काठमाडौं– बलिउड अभिनेता सलमान खानको प्रस्तुति रहने कार्यक्रममा ३० हजार दर्शक आउने अपेक्षा आयोजकले गरेको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक ओडीसीले आगामी जेठ १४ गते दशरथ रंगशालामा सलमानको उपस्थितिमा कार्यक्रम गर्न लागिएको जानकारी दिएको छ।
कार्यक्रमका लागि ४ थरीको टिकट बिक्री गर्ने जानकारी पत्रकार सम्मेलनमा दिइयो। ५ हजार, १० हजार, १५ हजार र २५ हजार दरको टिकट बिक्री हुनेछन्। डिजिटल वालेटमार्फत टिकट बिक्री गरिने आयोजकले जनाएको छ। कार्यक्रममा बलिउड कलाकार खानअघि नेपाली कलाकारको लाइनअप प्रस्तुति रहनेछ। नेपाली कलाकारको करिब डेढ घण्टा प्रस्तुति रहने आयोजकले जनाएको छ।
त्यसपछि सलमान खानसहितका बलिउड कलाकारको प्रस्तुति रहनेछ। ओडीसीले यस्तो कार्यक्रम २०७४ सालमै गर्न खोजेको थियो। त्यतिखेर विभिन्न कारणले हुन नसकेको कार्यक्रम अहिले गर्न लागिएको आयोजकले बताएको छ।
आज नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सलमान खानलाई नेपालको पर्यटन प्रवर्द्धनका लागि सहयोग गर्न आग्रह गरेका छन्। सलमानसँग भएको भर्चुअल संवादमा उनले कोरोना महामारीपछि नेपाल पर्यटनका लागि खुला भएको सन्देश विश्व समुदायलाई दिन आग्रह गरे। मन्त्रीको आलेको यो प्रस्तावलाई सकारात्मक रुपमा लिँदै सलमानले नेपाल सुन्दर देश रहेको र यसको पर्यटन प्रवर्द्धनमा आफ्नो तर्फबाट सहयोग गर्ने बताएका थिए।
नेपाल आउने कार्यक्रम तय भएकोमा आफू एकदमै उत्साहित रहेको सलमानले बताए। करिब १० मिनेट भएको कुराकानीमा मन्त्री आलेले आफू खानको ठूलो फ्यान भएको र उनका अधिकांश फिल्म हेरेको सुनाएका थिए। आलेले सलमानलाई सगरमाथा हेर्न निम्तोसमेत दिए।