काठमाडौं- पहिलो पटक स्थानीय निर्वाचनमा होमिएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीको पहिलो गाँसमै ढुंगा लागेको छ। निर्वाचन अघिल्लो दिनसम्म नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको दाबी थियो- आफ्ना उम्मेदवारहरुले कम्तिमा रोल्पाका दुई गाउँपालिका र १० वडामा जित निकाल्ने छ। तर, परिणाम अनेपक्षित आयो। दुई पालिका जित्ने दाबी गरेको विप्लवको पार्टीले रोल्पामा पालिका जित्न सकेन। १० पालिका र ७२ वडा रहेका रोल्पामा नेकपाले एउटा वडाको नेतृ्त्व पनि आफ्नो पोल्टामा पार्न सकेन।
त्यसो त विप्लवको गृह जिल्ला पनि मानिन्छ, रोल्पा। अझै विशेषत: थवाङ (ठूलो गाउँ, वडा नं १) त झन् नेकपाको गढ नै मानिन्छ। पार्टीको पछिल्लो महाधिवेशनसमेत काठामाडौंको खुलामञ्चमा उद्घाटन भएर बन्दसत्र थवाङमै सम्पन्न गरिएको थियो। विडम्बना विप्लवले विरासत जोगाउनै सकेनन्।
विप्लवले जित पोल्टामा पार्न कतै एकल र कतै कांग्रेस-एमालेसँग तालमेल गरे। यद्पि हालसम्म विप्लवका उम्मेदवारले वडा नेतृत्वमा समेत पराजय व्यहोर्दै ५ वडा सदस्यमा चित्त बुझाउनु परेको छ।
थवाङ गाउँपालिका अध्यक्षको लागि नेकपाले कांग्रेस र एमालेसँग गठबन्धन गरेर स्वतन्त्र उम्मेद्वारको रुपमा दर्जित रोकामगरलाई अघि सारेको थियो। उनलाई नेकपा माओवादी केन्द्रका ऋषिकेश बुढाले करिब ६ सय मतान्तरले पराजित गरे। माओवादीका बुढाले २ हजार १२२ मत ल्याउँदा नेकपाका रोकामगरले १ हजार ५०६ मतमा चित्त बुझाउनु पर्यो। यस पालिकाको उपाध्यक्षमा पनि माओवादी केन्द्रकी शर्मिला बुढामगर विजयी भइन्।

थवाङमा विप्लवको 'किल्ला' मानिने वडा नं १ ठूलो गाउँमा अध्यक्षको लागि नेकपाका फर्के झाँक्रीलाई माओवादीका हिराप्रसाद बुढाले २२ मतले पराजित गरे। झाँक्रीले ३ सय ३६ मत प्राप्त गर्दा विजयी बुढाले ३ सय ५८ मत ल्याए।
वडा नं २ मा पनि विप्लवका उम्मेदवारलाई पराजित गर्दै माओवादीका अभिलाष रोकामगर ५५ मतले विजयी भए। विप्लवका उम्मेदवार तीर्थनारायण मिजारले ३६६ मत ल्याउँदा माओवादीका रोकामगरले ४२१ मत ल्याए।
रोल्पाको गंगादेव गाउँपालिकाको अध्यक्षमा नेकपामा केन्द्रीय सदस्य चुडामणि वलीलाई कांग्रेसका जिल्ला उपसभापति हरिबहादुर पुनले जित निकाले। कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनका भाइ हरिप्रसादले नेकपाका उम्मेदवार वली, एमालेका उम्मेदवार रोशनकुमार वली, र माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका साझा उम्मेदवार वीरबहादुर केसीलाई पछि पार्दै जित निकालेका हुन्। उनले २ हजार ५५७ मत ल्याएका छन्।
माओवादीका नेता केसीले चुनावमा पराजित भएपछि पार्टीलाई जिताउन नसकेको भन्दै पार्टीको गाउँपालिका इन्चार्जबाट राजीनामा दिएका छन्। उनले २ हजार ९३ मत ल्याएका थिए।
माओवादीका नेता केसीले चुनावमा पराजित भएपछि पार्टीको गाउँपालिका इन्चार्जबाट राजीनामासमेत दिएका छन्। उनले २ हजार ९३ मत ल्याएका थिए। मंगलबार दिउँसो एक विज्ञप्ति जारी गर्दै उनले पार्टीलाई जिताउन नसकेकाले गाउँ कमिटी इन्चार्जबाट राजीनामा दिएको उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘गंगादेव गाउँपालिका रोल्पामा माओवादी केन्द्रलाई जिताउन नसकेको कारण नैतिकताको आधारमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र गंगादेव गाउँपालिका इन्चार्जको जिम्मेवारीबाट राजीनामा दिएको जानकारी गराउँदछु।’
उनी नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश उपाध्यक्ष समेत हुन्। यस्तै गाउँपालिकाको उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी अमृताकुमारी केसी विजयी भएकी छन्। माओवादीलाई पराजित गर्न कांग्रेस र एमालेसँग चुनावी तालमेल गरेको नेकपाले सुनछहरी गाउँपालिकामा पनि जित हात पार्न सकेन। गाउँपालिकामा माओवादीले क्विन स्विप गरेको छ। यहाँ नेकपाले पूर्व जिल्ला सेक्रेटरी पुष्टमन घर्तीलाई उम्मेदवार बनाएको थियो भने उपाध्यक्षमा कांग्रेसका कोमबहादुर बुढा उम्मेदवार थिए।
तालमेलका बाबजुद पनि सुनछहारीमा माओवादी केन्द्रका धनबहादुर पुन 'कीर्तिमान' विजयी भए। उनले ३ हजार ४३९ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नेकपाका घर्तीले १ हजार ५२३ मत पाए।

यस्तै उपाध्यक्ष्मा पनि कांग्रेस उम्मेदवारलाई पराजित गर्दै माओवादी केन्द्रकी नन्कला घर्ती विजयी भइन्। उनले ३ हजार ४९२ मत प्राप्त गर्दा कांग्रेसका बुढाले १ हजार ६११ मत प्राप्त गरे।
यस पालिकाका सबै वडाहरुमा पनि माओवादी केन्द्रले नै जित निकालेको छ। वडा नं १ सेरममा धनिमान रोकामगर, वडा नं २ (भित्रीगाम)मा कृष्णबहादुर बुढामगर, वडा नं ३ (बाहिरीगाम) मा उर्बिर घर्तीमगर, वडा नं ५ मा देविलाल रोकामगर, वडा नं ६ मा अमरजित पुन र वडा नं ७ मा राजबहादुर रोकामगरले जित निकालेका छन्।
नेकपाका पूर्व जिल्ला ईन्चार्ज कमल थापाले पनि सुनिलस्मृति गाउँपालिकामा अध्यक्षको लागि उम्मेद्वारी दिएका थिए। तर उनले जित निकाल्न सकेनन् र माओवादी केन्द्रका मनिराम बुढाथोकी विजयी भए। विजयी बुढाथोकीलाई कांग्रेसका गन्ज क्षेत्री र एमालेका तारा सेनले ठूलै मतान्तरले भए पनि पछ्याउने प्रयास गरेका थिए। नेकपाका थापाले औँलामा गन्न सकिने मत मात्र ल्याए।
नेकपाकै पूर्व जिल्ला इन्चार्ज सन्तोष सुवेदीले पनि सुनिलस्मृति गाउँपालिकाको वडा नं ६ मा अध्यक्षको लागि उम्मेद्वारी दिएका थिए। तर उनले पनि आशालाग्दो मत ल्याउन सकेनन्। यहाँ माओवादी केन्द्रकै उम्मेदवार लोकेन्द्र थापाले जित निकाले।

त्यसो त नेकपाबाट उम्मेद्वारी दिएका सन्तोष सुवेदी माओवादी केन्द्रका प्रभावशाली नेता तथा केन्द्रीय सदस्य झक्कुप्रसाद सुवेदीका छोरो समेत हुन्। तर लामो समयदेखि उनले आफ्नै बाबुसँग विद्रोह गरेर फरक बाटो रोजेका थिए।
यस वडामा रोचक कुरा त के थियो भने, चुनावको अघिल्लो दिनसम्म पनि यस वडाका जनता दोधारमा थिए। बाबु माओवादीको लागि मत माग्दै प्रचारमा थिए भने छोरो नेकपाको लागि मत मागिरहेका थिए।
माओवादीलाई पराजित गर्न कांग्रेस र एमालेसँग चुनावी तालमेल गरेको नेकपाले सुनछहरी गाउँपालिकामा पनि जित हात पार्न सकेन। गाउँपालिकामा माओवादीले क्विन स्विप गरेको छ।
सोही गाउँपालिकाको वडा नं २ मा पनि नेकपाका वेगमध्वज थापाले स्वतन्त्र उम्मेदवारी दिएका थिए। यहाँ कांग्रेस बागी उम्मेदवार नेत्रबहादुर गिरीले ४४५ मत ल्याएर विजयी भए। गिरी ०७४ सालको निर्वाचनमै कांग्रेसबाट उम्मेदवारी दिने चर्चा पाए पनि पार्टीले टिकट नदिएपछि पछि हटेका थिए। अहिले पनि उनलाई बाइपास गर्न खोजिएपछि बागी उठेका हुन्।
परिवर्तन गाउँपालिकाको वडा नं ४ मा पनि नेकपाका चित्रबहादुर बुढाले स्वतन्त्र उम्मेदवारी दिएका थिए। यहाँ माओवादीकै मानसिंह बुढाले ३७१ मत ल्याएर जित निकालेका छन्।
सोही गाउँपालिकाको वडा नम्बर ३ मा पनि नेकपाका पृथ्वी डाँगीले स्वतन्त्र उम्मेदवारी दिएका थिए। तर, डाँगीले २३३ मत मात्र ल्याए। यहाँ कांग्रेसका खिमविक्रम चन्दले ४४२ मत ल्याएर नेतृत्व आफ्नो पोल्टामा पारेका हुन्।
विप्लवले दाबी विफल
निर्वाचनको मितिभन्दा करिब दुई हप्ताअघि मात्रै नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफूहरु पनि चुनावमा सहभागी हुन चाहेको भन्दै सत्ता गठबन्धनका विभिन्न दलहरुसँग वार्ता गरेका थिए।
पूर्वमन्त्री तथा माओवादी केन्द्र नेता शक्तिबहादुर बस्नेतले नेपाल समयसँगको कुराकानीमै भनेका थिए, ‘विप्लवजीहरु पनि चुनावमा सहभागी हुन खोजिरहनु भएको छ। यसबारे हाम्रो पार्टी र सत्ता गठबन्धनको बैठकमा छलफल पनि भयो। निर्वाचनको मिति तोकिसकेको र त्यही अनुसार सरकार र निर्वाचन आयोगले पनि तयारी सुरु गरेको कारण निर्वाचनको मिति सार्न सम्भव देखिएन। सत्ता गठबन्धनका शीर्ष नेताहरुले विप्लवजीलाई अहिले स्थानीय निर्वाचनमा आफ्नो तरिकाले सहभागी हुनुहोस् र त्यसपछिका प्रदेश तथा संघीय चुनावमा अलि व्यवस्थित बनेर सहभागी हुनुहोला भन्ने जवाफ दिनु भएको थियो।’
अहिलेसम्मको मतपरिणामलाई विश्लेषण गर्दा भने नेकपाको शक्ति सोचेभन्दा पनि कमजोर देखिएको छ। विप्लवको गढ भनिएको रोल्पाको थवाङमा समेत आफ्नो विरासत जोगाउन नसक्दा यतिबेला नेकपालाई 'झट्का' लागेको छ।
विप्लवले पनि सत्ता गठबन्धनको उक्त जवाफलाई स्वीकार गर्दै स्थानीय निर्वाचनमा आफ्ना नेता तथा कार्यकर्ताहरुलाई स्वतन्त्र उम्मेदवारको रुपमा सहभागी हुन सकिने सन्देशसहितको सर्कुलर जारी गरेका थिए।

अहिले देशभर मतगणना जारी छ। अहिलेसम्मको मतपरिणामलाई विश्लेषण गर्दा भने नेकपाको शक्ति सोचेभन्दा पनि कमजोर देखिएको छ। विप्लवको गढ भनिएको रोल्पाको थवाङमा समेत आफ्नो विरासत जोगाउन नसक्दा यतिबेला नेकपालाई 'झट्का' लागेको छ।
एक महिना अघिसम्म 'जनमत संग्रह'को एजेण्डा बोक्दै आएको नेकपाले अचानक चुनावमा सहभागी भएपछि पार्टी विभाजनको सामना गर्नुपरेको थियो। चुनावमा सहभागी हुने निर्णयसँगै पार्टी विभाजनको क्षति व्यहोरेको नेकपाले कसरी आफ्नो शक्ति गुमायो? भन्ने विषयमा पार्टीभित्र बहस सुरु भएको नेताहरुले बताउने गरेका छन्।
पार्टीभित्र हेमन्तप्रकाश वली 'सुदर्शन' र धर्मेन्द्र बाँस्तोला 'कञ्चन'का गतिविधिले केही हदसम्म शक्ति कमजोर बनेको आँकलन पार्टीका नेताहरुले गरेका छन्। तर, आफ्नो 'आधार इलाका' भनेर दाबी गरिएको रोल्पामा समेत पालिका र वडाध्यक्ष जिताउन नसक्नु विप्लव र नेकपा थप कमजोर बनेको संकेत भएको टिप्पणीहरु भइरहेका छन्।
रोल्पामा मात्र होइन, विप्लव र नेकपाको बलियो प्रभाव रहेको मानिने जिल्लाहरु रुकुम, जाजरकोट, कालिकोट, कपिलवस्तुमा पनि मत परिणाम अनपेक्षित देखिएको छ।
नेकपाले रुकुममा पनि कुनै गाउँपालिका र कुनै वडामा पनि जित निकाल्न सकेन। केही वडाका सदस्यमै चित्त बुझाउनु परेको छ। त्यस्तै, कालिकोटमा पनि कुनै गाउँपालिकामा जित हात पार्न सकेन। जाजरकोटमा पनि नेकपाको अवस्था उस्तै छ। यसरी देशभरकै समग्र मतपरिणाम हेर्दा नेकपा शक्ति निकै कमजोर भएको देखिन्छ।