घोषणा गरेको फिल्ममा भारतका चर्चित कलाकारहरु लगातार अनुबन्धको खबरले बजार गर्माइरहँदा हालै मात्रै चर्चित दक्षिण भारतीय कलाकार ब्रहमानन्दम अनुबन्ध भएको खबर सार्वजनिक भएको छ। चन्द्र पन्तको निर्देशनमा बन्ने नेपाली फिल्ममा ब्रहमानन्दम खेल्न राजी भएका हुन्। उनलाई सबै कलाकारको दाँजोमा सर्वाधिक महँगो पारिश्रमिकमा फिल्ममा अनुबन्ध गराएको निर्माण टिमले बताएको छ। निर्देशक पन्तले उनीसँग सम्झौता गरेका छन्।
'कमिक' अभिनयबाट चर्चित कलाकार ब्रहमानन्दम संसारकै सर्वाधिक धेरै फिल्म खेल्ने (ठूलोपर्दामा देखिने) जीवित कलाकारको 'गिनिज वर्ल्ड रेकर्ड' होल्डर हुन्। तामिल र तेलुगु भाषामा मध्य ८० को दशकदेखि बन्दै आएका प्रायः फिल्ममा उनले लगातार आफ्नो जबरजस्त उपस्थिति देखाउँदै आएका छन्। उनले दक्षिण भारतका स्टार ट्याग पाएका प्रायः सबैजसो अभिनेतासँग काम गरिसकेका छन्। पछिल्लो समय उनि सर्वाधिक धेरै अल्लु अर्जुन स्टारर फिल्ममा देखिँदै आएका थिए। ब्रहमानन्दम नेपाली दर्शकमाझ पनि भारतबाट सर्वाधिक लोकप्रिय कमेडी कलाकारमा पर्छन् ।
ब्रहमानन्दमले धेरै फिल्म अभिनयको गिनिज रेकर्ड समेत कायम गरिसक्दा सन् १९९९ मा अमिताभ बच्चनसँग 'सुर्यवंसम्' गरेयता बलिउडका समेत कुनै फिल्ममा खेल्न तयार भएका छैनन्। पछिल्लो क्रममा भारतको मुलधारको फिल्मलाई दक्षिण भारतीय फिल्मले आच्छु आच्छु पार्दै आएका छन्। त्यसको प्रभाव नेपालमा पनि देखिँदा नीता फिल्मस् ले दक्षिण भारतीय कलाकारहरुमाथि आँखा लगाएको सहजै अनुमान लगाउन सकिन्छ।ब्रहमानन्दमको उपस्थितिले आफ्नो कास्टिङ लाइनअप मजबुद बनाएको नीताले बताइन्।
यसअघि यो फिल्ममा सुप्रसिद्ध भारतीय कलाकार (पुष्पाका ‘सिनुभाई’) सुनिल वर्मा, स्टार अभिनेता गजिनी भिलेन प्रदीपराज रावत, दक्षिण भारतका चर्चित कमेडी एक्टर 'अली'समेत अनुबन्धित भइसकेका छन्।फिल्मलाई वलिउड सिनेमाटोग्राफर कवीरलालले खिच्ने पक्का भइसकेको छ।
नेपाल र भारतमा खिचिने 'ह्रस्व दीर्घ'मा धनन्जय घलानी कास्टिङ डाइरेक्टर छन्।यो फिल्ममा सरोज खनाल र सलोन बस्नेत पनि मुख्य कलाकार हुन्।फिल्मको हाल स्कृप्ट लक भएसँगै प्रि-प्रोडक्सन काम चलिरहेको निर्देशक पन्तले बताए।दशैंपछाडि असोज महिनाबाट फिल्म फ्लोरमा जाने बताइएको छ।यो फिल्मलाई संसारकै ठुलो फिल्म सिटी 'रामोजी स्टुडियो'मा छायांकन गरिने समेत निर्माण टिमले सार्वजनिक गरिसकेको छ।