बुटवल- गृहमन्त्री बालकृष्ण खाणको वडा रूपन्देहीको तिलोत्तमामा एमालेका उम्मेदवार विजयी भएका छन्। तिलोत्तमा नगरपालिकाको वडा नं ८ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनलाई हराउँदै नेकपा एमालेका उम्मेदवार कृष्ण पौडेल विजयी भएका हुन्।
उनले कांग्रेसका उम्मेदवार केशवराज अर्याललाई १८९ मतान्तरले पराजित गरे। तिलोत्तमा ८ गठबन्धनबाट मेयरका प्रत्याशि रामकृष्ण खाणको समेत वडा हो।
एमालेका पौडेल २०७४ सालमा पनि नेपाली कांग्रेसका नगरसभापती समेत रहेका पाण्डेलाई नै ५०७ मतको अन्तरले पराजित गरी वडा अध्यक्ष निर्वाचित भएका थिए।
३ हजार ४६८ मत खसेको उक्त वडाको वडाध्यक्षमा एमालेको प्यानलै विजयी भएको छ। पौडेलले १ हजार ६१५ मत पाएर बिजयी हुदा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका केशवराज अर्यालले १ हजार ४२६ मत पाए।
त्यसैगरी नेकपा एमालेका उम्मेदवारहरु महिला सदस्य कमला पराजुली, दलित महिला सदस्यमा सावित्रा दमाई र खुल्ला सदस्यमा कमलकान्त गौतम र खुम बहादुर खासु विजयी भएका छन्।
अब तिलोत्तमा नगरपालिकाको वडा नं ७ र वडा नं ९ को मत गणनाको अन्तिम परिणाम आउन बाँकी छ। तिलोत्तमामा मेयरमा कांग्रेसका रामकृष्ण खाणले एमालेका मोहन चापागाईंलाई पछाडि पारेका छन्।