मंगलबार, मंसिर १३, २०७९

सहरमा गाई पाल्नुका सुख–दुःख

सृजना राई  |  काठमाडौं, शनिबार, चैत ५, २०७८

सृजना राई

सृजना राई

शनिबार, चैत ५, २०७८, काठमाडौं

नेपाल समय
कागेश्वरी मनोहरा नगरपालिकामा पर्ने गोठाटारस्थित उद्धवप्रसाद लम्सालको गाई फार्म।

काठमाडौं– कागेश्वरी मनोहरा नगरपालिकास्थित गोठाटारभित्रको बस्तीबीचमा छ, चेतनाथ धमलाको गाई फार्म। बाक्लिँदै गएको बस्तीभित्र उनको ३ रोपनी क्षेत्रफलमा रहेको फार्म खुम्चिँदै गएको जस्तो देखिन्छ ।

४८ वर्षीय चेतनाथका लागि यही फार्म आफ्नो परिवारको आवश्यकता पूरा गर्ने एकमात्रै बलियो जग हो। होलिस्टान जातका गाई पालेका उनले दूधसँगै मल उत्पादन गर्छन्। उत्पादित मलबाट गाईलाई घाँस र आफूलाई तरकारी उब्जाउँछन् उनी। उनले फार्ममा कुखुरा र खरायो पनि पालेका छन्। फार्मलाई नै आफ्नो घर बनाएका छन् उनले। तीन वटा गाईबाट सुरु भएको उनको फार्ममा गाईको संख्या २७ पुगेको थियो। तर, उनको फार्ममा अहिले २० गाई छन्।  

छिमेकी मर्निङ वाकमा निस्कँदै गर्दा चेतनाथ र श्रीमती मैयाँले गाईका लागि कुँडो पकाइसकेका हुन्छन्। बिहान झिसमिसेमै सुरु हुने धमला दम्पतीको दैनिकीलाई उनीहरुका तीन सन्तानले सघाइरहेका छन्। कुँडो बनाउन, मल सोहोर्न र दूध–दही ग्राहकका घरदेखि डेरी पसलसम्म पुर्याउँदा उज्यालो भइसक्छ। छिमेकीदेखि पेप्सीकोलासम्मका ग्राहक छन् उनका। दूध–दही ग्राहकसम्म पुर्याएर फार्म फर्केर गोठ, गाई र नजिकैको करेसाबारी काम गर्दागर्दै दिन, महिना गर्दै ९ वर्ष बितिसक्यो चेतनाथको। 

२०६० सालतिर ओखलढुंगाको सुनकोसी गाउँपालिकाबाट अध्ययनका लागि काठमाडौं आएका थिए चेतनाथ। उपत्यका छिर्दैगर्दा उनको एउटा सानो सपना थियो– मास्टर बन्ने। सपना पूरा गर्न उनले ताहाचलस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा एसएलसीपछिको पढाइ अघि बढाए। तर, समय न हो। मानिसले सोचे जस्तो, भनेजस्तो कहाँ हुन्छ र? नियतिले मास्टर बन्ने चेतनाथको सपना खोसिदियो। काठमाडौंमा पढ्दै गर्दा आमाको निधन भयो।  

आमाको निधनपछि उनले पढाइलाई निरन्तरता दिन सकेनन्। उनको उच्च शिक्षाको यात्रा आईएडमै ब्रेक लाग्यो। शोकमा रहेको परिवार र आर्थिक दूरवस्थाका कारण उनले काठमाडौंसँगै पढ्न पनि छाडिदिए। गाउँ फर्किए पनि पनि उनको सपना भने मरेको थिएन। त्यसैले उनले गाउँमा तीन वर्ष करार शिक्षक बनेर काम गरे। त्यही बीचमा उनको विवाह भयो। विवाहपछि थपिएको जिम्मेवारी र श्रीमतीको बिग्रँदो स्वास्थ्यले उनलाई फेरि काठमाडौंसम्म डोर्यायो। र, यसपटक उनी परिवारसहित सहर छिरे। 

गाई स्याहार्दै चेतनाथ धमला
चेतनाथले काडाँघारीम डेरी पसल खोले। डेरी पसलमा मात्र अडिएनन्, जग्गा भाडामा लिएर फार्म खोले। ३ वटा गाईबाट सुरु भएको उनको फार्ममा २७ वटा गाई थपिइसकेका छन्। 

उनको फार्ममा दैनिक सय लिटरसम्म दूध उत्पादन हुन्छ। ‘दिनमा सय लिटर जति दूध उत्पादन गर्छु। त्यसका लागि फार्मले परिश्रम र समय भने धेरै माग्छ,’ आफ्नो परिश्रमबारे उनी सुनाउँछन्, ‘गाई पालनले मानिसलाई रातारात नाफामा पुर्याउँदैन। जीविकोपार्जनका लागिचाहिँ फार्मको आम्दानीले सहज बनाएको छ।’

फार्मबाट उनको मासिक आम्दानी कति हो त? यसबारे चेतनाथ खुलेनन्। बरु हिसाब राख्न छाडिदिएको बताउँछन्। ‘हिसाबकिताब राख्न बन्द गरेको छु। घर चलेकै छ। तर पनि ३० हजारदेखि एक लाखसम्म हुन्छ होला। दुहुना गाई कति छन्, त्यसमै निर्भर रहन्छ,’ उनी भन्छन्। 

आम्दानीलाई लिएर गरिने प्रश्न उनलाई कर्कस लाग्छ। ‘धेरैले सोध्छन्, गाई आफै पाल्छौ, दूध आफैँ बेच्छौ। पैसा त टन्नै कमाउँछौ होला नि? तर व्यवसाय थालेपछि थाहा हुन्छ, यसका जोखिम र चुनौती,’ उनले थपे, ‘दानापानीको मूल्य व्यवसायले बढाउँछ, दूधको मूल्य सरकारले। हामीले गरेको दिनरातको मेहनतले यसो सहरभित्रका न्यूनतम आवश्यकता टार्ने मात्र हो।’

काठमाडौं जस्तो ठूलो सहरमा गाई फार्म सञ्चालन गर्दा बजारको समस्या हुँदैन। तर, बजार बाहेकका अन्य समस्यासँग सिगौंरी खेलिरहन पर्छ।

व्यवसायमा जमेका चेतनाथले आफ्ना अधुरा सपना नसम्झिने पनि कहाँ हो र? तर, आजकल छोछोरीका सपना उनका लागि ठूला लाग्छन् र महत्वपूर्ण पनि। त्यसैले त छोराछोरीको सपना पनि आफ्ना झैं नमरून् भनेर सचेत देखिन्छन् उनी। ‘फार्मकै आम्दानीले ठूली छोरीलाई ब्याचलर पढाउँदैछु। छोरालाई यही व्यवसायमा सहयोग पुगोस् भनेर भेटनरी पढाइरहेको छु, कान्छो छोरो चाहिँ स्कुल पढ्दैछ,’ चेतनाथले सुनाए।

त्यसो त विद्यार्थी जीवनमा राजनीतिप्रति चेतनाथ खुबै रुची राख्थे। त्यो बेला उनी नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघमा आवद्ध पनि थिए। तर, अहिले राजनीतिप्रति दिक्क लाग्न थालेको छ रे उनलाई। उनी आस्थावान पार्टीकै सरकार हुँदा पनि खिन्न देखिन्छन् चेतनाथ। राजनीतिमा निष्ठा हराएको निष्कर्ष छ उनको।

‘राजनीतिमा पनि नारा ज्यादा, काम कम भयो। अझ राष्ट्रप्रतिको निष्ठा र सेवाको भावना राजनीति देखिन छाड्यो,’ उनी भन्छन्, ‘राजनीति गर्न समय चाहिन्छ त्यो स्वाभाविक पनि हो तर अचेल त्यो भन्दा धेरै पैसा चाहिन्छ।’ राजनीतिप्रति गुनासो राखिरहँदा चेतनाथ गाई दुहुन गोठ छिर्ने तयारीमा थिए। गाई दुहुन ठिक्क परेर उनी भनिरहेका थिए, ‘असन्तुष्टि धेरै छ। तर, असन्तुष्टि पोख्दै बस्न मेरो कर्मले दिँदैन। मलाई फुर्सद पनि छैन।’  

सहरभित्र गाई पाल्ने रहर 

चेतनाथको फार्म नजिकै छ, उद्धवप्रसाद लम्सालको गाई फार्म। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका लम्साल सात वर्ष विदेशमा पसिना बगाएर फर्किका हुन्। साउदी अरब र मलेसियामा बगाएको पसिनाको कमाइले उनले व्यवसाय थालेका हुन्। विदेशबाट फर्किएपछि उनले तरकारी र माछापालन सुरु गरे। तर, एक महिनामै उनले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्यो।  

‘मैले ०७४ सालमा ट्राउट माछा पाल्न सुरु गरेको थिएँ। त्यतिबेला बिजुली झ्यापझ्याप जान्थ्यो। एक रात बत्ती नै आएन, अक्सिजनको मेसिन चलेन, बिहान उठेर हेर्दा सबै माछा मरिसकेछन्। एक महिनामै पाँच लाख डुब्यो,’ उनले सुनाए। 

तर, माछापालनमा भोगेको असफलता उनको व्यावसायिक यात्रामा तगारो बनेन। त्यसैले त उनी निराश बनेनन्, र व्यावसायिक यात्रालाई गाई पालनतर्फ मोडे। विगत चार वर्षयता उनी गाई पालनमै सक्रिय छन्। एक रोपनी जग्गामा उनको गाई फार्म छ। ११ वटा गाई र आफ्ना परिवारको छानो त्यही क्षेत्रफलमा अटाएका छन् उनले।  

लम्साल ११ वटा जर्सी गाईबाट दैनिक ७० लिटर दूध उत्पादन गर्छन्। तिलगंगासम्म उनका ग्राहक छन्। दुई जना साना बच्चा, श्रीमती र आमाबुबासहित ६ जनाको परिवारलाई फार्मले नै धानेको छ। ‘काठमाडौंमा जागिर खान सजिलो छैन, जहाँ पनि आफ्नो मान्छे चाहिने। पाइने जागिरले आफ्नो र परिवारको पेट पाल्न धौधौ हुन्छ,’ ३२ वर्षीय लम्साल भन्छन्, ‘बरु सानै लगानीमा भए पनि गाई पालन सुरु गरेको हँु।’

गाई गोठमै अधिकांश समय बिताउने लम्सालका गुनासा पनि व्यवसायसँगै छन् अनि सन्तुष्टि पनि। गाई थप्दै व्यवसाय बढाउने सोचमा छन् उनी। डेढ लाख लगानीबाट सुरु भएको उनको व्यवसाय अहिले मासिक दुई लाखसम्म आम्दानी गर्ने अवस्थामा पुगेको छ। एक रोपनीको जग्गाको वार्षिक भाडा एक लाख ३० हजार तिर्छन् उनी। 

सहरमा गाई पाल्नुका दुःख 

काठमाडौं जस्तो ठूलो सहरमा गाई फार्म सञ्चालन गर्दा बजारको समस्या हुँदैन। तर, बजार बाहेकका अन्य समस्यासँग सिगौंरी खेलिरहन पर्छ। चेतनाथ र उद्धव मात्रै होइन, सहरमा गाई पालन व्यवसायमा लागेका सबैको साझा दुःख हो– जग्गा। पहिले त जग्गा नै पाइँदैन र पाइएपछि भाडा महँगो पर्छ। बढ्दो बस्तीसँगै जग्गाधनीले जुनसुकै बेला पनि फार्म उठाउन सक्ने जोखिम रहिररहन्छ। पाँच वर्षे गाईपालनको अवधिमा लम्सालको एउटै अनुभव छ– काठमाडौंभित्र गाईपालन गर्न सजिलो छैन। 

‘गाई थप्न र हरियो घाँस उत्पादन गर्न सकिँदैन। फोहोर हुने भएकाले छिमेकीले रुचाउँदैनन्,’ उनी थप्छन्, ‘बजारमा बढ्दो महँगीबाट गाईपालन पनि व्यवसाय अछुत छैन। सबै व्यवसाय जोखिममुक्त हुन्छ तर पनि लगानीसँगै शारीरिक परिश्रम पनि धेरै माग्छ यो व्यवसायले।’ अहिलेसम्मको प्रतिफल निराशाजनक नरहेकाले अब गाई थपेर व्यवस्थित फार्म चलाउने योजना उनले सुनाए।

चेतनाथ धमलाले गाई फार्ममै पालेका खरायो
त्यसो त चेतनाथले पाँच वर्षका लागि तीन रोपनी जग्गा प्रतिवर्ष एक लाख रुपैयाँ बुझाउने गरी भाडामा लिएका थिए। सम्झौता सकिन एक वर्ष बाँकी छ। तर, अहिले नै उनलाई जग्गाको विषयले पिरोल्न थालिसकेको छ। सम्झौता नवीकरण नगर्ने संकेत जग्गा धनीले दिइसकेका छन्। 

सम्झौता नवीकरण नभए फार्म कहाँ सार्ने? चेतनाथका लागि यो प्रश्न अनुत्तरित छ। चार वर्षदेखि उपभोग गर्दै आएको जग्गा छाडेर नयाँ ठाँउमा फार्म सार्नु आफैंमा चुनौतीपूर्ण छ। फार्म र परिवार सार्न जग्गा कहाँ खोज्ने? कसरी सार्ने? चेतनाथलाई प्रश्नले पिरोलिरहन्छ। ‘जग्गाको मूल्य दिन दुई रात चौगुणाले बढिरहेको छ। ठूला व्यवसायीले महँगो मूल्यमा जग्गा हडप्छन्। हामी जस्ता साना व्यवसायीले जग्गा पाउनै मुस्किल छ,’ चेतानाथ भन्छन्। 

जग्गाको सम्झौता नवीकरण नभए फार्म कता सार्ने? उत्तर प्रष्ट नभए पनि गाई पालनमा रमाइरहेका चेतनाथसँग दुई सम्भावित योजना भने छन्– ‘यहाँबाट सर्नुपरेमा जग्गा कति र कहाँ भेटिन्छ, त्यसले धेरै कुरा निर्धारण गर्छ। छिमेकी गाई पालकसँग मिलेर व्यवस्थित ठूलो फार्म खोल्न सकिन्छ कि भनेर सोच्दैछु।’

हरियो घाँस उत्पादन गर्न सके दूध उत्पादन पनि बढ्छ। तर, सीमित जग्गा हुँदा पर्याप्त घाँस उत्पादन हुँदैन। गाईलाई आवश्यक अन्य दाना, भुष र पराल धेरैजसो भक्तपुरबाट ल्याउने उनीहरु सुनाउँछन्। बस्ती बाक्लिँदै जाँदा काँडाघारी क्षेत्रमा खेतीपाती गर्नेहरू पनि घटेका छन्। जसका कारण गाई फार्ममा उत्पादन हुने मलको उपभोग पनि स्वतः घटेको छ। करेसामा तरकारी लगाउनेहरुको संख्या नगन्य छ। उत्पादित मल किन्ने कोही हुँदैनन्। मल बिक्री नहुँदा कहाँ राख्ने, कसरी प्रयोग गर्ने? फार्म सञ्चालकका लागि अर्को चिन्ताको विषय हो यो। 

काठमाडौंमा दूधको बजार 

दूधजन्य उत्पादनको सबैभन्दा ठूलो बजार बागमती प्रदेश हो। र, त्यसमा पनि काठमाडौं उपत्यका। नेपाल डेरी एसोसिएसनका अनुसार काठमाडौं उत्पत्यकामा दैनिक करिब १२ लाख लिटर दूध उपभोग हुन्छ। ५ लाख लिटर प्रशोधनमार्फत बजार जाने तथ्यांक एसोसिएसनको छ। यस्तै सात लाख लिटर दूध खुला अर्थात अनौपचारिक क्षेत्रबाट बिक्री हुने गरेको छ। देशभर दैनिक औपचारिक र अनौपचारिक  रुपमा करिब ३२ लाख दूध बजारमा बिक्री हुँदै आएको छ। 

एसोसिएसनका अनुसार चार लाख ५० हजार परिवार दूध  उत्पादन क्षेत्रमा संलग्न छन् र २० हजारले प्रत्यक्ष रोजगारी पाएका छन्।  सरकारले आर्थिक वर्ष २०७८–०७९को बजेटमा दुई वर्षभित्र दूग्धजन्य उत्पादनमा आत्मनिर्भर हुने लक्ष्य राखेको छ।



प्रकाशित: March 19, 2022 | 09:21:50 काठमाडौं, शनिबार, चैत ५, २०७८