काठमाडौं– निर्वाचन आयोगले मतदाता नामावलीको अनलाइन प्रारम्भिक दर्ता सुरु गरेको छ। आयोगले २ माघदेखि नै अनलाइन दर्ता सुरु हुने बताए पनि शोक बिदाका कारण मंगलबारदेखि थालिएको हो।
आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले मंगलबारदेखि ७७ वटै जिल्लामा अनलाइन दर्ता सुरु हुने जानकारी दिए। आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति घोषणा हुनुअघि उपत्यकासहित सात जिल्लामा अनलाइन दर्ता सुरु गरेको थियो।
यसअघि बायोमेट्रिक भोटर्स रजिस्ट्रेसन सिस्टम (बीभीआईआर)मार्फत नामावली दर्ता हुँदै आएकामा प्रणालीलाई स्तरोन्नति गरेर मोबाइलबाटै आफ्नो विवरण राख्न मिल्ने गरी प्रारम्भिक दर्ता सुरु हुन लागेको हो ।
प्रारम्भिक दर्ता भएपछि आयोगले पालो आउने दिनसहितको विवरण मोबाइलमा पठाउनेछ। त्यसपछि नामावली दर्ता गराउने व्यक्तिले बायोमेट्रिकका लागि सम्बन्धित निर्वाचन कार्यालयमा पुग्नुपर्ने आयोगले बताएको छ। प्रारम्भिक दर्तासँगै नामावली स्थानान्तरण, मतदाता नामावली अद्यावधिक कार्य सँगै सुरु हुने सहायक प्रवक्ता भुसालको भनाइ छ।