बुटवल- नेपालका लागि संयुक्त अधिराज्य (बेलायत)का राजदूत निकोला पोल्लिटले बिहीबार लुम्बिनी भ्रमण गरेकी छन्।
लुम्बिनी भ्रमणमा आउनुभएका राजदूत निकोलालाई लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेश त्रिपाठी), कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्य सहितको टोलीले स्वागत गरेका हुन्।
उक्त अवसरमा राजदुत निकोलाले मायादेवी मन्दिरको दर्शन गरिन्। भ्रमणका क्रममा बेलायती राजदुतावास र लुम्बिनी विकास कोषबीच सहकार्य गरेर अगाडि बढ्नेबारेमा कुराकानी भएको उपाध्यक्ष भिक्षु मैत्तयले जानकारी दिए।
विश्वका बौद्ध भिक्षुणीलाई लुम्बिनीमा भेला गराएर निकट भविष्यमा कविता दिवस मनाउने सोँच अनुसार बेलायती राजदूतको लुम्बिनी भ्रमण भएको उपाध्यक्ष मैत्तयले बताए। उक्त अवसरमा लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराई, परिषद सदस्य गोपीकृष्ण शर्मा, सूचना अधिकृत राजन बस्नेतको समेत सहभागिता थियो। उक्त अवसरमा कोषका तर्फबाट राजदूत निकोलालाई मायाको चिनोसमेत प्रदान गरिएको थियो।