काठमाडौं- मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना एक करोड मतगणना सकिएको छ। निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेसम्म एक करोड आठ लाख दुई हजार ९०७ मतगणना भएको छ।
जसअनुसार एमाले पहिलो दल बन्ने निश्चित छ। एमालेले २६ लाख ९६ हजार ५७५ मत ल्याएको छ भने कांग्रेस २५ लाख ५३ हजार ९४ मतसहित पछ्याइरहेको छ।
तेस्रोमा माओवादी केन्द्र रहेको छ। माओवादीले ११ लाख ४३ हजार ८९४ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ९८ हजार २७५ मतसहित पछ्याइरहेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ७० हजार ६५४ मतसहित पाँचौ स्थानमा रहेको छ भने जनता समाजवादीको मत ३ लाख ८९ हजार १९७ रहेको छ।
एकीकृत समाजवादीभन्दा अगाडि जनमत पार्टी रहेको छ। जनमत पार्टीको मत ३ लाख ४९ हजार ३५२ मत रहँदा एकीकृत समाजवादीको मत २ लाख ८२ हजार २६२ छ। नागरिक उन्मुक्ति पार्टीको मत भने २ लाख ५० हजार ५९ रहेको छ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख ४८ हजार ५७ र नेपाल मजदुर किसान पार्टीले ७३ हजार ६०३ मत पाएको छ। अब बाजुरा, स्याङ्जा-२, दोलखा र सुनसरी-३ को १ लाख मतगणना बाँकी छ।


