काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाका ग्राहकहरूको सहजताका लागि कल सेन्टर सञ्चालनमा ल्याएको छ।
विद्युत सेवा आपूर्तिसम्बन्धी गुनासो तथा सूचना एवं जानकारीहरू एकै स्थानबाट आदान–प्रदान गर्न सकिने गरी पहिलो चरणमा काठमाडौं उपत्यका भित्रका ग्राहकहरूका लागि छुट्टै कल सेन्टर सञ्चालनमा ल्याइएको प्राधिकरणले सूचनामार्फत जनाएको छ।
११५० नम्बरको कल सेन्टरमा ग्राहकले प्राधिकरणसँग सम्बन्धित गुनासो टिपाउन सकिने छ। उक्त कल सेन्टर २४ घण्टा सञ्चालनमा रहने प्राधिरकणले जनाएको छ।
काठमाडौं उपत्यकाभित्र विद्युत् आपूर्ति सम्बन्धी कुनै समस्या, सूचना तथा गुनासो भएमा विद्युत् प्राधिकरणको हटलाइन ११५० मा फोन सम्पर्क गरी अंक १ डायल गरेर कल सेन्टरमा जानकारी गराई सेवाको लाभ लिन सकिने प्राधिरकणले जनाएको छ।