काठमाडौं– ०७८ पुस १ गतेदेखि ०७९ मंसिर १४ गतेसम्म हलमा प्रदर्शन भएका नेपाली फिल्मले यो वर्षको ओस्कर अवार्डमा प्रतिस्पर्धा गर्न पाउने भएका छन्।
‘द एकेडेमी अफ आर्ट्स एण्ड साइन्सेज’ले यसै साता नेपालको सिफारिस कमिटीलाई पत्र लेख्दै एक वर्षभित्र सिनेमा घरमा प्रदर्शन भएका फिल्ममध्येबाट कुनै एकलाई पठाउन भनेको गरेको छ।
कमिटीले ओस्करको अन्तर्राष्ट्रिय फिचर विधामा नेपालबाट कुनै एक फिल्मलाई सिफारिस गर्छ। मंसिर तेस्रो साता मात्र कमिटीले फिल्मको आवेदन गर्ने जनाइएको छ।
ओस्करमा भाग लिने फिल्मले एक सातासम्म सिनेमा घरमा अनिवार्य प्रदर्शन भएकै हुनुपर्नेछ। ओटीटी प्लेटफर्ममा रिलिज भएका फिल्मलाई भने ओस्कारमा भाग लिने सुविधा छैन।
ओस्कर अवार्डको आगामी संस्करण सन् २०२३ मार्च १२ मा अमेरिकाको लस एन्जल्समा हुँदैछ।