वालिङ- स्याङ्जा क्षेत्र नं २ (१) मा नेपाली कांग्रेसका उम्मेदवार भोजराज अर्याल निर्वाचित भएका छन्। कांग्रेस उम्मेदवार अर्यालले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार मोहन रेग्मीलाई दुई हजार सात सय ३० मतान्तरले पराजित गरेका हुन्। आज बिहान सम्पन्न मतगणनाबाट १५ हजार एक सय ६१ मत प्राप्त गरी अर्याल निर्वाचित भएका हुन्।
विसं २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यमा विजयी भएका रेग्मीले यसपटक १२ हजार चार सय ३१ मत प्राप्त गरे।
स्याङ्जा- २ (क) मा गल्याङ नगरपालिकाका ६ र ७, भिरकोट नगरपालिकाका ५, ६, ७, ८ र ९ तथा वालिङ नगरपालिकाका १, २, ५, ६, ७, ८, ९, १०, ११, १२, १३ र १४ नं गरी १९ वडा पर्छन्। विजयी अर्याल यसअघि वालिङ गाविसको अध्यक्ष र २०५४ सालमा वालिङ नगरपालिकाको नगर प्रमुख भइसकेका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ। स्याङ्जा क्षेत्र नं २ मा कांग्रेसका धनराज गुरुङको अग्रता कायमै छ। गुरुङले १२ हजार नौ सय ५१ मत प्राप्त गरी अग्रता लिइरहेका छन्। एमाले उम्मेदवार पद्माकुमारी अर्यालले १० हजार छ सय २७ मतसहित पछ्याइरहकी छन्। उनीहरुबीच दुई हजार तीन सय २४ मतान्तर छ।