काठमाडौं- बाजुरको बढीगंगा नगरपालिकामा पुन: मतदान हुने भएको छ। यसअघि वैशाख ३० गते भएको मतदानमा धाँधली भएको भन्दै विवाद भएपछि पुन: मतदान गरिने भएको हो।
आयोगले बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै भनेको छ, 'आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४१ को उपदफा ४ बमोजिम उक्त नगरपालिकाको यथाशीघ्र मतदान गर्ने मिति र समय तोकी मतदान गराउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको छ।'
त्यसैगरी मतदान कार्यमा बाजुराका प्रमुख जिल्ला अधिकारी उपेन्द्रारज पौड्याल, नेपाल प्रहरी प्रहरी नायब उपरीक्षक चर्तुभूज ओझा, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक दीपक विष्टले सुरक्षा व्यवस्थामा लापरबाही गरेको भन्दै उनीहरुलाई हटाइ सो पदमा अन्य कर्मचारीलाई नियुक्त गरिने जनाइएको छ।
विज्ञप्तिमा भनिएको छ, 'स्थानीय तह निर्वाचनको प्रकृया अघि बढाउन उपयुक्त वातावरण तयार गर्न गृह मन्त्रालयलाई निर्देशन दिने तथा निजहरुलाई सेवा शर्त सम्बन्धी प्रचलित कानुन बमोजिम विभागीय कारबाही गरी तीन महिनाभित्र आयोगलाई जानकारी गराउन निर्वाचन आयोग ऐन, २०७३ को दफा ४४ को उपदफा (२) तथा निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३८ को उपदफा (१) बमोजिम गृह मन्त्रालयलाई लेखी पठाउने निर्णय गरी उक्त नगरपालिकाको सम्पूर्ण मतदान रद्द गर्ने निर्णय गरेको साथै आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४१ को उपदफा (४) बमोजिम उक्त नगरपालिकको यथाशीघ्र मतदान गर्ने मिति र समय तोकी मतदान गराउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिने समेत निर्णय गरेको छ।'