काठमाडौं- वैशाख ३० गते शुक्रबार (हिजो) सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणनाको सुरुवाती रुझान आउन थालेको छ। शुक्रबार देशभरका ७५३ स्थानीय तहमा मतदान भएको थियो।
यो समाचार तयार पार्दा (शनिबार दिउँसो २:३० बजे) सम्म १० वटा पालिकाको मतपरिणामसमेत सार्वजनिक भएको छ। नेकपा एमालेले ५ पालिकामा जित निकालेको छ। नेपाली कांग्रेसले ३ र र नेकपा एकीकृत समाजवादीले २ तह जितेको छ। मतगणना जारी रहेका २१३ स्थानीय तहमध्ये नेपाली कांग्रेस १०४ स्थानमा अघि छ। कांग्रेसलाई ५८ पालिकामा अग्रता कायम गरेको एमालेले पछ्याइरहँदा नेकपा माओवादी केन्द्रले ३२ स्थान र नेकपा एसले ३ ठाउँमा अग्रता कायम गरेका छन्। स्वतन्त्र उम्मेदवार १२ ठाउँमा अघि रहँदा जनता समाजवादी पार्टीले ४ स्थानमा अग्रता कायम गरेको छ।
मतपरिणामको सुरुवाती रुझानले मतपरिणाम र निर्वाचनका सन्दर्भमा केही संकेत गरेको छ भने केही प्रश्नसमेत उठाएको छ। पाँचदलीय गठबन्धन, दलहरूको टिकट वितरणको प्रक्रिया, बागी र स्वतन्त्रहरूले काठमाडौं महानगरसहित थुप्रै स्थानमा अग्रता बनाएका छन्।
यस्तै भरतपुरमा सुरुमा गनिएका १२ मतमध्ये ४ वटा बदर हुनुले मतदाता शिक्षाका सन्दर्भमा मतपरिणामको सुरुवाती रुझानबारे संकेत गरेको छ। यो स्थानीय तहको निर्वाचनमा सत्तारुढ पाँच दलले तालमेल गरेका थिए। त्यसो त एमालेले पनि साना दलहरुसँग तालमेल गरेको थियो।
निर्वाचनको मतपरिणामले पाँच दलबीचको तालमेलको सफलता/असफलतालाई प्रष्ट पार्नेछ। योसँगै जोडिएर आउन सक्ने विषयमा गठबन्धनको भविष्यलाई पनि राखिएको छ। तसर्थ पाँच दलबीच तालेमल भएका स्थानीय तहको मतपरिणामलाई चासोका साथ हेरिएको छ। तर सुरुवाती रुझानले गठबन्धनलाई ठूलो सफलता मिल्ने संकेत गरेको छैन।
खासगरी नेपाली कांग्रेसबाहेक गठबन्धनमा आबद्ध दलहरुका लागि सुरुवाती रुझान सुखद् छैन। कांग्रेसले पनि थुप्रै स्थानमा आफ्नै दलका बागी उम्मेदवारको सामना गर्नुपरेको छ। अझ धुलिखेल, जनकपुर र बर्दिबासमा त कांग्रेसका बागीले अग्रता लिइरहेका छन्। तर कांग्रेसबाहेक गठबन्धनका दलले प्रमुख पद पाएका अधिकांश स्थानमा एमाले उम्मेदवार अघि छन्। कांग्रेसले प्रमुख पद नपाएका केही स्थानमा त स्वतन्त्र उम्मेदवार पनि अग्र भागमा देखिएका छन्। तर काठमाडौंमा भने परिवारवादको आरोप खेपेकी सिर्जना सिंहले स्वतन्त्र उम्मेदवार बालेन साहलाई भेटाउन सकेकी छैनन्। काठमाडौंमा 'हेभिवेट' उम्मेदवार मानिएका एमालेका केशव स्थापितले तेस्रो स्थानमा चित्त बुझाउनु परेको छ।
मतपरिणामको सुरुवाती रुझानले मतपरिणाम र निर्वाचनका सन्दर्भमा केही संकेत गरेको छ भने केही प्रश्नसमेत उठाएको छ। पाँचदलीय गठबन्धन, दलहरूको टिकट वितरणको प्रक्रिया, बागी र स्वतन्त्रहरूले काठमाडौं महानगरसहित थुप्रै स्थानमा अग्रता बनाएका छन्।
पाँच दलीय समीकरणमा कांग्रेसले प्रमुख पाएका तहमा गठबन्धनका अन्य दलले उपप्रमुख पाएका छन्। ती तहको सुरुवाती रुझान पनि तालमेलको पक्षमा देखिँदैन। खासगरी कांग्रेसले प्रमुखमा अग्रता कायम गर्दा उपप्रमुखमा एमालेले अग्रता कायम गरेको देखिन्छ। त्यसो त तालमेल गर्दा प्रमुख र उपप्रमुख दुवैमा पुरुष उम्मेदवार उठाएको भनेर गठबन्धन आलोचित पनि भएको थियो। त्यो आलोचनाको असर र कांग्रेसका मतदाताले गठबन्धनका अन्य दललाई गरेको अविश्वासको संकेत सुरुवाती मतगणना र सार्वजनिक परिणामको रुझानले देखाएको छ।
खासगरी कांग्रेसका नेता-कार्यकर्ताले चुनावी तालमेललाई सहज रुपमा लिएनन्। कांग्रेस कार्यकर्ताले गठबन्धनको विपक्षमा मतदान गरेको देखिन्छ। यसको अर्थ देशभर कांग्रेसले प्रमुख पद धेरै जिते पनि उपप्रमुख पदमा भने एमाले पहिलो हुन सक्ने देखिएको छ।
मतपरिणामको सुरुवाती रुझानलाई हेरेर गठबन्धनमा आवद्ध दलका नेता-कार्यकर्ताले असन्तुष्टि व्यक्त गर्न थालेका छन्। सामाजिक सञ्जालमा अभिव्यक्त उनीहरुका असन्तुष्टिले मतपरिणामको सुरुवाती रुझानलाई उनीहरुले कांग्रेसले दिएको धोकाका रूपमा अर्थ्याइरहेका छन्। यद्यपि अन्तिम परिणामपछि गठबन्धनका दलहरुको तालमेलको स्पष्ट चित्र आउनेछ। त्यसले गठबन्धनका दलप्रतिको विश्वासलाई मापन गर्नेछ।
यसपटकको निर्वाचनमा शीर्ष नेताले गरेको टिकट वितरण प्रक्रियासँग धेरै नेता-कार्यकर्ताले असन्तुष्ट रहे। खासगरी सत्ता गठबन्धनका दलका नेता कार्यकर्ताले विद्रोह गरेर उम्मेदवारी पनि दिए। चुनावी तालमेलसँग असन्तुष्ट रहेर स्वतन्त्र उम्मेदवारी दिएकामध्ये केहीले जित निकाल्ने सम्भावना छ।
मतपरिणामको सुरुवाती रुझानले दलप्रति जनताको अविश्वासलाई समेत प्रकट गरेको छ।
जनकपुरमा सत्ता गठबन्धनले जसपालाई मेयर दिने निर्णय गरेको थियो। गठबन्धनको निर्णयबाट असन्तुष्ट बनेर कांग्रेसमा विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका मनोज शाहले निरन्तर अग्रता कायम गरिरहेका छन्। यस्तै धुलिखेल नगरपालिकामा चुनावी तालमेलप्रति असन्तुष्ट रहँदै कांग्रेसबाट बागी उम्मेदवारी दिएका विदुरकुमार बस्नेतले निरन्तर अग्रता कायम गरिरहेका छन्। सत्ता गठबन्धनले धुलिखेल नगरपालिकाको मेयर नेकपा एसलाई दिने निर्णय गरेको थियो। यसले गठबन्धन दलका शीर्ष नेताहरुले टाउको जोडेपनि तल्लो तहका कार्यकर्ताको मन नमिलेको देखाउँछ।
त्यसो त सत्तारुढ दलका नेताले नै तालमेल र टिकट वितरण प्रक्रियाको समीक्षा गरिनुपर्ने बताउन थालेका छन्। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मतदान सकिएलगत्तै सामाजिक संजालमा 'वैशाख ३०ले छाडेका प्रश्नहरु!' शीर्षकमा यस्तै विचार व्यक्त गरेका थिए। 'वैशाख ३० ले छाडेका प्रश्नहरु! लोकतन्त्र बलियो बनाउने पाटोका अलवा आत्मसिमक्षाको थुप्रै प्रश्न वैशाख ३०ले छाडेर गएको छ। तालमेल प्रक्रियाको बेमेल, टिकट वितरणको बेथिति, केही स्थानको अस्वस्थ गतिविधि आदि। हेक्का राखौं, लोकतन्त्रको आत्मा निर्वाचनको संस्कृतिसँग गाँसिएको हुन्छ,' उनले भनेका छन्।
उनले तत्कालीन परिणामको आत्मसन्तोष लिइरहँदा दीर्घकालीन भविष्यको आत्मचिन्तनतर्फ गम्भीर हुन आवश्यक गरेको बताएका छन्। 'लोकतन्त्रको भौतिक वर्तमान निर्वाचन हुनुसँग सम्बन्धित हुन्छ भने लोकतन्त्रको आत्मा र भविष्य निर्वाचनको संस्कृतिसँग गाँसिएको हुन्छ। तत्कालिन परिणामको आत्मसन्तोष लिइरहँदा दीर्घकालीन भविष्यको आत्मचिन्तन तर्फ गम्भीरता जरुरी छ। हामी गहन ढंगले यसमा प्रवेश गर्नेछौं।'
मतपरिणामको सुरुवाती रुझानले दलप्रति जनताको अविश्वावसलाई समेत प्रकट गरेको छ। स्वतन्त्र उम्मेदवारप्रति मतदाताको झुकाव बढ्नु दलहरुप्रति जनताको विश्वासमा खाडल पर्नु हो। काठमाडौंमा बालेन शाहको अग्रता र धनगढीमा गोपाल हमालले जित्न सक्ने 'एक्जिट पोल'को प्रक्षेपणले त्यसैको संकेत गर्छ। मतपरिणामको सुरुवाती रुझानले दलले छानेका उम्मेदवार, दलहरुको कार्यशैली र विकृत राजनीतिबाट जनता निराश बनेको पुष्टि गर्छ।
त्यसो त यसपटकको निर्वाचनमा धेरै मत बदर हुने आकलनसमेत गरिएको छ। कारण हो- चुनावमा बनेका गठबन्धन र गठबन्धनका उम्मेदवारलाई मत दिन झन्झटिलो प्रक्रिया। त्यसरी मत बदर हुनुमा मतदाता शिक्षाको अभाव देखिन्छ। केन्द्रका शीर्ष नेता बसेर २-४ बुँदा लेखेर गठबन्धन गर्ने सहमति गर्नेबित्तिकै 'भटाभट भोट खस्छ, कुनै मेहनत नै गर्नुपर्दैन' भन्ने विषयले गठबन्धनका दलहरूलाई प्रश्न गर्ने देखिन्छ। गठबन्धनका सूत्रधार मानिने पुष्पकमल दाहाल 'प्रचण्ड' नै मतदान गर्ने बेलामा अल्मलिनुले गठबन्धनका मतदातालाई मतदान गर्ने बेलामा कतिसम्म असहज भएको थियो भन्ने अनुभुति गर्न गाह्रो छैन। 'गठबन्धनलाई भोट नदिए देश दुर्घटनामा जान्छ' भनेर 'धम्की' दिने तर मतदातालाई शिक्षामा सिन्को नभाँच्ने प्रवृत्तिलाई यसपालिको मतगणना नतिजाले प्रश्न सोझ्याउने देखिएको छ।