काठमाडौं– चलचित्र निर्देशक यादवकुमार भट्टराईको अर्को परिचय हो, ‘झोला’। लेखक कृष्ण धरावसीको कथा ‘झोला’मा आधारित यो फिल्मका कारण राम्रै चर्चा बटुले उनले। त्यसपछि यादवले दाइजो प्रथामा आधारित फिल्म ‘भोर’ बनाए। तर, भोरले अपेक्षा गरेअनुसार चर्चा बटुल्न सकेन।
सामाजिक मुद्दालाई केन्द्रबिन्दुमा राखेर मौलिक फिल्म निर्देशन गर्न रूचाउने यादव चैत १७ गते बिहीबारदेखि सुरु हुन लागेको ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)’ का संयोजक हुन्। महोत्सवको तयारीमा जुटेका यादव आफ्ना फिल्म कमजोर हुनुको कारण थाहा पाइराख्न यस्ता फिल्म फेष्टिबलले सहयोग पुर्याउने बताउँछन्।
भन्छन्, ‘हामी चलचित्रकर्मीको ठूलो समस्या भनेको आफ्नो कथालाई मौलिक रूपमा भन्न सकेनौं र कथाहरू हुँदाहुँदै पनि बुन्न सकेनौं। कथा कसरी भन्ने ज्ञान पाइराख्न पनि यस्ता फेष्टिबलले सहयोग पुर्याउँछ। विश्व सिनेमाले कथालाई कसरी भनिरहेको छ भन्ने शिक्षा लिन पनि म यसमा जोडिएको हुँ।’
झोलालाई दक्षिण एसियाकै उत्कृष्ट चलचित्र समेत भनियो। उनलाई यसै चलचित्रले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उभ्यायो। श्रीलंका फिल्म फेष्टिबल, सार्क फिल्म फेष्टिबलबाट उत्कृष्ट नायिकाको अवार्ड जित्न सफल भएको थियो। आधा दर्जन अन्तर्राष्ट्रिय फिल्म फेष्टिबलमा झोला लिएर पुगेका यादवको फिल्म फेष्टिबलले मौलिक कथा र पटकथा र संवादमा काम गर्ने ज्ञान दिलाउने बुझाइ छ।
झोलालाई दक्षिण एसियाकै उत्कृष्ट चलचित्र समेत भनियो। उनलाई यसै चलचित्रले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उभ्यायो। श्रीलंका फिल्म फेष्टिबल, सार्क फिल्म फेष्टिबलबाट उत्कृष्ट नायिकाको अवार्ड जित्न सफल भएको थियो।
‘कथामात्रै बलियो भएर अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा पुग्नुले खासै फरक पार्दैन। फिल्मको मौलिकताका साथै प्राविधिक पक्ष पनि बलियो हुनुपर्छ,’ उनी भन्छन्, ‘कथाले भावनात्मक पक्षलाई मात्रै कनेक्ट गरेपनि राम्रो फिल्म बन्न प्राविधिक पक्ष पनि बलियो चाहिन्छ।’
निम्फको चौथो र पाँचौं संस्करणमा जोडिएको अनुभवका आधारमा नेपाली चलचित्रकर्मीले ठूलो कथा भन्न खोज्ने गरेको उनको बुझाइ छ। ‘धैरेवटा समस्या एकैपटक भन्न खोज्ने कोसिस गर्छौं हामी। सानो क्यनाभासमा पनि बलियो कथा भन्न सकिने रहेछ,’ उनले आफ्नो अनुभव सुनाए, ‘संसारका फिल्मले कथा खोजिरहेको छ। ती कथालाई आफ्नै मौलिकताबाट प्रस्तुत गरिन्छ। फिल्म फेष्टिबलबाट गम्भीर फिल्म दर्शक र मेकरका लागि विश्व सिनेमाले भन्न खोजेको कथाको ज्ञान एकै प्लेटफर्ममा पाउन सकिन्छ। ३८ देश घुम्न कैयौं महिना लाग्छ तर ती ३८ देशले बनाएको ८९ थान फिल्म पाँच दिनमा देखाउने छ फेष्टिबलले। प्रत्यक्ष र अनलाइनबाट लाखौं दर्शकले ३८ देशका दर्शकले हेरेर केही न केही त पक्कै सिक्छन्।’
फिल्म महोत्सवहरूमा दर्शकको न्यून उपस्थिति हुन्छ भनिन्छ। तर, नेपाल अन्तर्राष्ट्रिय फिल्म फेष्टिबलमा ‘रिपिटेड अडियन्स’ सात–आठ हजार हुने अनुमान छ। ‘दुवै हलमा गरेर कुल क्षमता १३ हजार अडिन्यस हो तर फेसबुक लाइभ, डिजिटल प्लेटफर्म, भर्चुअल माध्यम लगायतबाट लाखौं दर्शक जोडिन्छन्। ती दर्शकले चलचित्र र विभिन्न सेसनमा हुने कुराकानी हेर्न र सुन्न पाउनेछन्। विश्वमा भइरहेको सिनेमा ट्रेन्डको बारेमा जानकारी पाउनेछन्। सिनेमाका विद्यार्थी, सिर्जनात्मक फिल्म हेर्न रुचाउनेहरु प्रत्यक्ष उपस्थित हुनेछन्। फेष्टिबलले मौलिक चलचित्र बनाउने वातावरण सिर्जना गर्न सक्छ,’ यादव भन्छन्।
फेष्टिबलमा छोटा चलचित्र, डकुमेन्ट्री फिचर र एनिमेटेड चलचित्र गरी ७ विधाको प्रतिस्पर्धा हुनेछ भने १४ वटा पुरस्कार पनि वितरण गरिनेछ। वैकल्पिक चलचित्र निर्माण गर्न खोज्ने मेकर तथा नयाँ पुस्ताका विद्यार्थी पनि आउनेछन् र नेपाली चलचित्रको माध्यमबाट नेपाली समाज, संस्कृति बुझ्न चाहने अन्तर्राष्ट्रिय फिल्म मेकरको पनि उपस्थिति हुनेछ। आठ वटा सेसन हुनेछन्। १३ जना अन्तर्राष्ट्रिय फिल्म मेकरको प्रत्यक्ष उपस्थिति हुनेछ। ती मेकरहरु आफ्नो प्रोफाइलको लागि पनि आउने गर्छन्। र उनीहरु नेपाली सिनेमा र संस्कृतिको विकास गर्न विश्वव्यापी पहल गर्छन्। उनीहरुले आफ्ना अनुभव सुनाउने छन् र कथा, पात्र, र समाज खोज्नेछन्। संवेदनशिल विषयमा वैचारिक र सैद्धान्तिक अन्तरक्रिया पनि हुनेछ।
फिल्म महोत्सवहरूमा दर्शकको न्यून उपस्थिति हुन्छ भनिन्छ। तर, नेपाल अन्तर्राष्ट्रिय फिल्म फेष्टिबलमा ‘रिपिटेड अडियन्स’ सात–आठ हजार हुने अनुमान छ।
पछिल्ला चलचित्र महोत्सव निकै विवादित छन्। अवार्डको लेनदेनमा पारदर्शिता छैन भनिन्छ। सम्बन्धका आधारमा फिल्म अवार्ड लेनदेन हुने समेत बजारमा हल्ला छ। यस्ता विवादित समस्याबाट नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव पर रहेको बताउँछन् यादव। भन्छन्, ‘अन्तर्राष्ट्रिय स्तरको फिल्म फेष्टिबेल हो। २०२१ यताका फिल्म आएका छन् यहाँ। नेपालीलाई निःशुल्क छ। अन्तर्राष्ट्रिय फिल्ममा केही शुल्क भए पनि पारदर्शी छ। फिल्म सेलेक्सन कमिटीमा राष्ट्रिय–अन्तर्राष्ट्रिय फिल्म विज्ञहरु छन्। निष्पक्ष र प्रभावकारी ढंगले महोत्सव सम्पन्न हुनेछ।’
कोरोना न्यूनीकरणपछि अन्य क्षेत्रजस्तै कला, साहित्य र मनोरञ्जन क्षेत्र पनि जुर्मुराएको छ। सहरदेखि गाउँसम्म साहित्यिक र कला मनोरञ्जनका विभिन्न गतिविधि बढेको छ। कोरोनापछि तंग्रिएको कला–मनोरञ्जन क्षेत्रमा यस्ता फिल्म फेष्टिबल प्रभावकारी हुन सक्नेमा ढुक्क छन् यादव। यादवका अनुसार गम्भीर सिर्जनात्मक फिल्म हेर्न दर्शकहरु यस्ता फिल्म फेष्टिबलमा पुग्छन्। यसले सिर्जनात्मक हुन सघाउँछ। ‘नेपाल फिल्म एण्ड कल्चरल एकेडेमी’को आयोजनामा हुन लागेको पाँच दिने फेष्टिबल राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गरेसँगै सुरु हुनेछ।