काठमाडौं– भारतको सिक्किममा शुक्रबारदेखि प्रदर्शनमा आउने भनिएको चलचित्र कबड्डी ४ सिक्किम सरकारले रोक लगाएको छ। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङका अनुसार सिक्किम राज्यका नागरिकको संवेदनालाई ख्यालमा राख्दै प्रदर्शनमा रोक लगाइएको हो।
‘सिक्किमका जनता र विभिन्न संघसंस्था र संगठनहरूको भावनालाई ध्यानमा राख्दै राज्य सरकारले विवादलाई स्वीकार्य रूपमा समाधान नभएसम्म राज्यमा कबड्डी ४ रिलिजमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ,’ सूचनामा उल्लेख गरिएको छ।
गएको साता अल इन्डिया बुद्धिस्ट फोरमसहित त्यहाँका बौद्ध धर्मगुरुहरुले पत्रकार सम्मेलन गर्दै फिल्मलाई रोक लगाउन आग्रह गरेका थिए। लामाले फिल्मको प्रदर्शन रोक्न माग राख्दै चलचित्रका केही दृष्य काँटछाँट गर्न पनि माग गरेका छन्।
‘कबड्डी ४’ फिल्मले बौद्ध धर्मको मानमर्दन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पनि उजुरी परेको छ।