काठमाडौं- विश्वलाई नै थरथर कमाएको कोराना महामारीले नेपालको आर्थिक क्षेत्रलाई थिलथिलो पारका बेला धेरैको रोजगारी गुम्यो। बनिबुतोको आधार पनि भत्किए।
नेपाली अर्थतन्त्रको बलियो आधार पर्यटन पनि कोरोना महामारीले सुस्ताएपछि होटलमा काम गर्दै आएका धेरै श्रमिकहरुलाई जीविकोपार्जन गर्नै धौ-धौ पर्यो।
काठमाडौंको एक चल्तीको होटेलमा काम गर्दै आएका भक्तपुर गुण्डुका मनोज तामाङ र सुमन थापाले वैकल्पिक काम खोज्दै जाँदा च्याउ खेती दिगो हुने देखे। उनीहरुले बजारमा चल्तीको डल्ले च्याउ, पाते च्याउभन्दा पनि अलि बेचल्तीको तर स्वास्थ्यवर्धक र माग बढी भएको सिताके च्याउ उत्पादन गर्ने निधो गरे।
उनीहरुले आफ्ना निधोलाई बलियो अठोटको रुपमा लान वार कि पार भने जसरी होमिए। 'माइलको यात्रा एक पाइलाबाट सुरु हुन्छ' भनेझैं लामो समय काम गरेको होटल लाइन छोडी सिताके च्याउ उत्पादनमा लागे।
नेपालकै सानो जिल्ला भक्तपुरको सूर्यविनायक नगरपालिका गुण्डु–७ मा उनीहरुले आफ्नो कृषि फारम दर्ता गरे। नाम राखे, गुण्डु भिलेज फार्म। सूर्यविनायकको ढिस्कोबाट पश्चिम–दक्षिणतिर छिरेको गुण्डु उपत्यकाको प्राचीन आवादी भएको कृषिप्रधान गाउँ हो। नजिकै रहेको लाँकुरीको डाँडा र ज्यामिरकोटको डाँडाको सेपले कृषिलाई आवश्यक पानी र घामको राम्रो संयोजन गरेको छ।
सुरुमा च्याउमा मात्रै केन्द्रित रहेका तामाङ र थापाले अन्य धेरै सम्भावना देखे। केही नयाँ उपाय उनीहरुकै दैलोमा आएझैं भयो। चिनेका साथीभाइले सहयोग गरे। विज्ञ तथा अनुभवीले बाटो देखाए।
च्याउ फलाउन खोलेको फार्मले थप काम गर्दै गयो। फार्मले अहिले बाख्रापालनलाई पनि अघि बढाएको छ। त्यती मात्रै होइन विभिन्न बेमौसमी तरकारी पनि उत्पादन हुन थालेको छ।
च्याउ रोप्न प्वाल पारिएको मुढा दुईदेखि तीन महिनासम्म प्लास्टिकले बेरेर राख्नु पर्छ। कुनै किसिमको रोग नलाग्ने र विषादीरहित भएकाले यसबाट शरीरलाई नकारात्मक असर पर्दैन। त्यसैले यो पूर्णरुपमा अर्गानिक उत्पादन हो।
उनीहरुलाई राम्रो ठाउँमा कृषि कर्म गर्न पुगिएछ भन्ने सन्तोक पनि छ। उत्पादन गर्न सकिए खसीबोका, बङ्गुर, कुखुरा र बेमौसमी तरकारीको बजारलाई कुनै समस्या नहुने रहेछ भन्ने उनीहरुलाई दुई वर्षको अनुभवले सिकाएको छ।
'आफैंले मेहनत गर्यो भने हुने रहेछ भन्ने देखियो,' मनोज तामाङ भन्छन्।
कामको विस्तार हुँदै जाँदा उनीहरुको व्यवसाय पारिवारिक व्यावसायका रुपमा अघि बढ्ने संकेत देखिँदैछ। किनभने काम बढ्दै जाँदा सहयोगी हातको पनि खाँचो पर्दै गएको छ। अनि काममा परिवारका सदस्यले समेत सहयोग गर्दै आएका छन्।
फरक छ सिताके च्याउ
अरू च्याउ उत्पादनभन्दा सिताके च्याउको उत्पादन भने अलि फरक छ। सिताके च्याउलाई परालमा होइन काठका मुढामा उमारिन्छ।
'तीनदेखि चार फिटका उत्तिस, कटुस र सौरका मुढामा प्वाल पारेर च्याउका बिउ रोपिन्छ,' मनोज भन्छन्, 'मुढाको प्वाललाई ओसिलो बनाइरहुन पर्छ। ६ देखि ७ महिनामा बल्ल च्याउ उम्रन सुरु गर्छ।'
च्याउ रोप्न प्वाल पारिएको मुढा दुईदेखि तीन महिनासम्म प्लास्टिकले बेरेर राख्नु पर्छ। कुनै किसिमको रोग नलाग्ने र विषादीरहित भएकाले यसबाट शरीरलाई नकारात्मक असर पर्दैन। त्यसैले यो पूर्णरुपमा अर्गानिक उत्पादन हो।
सिताके च्याले राम्रो बजार पाएको एक साझेदार सुमन थापा बताउँछन्। रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै कम क्यालोरीका साथै कोलस्टोर घटाउने भएकाले यो स्वास्थ्यका दृष्टिले लाभदाय रहेको थापा बताउँछन्।
'उत्पादन गर्न गाह्रो भएको र कम उत्पादन भएका कारण बजारमा सिताके च्याउ जताततै भेटिन्न तर माग भने बढी छ,' उनले भने, 'स्वास्थ्यको दृष्टिकोणले लाभदायक यो च्याउले बजार लिँदै गइरहेको छ।'
बजारमा एक केजी सिताके च्याउको मूल्य एक हजारदेखि १२ सय रुपैयाँसम्म पर्छ। दशदेखि १२ लाख रुपैयाँमा बहुआयामिक उत्पादन सुरु गरेका मनोज र सुमनले उत्पादनमूलक व्यवसायमा राम्रो भविष्य देखेका छन्।
कोरोनाको कहरबाट आत्तिएका दुई साथीको वैकल्पिक व्यावसाय गर्ने सोचको प्रतिफल स्वरुप जन्मिएको 'गुण्डु भिलेज फार्म' गुण्डुको नयाँ उदाहरणीय व्यवसायको रुपमा पखेटा फिजाउँदैछ।