काठमाडौं– अमेरिकाको न्यूयोर्कमा बस्दै आएका फेसन डिजाइनर प्रबल गुरुङले अमेरिकी उपराष्ट्रपति कमला ह्यारिससँग भेट गरेका छन्। अमेरिकामा चलिरहेको एसियन प्यासेफिक अमेरिकन हेरिटेज मन्थ २०२२ को अवसरमा गुरुङले उपराष्ट्रपति ह्यारिससँग भेट गरेका हुन्।
अमेरिकी उपराष्ट्रपतिसँगको भेटबारे जानकारी दिँदै उनले उपराष्ट्रपतिको प्रशंसासहित ट्विट गरेका छन्। उनले भनेका छन्, ‘म्याडम उपराष्ट्रपति, तपाईंका दयालु शब्दहरू, माया र समर्थनको लागि धन्यवाद। तपाईंसँग भेट्न पाउँदा खुसी लागेको छ।एक नेपाली केटोले अमेरिकी उपराष्ट्रपतिसँग भेट्न पाउने सपना वास्तवमै पूरा हुन्छ भन्ने विश्वास नै थिएन। यसको लागि म धेरै धेरै आभारी छु।’
उनले अमेरिकी उपराष्ट्रपतिको प्रशंसा गर्दै उनी धेरैका लागि सम्भावनाको ज्योति भएकोसमेत जनाएका छन्। उनले ट्विटमा उपराष्ट्रपतिले अंकमाल गरेको तीन सेकेण्डको भिडियो पनि सेयर गरेका छन्।
गुरुङ नेपालमा हुर्किएर विश्वमै प्रसिद्धी कमाउने सीमित व्यक्तिमा पर्छन्। ३८ वर्षको उमेरमा उनले फेशन डिजाइनिङको क्षेत्रमा पाएको सफलता लोभलाग्दो छ। उनले तयार पारेको पहिरनमा पूर्व अमेरिकी प्रथम महिलादेखि ब्रिटेनकी राजकुमारी र हलिउड र बलिउडका अन्तर्राष्ट्रिय रुपमा चर्चित कैयौँ महिलाहरु सजिएका छन्।
सामाजिक सञ्जाल ट्विटर, इन्स्टाग्राम र फेसबुकमा उनका लाखौं फलोअर छन्। आफ्नै नामको फेशन ब्राण्ड स्थापना गरेका उनका भारतको मुम्बईसहित अमेरिका र युरोपमा १०० वटा फेशन स्टोर छन्।