काठमाडौं– उमंग क्रिएसन प्रालिले सन् २०२२का लागि ओरिफ्लेम मिस युनिभर्स नेपालको आधिकारिक घोषणा गरेको छ। विश्वकै प्रतिष्ठित प्रतियोगितामध्ये एक मिस युनिभर्स फ्रेन्चाइज अन्तर्गत नेपालमा तेस्रो पटक आयोजना हुन लागेको यो स्वतन्त्र प्रतियोगिता हो।
राष्ट्रिय निर्देशक नगमा श्रेष्ठ तथा प्रबन्ध निर्देशक उद्धव अधिकारीको नेतृत्वमा हुन गइरहेको यस प्रतियोगिता आफैंमा एक कोशेढुंगा रहेको आयोजकको दाबी छ।
‘ओरिफ्लेम मिस युनिभर्स नेपाल २०२२ (एमयूएन २०२२) समावेशिता र अवसरको जगमा उभिएर यस सौन्दर्य प्रतियोगिताको विरासत कायम राख्ने लक्ष्यमा अग्रसर छ। पछिल्ला दुई वर्षहरूमा जस्तै एमयूएन २०२२ मा उचाइ र तौलको मापदण्ड हुने छैन, समलैंगिक महिलाहरूले समेत सहभागिता जनाउन पाउनेछन् र देश बाहिर रहेका अन्य नेपाली युवतीहरूको निम्ति पनि ढोका खुल्ला राखिएको छ,’ आयोजकले भनेको छ।
ओरिफ्लेम मिस युनिभर्स नेपाल २०२२ को ताज पहिरिने आकांक्षा राखेर आफ्नो देशलाई ७१औं मिस युनिभर्सको मञ्चमा प्रतिनिधित्व गर्न चाहने सबै साहसी, सशक्त र सुन्दर युवतीहरूले मिस युनिभर्स नेपालको आधिकारिक एपमार्फत दर्ता गरी प्रतियोगितामा भाग लिन सक्ने आयोजकले जनाएको छ। एप गुगलको प्लेस्टोर तथा एप्पलको एप स्टोरमार्फत डाउनलोड गर्न सकिन्छ।
मे ५ देखि दुई महिनासम्मको लागि दर्ता अवधि खुला रहने जनाइएको छ। मिस युनिभर्स नेपाल २०२२ को विजेताले मिस युनिभर्सको ७१औँ संस्करणको मञ्चमा नेपाललाई प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन्। यस वर्ष साविकको १० लाख नगद पुरस्कारका अतिरिक्त मिस युनिभर्स नेपाल २०२२ को विजेताले विद्युतीय स्कुटर समेत प्राप्त गर्नेछिन्।