काठमाडौं– राष्ट्रिय सभामा रिक्त सदस्य पदको उपनिर्वाचनमा भाग लिन हालसम्म दुई राजनीतिक दलले मात्रै निवेदन दिएका छन्। निर्वाचन आयोगले दल दर्ताका लागि आज २८ पुससम्मको समयसीमा तय गरेको छ।
आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अधिकृत मधुकर पोखरेलले नेकपा एकीकृत समाजवादी र बहुजन शक्ति पार्टीले उपनिर्वाचनमा भाग लिन निवेदन दिएको बताए। लुम्बिनी प्रदेशबाट अन्य समूहको रिक्त राष्ट्रिय सभाको एक सदस्य पदका लागि आगामी २५ माघमा निर्वाचन हुँदै छ।
लुम्बिनी प्रदेशको अन्य समूहबाट निर्वाचित सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि पद रिक्त भएको थियो। राष्ट्रिय सभाबाट राजीनामा गरेर प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन उम्मेदवारी दिएका भट्टराईको उम्मेदवारी आयोगले रद्द गरेको थियो। प्रतिनिधिसभामा लुम्बिनी प्रदेशबाट सात राजनीतिक दलका प्रतिनिधि निर्वाचित भएका छन्।