काठमाडौं– फिल्मकर्मी सुवर्ण थापाको पछिल्लो फिल्म ‘द सेक्रेट अफ राधा’ यही वर्षको भदौ १० गतेदेखि प्रदर्शन हुने भएको छ। यसअघि भदौ २४ गते प्रदर्शन हुने भनिएको फिल्मको प्रर्दशन मिति प्राविधिक कारणले केही अगाडि ल्याइएको निर्माण पक्षले बताएको छ।
फिल्मका निर्देशक सुवर्णले सामाजिक सञ्जालमा राधाको नयाँ पोस्टर सार्वजनिक गर्दै १० भदौदेखि फिल्म सार्वजनिक हुने जानकारी दिएका छन्। सार्वजनिक गरिएको पोस्टरमा राधाको भूमिकामा प्रस्तुत भएकी अभिनेत्री सृष्टि श्रेष्ठ एउटी सानी नानीसँग देखिएकी छिन्। महिलाको जीवनको अन्तरसंघर्षमा बनेको यो फिल्ममा सृष्टि केन्द्रीय भूमिकामा छिन्।
फिल्ममा सृष्टिसँगै खगेन्द्र लामिछाने, दयाहाङ राई, निश्चल बस्नेत, मेनुका प्रधानलगायत कलाकारको भूमिका रहेको छ।
फिल्म ‘राधा’को अर्को उल्लेखनीय पक्ष के भने यही फिल्म मार्फत अभिनेता सौगात मल्लले पनि फिल्म निर्माणमा हात हालेका छन्। सौगात मल्ल तथा निर्देशक थापाको संयुक्त लगानीमा यो फिल्म बनेको हो। थापाले यसअघि निर्देशन गरेको ‘सुनगाभा’ र ‘फन्को’ दर्शकमाझ आइसकेको छन्। ‘सुनगाभा’ फिल्म अन्तर्राष्ट्रिय स्तरमै चर्चामा आएको थियो।
‘राधाबाट पनि हामीले राम्रो रेस्पोन्सको अपेक्षा गरेका छौं। सिंगो टिमको मिहिनेत परेको छ,’ फिल्म सार्वजनिक हुने मिति तय भएपछि नेपाल समयसँग संक्षिप्त प्रतिक्रिया दिँदै निर्देशक थापाले भने।